माघे सङ्क्रान्तिमा तरुल विशेष भान्सा: मुटुका बिरामीदेखि क्यान्सर भएकालाई लाभदायी

तरुल

तस्बिर स्रोत, Getty Images

पुस महिनाको दोस्रो हप्तादेखि नै कालीमाटी तरकारी बजारस्थित चिना तिमिल्सिनाको पसलमा तरुल खोज्ने ग्राहकहरू बढ्न थाले। त्यसपछि उनको पसलमा देखिने अन्य तरकारीहरूको भन्दा ठूलो बन्दै गयो तरुल, सखरखण्ड र पिँडालुको थुप्रो।

पुस अन्तिमसम्ममा ती कन्दमूल लगभग सबै सकिएको उनी बताउँछिन्। “पिँडालु र सखरखण्ड सकिए। तरुल बाँकी छन्। ती त सङ्क्रान्ति सकिएपनि जाडो रहेसम्म बिक्छन्,” ५२ वर्षीया तिमिल्सिनाले सुनाइन्।

यस समय व्यापक बिक्री हुने कन्दमूलहरूमध्ये पिँडालु र सखरखण्डमा केही घाटा बेहोर्नु पर्ने भए पनि तरुलमा नाफा हुने उनले जिकिर गरिन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बजारमा करिब १० विविध आकारप्रकारका तरुल बिक्री भइरहेका छन्। ती तरुल ४० रुपैयाँदेखि २०० रुपैयाँसम्म पर्ने उनले बताए।

भने,”बजार तरुलमय भएको छ। माघे सङ्क्रान्तिले गर्दा ग्राहकहरू फरकफरक स्वादको तरुल खोज्छन्। माग बढ्नुले व्यापारीहरूलाई प्रत्यक्ष फाइदा गर्छ।”

पुस महिनायता कालीमाटी तरकारी बजारमा मात्रै करिब १,३०० टन तरुल भित्रिएको बजारको आधिकारिक तथ्याङ्कले देखाउँछ। त्यसमध्ये सबैभन्दा धेरै ४५ प्रतिशत सर्लाहीबाट आयात भएको हो। त्यस्तै ९ प्रतिशत सुनसरीको उत्पादन हो भने ८ प्रतिशत भारतबाट ल्याइएको हो।

दमकमा बेच्न राखिएको तरुल

तस्बिर स्रोत, RSS

कस्ता कस्ता तरुलहरू पाइन्छन्?

“बाँकी ३८ प्रतिशत देशकै अन्य पहाडी जिल्लाहरूबाट आएका हुन्। तर केही वर्षयता तराई मूलबाट आयात हुने तरुलको बजार बढेको छ,” श्रेष्ठले बताए।

ठाउँ र भाषा अनुरूप एकै किसिमको तरुललाई भिन्नाभिन्नै नाम दिइएको पाइएको बताउँछन् विकास समितिका सुचना अधिकारी श्रेष्ठ। तीमध्ये बजारमा चलेका केही तरुलहरूबारे हामीले यहाँ चर्चा गरेका छौँ।

घर तरुल: व्यावसायिक खेतीको उत्पादनहरूलाई घर तरुल भनिन्छ। अहिले बजारमा ठूल्ठूला चाङ बनाएर राखिएको लामा र सेतो रङका तरुलहरू घर तरुल हुन्। नेपालको सर्लाही, सुनसरीलगायत स्थानबाट ल्याइएको कारण यसलाई तराई तरुल पनि भन्ने गरिएको छ। उक्त तरुलको मूल्य प्रतिकिलो न्यूनतम ७० र अधिकतक ८० रुपैयाँ रहेको छ।

अन्य घर तरुललाई आकारका आधारमा नामकरण गरिएको हुन्छ र मूल्यमा पनि फरक पर्नसक्छ।

वन तरुल: वन तरुल सबैभन्दा धेरै बिक्री हुने र महँगो प्रजातिहरूमध्ये एक भएको बताइन्छ। यो खेती गरिने कन्दमूलहरूभन्दा फरक हुने श्रेष्ठ बताउँछन्। उनका अनुसार यो प्राय भिर तथा पखेराहरूमा पाइन्छ। यसको बजार मूल्य प्रतिकिलो दुई सयभन्दा बढी हुने उनी बताउँछन्। यस प्रजातिको तरुल प्राय काठमाण्डू उपत्यका निकट जिल्लाहरू काभ्रेपलान्चोक, धादिङ, मकवानपुरबाट आउने जानकारी उनले दिए।

कालीमाटीमा तरुल

तस्बिर स्रोत, Binay Shrestha

“वर्षौँदेखि यही व्यापारमा छौँ। तर, हरेक वर्ष फरकफरक किसिमका तरुलहरू आउँछन्। नाम उही भएपनि वर्षैपिछे तरुलका आकार फेरिँदै छन्,” व्यापारी चीना तिमिल्सिनाले सुनाइन्।

हात्तीको खुट्टाको तल्लो भागजस्तो देखिने तरुललाई ‘हात्तीपाइले तरुल’ भनिन्छ। तर, ती तरुल आजभोलि डल्लो आकारमा पाइन थालेको स्विकार्छन् सुचना अधिकारी श्रेष्ठ।

हात्तीपाइले तरुल: बजारमा बिक्रीमा रहेका हात्तीपाइले तरुल प्राय पाल्पाको भएको दाबी गरिन्छ। कहीँ कतै यो नवलपरासीलगायत ठाउँबाट ल्याइएको बताइन्छ। स्वाद मिठो हुने भएकै कारण यो सबैभन्दा महँगो हुने व्यवसायीहरू बताउँछन्। श्रेष्ठका अनुसार तराईबाट ल्याइएको हात्तीपाइले तरुलको मूल्य ७० देखि ८० रुपैयाँ पर्छ भने पहाडी जिल्लाबाट ल्याइएको १८० रुपैयाँदेखि २०० रुपैयाँ पर्छ।

मुढे तरुल: काठको मुढाजस्तो देखिने मुढे तरुल बजारमा ४० देखि ५० रुपैयाँ प्रतिकिलो पर्छ। यो तुलनात्मक रूपमा अन्य तरुलभन्दा केही सस्तो हुने बताइन्छ।

पानी तरुल: पानीको मात्रा धेरै हुने तरुललाई पानी तरुल भनिन्छ। यो प्राय सेतो हुन्छ।

पत्तले तरुल: पत्तले तरुल हेर्दा लाम्चो हुन्छ। यो प्राय नेपाली पहाडी क्षेत्रबाट बजारसम्म आइपुग्छ। खुद्रा बिक्री हुँदा यसको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पर्ने व्यापारीहरू बताउँछन्।

सिमल तरुल: सिमल तरुल प्राय भारतबाट आयात हुन्छन्। त्यहाँबाट ल्याइएको तरुलको मूल्य ६० देखि ७० रुपैयाँ प्रतिकिलो हाराहारीमा छ। त्यस्तै धादिङलगायत पहाडी जिल्लाबाट ल्याइएको यस किसिमको तरुल प्रतिकिलो ९० देखि १०० रुपैयाँ पर्छ।

यद्यपि, ‍पर्व विशेष कन्दमूलका रूपमा बिक्री हुने तरुलको आर्थिक पाटोसँगै स्वास्थ्यको कोणबाट पनि यो निकै फलदायी हुने पोषणविद्हरू बताउँछन्।

जाडोमा तरुल

तरुलमा कार्बोहाइड्रेट, क्यालोरी, प्रोटिन, भिटामिनहरू, मिनरल, फाइबरलगायत मानव शरीरलाई फाइदा पुर्‍याउने तत्त्वहरू हुने बताउँछन् त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. अच्युत अधिकारी।

जाडो मौसममा देखिने विभिन्न स्वास्थ्य जटिलताका कारण मानिसहरूको प्रतिरक्षा प्रणाली बलियो हुनुपर्ने र त्यसका लागि तरुल उपयुक्त खाद्य पदार्थ भएको डा. अधिकारीको भनाई छ।

“यसले ऊर्जासँगै हाम्रो शरीरमा आवश्यक हर्मोन बनाउन कच्चा पदार्थको काम गर्छ। विशेषगरी जाडो महिनामा उत्पादन राम्रो हुने भएकाले यसै मौसममा यसको विभिन्न परिकार खाइन्छ। तर यो जुनसुकै मौसममा खान उपयुक्त कन्दमूल हो,” उनले भने। 

कालीमाटी बजारमा राखिएका तरुल

तस्बिर स्रोत, Binay Shrestha

स्वास्थ्यमा कस्तो प्रभाव?

जाडोमा लाग्ने रुघा, खोकीजस्ता स्वास्थ्य समस्याहरूका कारण मानिसको प्रतिरक्षा क्षमता घट्ने र त्यसलाई बढाउन तरुल उपयुक्त हुने जानकारी दिन्छिन् पोषणविद् आस्था कार्की।

पोषणबारे पैरवी गर्ने संस्था मिताहारकी सह-संस्थापक कार्कीका अनुसार तरुलमा पर्याप्त प्रोटिन, भिटामिन सी र भिटामिन बी कम्प्लेक्स हुने भएकाले यसले जाडोमा हुने समस्यासँग लड्ने क्षमता बढाउने हो।

तरुलका रेसाहरूले मानिसको पेटमा रहेका राम्रा जीवाणुहरूलाई झन् राम्रो बनाउँछ र आन्द्रा स्वस्थ बन्ने उनले बताइन्। “आन्द्रा स्वस्थ हुनासाथ पेटसम्बन्धी धेरै समस्या समाधान हुन्छ। विशेषगरी पाचन क्षमता बढ्छ वा दिसा नियमित नहुनेलाई फाइदा गर्छ,” कार्कीले भनिन्।

त्यस्तै तरुलमा भएको फाइबरले शरीरको कोलेस्ट्रोल कम गर्न सघाउने उनको भनाई छ।

तरुलले आन्द्रालगायत अन्य शारीरिक अङ्गमा हुने क्यान्सरको जोखिमसमेत कम गर्ने उनले बताइन्। “परिवारमा”

आन्द्राको स्वास्थ्य र मानिसको मानसिक स्वास्थ्य सम्बन्धित भएकाले तरुलले मानिसको सोच्न सक्ने क्षमता वा स्मरण शक्ति पनि राम्रो बनाउने जानकारहरू बताउँछन्।

मुटुका बिरामी, वृद्धवृद्धाको हकमा हड्डीको क्याल्सियम कम हुने समस्या नियन्त्रण गर्न र महिलाहरूको महिनावारी रोकिनुअघि देखिने शारीरिक परिवर्तनको असर कम गर्न तरुल उचित पोषणको स्रोत भएको पोषणविद् कार्कीले जानकारी दिइन्।

“शरीर गल्ने, जोर्नी दुख्ने र खलखल पसिना आउने समस्या भएकाहरूलाई यसले औषधीय काम गर्छ।” 

कसले कम खाने?

सामान्यतया एक छाकमा मानिसले एक सय ग्रामसम्म तरुल खाँदा स्वास्थ्यमा कुनै असर नपर्ने बताइन्छ। तर, मधुमेह भएका मानिसले भने त्यसमा हुने कार्बोहाइड्रेटको मात्राका कारण तोकिएभन्दा कम खानु उचित हुने कार्कीको सुझाव छ।

“खाँदै नखानु भन्ने होइन तर मात्रा चाहिँ आवश्यकता अनुसार मिलाउन सक्नुपर्छ। मधुमेहको औषधि सेवन गरिरहेका सबैले स्वास्थ्यस्थितलाई ध्यानमा राखेर कम खानु राम्रो हुन्छ,” उनले भनिन्।

कसरी पकाउन सकिन्छ?

प्रतिभा खनाल

तस्बिर स्रोत, Pratibha Khanal

सङ्क्रान्तिमा यस कन्दमूल विशेषगरी उसिनेर खाने चलन छ। यद्यपि, यसका फरकफरक परिकारहरू बनाएर खान मिल्छ। आजभोलि सामाजिक सञ्जालहरूमा ती परिकार बनाउने विधिबारे चर्चा समेत हुने गरेका छन्।

प्रतिभा खनाल युट्युबमा करिब ४८ हजार सब्सक्राइबर भएको ‘काकी प्रतिभाको नेपाली किचन’ च्यानल चलाउँछिन्। त्यसमा उनले खाना बनाउने तरिकादेखि कुनै पनि परिकार बनाउन आवश्यक पर्ने मसलाहरूबारे जानकारी साझा गर्छिन्। माघे सङ्क्रान्तिका लागि पनि आफूले तरुलका विभिन्न परिकारबारे भिडिओ बनाउने तयारी गरेकी छन्।

“तरुल प्राय उसिनेर खाने चलन छ। तर उसिन्ने पनि फरक तरिका हुन्छ। बोक्रा नछोडाई पानीले बफाउनुभन्दा राम्रो र स्वादिष्ट बोक्रा फालेर थोरै तेल राखेर उसिन्दा हुन्छ,” उनले भनिन्।

त्यस्तै कुकरमा तेल लगाएर सिट्ठी लगाउनुभन्दा राम्रो माइक्रोवेभ वा ओभनमा २० मिनेट राख्दा हुने उनको अनुभव छ। “त्यस्तो गर्दा गाउँघरतिर खाएको अगेनामा पोलेको आलुको स्वाद याद आउँछ। तर, ओभन सबैकहाँ नहुने भएकाले कुकर नै सिफारिस गर्छु,” उनले भनिन्।

तरुललाई सिमीसँग मिसाएर रसिलो तरकारी वा कबाब शैलीमा पनि पकाएर खान सकिने खनालले बताइन्।