डिमेन्शाको सङ्कट झेलिरहेको जापान र प्रविधिले सहारा दिन सक्ने सम्भावना

    • Author, सुरञ्जना तिवारी
    • Role, एशिया बिजनेश संवाददाता
    • Reporting from, टोक्यो

गतवर्ष जापानमा १८ हजारभन्दा धेरै डिमेन्शा प्रभावित वृद्ध वृद्धाले घर छाडे र बेपत्ता भए। पछि तीमध्ये झण्डै ५०० जना मृत अवस्थामा भेटिए।

प्रहरीका अनुसार सन् २०१२ यता यस्ता घटनाहरू दोबर भएका छन्। यसले संसारकै वृद्ध समाजमाथिको बढ्दो दबाबलाई उजागर गर्छ।

काम गर्न सक्ने जनशक्ति घट्दै गएको र हेरचाहका निम्ति आउने विदेशी कामदारहरूमाथि राखिएका कडा सीमाहरूले उक्त सङ्कट थप गहिरिएको छ।

जापान सरकारले डिमेन्शालाई अत्यावश्यक नीतिगत चुनौतीहरूमध्ये एकको रूपमा पहिचान गरेको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले अनुमान गरेअनुसार डिमेन्शासम्बन्धी स्वास्थ्य र सामाजिक हेरचाहको खर्च सन् २०३० सम्ममा १४ ट्रिलिअन येन अर्थात् झण्डै १३ अर्ब रुपैयाँ पुग्ने छ जुन सन् २०२५ मा ९ ट्रिलिअन येन थियो।

पछिल्लो रणनीतिमा जापान सरकारले उक्त दबाब कम गर्न प्रविधितर्फ जोड दिने सङ्केत गरेको छ।

यताउता भड्किने मानिसहरूमाथि नजर राख्न देशैभर मानिसहरूले 'जीपीएस'मा आधारित प्रणाली अपनाउन थालेका छन्।

केही क्षेत्रमा त पहिरिन मिल्ने 'जीपीएस' ट्यागको उपयोग हुन थालेको छ जसले सम्बन्धित व्यक्ति निर्धारित क्षेत्रबाट बाहिर जानासाथ अधिकारीहरूलाई सचेत गराउँछ।

केही नगरका सुविधाजनक पसलका कामदारहरूले वास्तविक समयमा सूचना पाउँछन् र यस प्रकारको सामुदायिक सुरक्षा सञ्जालमार्फत केही घण्टाभित्रै हराएका व्यक्तिलाई भेट्टाउन सकिन्छ।

रोबोट हेरचाहकर्ता र एआई

केही अन्य प्रविधिहरू पनि छन् जसले छिटो डिमेन्शा पहिचान गर्ने कोसिस गर्छन्।

डिमेन्शाका प्रारम्भिक सङ्केत पत्ता लगाउन 'फुजिसु'को एआईगेटले एआईको प्रयोग गरी शारीरिक मुद्रा र हिँडडुलको ढाँचा विश्लेषण गर्छ।

यसले हिँड्दा हुने कठिनाइ, मोडिँदाको सुस्तता वा उभिन गाह्रो हुनेजस्ता सङ्केत पत्ता लगाउँछ। त्यसबाट तयार पारिएको शारीरिक रूपरेखा चिकित्सकहरूले नियमित जाँचका क्रममा हेर्न सक्छन्।

"उमेरजन्य रोगहरू चाँडै पत्ता लगाउनु निकै महत्त्वपूर्ण हुन्छ," फुजिसुका प्रवक्ता हिडेनोरी फुजिवारा भन्छन्। "चिकित्सकहरूले 'मोशन क्याप्चर डेटा' प्रयोग गर्न सकेका खण्डमा उनीहरूले चाँडै उपचार थाल्न सक्छन् र मानिसहरूलाई लामो समयसम्म सक्रिय रहनेतर्फ मद्दत गर्न सक्छन्।"

यसैबीच वसेदा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले 'एआईआरईसी' नामक १५० केजी तौलको मानव रोबोटको विकास गरिरहेका छन् जसलाई भविष्यको हेरचाहकर्ताका रूपमा डिजाइन गरिएको छ।

त्यसले मानिसलाई मोजा लगाउन, अण्डा फेट्न तथा कपडा पट्याउन मद्दत गर्न सक्छ।

उक्त विश्वविद्यालयका वैज्ञानिकहरूले भविष्यमा उक्त रोबोट 'डाइपर' फेर्न तथा ओच्छ्यानमा एकोहोरो सुतिरहँदा हुने घाउहरूबाट मानिसलाई जोगाउन समेत सक्षम हुने आशा गरेका छन्।

यस्तो प्रकारका रोबोटहरू हेरचाह केन्द्रहरूमा पहिल्यैदेखि प्रयोगमा छन् जसले सङ्गीत बजाउन तथा सामान्य कसरतका निम्ति त्यहाँ बस्ने मानिसहरूलाई सघाउने गर्छन्।

त्यस्तै तिनले रातको समयमा बिरामीहरूको निगरानी गर्छन्। निन्द्रा र त्यसको स्थिति हेर्न डस्नामुन्तिर 'सेन्सर' राखिन्छ जसले मानिसद्वारा गरिने 'नियमित जाँच'को खाँचो घटाएको छ।

मानव रोबोटको विकास भइरहे तापनि उक्त कार्यका निम्ति चाहिने सटिकता र बुद्धिमत्ताको स्तर हासिल गर्न कम्तीमा पाँच वर्ष लाग्ने सहायक प्राध्यापक टेमोन मियाकी बताउँछन्।

उनका अनुसार त्यसपछि मात्रै तिनले सुरक्षित रूपमा मानिसहरूसँग अन्तर्क्रिया गर्न सक्छन्।

"प्रत्येक व्यक्ति र स्थितिअनुसार चल्नका निम्ति पूरै शरीरबारे संवेदनशील हुन र अनुकूलित बुझाइ हुन आवश्यक छ," उनी भन्छन्।

भावनात्मक सहायता

भावनात्मक सहायता पनि यो नवीन पहलको एउटा पक्ष हो।

१२ सेन्टिमिटर उचाइको 'पकेटोमो' नामको रोबोटलाई झोलामा बोकेर हिँड्न सकिन्छ। खल्तीमै समेत अट्न सक्ने उक्त रोबोटले प्रयोगकर्तालाई औषधी खान सम्झाउनुका साथै बाहिरको मौसमका निम्ति तयार हुन सिकाउँछ।

त्यस्तै एक्लै बस्नेहरूलाई कुराकानीको अवसर समेत दिने त्यसले एकाङ्कीपन घटाउन मद्दत गर्ने यसका निर्माताहरू बताउँछन्।

"हामी सामाजिक विषयहरूमा ध्यान केन्द्रित गरिरहेका छौँ.... र ती समस्याहरूलाई हल गर्न नयाँ प्रविधिहरूको प्रयोग गरिरहेका छौँ," 'सार्प'का डिभेलपमन्ट म्यानेजर मिहो कागेइले बीबीसीसँग भने।

उपकरण तथा रोबोटहरूले नवीन तरिकाले सहायता गर्ने स्थिति पैदा भए पनि मान्छे-मान्छेबीचको सम्बन्ध अपरिवर्तनीय छ।

"मानवीय हेरचाहको स्थान लिन होइन, त्यसको पूरकका रूपमा रोबोटहरू प्रयोग गरिनु पर्छ," वसेदा विश्वविद्यालयका वैज्ञानिक मियाकी भन्छन्, "तिनीहरूले केही काम सम्हाल्न सक्छन् तर तिनको मुख्य भूमिका भनेको हेरचाहकर्ता र बिरामीलाई सघाउनु हो।"

अकिको कन्नाले खोलेको टोक्योको सेनगावास्थित 'रेस्टोरन्टस् अफ मिस्टेकन अर्डर्स' मा डिमेन्शा प्रभावितहरूबाट सेवा लिन मानिसहरूको ओइरो लाग्छ।

डिमेन्शापीडित आफ्नो पिताको स्थितिबाट प्रेरित कान्ना एउटा त्यस्तो ठाउँ बनाउन चाहन्थिन् जहाँ मानिसहरू सक्रिय रहन र सार्थक महसुस गर्न सकुन्।

उक्त क्याफेमा सेवा दिनेमध्येका तोशिओ मोरिटा कुन टेबलबाट के अर्डर गरिएको छ भन्ने सम्झन फूलहरूको प्रयोग गर्छन्।

आफ्नो संज्ञानात्मक क्षयका बाबजुद मोरिटा त्यहाँको अन्तर्क्रियाको आनन्द लिन्छन्। उनलाई त्यहाँ सक्रिय रहन मद्दत गर्ने हुनाले उक्त क्याफेले गर्दा उनकी पत्नीलाई पनि केही राहत पुगेको छ।

उक्त क्याफेले मानिसहरूको मद्दत र समुदायको साथ अझै किन महत्त्वपूर्ण छ भन्ने दर्साउँछ। प्रविधिले उपकरण र राहत त प्रदान गर्न सक्छ तर मानवीय सम्बन्ध र अर्थपूर्ण सक्रियताले डिमेन्शासँग जुझिरहेका मानिसहरूलाई वास्तवमा जोगाउँछन्।

"साँच्चै भनूँ? म थोरै पाकेट खर्च चाहन्थेँ। मलाई सबै किसिमका मानिसहरूसँग भेट्न मन पर्छ," मोरिता भन्छन्। "हरकोही भिन्न छन् र यसमा यही त रमाइलो छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।