लिपस्टिक लगाउने विषयबारे भारतको चेन्नईमा तातो बहस किन

तस्बिर स्रोत, Madhavi
दक्षिण भारतको चेन्नई सहरमा एक महिला सरकारी कर्मचारीले लिपस्टिक लगाउने गरेका कारण आफूलाई अन्यत्र सरुवा गरिएको दाबी गरेकी छन्।
उक्त घटनाले इन्टरनेटको सामाजिक सञ्जालमा ठूलो बहस निम्त्याएको र लैङ्गिक अधिकार पैरवीकर्ताहरूलाई आक्रोशित तुल्याएको देखिएको छ। माधवी नामक ती महिला त्यहाँको स्थानीय सरकारको एक निकाय 'चेन्नई नगर निगम'मा विगत १५ वर्षदेखि कार्यरत थिइन्।
चेन्नईमा प्रिया राजन प्रथम महिला दलित नगरप्रमुख बनेको केही समयपछि तीन वर्षअघि माधवी प्रथम महिला मार्शल बनेकी थिइन्। भारतमा दलित भनिने समुदायले परम्परागत रूपमा नै सामाजिक बहिष्करणको व्यवहार भोग्दै आएको छ।
माधवीको मुख्य काम सार्वजनिक स्थलमा नगरप्रमुखलाई भिडभिडमा सुरक्षा प्रदान गर्नु थियो।
माधवीका अनुसार गत मार्चमा नगरप्रमुखको कार्यालयद्वारा आयोजित महिला दिवसको कार्यक्रममा आफू सहभागी भएपछि यो विवाद सुरु भएको थियो।
“त्यस बेला एउटा 'फ्याशन शो' भएको थियो। मैले त्यसमा ‘क्याटवाक’ गरेकी थिएँ,” माधवीले बीबीसीसँग भनिन्।

तस्बिर स्रोत, Madhavi
माधवीको आरोपअनुसार नगरप्रमुख उक्त कार्यक्रमबाट अकस्मात् उठेर हिँडेकी थिइन् र उनले पछि त्यस विषयमा कडा सोधपुछ गरिन्।
“उनले मलाई किन मञ्चमा क्याटवाक गरेको भनेर सोधिन्। तर उक्त कार्यक्रममा भएका घटनाबारे अन्य कुनै छलफल भएन,” माधवीले भनिन्।
“त्यसयता मैले लगाउने लिपस्टिकको रङ्गलाई मविरुद्ध हतियारका रूपमा प्रयोग गरिएको छ।”

तस्बिर स्रोत, priyaranjandmk/IG
माधवीका अनुसार उक्त घटनाको केही दिनपछि नगरप्रमुखका निजी सहायकले सबै कर्मचारीलाई चहकिलो लिपस्टिक नलगाउन मौखिक चेतावनी दिएका थिए। माधवीलाई उक्त कुरा चित्त बुझेन।
“यो मेरो शरीर हो र मैले के लगाउने वा नलगाउने, कस्तो रङ्गको लिपस्टिक लगाउने भन्ने मेरो नितान्त व्यक्तिगत अधिकारको कुरा हो। उनीहरू को हुन् यो विषयमा मलाई निर्देशित गर्ने?”
अगस्ट ६ तारिखका दिन उनी कार्यालयमा ढिलो पुगेपछि उनीसँग लिखित स्पष्टीकरण सोधियो।
बीबीसीले हेरेको उक्त पत्रमा आफ्नो जिम्मेवारीमा हेलचेक्र्याइँ गरेको, समयको अनुशासन पालना नगरेको, आफूभन्दा माथिल्ला अधिकारीको निर्देशन पालना नगरेको र ‘कार्यालयका निर्देशिकाहरू’ पालना नगरेको जस्ता कुराहरू उल्लेख छन्।
माधवीले खुट्टा भाँचिएका कारण बिहानको भिडभाड बढी हुने समयमा यात्रा गर्न गाह्रो भएकाले गर्दा कार्यालय पुग्न ढिलो भएको बताएकी छन्।

तस्बिर स्रोत, PRIYARAJANDMK/X
उनले उक्त पत्रको जबाफमा लेखिन् : “तपाईँले मलाई लिपस्टिक नलगाउन भन्नुभयो म त्यो कुरा मान्दिनँ। यदि यो अपराध हो भने लिपस्टिक लगाउनबाट रोक्ने सरकारी आदेश मलाई देखाउनुहोस्।”
तर आफ्नो स्पष्टीकरणबारे कुनै प्रतिक्रिया नपाएको उनले बताइन्। बरु आफूलाई भोलिपल्टै उत्तरी चेन्नईको कार्यालयमा सरुवा गरिएको उनको भनाइ छ।
नगरप्रमुख प्रिया राजनले आफू र चेन्नई नगर निगमविरुद्धका सबै आरोपको खण्डन गरेकी छन्। उनले आफ्नो कार्यालयका कसैले पनि माधवीसँग लिपस्टिकको विषयमा कुनै कुराकानी नगरेको बताइन्।
बीबीसीसँग कुरा गर्दै नगरप्रमुखले माधवीले काममा हाजिर हुनुपर्ने समयको अनुशासन पहिलेदेखि नै पालना नगर्ने गरेको बताइन्। “हामीले उनलाई यस विषयमा दुई पटक चेतावनी दिइसकेका थियौँ तर उनले त्यसलाई बेवास्ता गरेकी थिइन्,” उनले भनिन्।
सार्वजनिक नैतिक व्यवहारको निगरानी
चेन्नईमा ७० भन्दा बढी मानिसको बसोबास छ। धेरै पहिलादेखि उक्त सहरका आर्थिक गतिविधिमा महिलाहरू पनि सहभागी हुँदै आएका छन्।
नगरप्रमुख राजन स्वयं तमिलनाडू राज्यको सत्ताधारी क्षेत्रीय दल 'द्रविड मुन्नेत्र कझगम' (डीएमके) की सदस्य हुन्। उक्त पार्टीले आफूलाई प्रगतिशील राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्ने गर्छ। तर यो विवादले उक्त दलको छविमा केही प्रश्न खडा गरेको छ।
माधवीलाई सरुवा गर्ने आदेशका विषयमा सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा भएको छ। भारतका अधिकारवादीहरूले उनको सरुवाको आलोचना गरेका छन्।
चेन्नईस्थित महिला अधिकारवादी कार्यकर्ता निवेदिता लुइस भन्छिन्, "यदि माधवीको आरोप सत्य हो भने हामीले सरकारी कार्यालयहरूमा महिलामाथि त्यस्तो नैतिक व्यवहारको निगरानी गर्ने धारणा लाद्ने ती व्यक्तिहरू को हुन् भनेर प्रश्न गर्नुपर्ने हुन्छ।”
उनले माधवीमाथिको दण्डनीय व्यवहारलाई “अतिशयोक्तिपूर्ण” भनेकी छन्।

तस्बिर स्रोत, Greater Chennai Corporation
लिपस्टिकमोह
माधवीले पुरानै स्थानमा फर्किन खोज्ने गरी आफूले मुद्दा नहाल्ने बताएकी छन्। बरु सामाजिक सञ्जालमा आफूप्रति व्यक्ति समर्थन र यो विषयमा भएको चर्चा नै आफ्ना लागि पर्याप्त भएको उनी ठान्छिन्।
उनले लिपस्टिक लगाउन छोडेकी छैनन्। अहिले उनी स्थानीय र अझ सस्ता लिपस्टिक प्रयोग गर्छिन्।
"म आफू 'फ्याशनेबल' व्यक्तिका रूपमा देखिन चाहन्छु। तर 'ब्र्यान्डेड' सामानका लागि खर्च जुटाउन सक्दिनँ। म 'पार्लर' पनि जान्नँ," उनले बीबीसीसँग भनिन्।
"मलाई गुलाफी लिपस्टिक मन पर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








