पाँचतारे होटलमा 'झुक्याएर' सित्तैमा २० महिना बास

भारतको राजधानी नयाँदिल्लीस्थित एउटा पाँचतारे होटलमा एक व्यक्ति २० महिनासम्म पैसा नतिरी बसेको पाइएको छ।

दिल्ली विमानस्थलनजिकै रहेको 'रोजिअट हाउस'का व्यवस्थापकहरूले प्रहरीमा गरेको उजुरीका अनुसार ती व्यक्ति ६०३ दिनसम्म उक्त होटलमा बसेका थिए। यसलाई उनीहरूले "ठगी" भनेका छन्।

ती व्यक्तिले होटललाई ५० लाख भारतीय रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ।

उजुरीमा दाबी गरिएअनुसार सोही होटलकै कर्मचारीसँग मिलेमतो गरेर ती व्यक्ति आफूले चुक्ता गर्नुपर्ने बिल लुकाउन सफल भएका थिए।

यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।

गत मे २४ तारिखमा दिल्ली प्रहरीले यो उजुरी प्राप्त गरेको भए पनि स्थानीय सञ्चारमाध्यममा घटनाको विस्तृत विवरण हालै मात्र सार्वजनिक भएको हो।

आरोपित व्यक्तिको नाम खुलाइएको छैन।

तर ती व्यक्तिले पहिलो पटक सन् २०१९ को मे ३० तारिखमा होटलमा एक रातका कोठा बुक गरेका थिए। इन्डियन एक्सप्रेस पत्रिकाका अनुसार उनी त्यहाँ सन् २०२१ को ज्यानुअरी २२ सम्म बसे।

ती व्यक्तिले पैसा नतिरे पनि एक कर्मचारीले उनको बसाइ लम्ब्याउन सहयोग गरेको समाचारमा जनाइएको छ।

त्यसका लागि ती कर्मचारीले अन्य ग्राहकको बिलमा उनको बिल जोडिदिएको अनि ग्राहकको नाम यताउता पारिदिएको पाइएको बताइएको छ। तर यस सन्दर्भमा कसैको पनि नाम सार्वजनिक भएको छैन।

"होटलको नियमअनुसार यदि कुनै ग्राहकले ५०,००० रुपैयाँभन्दा बढी तिर्नु छ भने कर्मचारीले वरिष्ठ कर्मचारीलाई खबर गर्नुपर्छ र ग्राहकलाई पैसा तिर्न लगाउनुपर्छ," एक वरिष्ठ प्रहरी अधिकारीले पत्रिकालाई बताएका छन्।

"तर त्यसो गरिएन।"