उत्तरी गाजामा इजरेलद्वारा निरन्तर बम हमला, अस्पतालमा सयौँ बिरामी 'अलपत्र'

तस्बिर स्रोत, Reuters
उत्तरी गाजास्थित अस्पतालमा सयौँ बिरामीहरू फसेका र उनीहरू शारीरिक रूपमा दक्षिणतिर जान सक्षम नभएको प्यालेस्टिनी शरणार्थीहरूको मामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले बताएका छन्।
इजरेलले उत्तरी गाजामा निरन्तर बम आक्रमण गरिरहेको छ। प्यालेस्टिनी रेड क्रेसन्टका अनुसार गाजा सिटीस्थित -कुद्स अस्पताल क्षेत्रवरिपरि शृङ्खलाबद्ध आक्रमण भइरहेको छ।
इजरेली सेनाले आइतवार अस्पताल खाली गर्न निर्देशन दिएको थियो।
तर अस्पतालका कर्मचारीहरूले त्यहाँबाट सघन उपचार कक्षमा भएका बिरामीहरूलाई अन्यत्र लैजान सम्भव नभएको बताएका छन्।
त्यहाँ शिशुहरूसहित सयौँ बिरामीको उपचार भइरहेको छ र अस्पताल परिसरमा झन्डै १४,००० गैरसैनिक नागरिकहरूले शरण लिइरहेको पनि बताइएको छ।

यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल-कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्।
"उत्तरमा धेरै मानिसहरूले यूएनआरडब्ल्यूएका विद्यालयहरूमा आश्रय लिएका छन्, उनीहरूले अस्पतालमा आश्रय लिएका छन्," ह्वाइटले भने।
उनका अनुसार अस्पतालमा ठाउँ सार्न नसकिने अवस्थाका सयौँ बिरामीहरू छन्।
उत्तरी गाजामा सवारीसाधन र अरू उपाय नभएकाले धेरै मानिसहरू अन्यत्र जान सक्ने अवस्थामा छैनन्।
ह्वाइटका अनुसार मानिसहरू "निकै भोकाएका, तिर्खाएका र डराएका" छन्।
सिरिया र लेबननमा पनि आक्रमण
इजरेली सेनाले सिरिया र लेबननस्थित विभिन्न स्थानमा आक्रमण गरिएको बताएको छ। ती देशहरूबाट भएका रकेट हमलाको जबाफमा आफूले प्रत्याक्रमण गरेको इजरेलको दाबी छ।
इजरेली डिफेन्स फोर्सेसका अनुसार एउटा इजरेली लडाकु विमानले सिरियाली सीमाभित्र रहेको रकेट प्रक्षेपकहरूलाई लक्ष्य बनाई हमला गरिएको हो।

तस्बिर स्रोत, EPA
आईडीएफका अनुसार सिरियाबाट प्रहार गरिएका रकेटहरू खुला क्षेत्रमा खसेका थिए र त्यसबाट कुनै क्षति वा कोही हताहत भएको छैन।
इजरेली सेनाले लेबननमा रहेका हिज्बुल्लाह समूहले प्रयोग गरेका ठाउँहरूमा पनि हमला गरिएको जनाएको छ।

तस्बिर स्रोत, Reuters
सुरक्षा परिषद्को आकस्मिक बैठक
गाजामा विद्यमान मानवीय सङ्कटको अवस्थाका सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सोमवार आपत्कालीन बैठक बस्ने भएको छ।
प्यालेस्टिनी क्षेत्रमा इजरेलले स्थल सैन्य कारबाहीलाई विस्तार गरेपछि यूएईले त्यस्तो बैठकको लागि आग्रह गरेको थियो।
प्यालेस्टिनीहरूलाई राहत सामग्री उपलब्ध गराइरहेको राष्ट्रसङ्घीय निकायले पनि बैठकका क्रममा सुरक्षा परिषद्ले त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने पनि बताइएको छ।
शनिवार बोल्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अन्तर्राष्ट्रिय समुदायको समर्थनप्राप्त अति जरुरी मानवीय उद्धारका लागि आवश्यक विरामको साटो इजरेलले आफ्नो सैन्य कारबाहीलाई अझ बढाएकोमा खेद व्यक्त गरेका थिए।
युद्धविराम गर्ने प्रस्तावमा कहिले रुस त कहिले अमेरिकाले भीटो प्रयोग गरेका कारण सहमति जुटाउने प्रयासमा सुरक्षा परिषद् अहिलेसम्म चार पटक असफल भइसकेको छ।
गाजास्थित खाद्यान्न गोदाममा लुटपाट

तस्बिर स्रोत, Reuters
गाजामा संयुक्त राष्ट्रसङ्घले वितरण गर्न अन्न भण्डारण गरेर राखेका गोदामहरूमा हजारौँ मानिसहरूले लुटपाट गरेका छन्।
राष्ट्रसङ्घले उक्त घटनालाई "सुव्यवस्था भङ्ग हुन लागेको चिन्ताजनक सङ्केत" भनेको छ।
प्यालेस्टिनीहरूका लागि राहत वितरण गर्ने राष्ट्रसङ्घीय निकायका प्रमुखका अनुसार ती गोदामबाट मानिसहरूले पिठो, गहुँ र साबुनजस्ता सामान लगेका छन्।
मानिसहरू "निकै कठिन अवस्थामा रहेकाले" त्यस्तो लुटपाट हुन सक्ने आकलन पहिल्यै गरिएको राष्ट्रसङ्घीय विश्व खाद्यान्न कार्यक्रम डब्ल्यूएफपीकी एक प्रवक्ताले बताएकी छन्।
"मुख्य कुरा के हो भने मानिसहरू निराश छन्, उनीहरू भोकाएका छन्," अबीर इतेफाले भनिन्।
राष्ट्रसङ्घको गोदामबाट खाद्यान्न लिएर गएकाका केही विस्थापित मानिसहरूले समाचारसंस्था एफएपीलाई आफूसँग "पिठो, राहत, पानी र शौचालय केही पनि उपलब्ध नभएको" बताएका छन्।
इजरेलले गाजामा हमासलाई लक्ष्य गर्दै आक्रमणलाई अझ सघन बनाएको बेला उक्त घटना भएको हो।
राष्ट्रसङ्घका अनुसार गाजा स्ट्रिपबाट २४ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने हजारौँ भवनहरू ध्वस्त भएका छन्।
गत अक्टोबर ७ मा हमास समूहका लडाकुहरूले इजरेलमा अप्रत्याशित रूपमा अभूतपूर्व आक्रमण गर्दा १,४०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो। उक्त समूहले २३० जनालाई बन्धन बनाएको छ।
दागेस्तानको विमानस्थलमा इजरेलविरोधी प्रदर्शन
यसैबीच, इजरेलले दागेस्तान रुसी गणतन्त्रस्थित एक विमानस्थलमा तेल अभिभबाट आएको बताइएको एउटा विमान अवतरण गरेपछि क्रुद्ध भिडले जबर्जस्ती त्यहाँ प्रवेश गरेको घटनामा यहुदीहरूको सुरक्षा गर्न रुसलाई आग्रह गरेको छ।

दागेस्तान रुसी गणतन्त्रका अधिकारीहरूले विमानस्थलको धावनमार्ग र टर्मिनल भवनहरूमा जबर्जस्ती प्रवेश गरेका करिब ६० जनालाई पक्राउ गरिएको जनाएका छन्।
केही प्रदर्शनकारीले तेल अभिभबाट आएका यात्रु खोज्न विमानलाई घेरेका थिए।
दागेस्तानका गभर्नरले ती प्रदर्शनकारीहरूको व्यवहारलाई निन्दा गरेका छन्।
उक्त घटनामा झन्डै २० जना घाइते भएको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार विमानस्थलमा भएको घटनामा घाइते हुनेमध्ये नौ सुरक्षाकर्मी छन्।
स्थानीय अधिकारीहरूले १५० प्रदर्शनकारीको पहिचान खुलेको जनाएका छन्।
रुसी उड्डयन निकायले सुरक्षाबलको सहायतामा त्यहाँको अवस्था नियन्त्रणमा लिइएको जनाएको छ।
उक्त घटनापछि अधिकारीहरूले विमानस्थल बन्द गरिएको र मङ्गलवारसम्म नखुल्ने जनाएका छन्।
सामाजिक सञ्जालमा प्रेषित भिडिओमा केही प्रदर्शनकारीहरूले प्यालेस्टिनी झण्डा बोकेको देखिन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार केही प्रदर्शनकारीहरूले विमानस्थलबाहिर गाडी रोकेर मानिसहरूको राहदानी पनि हेरेका थिए।
दागेस्तान मुस्लिम बाहुल्य भएको रुसी गणतन्त्र हो। त्यहाँ झन्डै ३१ लाख मानिस बस्छन्।
दागेस्तान सरकार प्यालेस्टाइनको पक्षमा उभिएको छ। तर उसले आफ्ना नागरिकहरूलाई संयमित हुन र त्यस्ता प्रदर्शनकहरूमा सहभागी नहुन आग्रह गरेको छ।
विमानस्थलको घटनामा एउटा आपराधिक मुद्दा दर्ता भएको अधिकारीहरूले जनाएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









