टिकटकः भाइरल भइरहेको 'म्यानिफेस्टेशन' भिडिओ सकारात्मक सोच कि भ्रम?

तस्बिर स्रोत, TikTok/@alaniscooper
"तपाईँ धनी बन्नुहुनेछ। तपाईँले मन पराएको व्यक्तिले आज राति तपाईँलाई सन्देश पठाउनेछ। तपाईँका भूतपूर्व प्रेमी वा प्रेमिका कहिल्यै पनि तपाईँभन्दा उत्कृष्ट हुनेछैनन्।"
गत मार्च महिनामा एक प्रयोगकर्ताले यो बेहोरा लेख्दै टिकटकमा एउटा पोस्ट गरे।
यसमा अहिले पनि प्रतिक्रिया आइरहेको छ र हजारौँ मानिसले 'लाइक' गरेका छन्।
'म्यनिफेस्टेशन' भनेर चिनिएका यस्ता भिडिओमा प्रयोगकर्ताहरू आफ्नो लक्ष्य निर्धारण गरिरहेका छन्। त्यसमा आफैँले आफ्नो लक्ष्य पूरा भएको कल्पना गरिन्छ वा कतै टिपोट गरिन्छ।

तस्बिर स्रोत, Getty Images
आरम्भ
उदाहरणका लागि यदि तपाईँ पप गायक बन्न चाहनुहुन्छ भने तपाईँ वेम्ब्ली अरीनाजस्तै भव्य स्थलमा गाउँदै गरेको कल्पना गर्नुहुन्छ।
अथवा तपाईँ "म एक दिन पप गायक बन्न चाहन्छु" भन्नुको साटो "म चर्चित पप गायक हुँ" भनेर लेख्नुहुन्छ।
यो १९औँ शताब्दीको अमेरिकामा सुरु भएको एउटा आध्यात्मिक आन्दोलन 'न्यू थट' दर्शनबाट आएको हो।
यसले आध्यात्मिक उपचार र मेटफिजिक्स अर्थात् तत्वमीमांसामा जोड दिन्छ।
टिकटकमा ह्याशट्याग म्यानिफेस्टिङ (#Manifesting) मा तीन करोड ३४ लाख विचारहरू व्यक्त भएका छन् भने ह्याशट्याग म्यानिफेस्टेशन (#manifestation) मा निकै धेरै ४.३ अर्ब विचार व्यक्त भएका छन्।
लकडाउनको विस्तार
लकडाउनले गर्दा यसप्रतिको आकर्षण बढाएको छ।
यूके र अमेरिका दुवैमा महामारी पहिलेको तुलनामा अगस्ट महिनामा गुगल सर्च ४०० प्रतिशतले बढेको छ।
यी ह्याशट्याग सर्च गर्ने हो भने मानिसहरूले कि त तपाईँले कसरी 'म्यानिफेस्ट' गर्ने भन्ने सिकाइरहेका वा उनीहरू के 'म्यानिफेस्ट' गरे भनिरहेका भिडिओहरू भेट्नुहुनेछ।
मानिसहरूले के 'म्यानिफेस्ट' गर्न चाहन्छन् भन्ने कुरामा ठूलो भिन्नता छ। यद्यपि धेरै सामग्रीहरू सम्पत्ति र प्रेमसँग केन्द्रित देखिन्छन्।
कसैले यसलाई विज्ञानमा आधारित दाबी गर्छन् भने कैयौँ चाहिँ त्यसमा असहमत छन्।
कतिपयले यसलाई धार्मिक विश्वाससँग पनि जोडेका छन्।

तस्बिर स्रोत, TikTok/@iseowl
भाइरल हुने लोभ
धेरै टिकटक प्रयोगकर्ताले आफ्ना 'म्यानिफेस्टिङ' भिडिओहरू भाइरल होऊन् भन्ने चाहन्छन् र त्यस्ता भिडिओहरूले हजारौँ दर्शक पनि पाउँछन्।
लन्डनमा बस्ने अलानिस पनि त्यस्तै भिडिओ बनाउने १९ वर्षीया किशोरी हुन्।
उनी 'म्यानिफेस्टेशन'ले प्रभावकारी हुने ठान्छिन्।
आफूले केही परीक्षाका लागि 'म्यानिफेस्टेशन' गरेको र त्यसले काम गरेको उनको दाबी छ।
'म्यानिफेस्टेशन'को कुनै प्रमाण छैन, आध्यात्मिक कुराजस्तै ठानेपछि त्यसमा प्रमाणको कुनै अर्थ पनि रहने कुरै भएन।
'सकारात्मक सोच असल, भ्रम बन्दा खराब'
'द पोजेटिम शिफ्ट'की लेखिका समेत रहेकी मनोवैज्ञानिक क्याथरिन स्यान्डर्सन 'म्यानिफेस्टेशन'लाई मनोवैज्ञानिकहरूले भन्ने गरेको 'माइन्डसेट'का रूपमा अर्थ्याउँछिन् र त्यसले काम गर्ने बताउँछिन्।
कतिपय अवस्थामा यसलाई सकारात्मक रूपमा लिनु ठिकै भए पनि कहिलेकाहीँ यसको नराम्रो प्रभाव पर्न सक्ने उनी बताउँछिन्।
"जस्तो कसैले मलाई कोभिड-१९ हुँदैन त्यसैले मास्क लगाउनु पर्दैन भन्यो वा मैले कार पाउँछु भनेर कसैले पैसा नै बचत गरेन भने?" उनी भन्छिन्।
"शारीरिक र मानसिक दुवै अवस्थाका लागि केही सकारात्मक सोच राख्नु राम्रो कुरा हो। तर यसले सीमा पार गरेर भ्रमको अवस्था सिर्जना हुनु भएन।"
सकारात्मक सोचमा अनुसन्धान गरेकी अर्की मनोवैज्ञानिक एवम् अनुसन्धानकर्ता ग्याब्रियल ओटिङ्गनका अनुसार चाहिँ "यो छोटो समयका लागि लाभदायक देखिए पनि दीर्घकालीन रूपमा हानिकारक" हुनसक्छ।









