तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विश्वकपमा नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको आत्मविश्वास कस्तो छ?
- Author, निरञ्जन राजवंशी
- Role, ड्यालस,संयुक्त राज्य अमेरिका
आईसीसी टी-२० क्रिकेट विश्वकपमा नेपालको पहिलो खेल सुरु हुने समयसँगै नेपाली क्रिकेट समर्थकहरूको ढुकढुकी तीव्र भइरहेको छ।
‘ग्रूप अफ डेथ’ भनिएको समूह ‘डी’ मा रहेको नेपालका लागि १० वर्षपछिको विश्वकप अवसर तरबारको धार माथिको यात्रा भएको क्रिकेटका कतिपय पण्डितहरू टिप्पणी गर्छन्।
तर नेपाल कुनै पनि टोली भन्दा कमजोर नभएको विश्वास कप्तान रोहित पौडेलको छ।
दक्षिण अफ्रिका, श्रीलङ्का र बाङ्ग्लादेशजस्ता टेस्ट राष्ट्रसँग खेल्नुअगाडि नेपालको परीक्षा मङ्गलवार नेदरल्यान्ड्सविरुद्धको खेलबाट हुँदै छ।
रोहित पौडेलको आत्मविश्वास खेलअगाडि आयोजित प्री-म्याच प्रेस कन्फरेन्समा पनि दोहोरियो।
“दुवै टोली सन्तुलित छन्। मलाई लाग्दैन की नेदरल्यान्ड्स हामी भन्दा अगाडि हो। जसले दबाब झेल्न सक्छ, जित उसैको हुन्छ,” पौडेलले भने।
झन्डै एक महिना अगाडि देखि अमेरिका/वेस्ट इन्डिजमा आएर यहाँको मौसमसँग अभ्यस्त बनिरहेका नेपाली खेलाडीहरूले १० वर्ष पछिको विश्वकप सहभागितालाई अवसरका साथै चुनौतीका रूपमा लिइरहेका छन्।
र त्यसमा खरो उत्रिन उनीहरू गम्भीर पनि देखिन्छन्।
‘हेड टू हेड’मा को अघि
नेपालले समूह चरणका खेलहरूमा प्रतिस्पर्धा गर्ने चार टोलीहरूमध्ये नेदरल्यान्ड्स मात्रै नेपालका लागि परिचित प्रतिद्वन्द्वी हो। यी दुई टोलीले अहिलेसम्म १२ वटा टी-२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरिसकेका छन्।
जसमध्ये छ खेलमा नेदरल्यान्ड्सले र पाँचमा नेपालले जित हात पारेको थियो।
एक खेल नतिजाविहीन भएको थियो।
त्यसैले कतिपयको भनाइमा पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नु नेपालको लागि गतिलो सुरुआत गर्ने मौका पनि हो।
त्यो मौकाको सदुपयोग गर्ने दाउमा रहेका कप्तान रोहितले भने, “पहिलो जितले खेलाडीहरूमा एउटा ऊर्जा दिनेछ। जसको सकारात्मक ऊर्जा अरू खेलमा पनि पर्छ। हामी त्यो 'मोमेन्टम' चाहन्छौँ।”
भुर्तेलको संयोग
नेदरल्यान्ड्सको प्रसङ्ग निस्किँदा कतिपय नेपाली समर्थकहरू सन् २०२१ को कीर्तिपुर मैदानको त्यो प्रतिस्पर्धा सम्झिने गर्छन्, जहाँ कुशल भुर्तेलको शानदार उदय भएको थियो।
‘ब्याक टु ब्याक’ तीन अर्ध शतक प्रहार गरेपछि नै भुर्तेलले आफ्नो निम्ति राष्ट्रिय टोलीमा मजबुत स्थान पक्का गरेका थिए।
तीन वर्ष भइसक्यो आशिफ शेखसँगको त्यो ओपनिङ जोडी अझै कायम छ।
तर अहिले विश्वकप अगाडि यी जोडीको तेज केही असन्तुलित भएको हो की भन्ने चिन्ता कतिपय समर्थकहरूमा छ।
कुशल भुर्तेलले विश्वकप छनोट पछि केही फर्म गुमाएको उनको प्रदर्शनको आँकडा विश्लेषण गरिरहेका कतिपय जानकारहरू बताउँछन्।
एसीसी प्रिमिअर कपमा लगातार शून्य रनमा आउट हुँदा देखि बिग्रिएको उनको लय अझै फर्किन सकेको छैन।
दर्शकहरू भुर्तेलको त्यो पुरानो फर्म नेदरल्यान्डस् विरुद्ध कै खेलबाट फर्कियोस् भन्ने कामनामा छन्।
अर्कोतर्फ नेदरल्यान्ड्सले एकपछि अर्को राम्रो नतीजा दिँदै आएको छ। विश्वकप ‘वार्म अप’ खेलमा पनि नेदरल्यान्ड्सले श्रीलङ्कालाई हराएको थियो।
नेदरल्यान्ड्सको डर
नेपालमा आएर खेल्न नेदरल्यान्ड्सका खेलाडीहरू खूब मन पराउने गर्छन्। कारण हो नेपाली समर्थकहरूको माया।
कीर्तिपुरमा दर्शकको माया रुचाउने नेदरल्यान्ड्स ड्यालसको ग्रान्ड प्रेरी रङ्गशालामा उपस्थित हुने अत्यधिक नेपाली दर्शकबाट ‘डिस्टर्व’ हुन सक्ने चिन्तामा देखिन्छ।
दर्शकबारे सोधिएको प्रश्नमा नेदरल्यान्डसका प्रशिक्षक रायन कुकले भने, “मैले सुनेको छु यहाँ धेरै नेपाली समर्थकहरू आउँदैछन्। यहाँ पनि रमाइलो हुनेछ।”
मौसम र पिच कस्तो छ
टेक्ससको मौसमको कुनै भर हुँदैन। कुनै पनि बेला वर्षा हुन सक्छ वा टन्टलापुर घाम पनि लाग्न सक्छ। ग्रान्ड प्रेरी रङ्गशालाको पिचलाई यसले असर पुर्याउने नै भयो।
यद्यपि खेलाडीहरू हरेक अवस्थाका लागि तयार भइसकेको विश्वास कप्तान रोहितको छ।
उनी भन्छन्, “यहाँको पिच कीर्तिपुर मैदानको भन्दा अलि बढी बाउन्सी छ। घाम लाग्छ की शीत पर्छ, त्यो मौसम अनुसार हामीले आफूलाई परिवर्तन गर्नुपर्छ। त्यसको लागि हामी तयार छौँ।”
नेपालका लागि खुसीको खबर
चोटग्रस्त दीपेन्द्र सिंह ऐरी टोलीमा फर्किनु नेपाली समर्थकहरूका लागि खुसीको खबर हो। यसले नेपाली टोलीको मध्यक्रम मात्र होइन, बलिङ विकल्प पनि मजबुत हुने ठानिन्छ।
कप्तान रोहितले टोलीमा उथलपुथल नहुने बताएपछि सहज अनुमान गर्न सकिन्छ कि कुशल र आशिफको जोडी नेपालको ओपनिङ ब्याटिङमा आउनेछ।
रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा को मध्य क्रम बलियो छ।
दीपेन्द्र भित्रिँदा सन्दीप जोरा वा अनिल शाह मध्ये एकजना बाहिरिन सक्छन्।
त्यति मात्र होइन, सागर ढकाल, प्रतिश जिसी र कमल सिंह ऐरी पनि बाहिरिने सूचीमा अगाडि हुने सम्भावना औँल्याइएको छ।
सबैभन्दा महत्त्वपूर्ण नतिजा नै हो।
रोहित पौडेलले भन्छन्, “हामी राम्रो खेलेर वर्तमानलाई गर्विलो पार्न र भविष्यका लागि प्रेरणा बन्न सक्छौँ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।