मलेशियामा नेपालीहरूका लागि रोजगारी पुन: कहिले खुल्छ?

हाल गैरकानुनी कामदारहरूलाई उनीहरूकै देशमा फिर्ता पठाइरहेको मलेशियाले त्यसपछि मात्रै नयाँ कामदारहरूको माग गर्ने जानकारी आफूहरूलाई दिइएको मलेशियास्थित नेपालकी कार्यवहाक राजदूतले बीबीसीलाई बताएकी छन्।

नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्त्वय रहेको मलेशियाबाट पछिल्ला केही महिनाहरूमा वैदेशिक रोजगारीको माग ठप्प छ।

मलेशिया सरकारले हाल अँगालिरहेको विदेशी श्रमिक सम्बन्धी नीतिका कारण अन्य देशहरूबाट कामदारहरूको माग नगरिरहेको र यो वर्षको अन्त्यपछि मात्रै त्यो खुला हुने ठानिएको अधिकारीहरू बताउँछन्।

मलेशियामा ३,००,००० भन्दा बढीको सङ्ख्यामा नेपाली श्रमिकहरू रहेका छन्। अहिले मलेशिया सरकारले स्वदेश फर्कन उपलब्ध गराएको समयसीमामा न्यूनतम शुल्क तिरेर नेपालीसहित अन्य देशका कामदारहरू पनि आफ्ना मुलुकमा फर्किरहेका छन्।

कहिले खुल्छ मलेशियामा रोजगारी?

मलेशिया सरकारले मे महिनाको अन्त्यबाट कुनै पनि नयाँ विदेशी कामदारहरूलाई आफ्नो मुलुकमा प्रवेश नदिने नीति लिएको थियो।

एप्रिल महिनाको अन्त्यसम्म प्रवेशाज्ञा जारी गर्ने निर्णय लिएको उक्त मुलुकले त्यसपछिको एक महिनाभित्र काम गर्न आइसक्ने अवसर कामदारहरूलाई दिएको थियो।

त्यसलगत्तै विदेशी कामदारको भर्नाका लागि मागपत्र प्रमाणित गर्ने क्रम रोकिएको थियो भने नेपालको प्रमुख श्रम गन्तव्यमा थप रोजगारीको ढोका तत्कालका लागि बन्द भएको छ।

क्वालालम्पुरस्थित नेपाली कार्यवहाक राजदूत मुदिता बज्राचार्यले बीबीसीसँग कुरा गर्दै हाल गैरकानुनी रूपमा बसिरहेका कामदारहरूलाई फर्काएपछि माग र आपूर्ति हेरेर निर्णय लिने जानकारी मलेशियाका अधिकारीहरूले दिएको बीबीसीलाई बताइन्।

उनले भनिन्, “मलेशियाको कूल श्रम जनशक्तिमध्ये झन्डै १५ प्रतिशत विदेशी कामदार छन्। कामदारको उच्चतम विन्दु पुगिसकेको र थप नचाहिएको भएर अहिले रोकिएको हो। गैरकानुनी रूपमा बसिरहेकाहरूलाई घर फर्काउने अभियान मार्च महिनाबाट थालियो र डिसेम्बर अन्त्यसम्म जारी रहने भनिएको छ। त्यसअन्तर्गत मानिसहरू फर्किएपछि माग र आपूर्ति हेरेर उनीहरूले चाहिने कति हो र कति मान्छे छन् भन्ने हेरेर खुलाउने भन्ने कुरा छ। लिखित केही पठाएको छैन तर कुराकानी हुँदा त्यस्तो भन्ने गर्छन्।”

तर कुनै कुनै कम्पनीले मलेशियाको मानव शंसाधन मन्त्रालयसँग समन्वय गरेर केही आवश्यक कामदारहरू ल्याइरहेको भन्ने जानकारी आफूले पाएको उनले उल्लेख गरिन्।

“नेपालको हकमा कामदारहरू आएका छैनन्। किनभने खुलेको पनि छैन। सूचना निकालेर मे ३१ सम्म आएका विदेशी कामदारहरूलाई मात्रै अनुमति दिन्छौँ भनेको थियो अर्को सूचना निकालेको छैन। हामीले उहाँहरूसँग राम्ररी कुरा बुझेर र आधिकारिक धारणा आएपछि मात्रै खोल्ने कि भनेर अहिले केही गरेका छैनौँ। खोल्ने तर पछि फेरी अप्ठेरो भयो भने सबैलाई गाह्रो हुन्छ।”

हाल मलेशियामा कति नेपाली छन्?

मलेशिया सरकारको सन् २०२२ को तथ्याङ्क अनुसार त्यहाँ काम गर्ने नेपाली श्रमिकको सङ्ख्या ३,३५,००० भन्दा बढी रहेको थियो। त्यसमा महिला कामदारहरूको सङ्ख्या झन्डै तीन प्रतिशत रहेको बताइन्छ।

मलेशियामा विभिन्न पाँच वटा क्षेत्रमा नेपाली कामदारहरूले काम गर्ने गर्छन्। सबैभन्दा धेरै ६२ प्रतिशत कामदार उत्पादन क्षेत्र, ३० प्रतिशत सुरक्षा गार्डसहितका सेवामुलक क्षेत्र, चार प्रतिशत कृषि क्षेत्र, तीन प्रतिशत निर्माण क्षेत्र र एक प्रतिशत बागवानी आर्थात् प्लेन्टेशन क्षेत्रमा कार्यरत छन्।

तर कैयौँ नेपालीहरू गैरकानुनी हैसियतले पनि मलेशियामा बस्ने गरेकाले सरकारले दिएको आँकडा भन्दा बढी सङ्ख्यामा त्यहाँ मानिसहरू रहेको ठान्ने गरिन्छ।

मलेशियाले सन् २००१ बाटै नेपाललाई श्रमिक स्रोत देशका रूपमा मान्यता दिएको थियो।

सन् २०२२-२३ मा नयाँ र पुन: श्रम स्वीकृति लिएर मलेशिया जाने नेपाली कामदारको सङ्ख्या झन्डै २,६०,००० थियो। नेपालको एउटा सरकारी तथ्याङ्क अनुसार सो सङ्ख्या अघिल्लो वर्ष ६० प्रतिशत भन्दा बढीले घटेको थियो।

वैदेशिक रोजगार व्यवसायी के भन्छन्?

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले तुरुन्तै मलेशियामा नेपालबाट ठूलो सङ्ख्यामा कामदारहरू जाने अवस्था नरहेको बताए।

उनी भन्छन्, “मलेशियामा उत्पादनमुलक क्षेत्रमा धेरै रोजगारीका अवसर रहने गरेको हो। कोभिड महामारी यता एक पटक कामदारहरू उच्च सङ्ख्यामा पनि गए। तर अहिले त्यहाँ पनि अर्थतन्त्र र रोजगारी दुवै क्षेत्रमा समस्याहरू छन्। तत्कालै ठूलो सङ्ख्यामा नेपालबाट कामदार जाने अवस्था छैन।”

वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव मेघनाथ भूर्तेलले मलेशियामा रोजगारीको माग बन्द हुँदा बर्सेनि एक लाख देखी दुई लाख नेपाली श्रमिकले रोजगारीको अवसर गुमाएको उल्लेख गरे।

उनी भन्छन्, “नेपालसँग हावापानी पनि मिल्ने र आकर्षक आम्दानी हुने एउटा श्रम गन्तव्यमा कामदारहरू जान पाइरहेका छैनन्। कतिपय वैदेशिक रोजगार व्यवसायीहरूले मलेशियामा मात्रै कामदार पठाउने गरेका थिए। त्यो बन्द हुँदा म्यानपावरहरूलाई नवीकरणका निम्ति समेत गाह्रो हुने अवस्था छ। किनभने न्यूनतम १०० जना कामदार एक वर्षमा नपठाउने म्यानपावरलाई नवीकरण नगर्ने नीति सरकारको छ।”

मलेशियाले सुरक्षागार्ड, बागबानी, सरसफाई लगायत विभिन्न रोजगारीका क्षेत्र खुलाउने चर्चा सुने पनि ठोस निर्णयबारे जानकारी नभएको उनले सुनाए।

महासचिव भुर्तेलले भने, “मलेशिया सरकारले निर्णय गरेर हाम्रो दूतावासलाई आधिकारीक जानकारी गराएपछि मात्रै नयाँ मागपत्र प्रमाणिकरण हुने अवस्था हुन्छ।”

प्रविधि र एआईमा दक्ष कामदारलाई अवसर

मलेशियामा हाल काम गर्ने मध्ये धेरै कामदारहरू अदक्ष वा कम दक्ष रहेका बताइन्छ। तर पछिल्लो समयमा मलेशियाको जोड दक्ष कामदारहरू भित्र्याउनमा रहेको सङ्केत मिल्छ।

सन् २०२३ मा नेपालको भ्रमण गरेका मलेशियाका गृहमन्त्रीले सैफुदिन नासितुन इस्माइलले वैदेशिक रोजगारीले ‘प्रविधि र आर्टिफिशल इन्टेलिजन्स’लाई आत्मसाथ गर्ने बाटो अवलम्बन गर्नुपर्ने धारणा नेपाली अधिकारीहरूसँग राखेका थिए।

यसै वर्ष माइक्रोसफ्टले २.२ अर्ब डलर र गुगलले २ अर्ब डलर मलेशियामा लगानी गर्ने घोषणा गरेका छन्। एआई र क्लाउड जस्ता क्षेत्रमा गरिएको यो लगानीबाट प्रविधि क्षेत्रमा हजारौँ रोजगारीका अवसरहरू पनि सृजना हुने विवरणहरू आएका थिए।

एउटा अध्ययनले सन् २०३० सम्म एआईले दक्षिण पूर्वी एशियाको कूल गार्हस्थ उत्पादनमा एक ट्रिलिअन डलर (झन्डै १० खर्ब डलर) को योगदान दिनसक्ने भन्दै त्यसमध्ये ११५ अर्ब डलर मलेशियाले प्राप्त गर्नसक्ने देखाएको छ।

कति कामदार फर्किरहेका छन्?

मलेशियामा हाल कामदारहरूको न्यूनतम ज्याला मासिक १,५०० रिङ्गेट अर्थात् ४७,००० नेपाली रुपैयाँ भन्दा धेरै रहेको छ।

कुनै एउटा सेवामा रोजगारीका लागि गएका कामदारहरूले क्षेत्र परिवर्तन गर्ने बित्तिकै उनीहरू अवैध हुने व्यवस्था मलेशियामा छ।

त्यस्ता कामदारहरूलाई लगभग प्रत्येक दुई वर्षमा मलेशिया सरकारले स्वदेश फर्कने मौका दिने गरेको छ।

यसपटक डिसेम्बर अन्त्यसम्म नेपाल फर्कन चाहने कामदारहरूले झन्डै १६,००० नेपाली रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ।

मलेशियास्थित नेपाली राजदूतावासका अधिकारीहरूका अनुसार त्यसरी घर फर्कन चाहनेहरूलाई ‘ट्राभल डक्युमेन्ट’ बनाइदिने गरेको पाइन्छ।

हालसम्म मलेशिया सरकारको पछिल्लो योजना अनुसार कति अवैध श्रमिक नेपाल फर्किए भन्ने यकिन तथ्याङ्क छैन।

तर अधिकारीहरू व्यस्त समयमा दैनिक ४० जनासम्मले ट्राभल डक्युमेन्ट बनाउनका लागि निवेदन दिने गरेको बताउँछन्।

त्यस्ता निवेदन दिनेमध्ये केही राहदानी हराएका वा त्यसमा क्षति पुगेका श्रमिकहरू पनि हुने गरेको बुझिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।