टिकटकः १६ वर्षे अमेरिकी किशोरीको नयाँ कीर्तिमान, फलोअर सङ्ख्या १० करोड नाघ्यो

चार्ली र उनकी दिदी डिक्सी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चार्ली (बायाँ) र उनकी दिदी डिक्सी

टिकटकमा फलोअरको सङ्ख्या १० करोड नघाउने कीर्तिमान पहिलो पटक एक अमेरिकी किशोरीले बनाएकी छन्।

लोकप्रिय भिडिओ शेअरिङ माध्यम टिकटक चलाउन थालेको डेढ वर्षमा कनेटिकट निवासी १६ वर्षीया चार्ली ड'मिलिओले सर्वाधिक फलोअर बनाउन सकेकी हुन्।

केही दिनअघि यूट्यूबमा प्रकाशित एउटा भिडिओमा उनको व्यवहारका कारण उनी विवादमा परेकी थिइन्।

उनको परिवारले सञ्चालन गरेको रीयालिटी शृङ्खला 'डिनर विथ द ड'मिलिओ' को पहिलो भागमा ती किशोरीले आफ्ना भान्सेसँग अपमानपूर्वक व्यवहार गरेको भनेर आलोचना गरिएको थियो।

विरोधस्वरूप ६,००,००० भन्दा बढी मानिसले उनलाई फलो गर्न छोडेका थिए।

तर क्षमायाचनासहित आफूले राम्रो व्यवहार गर्ने वाचा गर्दै उनले एउटा भिडिओ प्रेषित गरेपछि उक्त विवाद टुङ्गिएको थियो।

टिकटकमा कीर्तिमान बनेपछि चार्लीले आफ्ना शुभचिन्तक र प्रशंसकहरूलाई ट्विटरमार्फत् धन्यवाद दिएकी छन्।

"दश करोड मानिसले मलाई समर्थन गर्दैछन्.... यो वास्तविक हो भनेर म विश्वास गर्न सकिरहेकी छैन," उनले लेखेकी छन्।

दशौँ लाख डलर कमाइ

धेरै प्रयोगकर्ताले जस्तै पहिलो पटक चार्लीले पनि शयनकक्षमा नाचेको व्यक्तिगत भिडिओ टिकटकमा हालेकी थिइन्।

टिकटक

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, भिडिओ शेअरिङ एप अहिले टिकटक विश्वभरि लोकप्रिय भनेको छ

गत वर्ष टिकटक र बाहिर पनि उनको धेरै चर्चा भयो। पाँच करोड फलोअर हुने पहिलो कीर्तिमान पनि उनले गत एप्रिलमा राखेकी थिइन्।

गत वर्ष उनले एउटा एनिमेटिड चलचित्र 'स्टारडग एन्ड टर्बोक्याट'का लागि आफ्नो स्वाराङ्कन गराइन्।

फ्याशन र सौन्दर्य प्रशाधनका विश्वविख्यात ब्र्यान्डहरूसँग उनको व्यावसायिक सम्बन्ध छ। यही वर्ष उनको एउटा पुस्तक पनि प्रकाशित हुँदैछ।

फोर्ब्सका अनुसार गत वर्ष उनले विभिन्न ब्र्यान्डसँग गरिएका सम्झौताबाट नै ४० लाख अमेरिकी डलर कमाएकी थिइन्।

विवाद

यो वर्षको आरम्भतिर टिकटकमा "रेनगेड" नृत्य ट्रेन्ड हुँदा उनलाई श्रेय दिइएपछि चार्ली विवादमा परेकी थिइन्।

त्यो नृत्य वास्तवमा जोर्जिआकी जालैया ह्यार्मोन नामक अश्वेत किशोरीले सुरु गरेकी थिइन्।

चार्लीले आफूले त्यो ट्रेन्ड सुरु गरेको दाबी गरेकी थिइनन्।

तर टिकटकको एल्गोरिदममा उत्पन्न समस्याका कारण जातीय पूर्वाग्रह झल्किनेगरी विवाद उत्पन्न भएको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, टिकटक स्टार रेश्मा