यूट्यूबमा नेपाली भान्सा: यी महिलाहरू जसलाई स्वाद र आँटको एउटै सूत्रले बाँधेको छ

तस्बिर स्रोत, Prativa Khanal
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
“आमा गाभा कसरी पकाउने?” विदेशमा रहेकी छोरीले सोधेको प्रश्नको प्रतिभा खनालसँग सहज जवाफ थियो। उनले छोरीलाई फोनबाटै गाभा पकाउने प्रक्रिया बताइदिइन्।
तर छोरीको समस्या भने टरेन। उनले भनिन्, “मलाई त यो काट्न पनि आउँदैन।“
उच्च शिक्षाका लागि विदेश गएकी छोरीले भान्सामा निकै कम समय बिताएकी थिइन्। त्यसैले गाभा काट्नु र पकाउन नजान्नु नौलो कुरा थिएन।
त्यस दिन प्रतिभाले छोरीका लागि गाभा काट्नेदेखि पकाएर थालमा पस्किएकोसम्म भिडिओ बनाएर पठाइदिइन्।
छोरीले त आफ्नो प्रश्नको जवाफ पाइन्। प्रतिभालाई भने एउटै प्रश्नले पिरोल्यो: मेरी छोरीजस्तै कति होलान् जो पकाउन चाहन्छन् तर जान्दैनन्?
“उनीहरूलाई पनि मैले बनाएको भिडिओ सहयोग पो हुन्छ कि भन्ने ठानेँ। छोराछोरीसँगको सल्लाह र श्रीमानको सहयोगमा गाभा बनाएको भिडिओ यूट्यूबमा राखेँ,” प्रतिभाले भनिन्।
यूट्यूबमा ४० हजार सब्सक्राइबर रहेको ‘काकी प्रतिभाको नेपाली किचन’ च्यानलको सुरुवात यसरी भएको थियो।
उनले आफूले बनाएको भिडिओले दुई-चार जनालाई सहयोग पुर्याउने ठानेकी थिइन् तर, दैनिक भिडिओ हेर्नेको सङ्ख्या बढ्दै गयो।
फाट्टफुट्ट आउने प्रतिक्रियाले उत्साहित भएर उनले यूट्यूब च्यानललाई निरन्तरता दिइन्।
दुई वर्ष अघिसम्म उनी काठमाण्डूस्थित एक सामुदायिक विद्यालयमा पढाउँथिन्। स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिइन्। त्यसपछिको उनको समय घरधन्दामै बित्थ्यो।
जब घरमा सधैँ छाक टार्नका लागि पकाउने काम अरू कसैका लागि पाकशिक्षा हुन्छ भन्ने महसुस भयो तबदेखि उनको दैनिकी बदलियो।
“फरक-फरक परिकारहरू बनाउन थालेँ। त्यसलाई भिडिओमा कसरी प्रस्तुत गर्ने सोच्न थालेँ,” उनी भन्छिन्।
”भिडिओ बनाउन थालेदेखि प्रविधिसँग नजिक भएँ। पहिले खिच्नेदेखि सम्पादन र प्रसारणको काम श्रीमानले गरिदिनु हुन्थ्यो। अहिले म पनि जान्ने भएको छु।“
यूट्यूबमार्फत आफूले जानेको कुरा साझा गर्दा आफूमा वाककलाको विकास र आत्मविश्वास बढेको अनुभव गरेको उनी बताउँछिन्।
“महिला भान्सामा मात्र सीमित रहन्छन् भन्ने विश्वास तोड्न प्रविधिले ठूलो सहयोग गरेको छ जस्तो लाग्छ। यूट्यूब जस्ता प्ल्याटफर्मको प्रयोग गर्न आँट्नु चाहिँ पर्दो रहेछ,” प्रतिभाले भनिन्।
यूट्यूबबाट नेपाली परिकार
धनुषाकी सुनिता बराललाई धेरैले यूट्यूबमा सेफ सुनीको नामले चिन्छन्। तर उनी व्यावसायिक सेफ भने होइनन्। पकाउनु उनको रहर हो।
आठ वर्षको हुँदा हजुरआमासँगै चुल्हो अगाडि बसेर दालमा सिट्ठी लगाएको उनी सम्झन्छिन्। त्यस दिन उनले पकाएको दालबारे घरमा निकै पछिसम्म चर्चा चल्यो।
त्यही एउटा घटना काफी भयो उनलाई पकाउन प्रेरित गर्न। पकाएको खानाले परिवारका अरू सदस्यको भोक मेट्यो, तर उनमा भने पकाउने भोक जगाइदियो।

तस्बिर स्रोत, Sunita Baral
“मैले सधैँ त्योभन्दा मीठो पकाउन कोसिस गरेँ। काठमाण्डू सरेपछि ठूलो परिवारका लागि एकै पटक पकाउनु पर्ने भयो। जमघटहरूमा भ्याईनभ्याई हुन्थ्यो,” उनी बताउँछिन्।
जसले उनको हातको मसला चिया पिउँथे, उनीहरूले त्यही स्वादको चिया बनाउने विधिबारे सोध्थे। सबैलाई व्यक्तिगत रूपमा जवाफ दिनुभन्दा भिडिओ बनाएर साझा गर्नु सहज ठानिन्।
“सुरुसुरुमा औँलामा गन्न सकिने मानिसहरूले मेरो भिडिओ हेर्थे। बिस्तारै भिडिओ थप्दै गएँ। बिस्तारै भिडिओ मन पराउने र च्यानललाई पच्छ्याउनेहरू बढ्दै गए,” उनी बताउँछिन्।
हाल उनको यूट्यूब च्यानललाई साढे चार लाख मानिसले सब्सक्राइब गरेका छन्।
आफ्नो भिडिओहरू विश्वभर छरिएर रहेका नेपाली तथा विदेशी केन्द्रित भएको उनको कथन छ। उनी प्राय ढिँडो, सेल, गुन्द्रुकको अचार, पक्कु, गोर्खा चटनी र छोइलाजस्ता परम्परागत परिकार बनाउन सिकाउँछिन्।
अहिले सुनिता अमेरिकामा बस्छिन्। उनी दुई सन्तानकी आमा हुन्। एक आइटी कम्पनीमा सल्लाहकारको भूमिका निर्वाह गर्छिन् साथै स्नातकोत्तर तह अध्ययन गरिरहेकी छन्।
परिवार, पेसा र पढाइसँगै पाककलामा रमाएकी उनका लागि समय व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो।
“तर इच्छाशक्तिले डोर्याएपछि समय भनेको मिल्दै जाँदो रहेछ। अहिले पाककला मेरा लागि रहर मात्र होइन जिम्मेवारी बनेको छ। फेरि यसबाट केही आम्दानी पनि हुन्छ,” उनले सुनाइन्।
‘नमस्ते, यहाँहरूलाई स्वागत छ’
‘हाई ऐभ्रीवन, नमस्ते। यम्मी फुड वर्ल्डमा हजुरहरूलाई धेरै-धेरै स्वागत छ। आज म यहाँहरूका लागि भुटुवाको रेसिपी लिएर आएकी छु…’
युट्युबमा कुनै नेपाली परिकार कसरी बनाउने भनेर खोज्दा धेरै मानिस म्रिश्टिना महर्जनको त्यो परिचित आवाजसँग ठोक्किन पुग्छन्।
नौ लाख २५ हजार सब्सक्राइबर भएको युट्युब च्यानल “यम्मी फुड वर्ल्ड”मा नेपाली परिकार बनाउने विधि सिकाइन्छ।

तस्बिर स्रोत, Yummy Food World
सरल र रमाइलो तरिकाले नेपाली खाना पकाउन सिकाउनु यस च्यानलको विशेषता भएको कुरा भिडिओमा आउने प्रतिक्रियाहरूबाट नै प्रस्ट हुने मिश्टिना बताउँछिन्।
“भर्खर पकाउन सिकिरहेकाहरू लक्षित गरेर भिडिओ बनाउँछु,” म्रिश्टिनाले भनिन्।
नेपाली परम्परागत खानाहरूले आफूलाई बाल्यकाल, परम्परा र संस्कृतिसँग नजिक राख्ने उनको विश्वास छ।
उनले आमालाई भान्सामा सघाउँदा सघाउँदै पकाउन सिकिन्। नेवार परिवारमा हुर्कनुले उनलाई आम नेपालीको भान्सामा नियमित पाक्ने दाल, भात र तरकारी बाहेक अरू थुप्रै परिकारहरू चिनायो।
“प्राय आमाले पकाउनु हुन्थ्यो। भोज हुँदा चाहिँ बुवा पनि भान्सामा सक्रिय देख्थेँ। उहाँले तारेको माछा साह्रै मीठो हुन्थ्यो। स-परिवार मिलेर गर्ने भान्साको काम मेरो पनि रहर बन्दै गयो,” उनी सम्झन्छिन्।
म्रिश्टिना आफ्नो बुबाले बनाएकोजस्तै माछाको ‘रेसिपी’ खोज्दै इन्टरनेट चहार्न थालिन्। त्यहाँ आफ्नो भान्सामा पाक्नेभन्दा फरक परिकारहरू, विशेष गरी पश्चिमा देशहरूमा चर्चित खानाहरू भेटिन्। तर नेपाली खानाको रेसिपी भेटिनन्।
“भेटिनँ भनेर गुनासो गरेर बस्न मन लागेन। पकाउनु मेरो रहर थियो। रहरसँगै कसैलाई उपयोगी सामग्री बनाउन सकिन्छ भने किन नगर्ने? भन्ने सोचेँ र यूट्यूबमा भिडिओ राख्न सुरु गरेँ,” उनले छ वर्षअघि च्यानल सुरु गर्नुको कारण बताइन्।
पहिलो पटक सुकुटी पकाएर देखाएकी उनी अहिले त्यस भिडिओमा भएका कमीकमजोरी सहजै खुट्टाउन सक्छिन्।
“आँट्नुले सिकाउँदो रहेछ। पहिलो पाइला उचाल्न सके अर्कोले आफै पच्छ्याउँछ भन्ने कुरा आफ्नै अनुभवले सिकायो। रहरै रहरमा सुरु गरेको यूट्यूब च्यानल अब त जीवनको महत्त्वपूर्ण पाटो बनेको छ,” उनले भनिन्।
म्रिश्टिना हाल जर्मनीमा नर्सको रूपमा कार्यरत छिन्। त्यहीँ नेपाली पोसाक र हस्तकलाको व्यापार समेत गर्थिन्।
समय मिलाउन हम्मेहम्मे परेपछि उनले पैसा टन्न दिने व्यवसाय र भरपुर सन्तुष्टि दिने रहरमध्ये एउटा रोज्नु पर्ने भयो। यूट्यूब च्यानललाई निष्क्रिय पार्ने पक्षमा थिइनन् त्यसैले व्यापार त्यागिन्।
उनका भिडिओहरू एक सयभन्दा बढी देशबाट हेरिएको र यूट्यूबबाटै दैनिक ५० देखि ७० यूरोसम्म कमाइ हुने उनको दाबी छ। त्यसैले उनी यसलाई महिलालाई आत्मनिर्भर बनाउने माध्यम मान्छिन्।
“खाना नै बनाएर भिडिओ बनाउनु पर्छ भन्ने छैन। आज सबैको हातमा मोबाइल हुन्छ। मोबाइल झिक्नु र रेकर्ड गर्नुले सम्भावनाको धेरै बाटोहरू खुला गरिदिँदो रहेछ,” उनले बताइन्।
क्षेत्री र डुक्पा भान्साको मिश्रित मसला
दार्जिलिङकी छेतेन डुक्पाका आमाबुवाले अन्तर्जातीय विवाह गरेका हुन्। त्यसैले आफू हुर्कँदै गर्दा क्षेत्री समुदायकी आमाको मसालेदार पकवानदेखि डुक्पा जातिको मसलारहित खानाको स्वाद चाख्न पाएको उनी सुनाउँछिन्।
कुन मसला कति राख्दा कुन तरकारीको स्वाद कस्तो बन्छ भन्ने कौतुहलताले उनलाई भान्सा वरपर सधैँ झुम्माइराख्यो।
पहिलो पटक कसैले प्रेसर कुकरमा पनि केक बन्छ भनेको सुनेपछि उनले मन थाम्नै सकिनन्। घरमा भएको पीठो, चिनी र केराको प्रयोग गरेर कुकरमा सिट्ठी लगाइन्।
“तर मैले बनाएको केक कुकुरले पनि खाएन। मन दुख्यो। त्यसैले मीठो बनाउने प्रयास जारी राखेँ। प्रयासले नै भान्साप्रतिको झुकाव बढाउँदै लग्यो।”
त्यही झुकावका कारण हुनसक्छ उनको पेसागत यात्रा रेस्टुरेन्ट तिरै मोडियो। तर सेफ होइन वेटर बनेर।
उनी पकाउने र खानाहरूलाई सजाउने सोख भने आफन्त, साथीभाइलाई खाना खान बोलाएर पूरा गर्थिन्।
धेरैले उनको क्षेत्री र डुक्पा परिकारको ‘फ्युजन’को निकै तारिफ गर्थे। एक दिन उनकी भाउजूले सुझाव दिइन्, “यति मीठो बनाउनु हुन्छ। पकाउने विधि यूट्यूबमा राख्नुहोस्।”

तस्बिर स्रोत, Sunita Baral
त्यसपछि हो डाडुपन्यु समाउन जब्बर उनका हातले क्यामेरा चलाउन थालेको। मरमसला टक्क अड्कल्न सक्ने उनले भिडिओ खिच्ने ‘एङ्गल’ पहिचान गर्न थालेको।
खाना सजाउनमा अब्बल डुक्पाले भिडिओलाई पनि मजैले काँटछाँट गर्न सिकिन्। र तीन वर्ष अघि सुरु गरिन्- छेतेन डुक्पा रेसिपी।
नेपाली परिकारहरूमा सांस्कृतिक साथै स्वास्थ्यवर्धक महत्त्व रहेको उनको बुझाइ छ।
“चाडपर्व विशेष खानाहरू बाहेक दैनिक खाने तरकारी अचारमा पनि हामी विभिन्न जडीबुटी र पोषणयुक्त तत्त्वहरूको प्रयोग गर्छौँ। त्यसैले यी खाना जोगाउन आवश्यक छ जस्तो लाग्छ”, उनले भनिन्।
आममानिसको घरमा उपलब्ध हुने मरमसला राखेर पकाउन सिकाउनु उनको विशेषता हो।
“दुनियाँ मसला राखेर देखाएँ भने त हेर्नेलाई पनि के हो के भन्ने होला! कोसिस गर्नै अल्छी लाग्ला। त्यसैले हरेक नेपालीले भान्सामा राख्ने जिरा, धनियाँ, टिमुरजस्ता मसलाको प्रयोग हुने खानाहरू बनाएर देखाउँछु,” उनले सुनाइन्।
“हामी भाग्यमानी छौँ कि हामीसँग माध्यम छ र अवसर पनि। भातभान्सा गर्नु कामविहीन हुनु होइन, मीठो पकाउन सक्नु त कला हो भन्ने प्रमाणित गर्न पाएका छौँ।“
सन् २०२१ को जुलाई महिनामा कोरोनाभाइरसको महामारीको असरले उनी कार्यरत रेस्टुरेन्ट बन्द भयो। उनको प्रमुख आम्दानीको स्रोत ठप्प भयो। तर यूट्यूबबाट हुने कमाइले आफ्नो र छोराका लागि खर्च टरेको उनी बताउँछिन्।
“छोराले केही माग्दा श्रीमानको मुख ताक्नु परेको छैन यही नै सुखद पक्ष हो।”
महिलाको भातभान्साको परिवर्तित भाष्य
यूट्यूबमार्फत पाककला प्रस्तुत गर्न कस्सिएकी डुक्पादेखि नेपाली परिकारलाई विश्वभर चिनाउन लागि परेका सुनिता, म्रिश्टिना र पाक शिक्षाको संस्कार स्थापित गर्न चाहने प्रतिभाको भोगाइ समान छन्।
भान्साको चार कुनामा साँघुरिएका महिलाहरू पाककलामार्फत् यूट्युबजस्तो नयाँ प्रविधिको धरातलमा अवतरण गर्नु आफैमा समाज रूपान्तरणको सुखद सङ्केत भएको यी महिलाहरू ठान्छन्।

तस्बिर स्रोत, Prativa Khanal
उनीहरूको पाककार्यमा प्रत्यक्ष वा परोक्ष सघाउन तत्पर पुरुषहरूको साथ लैङ्गिक समानताको अभ्यास भएको उनीहरू मान्छन्।
पढाइ, विदेश बसाइ वा आधुनिकताका कारण नेपाली परिकार र पकाउने विधिसँग अनजान पछिल्ला पुस्ताहरूलाई यी चारजस्तै अरू सर्जकहरूका भिडियोले पुस्तान्तरण गरिरहेको छ।
यूट्युब रहेसम्म नेपाली परिकार र विधिहरूको अभिलेखीकरण भएको छ।
यी चारै जना सम्भावना र सकारात्मक प्रभावलाई आत्मसात् गरेर अवसरको खोजी गरिरहेका छन्। उनीहरू सबैलाई बाँधेको छ "आँट र स्वाद"को सूत्रले।
सेफ सुनी भन्छिन्, “हरेक मानिसको सपना र रहरको भिन्नै सगरमाथा हुन्छ। त्यसको चुचुरोसम्म उक्लनु कठिन हुन्छ तर आँट्नु र एक-दुई पटक लड्दा हार नमान्नु महत्त्वपूर्ण हुने रहेछ।"
"हामी युट्युबमा पाककलाको भारी बोकेर चुचुरो चढिरहेका छौँ।“











