नेपालमा सार्वजनिक स्थलमा प्र्याङ्क गर्न रोक, अटेर गरे कस्तो कारबाही हुन्छ

नेपालमा सार्वजनिक स्थलमा प्र्याङ्क अर्थात् "मजाक, ख्यालठट्टा वा मस्करी" नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
यस्ता गतिविधिका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने क्रियाकलापहरू गरी त्यस्तो भिडिओ तयार गर्ने र त्यस्ता फुटेज सामाजिक सञ्जालमा अप्लोड गरेको गुनासो तथा सूचना प्राप्त भइरहेको जनाउँदै मन्त्रालयले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो।
गृह मन्त्रालयले गत बिहीवार सार्वजनिक गरेको विज्ञप्तिमा ''व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति/सहमतिबिना कुनै पनि प्रकारको भिडिओग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई कारबाही गरिने'' उल्लेख गरिएको छ।
नेपालमा केही समयदेखि प्र्याङ्कका नाममा विभिन्न किसिमका क्रियाकलापहरू बढेको पाइएको र त्यस्तो गुनासो आफूहरूले प्राप्त गरेकाले सर्वसाधारणहरूलाई यसबारे सतर्क बनाइएको मन्त्रालयले जनाएको छ।
खासगरी यूट्यूब, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा विभिन्न व्यक्ति वा समूहले सार्वजनिक स्थलमा सर्वसाधारण मानिससँग विभिन्न तरिकाले प्र्याङ्क गर्ने र गोप्य रूपमा खिचिएका भिडिओ अप्लोड गर्ने गरेको पाइन्छ।
के हो प्र्याङ्क भिडिओ?
इन्टरनेट हाइलाइट्स नाम गरेको एउटा यूट्यूब च्यानलमा सन् २०१७ को मे २१ मा अप्लोड गरिएको एउटा भिडिओमा दुई व्यक्ति सेतो कपडा लगाएर भूतजस्तै बनेर एक्लै हिँडेका मानिसहरूलाई तर्साएको देख्न सकिन्छ।
केही मानिस अँधेरोमा त्यस्तो देख्दा तर्सिएर भाग्छन् पनि।
तर त्यसैबीच अर्का एक व्यक्ति आइपुग्छन्, अरूजस्तै सुरुमा उनी पनि डराए जस्तो देखिन्छ।
एक छिनपछि उनी ती दुई व्यक्तिमाथि जाइलाग्छन्। केही समय घम्साघम्सी चल्छ।

तस्बिर स्रोत, Internet Highlights / YOUTUBE / SCREENGRAB
बीचमा "क्यामेरा, क्यामेरा, क्यामेरा" भनेको आवाज सुनिन्छ। भिडिओ खिच्ने व्यक्ति पनि आइपुग्छन्।
उक्त कार्य प्र्याङ्क रहेको थाहा भएपछि ती व्यक्ति बल्ल शान्त हुन्छन्। यो भिडिओ सामाजिक सञ्जालका विभिन्न प्रयोगकर्ताहरूले सार्वजनिक गरेको देखिन्छ।
सामाजिक सञ्जालमा देखिने अर्को एक भिडिओमा निषेधाज्ञा जारी रहेका बेला एक युवक हातमा लट्ठी समातेर बाटोमा बसेको देखिन्छ।
एकैछिनमा अर्का एक व्यक्ति बाटोमा देखा पर्छन्। लट्ठी बोकेका व्यक्तिले किन बाहिर निस्केको भन्दै उनलाई लखेट्छन्।
तर त्यतिबेला भिडिओ खिचिएको छ भन्नेबारे भाग्ने व्यक्ति अनभिज्ञ देखिन्छन्।
त्यस्तै अर्को एक प्रतिनिधि भिडिओमा एक युवती केही पनि नसोधी अन्जान व्यक्तिको काखमा गएर बसेको देखिन्छ। छेउमा बसेका अन्य युवाहरू तर्किन्छन्।
तर प्र्याङ्कको अन्तिममा भने भिडिओ खिचिएको जानकारी गराइन्छ।
सामाजिक सञ्जालमा प्र्याङ्कका नाममा नेपालमै खिचिएका अनेकौँ भिडिओ छन्।
किन गरिन्छ प्र्याङ्क?
प्र्याङ्क भिडिओ बनाउने व्यक्ति वा समूहले मूलभूत रूपमा अपरिचित व्यक्तिलाई लक्ष्य गरी अनौठो किसिमको कुराकानी वा गतिविधि गरेको देखिन्छ।
कतिपयले अभद्र टिप्पणी वा सामान्यतया सार्वजनिक स्थलमा अन्जान व्यक्तिसँग नगरिने खालका कुराकानी पनि उनीहरूले सुन्न सक्नेगरी गरेको देखिन्छ।
क्यामरा चाहिँ नदेखिनेगरी राखिएको हुन्छ। कतिपय अवस्थामा भिडिओ खिचिएको जानकारी गराइएको देखिन्छ भने कतिपय अवस्थामा त्यस्तो जानकारी गराइएको देखिँदैन।
भिडिओमा कतिपयले त्यस्ता गतिविधिलाई सामान्य रूपमा लिए जस्तो, कतिपय अलमलमा परे जस्तो देखिन्छ भने अन्य कतिपय घटनामा विवाद वा हातपात पनि भएको देखिन्छ।
कतिपयले आफ्नै परिवारका सदस्य, साथीभाइ वा चिने जानेका व्यक्तिहरूसँग यस्ता गतिविधि गरेको पाइन्छ।
यस्ता भिडिओ प्रायः अनौठो परिस्थितिमा फरकफरक मानिसले कसरी प्रतिक्रिया गर्छन् भनी हेरेर रमाइलो गर्न बनाइने गरेको प्र्याङ्क भिडिओ उत्पादकहरूले बताउने गरेको पाइन्छ।
सामाजिक सञ्जालमा विभिन्न देशका व्यक्ति तथा समूहले यस्ता भिडिओ बनाएर राख्ने गरेको देख्न सकिन्छ।

तस्बिर स्रोत, Reuters
नेपालमा पनि तिनै भिडिओको सिको गर्दै यस्ता क्रियाकलाप बढेको जानकारहरू बताउँछन्।
प्रतिबन्ध लगाइनुको कारण के हो?
गृह मन्त्रालयका प्रवक्ताका समेत रहेका सहसचिव फणीन्द्रमणि पोखरेल कुनै व्यक्तिको जानकारीबिना कुनै गतिविधिको भिडिओ खिचेर सार्वजनिक गरिदिने गरिएको गुनासो आफूकहाँ आइपुगेका कारण सरकारले सूचना जारी गरेको बताउँछन्।
यस्ता गतिविधिबाट ''बेथिति बढ्न सक्ने'' सम्भावना देखेर कदम चालिएको उनले जानकारी दिए।
नेपाल प्रहरीका अनुसार प्रहरी कार्यालयहरूमा यस्ता गुनासो लिएर आउने व्यक्तिहरूको सङ्ख्या क्रमिक रूपमा बढ्दो छ।
विगतमा यस्ता गतिविधिसम्बन्धी उजुरीमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने गरिएको भए पनि हाल अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने गरेको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।
"'भिडिओ खिच्ने नाममा, प्र्याङ्क गर्ने नाममा दुर्व्यवहार जोडिनेबित्तिकै त्यो यो कसुरमा (अभद्र व्यवहारमा) आकर्षित हुन्छ। त्यस कारणले रिलेट भएर आएका केसहरू छन् ठाउँ ठाउँमा," उनले भने।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा खाता बनाएर भिडिओ नै सार्वजनिक भइसकेको विषय छ भने विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको भागीदार हुने अवस्था रहन्छ।
अर्थात् प्रयाङ्कका नाममा कुनै गतिविधि गरेको उजुरी परे प्रहरीले अभद्र व्यवहारअन्तर्गत कारबाही अघि बढाउँछ भने भिडिओ सार्वजनिक भए त्यसमा साइबर अपराध पनि आकर्षण हुने अवस्था रहन्छ।
अटेर गरे कस्तो कारबाही हुन्छ?
मुलुकी अपराध संहिता, २०७४ दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न नहुने उल्लेख छ।
यद्यपि सार्वजनिक शान्तिसुरक्षामा खलल पुर्याउने खालको विषय भए प्रहरीले आफैँ अनुसन्धान गर्ने गरेको तर सार्वजनिक रूपमा शान्ति सुरक्षा असर नपुग्ने विषय रहेको र व्यक्ति पीडित हुने प्रकृतिको घटना रहे सम्बन्धित व्यक्तिले उजुरी नगरेसम्म मुद्दा प्रक्रिया अगाडि बढाउन नमिल्ने केसी बताउँछन्।
त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने दफा ११८ को उपदफा २ मा उल्लेख छ। उजुरीको प्रवृत्ति हेरेर विद्युतीय कारोबार ऐनअन्तर्गत पनि कारबाही गर्न सकिने प्रहरीको भनाइ छ।
सामाजिक सञ्जालमा देखा पर्ने यस्ता भिडिओ कतिपय अवस्थामा चिनजान भएका मानिस वा सहकर्मीलाइ प्रयोग गरी साँच्चै भए जस्तो गरी अभिनय गराइने गरेको पनि कतिपयको भनाइ छ।
यस्ता केही भिडिओमा अन्तिममा यो प्र्याङ्कको हो र भिडिओ खिचिएको जानकारी गराइएको पनि देख्न सकिन्छ।
तर त्यस्तो भिडिओ प्रकाशन हुन्छ भन्ने कुरा भने जानकारी गराएर सहमति लिइएको वा नलिइएको भने प्रष्ट हुँदैन।










