इलोन मस्कको स्टारलिङ्क भुटानमा सुरु, भारतमा तयारी, नेपालमा अझै अलमल

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

भुटानमा स्टारलिङ्क स्याटलाइट इन्टरनेट सेवा चलाउन थालेको इलोन मस्कको स्पेसएक्सले भारतका दुई दूरसञ्चार सेवा प्रदायकसँग पनि समझदारी गरेपछि नेपालमा उक्त कम्पनीले कहिले सेवा सुरु गर्ला भन्नेबारे चर्चा भइरहेको छ।

स्पेसएक्सले दुई वर्षअघि नै नेपालमा स्याटलाइट इन्टरनेट सेवा चलाउनेबारे चासो व्यक्त गरेको थियो।

इलोन मस्क र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गत मङ्सिर ७ गते 'भर्चुअल' कुराकानी पनि भएको थियो।

तर स्टारलिङ्कको वेबसाइटमा राखिएको उसको सेवासम्बन्धी नक्सामा 'नेपालमा सेवा सुरु हुने मिति थाहा नभएको' उल्लेख छ।

नेपाली अधिकारीहरू पनि उक्त कम्पनीको नेपालमा सेवा सञ्चालनबारे स्पष्ट विवरण दिन सकिरहेका छैनन्।

भारतमा दुई कम्पनीसँग समझदारी

स्पेसएक्सको सेवालाई भारतमा ल्याउनका लागि त्यहाँका दुई ठूला टेलिकम कम्पनी भारती एअरटेल र रिलाअन्स जिओले ऊसँग यसै साता समझदारी गरेका छन्।

भारती एअरटेलले गत मङ्गलवार एउटा विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी दिएको थियो भने त्यसको भोलिपल्ट रिलाअन्स जिओले पनि त्यस्तै जानकारी सार्वजनिक गर्‍यो।

एअरटेलले इलोन मस्ककै स्वामित्व रहेको सामाजिक सञ्जाल एक्समा मङ्गलवार राखेको विज्ञप्तिमा भनिएको छ, "एअरटेल भारतमा रहेका आफ्ना ग्राहकहरूलाई स्टारलिङ्कको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन स्पेसएक्ससँग सम्झौताको घोषणा गर्छ। यो भारतमा हस्ताक्षर भएको पहिलो यस्तो सम्झौता हो। यो भनेको स्पेसएक्सलाई भारतमा स्टारलिङ्क [को सेवा] बेच्नका लागि आधिकारिता प्राप्त भएको विषय हो।"

उक्त सम्झौताले भारतमा स्पेसएक्सका सेवाहरू विस्तार गर्न सहज हुने त्यसमा उल्लेख छ।

त्यस्तै बुधवार रिलाअन्स जिओले पनि एक्समार्फत् विज्ञप्ति साझा गर्दै उस्तै प्रकारको समझदारी भएको जनाएको छ।

ती दुई कम्पनीसँग समझदारी भए पनि हालसम्म स्टारलिङ्कले भारतमा नियामकबाट सञ्चालन अनुमति पाएको छैन।

भारतमा मस्कको उक्त कम्पनीको सेवालाई लिएर सुरक्षा चिन्ता पनि रहेको विवरण आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसी हिन्दीका अनुसार भारतीय दूरसञ्चार कम्पनीका सञ्चालकहरू स्याटलाइट फ्रिक्वेन्सी सीधै कसैलाई दिने कार्यको विरोध गर्ने गर्छन्। उनीहरूले त्यस्तो फ्रिक्वेन्सी लिलामी हुनुपर्नेमा जोड दिएका छन्।

तर मस्कले भने त्यस्तो लिलामी पद्धतिको आलोचना गर्ने गरेका छन्।

भुटानमा सेवा सुरु

स्टारलिङ्कको बेवसाइटमा राखिएको उसले सेवासम्बन्धी विवरण देखाउने नक्सामा दक्षिण एशियाली मुलुकमध्ये भुटानमा उसको सेवा सुरु भइसकेको देखिन्छ।

त्यसबाहेक भारत र पाकिस्तानमा नियामकको अनुमति लिन बाँकी रहेको उल्लेख छ भने भने बाङ्ग्लादेश र श्रीलङ्कामा यसै वर्षभित्र सञ्चालन हुने जनाइएको छ।

भुटान इन्फर्मेशन कम्यूनिकेशन एन्ड मिडिया अथरटी (बीईसीएमए)ले स्टारलिङ्कलाई विदेशी लगानी भएको इन्टरनेट सेवा प्रदायक (आईएसपी) का रूपमा अनुमतिपत्र जारी गरेको थियो।

बीईसीएमएले उसको वेबसाइटमा राखेको विवरणमा उक्त कम्पनीले त्यस देशभित्र स्याटलाइटमा आधारित इन्टरनेट सेवा चलाउने उल्लेख छ।

उसले स्टारलिङ्कको सेवा लिएबापत लाग्ने स्वीकृत शुल्कको विवरण पनि वेबसाइटमार्फत् सार्वजनिक गरिदिएको छ।

नेपालमा चर्चा मात्र

स्पेसएक्सले सन् २०२३ मै त्यसै वर्षभित्र नेपालमा स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा सोधखोज गरेको थियो।

त्यसै वर्ष स्पेसएक्सले आफ्नो वेबसाइटमा स्टारलिङ्कले इन्टरनेट सेवा आरम्भ गर्न चाहेको मुलुकहरूलाई सूचीकृत गर्दा नेपाललाई पनि राखेको थियो।

त्यस बेला नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले स्पेसएक्सका प्रतितिधिले अनलाइन माध्यममा अनौपचारिक रूपमा नेपालमा कसरी आउन सकिन्छ भन्ने विषयमा छलफल गरेको बीबीसीलाई बताएका थिए।

उनीहरूले त्यस बेला स्पेसएक्सका अधिकारीहरूलाई नेपालमा सेवा सञ्चालनको प्रक्रियाबारे जानकारी दिएको जनाएका थिए।

यस मामिलाबारे जानकार विभिन्न निकायका अधिकारीहरूसँग बीबीसीले गरेको कुराकानीमा उनीहरूले "नीतिगत र कानुनी बाधाहरू" भएकाले स्पेसएक्सलाई हालसम्म स्पष्ट जबाफ नदिइएको सङ्केत गरेका छन्।

यद्यपि उनीहरूले "स्पेसएक्सले औपचारिक रूपमा हालसम्म नेपालमा कुनै प्रस्ताव राखेको वा निवेदन नदिएको" बताउँदै आएका छन्।

"हालसम्म स्टारलिङ्कले नेपालमा सेवा सुरु गर्ने वा त्यसका लागि भनेर कुनै पनि औपचारिक निवेदन हामीलाई दिएको मेरो जानकारीमा छैन," नियामक नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालले बीबीसीसँग भने।

सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बीबीसीसँग भने, "स्टारलिङ्कबारे हालसम्म मन्त्रालयमा कुनै पनि विषयमा छलफल र कुराकानी भएको छैन।"

"अन्यत्र कुराकानी भएको वा उच्च राजनीतिक तहमा कुराकानी भइरहेको हुन सक्छ तर त्यसबारे मलाई जानकारी भएन।"

अनुमतिका लागि 'नीतिगत' बाधा

स्पेसएक्सलाई नेपालमा सेवा सुरु गर्नका निम्ति मुख्य चुनौतीका रूपमा दूरसञ्चार क्षेत्रमा नेपालमा लगानीसम्बन्धी नीति देखा परेको जानकारहरू बताउँछन्।

नेपालले कुनै पनि विदेशी लगानीकर्ताको शतप्रतिशत लगानीमा दूरसञ्चार सेवा सञ्चालनको अनुमति दिने गरेको छैन।

दूरसञ्चार सेवामा न्यूनतम २० प्रतिशत स्वदेशी लगानी हुनैपर्ने नीतिगत प्रावधान र अभ्यास रहेको छ।

दूरसञ्चार नीति, २०६० मा भनिएको छ, "दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरिनेछ। यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनु पर्नेछ।"

यद्यपि ऐनमा भने त्यस्तो प्रावधान राखिएको छैन।

तर मस्कले त्यस्तो साझेदारीमा इन्टरनेट सेवा सुरु नगर्ने अडान राख्ने गरेका छन् र नेपालमा पनि उनका प्रतिनिधिहरूले त्यस्तै जानकारी दिएको अधिकारीहरू बताउँछन्।

त्यस्तो अवस्थामा नेपालले दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानीसम्बन्धी नीतिनियम परिवर्तन गर्नुपर्ने हुन्छ।

नेपालमा स्टारलिङ्कको सेवा सुरु हुनुपर्छ भनेर लामो समयदेखि पैरवी गरेको सार्वजनिक रूपमै बताउँदै आएका इन्टरनेट सेवा प्रदायक वर्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल भन्छन्, "मुख्य समस्या भनेकै वैदेशिक लगानीको प्रावधान र फ्रिक्वेन्सीमा देखिएको छ।"

नेपालमा स्याटलाइट इन्टरनेट सेवा चलाउनका लागि फ्रिक्वेन्सीको आवश्यकता पर्छ र त्यस्तो फ्रिक्वेन्सी कसरी दिने भन्नेबारे कतिपय प्रावधान अस्पष्ट रहेको जानकारहरूले बताएका छन्।

यद्यपि यी समस्याहरू सरकारले चाहेमा सहजै फुकाउन सक्ने अग्रवालको बुझाइ छ।

"नेपालको दुर्गम क्षेत्रमा इन्टरनेट सेवा पुर्‍याउन स्टारलिङ्क विकल्प हो। त्यसैले यो यहाँको आवश्यकता हो भनेर मैले भन्दै आएको छु तर त्यतातर्फ सहजीकरण हुन सकिरहेको छैन," उनले भने।

'स्टारलिङ्क वा त्यस्तै स्याटलाइट इन्टरनेट सेवाका लागि नीतिगत बाधाहरू हटाउनेबारे सरकारले के गर्दै छ?' भनी सोधेको प्रश्नमा सञ्चार मन्त्रालयका प्रवक्ता ठाकुर भन्छन्, "यो मात्र होइन, दूरसञ्चार क्षेत्रमा धेरै नीतिगत समस्या रहेका छन्। त्यसलाई समाधान गर्न ऐन संशोधनबारे मन्त्रालयले आन्तरिक छलफल गरिरहेको छ।"

"तर स्टारलिङ्ककै लागि भनेर कुनै नीतिगत कुरा आएका छैनन् किनभने उसले औपचारिक रूपमा केही भनेको पनि छैन र हाम्रो मन्त्रालयमा यसबारे अहिलेसम्म छलफल नै भएको छैन।"

स्टारलिङ्कको इन्टरनेट सेवा सस्तो छ?

नेपालमा केही विगतदेखि नै केही कम्पनीहरूले स्याटलाइट इन्टरनेट सेवा दिँदै आएका छन्।

तर त्यो सीमित मात्रामा मात्र रहेको दूरसञ्चार प्राधिकरणको विवरणले देखाउँछ।

नेपालमा विशेष गरी पर्वतारोहणलाई लक्षित गर्दै त्यस्तो सेवा दिने गरिएको छ।

नेपालमा चलेका कम्पनीले पृथ्वीबाट धेरै टाढा रहेको जिओ स्याटलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने गरेका छन्।

सार्वजनिक भएका विवरणहरूका अनुसार स्टारलिङ्कको स्याटलाइट कक्षको तल्लो तहमा राखिएको छ। अन्य स्याटलाइट जिओस्टेशनमा माथि छन्।

दूरीका हिसाबले धेरै तल भएकाले स्टारलिङ्क इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ। यो प्रविधिमा स्याटलाइटबाट सीधा सम्पर्क स्थापित हुन्छ।

त्यसले गर्दा हाल नेपालमा उपलब्ध स्याटलाइट इन्टरनेटको तुलनामा स्टारलिङ्कको सेवा निकै सस्तो पर्न सक्ने तर 'ब्रोडब्यान्ड इन्टरनेट'का तुलनामा निकै महँगो पर्ने बताइन्छ।

स्टारलिङ्कको इन्टरनेटको शुल्क कस्तो हुन्छ भन्ने हामी भुटानमा उसले सुरु गरेका 'प्याकेज'का आधारमा पनि गर्न सक्छौँ।

उदाहरणका लागि, भुटानमा उसले घरायसी 'लाइट प्लान' अन्तर्गत हरेक महिना तीन हजार भुटानी मुद्रामा सेवा उपलब्ध गराएको देखिएको छ।

त्यो भनेको नेपाली रुपैयाँ झन्डै ४,८०० हुन्छ। यो २३ एमबीपीएसदेखि १०० एमबीपीएससम्मको स्पीडको मूल्य हो।

तर भारतमा योभन्दा सस्तो मूल्यमा उसले इन्टरनेट सेवा उपलब्ध गराउने सम्भावना रहेको ठानिएको छ।

ग्राहकको सङ्ख्या तथा कुनै पनि देशमा स्टारलिङ्कको सेवा चलाउन सम्झौता गरेका कम्पनीका आधारमा पनि त्यसको शुल्क घटीबढी हुन सक्छ।

नियमित शुल्कसँगै स्टारलिङ्कका उपकरणहरू जडान गर्नका लागि पनि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन सक्छ।

स्टारलिङ्कले भूउपग्रहहरूको व्यापक सञ्जालबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ।

यो दुर्गम क्षेत्रमा बस्ने र द्रुत गतिको इन्टरनेटमा पहुँच नहुने मानिसहरूका लागि लक्षित छ।

स्टारलिङ्कका भूउपग्रहहरू एकअर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेटको गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन्।

विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने भूउपग्रहहरूको आवश्यकता पर्छ। स्टारलिङ्कले हजारौँ भूउपग्रहहरू अन्तरिक्षमा राखेको ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।