जुम्लामा छोरा र बुहारी सँगसँगै पढ्न जाने चलन बढ्दो क्रममा

    • Author, कृष्णमाया उपाध्याय
    • Role, जुम्ला, बीबीसी न्यूज नेपाली

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँकी तारा आचार्य भट्टको कक्षा ६ मा पढ्दै गर्दा विवाह भयो।

बिहे गरेको एक वर्षभित्रै छोरी जन्मिइन्। त्यति बेला उनी १७ वर्षकी थिइन्।

आमाबुवाले किशोरावस्थामै मागी विवाह गरिदिएपछि तारालाई लागेको थियो विवाहसँगै अब पढ्ने धोको टाढाको सपना भयो।

तर श्रीमान् र सासूससुराको साथ पाएपछि उनले पढाइलाई निरन्तरता दिन पाइन् जुन कुरा अहिले पनि जुम्लाका धेरै घरपरिवारमा निकै नौलो मानिन्छ।

“छोरी जन्मिएपछि बच्चाको हेरचाह गर्दै घरायसी काम र पढाइलाई सँगै अगाडि बढाएँ,” अहिले स्नातक तेस्रो वर्षमा पढ्दै गरेकी ताराले भनिन्।

“म विद्यालय गएको समयमा छोरीलाई दूध खुवाउन सासूले विद्यालयमै ल्याइदिनुहुन्थ्यो। त्यसरी सहयोग गरिदिने सासू नभएको भए म कसरी पढ्न पाउँथेँ?”

उनी छ कक्षामा पढ्दा उनका श्रीमान् १० मा पढ्थे।

एक दिन उनले श्रीमान्‌सँग आफूलाई घरपरिवारबाट सहयोग भए घरको काम गर्दै पढ्न मन भएको बताइन्। श्रीमान्‌ले उनलाई सहयोग गरे। सासूससुराले पनि उनको इच्छा मार्न चाहेनन्। बरु उनलाई घरायसी काममा सघाइदिएर विद्यालय जान दिए।

“बिहान बेलुका घरको काम र दिउँसो विद्यालय गएर पढ्न थालेँ। त्यसै गरी एसएलसी पास गरेँ,” उनले भनिन्। 

'कठिनाइपछिको सफलता मीठो'

उनी बिदाको दिन वनजङ्गलमा गएर दाउरा घाँस ल्याउँथिन्। बिहान बेलुका घरमा सघाउने पनि गर्थिन् अनि बच्चालाई खाना खुवाएर, भान्साको काम सकेपछि बल्ल पढ्न थाल्थिन्। “जसरी पनि पास गर्नुपर्छ भन्ने लागेर म राति १२ बजेसम्म पढ्थेँ,” उनले भनिन्।

“त्यसपछि बिहानै ४ बजे उठेर फेरि घरको काम गरेर अनि पढ्न जान्थेँ। मैले काम गरुन्जेल सासूले बिहानको खाना बनाउने र बच्चा हेर्दिने काम गर्नुहुन्थ्यो।”

यस्तै गरेर उनले कक्षा ११ र १२ को पढाइ पनि पूरा गरिन्। अहिले उनी घरबाट नजिकै पर्ने सिँजा बहुमुखी क्याम्पसमा बीएड तेस्रो वर्षमा पढ्दै छिन्। स्नातक तह भर्ना भइसकेपछि पढ्न नियमित जान त पाइनन्। तर उनका अनुसार उनी घरको काम सकेर बचेको समयमा पढ्थिन्।

“कहिलेकाहीँ बच्चा बिरामी भएको बेलामा वा कामले फुर्सद नपाएको बेलामा पढाइ छोडिदिऊँ जस्तो लाग्थ्यो,” उनले भनिन्।

तर त्यस्तो बेला उनका अनुसार श्रीमान् र सासूससुराले तिमीले पढ्नुपर्छ भनेर बल दिने गर्छन्।

अहिले उनी प्राथमिक विद्यालय तहको अध्यापन अनुमतिपत्रको परीक्षा पास गरेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी छन्।

गत वर्षको शिक्षक सेवा आयोगको इलामबाट दिएको परीक्षामा नाम निकाले पनि अन्तरवार्तापछि वैकल्पिकमा नाम प्रकाशित भयो।

“त्यसपछि त झन् अब केही गर्नुपर्छ जस्तो लागेर अहिले फेरि तयारीमा जुटेको छु,” उनले आफ्नो दृढ अठोट सुनाइन्।

पाँच-पाँच वर्षको फरकमा जन्मेका उनका एक छोरी र दुई छोरा छन्।

घरको काम र बच्चाको पालन पोषणमा ध्यान दिँदै पढ्न गाह्रो भए पनि कठिनाइपछिको सफलता आनन्ददायक भएको उनको अनुभव छ।

स्नातक तहसम्मको पढाइ पूरा गरेका ताराका श्रीमान् हेमराज आचार्यले भने जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थामा काम गरेर घर खर्च र छोराछोरी अनि श्रीमतीको पढाइ खर्च जुटाए।

मैले बुहारी पढ्न पठाएपछि अरूले पनि पठाउन थाले

“मैले विवाह गर्दा पनि पढाउँछु भनेर ल्याएको थिएँ त्यो वचन पूरा गर्न र घरपरिवारको खुसीको लागि पनि पढाइलाई निरन्तरता दिन सघाएको छु,” हेमराजले बीबीसीसँग भने।

“एकजना नेपाल सरकारको स्थायी जागिर हुनुपर्छ भन्ने लागेर मेरो पढाइलाई रोकेर भए पनि ताराको पढाइ अगाडि बढाउन लगाएको हुँ।”

श्रीमतीलाई शिक्षित बनाउन सके छोराछोरीको हुर्काइमा ठूलो योगदान पुग्ने उनको ठम्याइ छ।

“समाजमा उदाहरणीय पात्र बन्न त गाह्रो हुन्छ। तर पनि प्रयास गरेपछि अवश्य सफल भइन्छ जस्तो लाग्छ,” उनले बीबीसीसँग भने।

“पहिला पहिला गाउँका मानिसहरूले श्रीमतीलाई पढाएको भनेर कुरा काट्थे, अहिले अरूले पनि पढाउन लागेको देख्दा खुसी लाग्छ।”

ताराकी सासू नन्दरूपा आचार्य बुहारीले पढेपछि घर व्यवहारको हिसाबकिताब राख्न सघाउ पुगेको बताउँछिन्। बुहारी शिक्षित भएर जागिर खाँदा पूरै परिवारलाई आर्थिक सघाउ पुग्ने मात्रै नभई वरपर पनि उदाहरण हुने उनको बुझाइ छ।

“मेरो पालामा छोरीले पढ्ने चलन त थिएन यसरी बुहारीले कहाँ पढ्न पाउनु? आफूले पाएको दुःख बुहारी र छोरीले नपाउन् भन्ने लागेर बुहारीको पढाइमा जोड दिँदै आएकी छु,” उनले भनिन्।

“अहिले त म जस्तै धेरै सासूले बुहारीको पढाइलेखाइमा सहयोग गर्न थालेका छन्।”

पहिला गाउँमा उनले बुहारीलाई पढ्न विद्यालय पठाउँदा कसैले पनि बुहारीको पढाइले निरन्तरता पाउला भन्ने पत्याएका थिएनन्। तर बुहारी अहिले बीएड तेस्रो वर्ष पुग्दा आफ्नो सिको गर्न थालेको देखेर खुसी लाग्ने उनी बताउँछिन्।

“अहिले त प्रायः घरमा छोराबुहारीसँगै पढ्न कलेज जान्छन्। पहिला त हामी खेतबारीको काममा मात्रै व्यस्त हुन्थ्यौँ,” उनले भनिन्।

जुम्लाको फेरिएको दृश्य

हुन पनि अहिले जुम्लाको चन्दननाथ नगरपालिकामा धेरैले बुहारीलाई पढाउन थालेका छन्। त्यस्तैमध्येकी एक वडा नम्बर ३ की निरुताकुमारी शाही हुन्। कक्षा ११ पढ्दै गर्दा विवाह गरेकी उनले सासू र श्रीमान्‌को सहयोगमा पढाइलाई निरन्तरता दिँदै आएकी छन्।

ताराको जस्तै निरुता पनि अहिले स्नातक तहको तेस्रो वर्षमा पढ्दै छिन्। उनका दुई छोरी छन्। उनलाई पनि तारालाई जस्तै उनकी सासूले बच्चाको हेरचाह गरिदिने र घरायसी काममा सहयोग गरेर पढ्न पठाएकी छन्।

विवाहपछि पढाइलाई निरन्तरता दिन इच्छाशक्ति र घरपरिवारको सहयोग दुवै हुन आवश्यक रहेको यी महिलाहरू बताउँछन्।

पछिल्लो समयमा मानिसहरू शिक्षित बनेसँगै कर्णालीमा पनि छोरी बुहारी पढाउनेको सङ्ख्या बढ्दै गएको चन्दननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर महतले बताए।

“पछिल्लो समयमा छोराबुहारीसँगै कलेजमा पढ्न आउँछन्। अभिभावकले छोरा बुहारीलाई समान शिक्षा दिनुपर्छ भन्ने चेतनाका कारण यो सम्भव भएको हो,” उनले भने।

बुहारीहरूलाई घरायसी काम सकेर पढ्न आउन केही समस्या भए पनि पढाइलाई निरन्तरता दिन उनीहरूमा इच्छाशक्ति रहेको देख्दा खुसी लाग्ने उनले बताए।

छोरी बुहारीको पढाइलाई अगाडि बढाउनको लागि कर्णाली प्रदेश सरकारले हरेक वर्ष एक जिल्लाका २० जना छात्रालाई ५० हजार रुपैयाँका दरले छोरी बुहारी छात्रवृत्ति प्रदान गरिरहेको छ।

यसरी पनि महिला शिक्षामा जोड दिन खोजिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।