कुखुराको मासुः नेपालमा अहिले भाउ बढ्कोबढ्यै गर्नुका तीन कारण

कुखुरा
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

गत वर्षको तुलनामा यो वर्ष कुखुराको मासुको भाउ निकै बढेको उपभोक्ताले गुनासो गर्दै आएका छन्।

एक हप्ताअघिसम्म काठमाण्डू उपत्यकामा खुद्रा मूल्य प्रतिकिलो ४५० रुपैयाँ पुगेको कुखुराको मासु अहिले थोकमा चाहिँ झन्डै ४०० रुपैयाँमा झरेको छ।

कुखुराको मासुमा लगभग आत्मनिर्भर भइसकेको भनिएको नेपालमा त्यसको मूल्य किन यसरी बढ्न थालेको हो त?

हामीले कुखुरापालक किसानदेखि, दाना उत्पादक तथा मासु विक्री गर्ने व्यापारीसम्मका व्यक्तिहरूसँग त्यसका कारण खोतल्ने प्रयास गरेका छौँ।

कुखुरापालक के भन्छन्?

पछिल्लो समय उत्पादन लागतमा भएको वृद्धिका कारण कुखुराको मासुको भाउ बढेको उत्पादकहरूले बताएका छन्।

अहिले भाउ बढ्नुका मुख्य तीनवटा कारण देखिएको नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन्।

"दानाका लागि चाहिने कच्चा पदार्थको भाउ बढेर दानाको मूल्य बढ्नु, मासु बेच्नेहरूले क्रय र विक्रय मूल्यबीच धेरै अन्तर राख्नु र केही समयअघि बर्डफ्लूको हल्लाका कारण कतिपय किसानले चल्ला नराख्दा माग जति उत्पादन नहुनु हो,"बीबीसीसँग उनले भने।

"कुखुरापालक किसानलाई जस्तो मासुलाई जोखिम (चल्ला मर्नेदेखि कुखुरालाई रोगव्याधि लाग्नेसम्म) पनि छैन, तर मार्जिन पनि बढी राख्छन्," उनले थपे।

एउटा कुखुरा डेढ किलो दानामा तयार हुनुपर्नेमा परम्परागत पालनका कारण दुई किलोभन्दा बढी खर्च हुने गरेको विष्ट बताउँछन्।

"चल्लाको र दानाको दाम जोड्दा किसानलाई अहिले पनि प्रतिकिलो २५० रुपैयाँ जति लागत पर्न आउँछ," उनले थपे।

कुखुरा

तस्बिर स्रोत, Reuters

दाना उत्पादक के भन्छन्?

कुखुराका दाना उत्पादकहरू सरकारले कच्चा पदार्थको रूपमा चाहिने मकै तथा भटमासको आयातमा शुल्क बढाएको कारण पनि दानाको भाउ बढ्दै गएको बताउँछन्।

नेपाल दाना उद्योगी सङ्घका अध्यक्ष रबिन पुरीका अनुसार तात्कालिक अर्थमन्त्री युवराज खतिवडाको पालामा कृषि सुधार शुल्क बढेपछि मकै, भटमास र पिना आयातमा लाग्ने खर्च बढ्दै गएको हो।

उनका अनुसार कुखुराको दानामा भटमास र पिनाको हिस्सा ८५ प्रतिशतसम्म हुने गर्छ।

"अहिले फेरि युक्रेन-रुस युद्धका कारण पनि ती कच्चा पदार्थको मूल्य बढेको छ। दानामा भटमासको तेल पनि हाल्छौँ, तेलको भाउ तपाईँलाई थाहै होला," बीबीसीसँग पुरीले भने।

"गत वर्षको तुलनामा मकै र भटमासको मूल्यमा ४० प्रतिशतसम्म बढेको छ। गत वर्षको तुलनामा एक बोरा दानाको मूल्य १,३०० रुपैयाँले वृद्धि भएको छ।"

गत एक वर्षमा कुखुराको दाना बनाउनका लागि मात्रै नेपालले ३४ अर्ब रुपैयाँ बराबरको मकै र भटमास आयात गरेको उनले बताए।

म्याग्दीमा कुखुराको छेउमा एक वृद्धा

तस्बिर स्रोत, LightRocket via Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

मासु विक्रेता के भन्छन्

नेपालमा माग र आपूर्तिबीच सन्तुलन बिग्रिँदा पनि बेलाबखत कुखुराको मासुको भाउ निकै बढ्ने गरेको विक्रेताहरू बताउँछन्।

"कहिलेकाहीँ मागभन्दा पनि बढी उत्पादन भइदिएर भाउ घट्छ भने कहिलेकाहीँ कम उत्पादन भएर भाउ बढ्न जान्छ," काठमाण्डू उपत्यकामा कुखुराको मासुको थोक तथा खुद्रा दुवै व्यापार गर्ने भ्याली ग्रूपका हरिकृष्ण रावलले बीबीसीसँग भने।

तर पछिल्लो डेढ सातायता कुखुराको उत्पादन बढेर मूल्य घट्न थालेको उनी बताउँछन्।

"हाम्रो कुरा भन्नुहुन्छ भने आजको मितिमा प्रतिकिलो ३९१ रुपैयाँमा विक्री गरिरहेका छौँ," रावलले भने।

यद्यपि खुद्रा मूल्य अझै प्रतिकिलो ४२५ रुपैयाँमा किन्नुपरेको उपभोक्ताले बताएका छन्।

माथिल्लो मर्स्याङ्दी क्षेत्रमा कुखुरा बोकेर लग्दै भरियाहरू

तस्बिर स्रोत, LightRocket via Getty Images

कार्टेलिङ गरेको आरोप किन

मासु विक्रेताबीच 'कार्टेलिङ' का कारण पनि उपभोक्ताले अचाक्ली मूल्य तिर्नुपरेको कतिपयले आरोप लगाउने गरेका छन्।

व्यापारीहरूले आफ्नो नाफा बढाउन र प्रतिस्पर्धा सीमित पार्नेगरी वस्तुको मूल्यमा सहमति गर्नुलाई कार्टेलिङ भनिन्छ।

तर रावल त्यसमा सहमत छैनन्।

"पोल्ट्रीमा त्यस्तो हुन्छ भन्ने मलाई चाहिँ लाग्दैन। यसमा आपूर्ति र मागबीच तालमेल नमिल्दा मात्र भाउ बढ्ने गर्छ।"

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, भीगन जीवनशैली कस्तो हो? के यसले तौल घटाउँछ?
भिडिओ क्याप्शन सुरु हुँदैछ, मास्टरसेफ कार्यक्रमका चर्चित सेफका रोजाइ: दालभात तरकारी, सेलरोटी र म: म:
भिडिओ क्याप्शन सुरु हुँदैछ, टर्किश कबाब