तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिक्किमका मुख्यमन्त्रीका रूपमा पीएस गोलेको सय दिने कार्यकाल कस्तो रह्यो?
- Author, नितेश आर प्रधान
- Role, सिक्किम, भारत
पूर्वोत्तर भारतीय राज्य सिक्किमको मुख्यमन्त्रीका रूपमा प्रेमसिंह तामाङ अर्थात् पीएस गोलेले दोस्रो कार्यकाल सम्हालेको बुधवार १०० दिन पुगेको छ।
कतिपय विश्लेषकहरू उनका सुरुवाती १०० दिनले सिक्किमका मुख्यमन्त्रीका रूपमा गोलेको दोस्रो कार्यकाल कस्तो हुन्छ भन्ने छनक दिइरहेको बताएका छन्।
विधानसभाका एकबाहेक सबै सीटमा उनको दल विजयी भएपछि गोले यसपालि शक्तिशाली मुख्यमन्त्री बनेका छन्।
गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा अर्थात् एसकेएमले विधानसभामा ३२ मध्ये ३१ सीटमा चुनाव जितेको थियो। त्यो सिक्किमको चुनावी इतिहासमै पहिलो पटक भएको घटना थियो।
यद्यपि कतिपय उनका आलोचकहरू लगभग प्रतिपक्षीविहीन अवस्थाले गोलेलाई "मनोमानी गर्नतर्फ लैजाने हो कि?" भन्ने विश्लेषण गर्छन्।
गोलेको पृष्ठभूमि
गोले सन् १९६८ मा पश्चिम सिक्किमस्थित सिङ्लिङमा जन्मिएका हुन्।
साधारण परिवारमा हुर्किएका गोले पहिलो पटक सन् १९९४ मा सोरेङ-चकुङ क्षेत्रबाट सिक्किम विधानसभामा प्रतिनिधित्व गरेका थिए।
त्यस बेला उनले पूर्व मुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट अर्थात् एसडीएफबाट चुनाव जितेका थिए।
आफ्नो राजनीतिक यात्राको सुरुवातमा गोले ग्रामीण विकास र सामाजिक न्यायमा केन्द्रित थिए।
एकजना लेखक तथा स्तम्भकार सत्यदीप छेत्री गोलेलाई युवा, ऊर्जावान् र साहसी नेताका रूपमा लिन्छन्।
क्षेत्रीका भनाइमा त्यस बेला सोरेङ-चकुङ क्षेत्रलाई सिक्किम सङ्ग्राम परिषद् अर्थात् एसएसपीको प्रभाव क्षेत्र मानिन्थ्यो।
त्यस बेला सिक्किममा मुख्यमन्त्री तथा उक्त दलको नेतृत्वमा नरबहादुर भण्डारी रहेका थिए।
भण्डारी र उनको पार्टीविरुद्ध उभिन सक्ने क्षमताकै कारण गोलेमा नेतृत्व क्षमता विकास भएको कतिपयको विश्लेषण छ।
भण्डारी नेतृत्वको लामो शासनबाट परिवर्तन चाहने मतदाताले नयाँ राजनीतिक पार्टीसँग प्रतिबद्ध नयाँ युवा अनुहारका रूपमा उनलाई स्वीकारेका थिए।
चाम्लिङको दलबाट यात्राको सुरुवात, उनकै विरोधबाट स्थापित
सुरुमा गोलेको राजनीतिक कद चाम्लिङ नेतृत्वको एसडीएफ नेताकै रूपमा बढेको मानिन्छ।
उक्त दलबाट चुनाव जितेकै बेला उनले विभिन्न मन्त्रीका रूपमा कार्यभार सम्हाले।
मन्त्री हुँदा गोले ग्रामीण क्षेत्रको उत्थानका पक्षमा खुलेर लागेका थिए। त्यसले पार्टीभित्र तथा बाहिर उनलाई स्थापित गराउन भूमिका खेलेको थियो।
तर आफ्नै "राजनीतिक गुरु" अनि "मातृदल"प्रति गोलेको वितृष्णा बढ्न थाल्यो।
त्यसले उनलाई उक्त दलबाट अलग हुने अवस्थामा पुर्यायो।
गोलेको एसडीएफबाट बाहिरिने निर्णयलाई सिक्किमको राजनीतिमा एउटा रोचक अध्यायको रूपमा हेरिने विश्लेषणहरू बताउँछन्।
नयाँ पार्टी गठन
गोलेको सन् २००९ देखि नै एसडीएफ र तत्कालीन मुख्यमन्त्री चाम्लिङप्रति मोह भङ्ग हुन थालेको देखिन्छ।
उनले सत्तापक्षमा रहँदारहँदै तत्कालीन सरकार र एसडीएफका नेताहरूको खुलेर आलोचना गर्न थालेका थिए।
जनअपेक्षा र आकाङ्क्षा अनुरूप काम नगरेको र अनियमितता बढेको आरोप गोलेको थियो।
त्यसले चाम्लिङ र गोलेबीच दूरी व्यापक बढ्यो र त्यो यस्तो विन्दुमा पुग्यो कि दुवै नेताहरू फरक कित्ता र भिन्न दलमा उभिन पुगे।
सन् २०१३ मा गोलेले आफ्नै नेतृत्वमा एसकेमए पार्टी गठन गरे जसरी सन् १९९३ मा चाम्लिङले आफ्ना 'राजनीतिक गुरु' नरबहादुर भण्डारीबाट अलग्गिएर एसडीएफ गठन गरेका थिए।
उनले पारदर्शी विकास र समावेशी समाज बनाउने मञ्चका रूपमा आफ्नो दल क्रियाशील हुने उद्घोष गरेका थिए।
उनको दलले अघि सारेका योजनाहरू सिक्किममा ग्रामीण क्षेत्रमा लोकप्रिय भए र एसडीएफका नीतिमा असन्तुष्ट मतदाता एसकेएमतर्फ आकर्षित भए।
भ्रष्टाचार मुद्दा
सन् २०१४ मा भएको निर्वाचनमा गोलेको दलले १० सीटमा चुनाव जित्यो। त्यस बेला चाम्लिङको पार्टीले २२ सीटमा जितेर सरकार बनाएको थियो।
गोले सन् १९९४ देखि २००९ सम्म तीन पटक चाम्लिङ नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।
त्यसै क्रममा उनी पशुपालनमन्त्री रहँदा उन्नत जातका गाई वितरणमा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो। त्यो मुद्दा सन् १९९६ को घटनासँग सम्बन्धित थियो।
सन् २०१६ मा तल्लो अदालतबाट गोले उक्त मुद्दामा दोषी ठहर भए र सन् २०१८ अगस्टसम्म जेलमा बिताए।
सन् २०१९ को विधानसभा निर्वाचनमा गोलेको दलले ३२ मध्ये १७ सीटमा जित हासिल गरेको थियो।
तर त्यस बेला उनी चुनावमा उठेका थिएनन् र विधानसभा सदस्य पनि थिएनन्।
जेलबाट छुटेपछि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको तथा विधानसभामा सदस्य नभएका व्यक्तिलाई मुख्यमन्त्री बनाइएको भन्दै सुरुमा व्यापक आलोचना भएको थियो।
तर भारतको संविधानमा विधानसभा सदस्य नरहे पनि मुख्यमन्त्री बन्नसक्ने प्रावधान रहेको छ। तर त्यस्तो व्यक्तिले ६ महिनाभित्र चुनाव जितेर विधानसभा सदस्य बन्नुपर्छ।
गोले सोही प्रावधान अनुसार मुख्यमन्त्री बने र ६ महिनाभित्रै भएको उपनिर्वाचन जितेर विधानसभा सदस्य पनि भए।
गोलेका एजेन्डा
आफैँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका भए पनि उनले त्यसलाई राजनीतिक रूपले प्रेरित रहेको भने र जेलभित्रबाटै सङ्गठन विस्तारका लागि काम गरे।
उनले आफ्नो दल र आफूले जितेमा "भ्रष्टाचारको अन्त्य गर्ने र पारदर्शिता कायम गर्ने" प्रतिबद्धता जनाए।
विरोधीहरूले उनीमाथि लागेको "भ्रष्टाचारको दाग"लाई देखाउँदै बारम्बार उनको छविमाथि प्रहार गरे पनि मतदाताले उनैको दललाई पत्याएर गत एप्रिलमा भएको चुनावमा सर्वाधिक बहुमतले जिताए।
एनको दलका नेताहरू गोलेको नेतृत्वमा सिक्किममा धेरै "सकारात्मक परिवर्तनहरू देखापरेको" दाबी गर्छन्।
"हामीले युवालाई आकर्षित गर्न बेरोजगारी अन्त्यको कुरा गर्यौँ। हाम्रो एजेन्डामा शासकीय सुधार र सार्वजनिक सेवामा सुधारको विषय पर्यो," एसकेएम प्रवक्ता विकास बस्नेत भन्छन्।
उनका भनाइमा एसकेएमका मुख्य मुद्दाहरूमा प्रशासनिक सुधार, सार्वजनिक कल्याण, स्वास्थ्य सेवा र शिक्षा प्रणालीमा सुधारलगायतका कुरा समावेश छन्।
अघिल्लो पाँच वर्षको अवधिमा कोभिड-१९ महामारी, टिस्टा नदीको बाढी र निरन्तरको राजनीतिक सङ्कट जस्ता चुनौती रहेकोमा यसपालि त्यस्तो अवस्था नहरेकाले सरकारले थप सुधारका काम गर्ने बस्नेतको दाबी छ।
विश्लेषक के भन्छन्?
सिक्किमका वरिष्ठ पत्रकार जोसेफ लेप्चा गोलेले "शून्य शत्रु" र समावेशी समाजको नीति अपनाएको बताउँछन्।
उनी "शून्य शत्रु" नीतिमा सफल भएकाले नै विधानसभा विपक्षीविहीन बनेको लेप्चाको भनाइ छ।
उनी १०० दिनमा गोले नेतृत्वको सरकारले पाँच हजारभन्दा बढी युवालाई सरकारी रोजगारी दिएको र १८ हजार युवालाई नयाँ नियुक्ति दिलाएको बताउँछन्।
त्यस्तै पत्रकारलाई पेन्सन दिने व्यवस्था पनि सरकारले गरेको उनको भनाइ छ।
राज्य भाषालाई महत्त्व दिँदै राजपत्रहरू अङ्ग्रेजीसँगै नेपालीमा पनि जारी हुने कुराले पनि सिक्किमवासी गोलेप्रति सकारात्मक नै रहेको देखिएको उनको भनाइ छ।
गोलेको प्राथमिकता
मुख्यमन्त्रीका रूपमा गोलेले पारदर्शिता, भ्रष्टाचारविरोधी उपाय र ग्रामीण क्षेत्रको विकासलाई आफूले प्राथमिकतामा राखेको बताउँदै आएका छन्।
उनी भन्छन्, “हाम्रो सरकारको प्राथमिकता भनेको बिपास (बिजुली, पानी, सडक) र स्वास्थ्य, शिक्षा एवं रोजगारी हुनेछ।”
उनले अघिल्लो कार्यकालमा आफूले देखाएको विकासप्रतिको आशाका कारण यसपालि व्यापक विजय हासिल गरेको दाबी गर्छन्।
आलोचक के भन्छन्?
गोले र उनको दल एवं कतिपय विश्लेषकहरूले उनको नीतिलाई लिएर प्रशंसा गरिरहेका भए पनि उनका आलोचकहरूले चाहिँ गोलेका कतिपय नीतिप्रति प्रश्न उठाएका छन्।
त्यस्तै उनी 'भ्रष्टाचार मुद्दामा जेल परिसकेका' व्यक्ति भएकाले उनको सार्वजनिक छविलाई लिएर पनि विपक्षीहरूले प्रश्न गर्ने गर्छन्।
त्यस्तैमध्येका एक सिटिजन एक्सन पार्टीका प्रवक्ता अल्बर्ट गुरुङ एसकेएम नेतृत्वको सरकारको दोस्रो कार्यकालका पहिला १०० दिनले नै राज्यमा "खराब शासन" छ भन्ने देखाएको दाबी गर्छन्।
उनले भने, "यो तीन महिनाभन्दा अलिकति बढीको समयमा सिक्किमले असफलता, कुप्रबन्धन र गलत प्राथमिकताका शृङ्खला देखेको छ। त्यसले सर्वसाधारण जनताका लागि थप कठिनाइ ल्याएको छ।"
गुरुङले मुख्यमन्त्रीले स्थानीय मुद्दालाई प्राथमिकता नदिईकन अन्य राज्यहरूमा लगातार भ्रमण गरिरहेकाले उनको नेतृत्व र उत्तरदायित्वमाथि नै प्रश्न उठेको बताए।
शैक्षिक सत्रको बीचमा शिक्षकहरूको सामूहिक स्थानान्तरणले शिक्षाप्रणाली बिगारेको, सरकारी र पार्टीका कार्यक्रममा गरिएको अनावश्यक खर्चले राज्यको अर्थतन्त्रलाई थप दबावमा पारेको आरोप उनले लगाए।
बेरोजगारी अन्त्यका लागि सरकारबाट ठोस योजना नआएको तथा बिग्रँदै गएका सडकहरूको मर्मतसमेत नभएको उनको भनाइ छ।
गुरुङले सरकारले कर बढाएको भन्दै त्यसको पनि आलोचना गरे।
उनले भने, "सर्वसाधारणमाथि थप भार पर्नेगरी सरकारले हालै सवारी करमा १०० प्रतिशतभन्दा धेरै वृद्धिको घोषणा गरेको छ।"
"यो कर वृद्धिले सर्वसाधारणलाई प्रत्यक्ष रूपमा असर पार्नेछ।"
उनका दाबीमा गोले नेतृत्वको सरकारसँग पाँच वर्षका लागि कुनै पनि दीर्घकालीन योजना रहेको देखिएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।