धार्मिक क्षेत्रमा 'निर्वस्त्र भिडिओ खिचेपछि' भारतमा फ्रान्सेली महिलालाई मुद्दा

तस्बिर स्रोत, Getty Images
उत्तर भारतस्थित तीर्थस्थल हृषीकेशमा गङ्गा नदीमाथि रहेको एउटा पुलमा आफ्नो नग्न भिडिओ खिचेको आरोपमा एक फ्रान्सेली महिला पक्राउ परेकी छन्।
ती महिलाले 'लक्ष्मण झुला' भनिने उक्त पुलमा खिचेको भिडिओ सामाजिक सञ्जालमा देखा परेको थियो।
ती महिलालाई भारतको इन्टरनेट कानुनअन्तर्गत मुद्दा परेको हो।
दोषी प्रमाणित भएमा उनलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्ने समाचारसंस्था एएफपीले उल्लेख गरेको छ।
लक्ष्मण झुलालाई पवित्र मानिन्छ र त्यो पर्यटकहरूका लागि आकर्षणको केन्द्र पनि हो।
पक्राउ परेपछि ती महिलाले गरगहनाको आफ्नो व्यापार प्रवर्धन गर्ने उद्देश्यले आफूले भिडिओ बनाएको प्रहरीलाई बताएकी थिइन्। उनी धरौटीमा छुटेकी छन्।
तर समाचारसंस्था एएफपीलाई पठाएको एउटा विज्ञप्तिमा उनले यौन दुर्व्यवहारविरुद्ध चेतना जगाउने आफूले भिडिओ खिचेको दाबी गरेकी छन्।
के भन्छ प्रहरी?
"फ्रान्समा सम्भवतः यस्तो कृत्यलाई आपत्तिजनक मानिँदैन। तर हृषीकेश धार्मिक स्थल हो अनि लक्ष्मण झुलाबाट राम, सीता र लक्ष्मणले गङ्गा नदी तरेका थिए," स्थानीय प्रहरी कार्यालयका प्रमुख आरके सक्लानीले एफएफपीलाई भने।
भिडिओबारे सूचना पाएपछि ती महिलालाई बिहीवार पक्राउ गरिएको थियो।

तस्बिर स्रोत, AFP
"सोधपुछका क्रममा उनले नाङ्गै भिडिओ खिचेको स्वीकार गरिन्। तर आफूलाई भारतमा त्यसो गर्नु गैरकानुनी भएको थाहा नभएको दाबी गरिन्। उनले हारको व्यवसायका लागि फोटो र भिडिओ खिचेको बताइन्," अर्का प्रहरी अधिकारीले हिन्दुस्तान टाइम्सलाई बताए।
तर एएफपीसँग उनले आफू सर्वाङ्ग नग्न नभएको दाबी गरिन्।
"लक्ष्मण झुलामा म आंशिक नग्न भएँ किनभने जति पटक पुल तर्दा पनि मलाई दुर्व्यवहार भएको जस्तो लाग्थ्यो...। मेरा भारतीय दिदीबहिनी र अन्य महिला यात्रीहरूले पनि यस्तै अनुभव गरेको हुनुपर्छ," उनको विज्ञप्तिमा उल्लेख छ।
उनले घटनाप्रति क्षमायाचना गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।








