केरासम्बन्धी ठट्टाका कारण किन टर्कीबाट सिरियालीहरूको देश निकाला हुनसक्छ?

तस्बिर स्रोत, Getty Images
- Author, डिमा बबिली
- Role, बीबीसी अरेबिक
टर्कीमा हाँसेको र ठट्टा गरेको भिडिओहरू बनाएर सामाजिक सञ्जालमा राख्ने चर्चित लहरमा त्यहाँ बसोबास गर्ने सिरियालीहरू पनि सहभागी भएका छन्।
हल्काफुल्का टिकटक भिडिओहरूमा सिरियालीहरूले केरा खाएको र आफ्ना साथीलाई त्यसै गर्न चुनौती दिएको देखिन्छ।
यस्ता भिडिओहरू टिकटकमा राख्दा कुनै हानी नपुर्याउने जस्तो देखिन्छन्। टिकटकमा यस्ता चलनको लहर आउँछन् र जान्छन्। तर यस्ता भिडिओले टर्कीमा रहेका केही सिरियालीका लागि भने दीर्घकालीन असर पार्ने देखिएको छ।
हालैका दिनमा, टर्कीका अधिकारीहरूले सिरियालीहरूमाथि "उत्तेजक" शैलीमा केरा खाएको देखाएर "द्वेष भड्काएको" आरोप लगाएका छन्।
केही सिरियालीहरू पक्राउमा परेका छन् र तिनीहरू देश निकालामा समेत पर्न सक्छन्।
टर्कीमा रहेको सिरियालीको ठूलो समुदायप्रति विरोध बढिरहेको परिस्थितिमा केरा विभाजनको एउटा प्रतीक बनेको छ।
त्यसो भए, केरा खान चुनौती दिइएका भिडिओपछाडिको अन्तर्कथा के छ?
'म किन्नै सक्दिनँ'
टर्कीको दारूण आर्थिक अवस्थाबारे टर्की र सिरियाका मानिसहरूबीच चर्काचर्की बहस भइरहँदाको एउटा भाइरल भिडिओबाट 'बनाना च्यालेन्ज' अर्थात् केरा खाएको भिडिओ राख्ने चलन सुरु भएको हो।
टर्कीको अर्थतन्त्र उच्च मुद्रा स्फितिबाट गुज्रँदा त्यहाँको जीवनशैली खस्किएको छ।
उक्त भिडिओमा परस्पर विरोधी धारणा व्यक्त गरिएको छ र एकजना सिरियाली महिलाले टर्केली भाषामा शरणार्थीहरूको रोजगारीको बचाउ गरेकी छन्।
त्यसको प्रतिक्रियामा टर्कीका मानिसहरूले सिरिया र अफगानिस्तानबाट आएका मानिसहरूले आफ्नो रोजगारी खोसेको बताएका छन्।
त्यस्ता खालका धारणा टर्कीमा असामान्य होइन। टर्कीमा अन्य देशका शरणार्थीहरूको सङ्ख्या अत्यन्तै धेरै छ र त्यहाँ सिरियाका मात्रै ३६ लाखभन्दा बढी मानिस शरणार्थीका रुपमा रहेका छन्।
टर्कीमा आप्रवासीविरोधी धारणा बढ्दो छ र त्यहाँका राष्ट्रवादी राजनीतिज्ञहरूले कडा प्रतिबन्धहरू लगाइनुपर्ने अभियानहरू चलाउँदै आएका छन्।
तर यो भिडिओलाई 'भाइरल' बनाएको भने टर्कीका एक मानिसको यो भनाइले हो: "मैले बजारमा धेरै किलोका किलो केरा किनिरहेका सिरियालीहरू देख्छु, तर म आफैसँग भने त्यसरी किन्न सक्ने क्षमता छैन।"

तस्बिर स्रोत, Getty Images
उनको यो दाबीले टर्कीमा रहेका सिरियाली समुदायबीच ठूलो बहस निम्त्यायो र उक्त स्वर प्रयोग गरेर बनाइएका भिडिओहरू टिकटकमा छिट्टै भाइरल बने।
टर्कीका ती पुरुषप्रति व्यङ्ग्य गर्दै सिरियालीहरूले केरा खाइरहेको भिडिओ बनाएर, केराको फिल्टर प्रयोग गरेर र त्यसबारेका मिमहरू बनाएर शेअर गर्न थाले।
केरालाई लिएर गरिएका यस्ता ठट्टाहरू केवल अनलाइन मनोरञ्जनका लागि भए पनि यसलाई सबैले मनोरञ्जक ठानेनन्।
टर्कीको झण्डालाई केराले प्रतिस्थापित गरेको एउटा तस्बिरले खासगरी द्वेष निम्त्यायो।
नयाँ स्थापना भएको राष्ट्रवादी भिक्ट्री पार्टीले सिरियाली टिकटक प्रयोगकर्ताविरुद्ध "टर्कीका जनता र उनीहरूको झण्डाको अपमान गरेको" भन्दै उजुरी गर्यो।
अन्य आलोचकहरूले पनि सामाजिक सञ्जालमा त्यस्ता भिडिओले "टर्कीले सामना गरिरहेको दारूण आर्थिक अवस्थाको मजाक उडाएको" भन्दै टिप्पणी गरेका छन्।
आर्थिक कठिनाइबाट गुज्रिरहेका बेला केरासम्बन्धी यी भिडिओहरूले टर्कीका अधिकारीहरूलाई पनि चिढ्याएको स्पष्ट रुपमा देखिन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

गत बिहीवार, स्थानीय सञ्चारमाध्यमले टर्कीका प्रहरीले त्यस्ता भिडिओ राख्ने ११ सिरियालीलाई पक्राउ गरेको जनाएका थिए।
ती सिरियालीमाथि "द्वेष भड्काएको र उत्तेजना फैलाएको" आरोप लगाइएको थियो।
टर्कीको अध्यागमन निकायले "आवश्यक कागजातहरूबारे तयारी गरेपछि देशनिकाला गरिने" जनाएको थियो।
उक्त निकायका महानिर्देशकले "उत्तेजना फैलाउने त्यस्ता सबै सामाग्री खोज्ने" प्रयास भइरहेको र "त्यस्ता अभियानमा सहभागी सबैबारे" एउटा निर्णयमा पुग्ने बताएका छन्।
त्यसपछि आइतवार, टर्कीका अधिकारीहरूले सिरियाली पत्रकार मजेद शमालाई पक्राउ गरे। उनले 'बनाना च्यालेन्ज' बारे एउटा टेलिभिजन रिपोर्ट बनाएकी थिइन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

'हामीले टर्कीका मानिसको मजाक उडाएका होइनौं'
टर्कीका केही राजनीतिज्ञहरूले गिरफ्तारीमा समर्थन जनाएको पनि देखियो। एउटा ट्वीटमा राष्ट्रवादी गुड पार्टीका एकजना नेता इले अक्सोइले लेखे, "त्यसरी केरा खानेहरूले हाम्रो मजाक उडाए हाम्रो झण्डाको अपमान गरे।"
तर अल्पसङ्ख्यक समर्थक पीपल्स डेमोक्रेटिक पार्टीले भने गिरफ्तारीलाई "जातिभेदवादी" भनेको छ।
सामाजिक सञ्जालमा टर्कीमा रहेका सिरियाली आप्रवासी सदस्यहरूले केरासम्बन्धी भिडिओ राख्नुको उद्देश्य पुष्टि गर्ने प्रयास गरेका छन्।
एकजनाले लेखेका छन्: "हामीले टर्कीका मानिसलाई ठट्टामा उडाएका होइनौं, हामीले त जातिभेदवादीको मजाक बनाएका हौं। खस्किँदो आर्थिक अवस्थाले हामी सबैलाई असर गरेको छ।"
इस्तानबुलमा बस्ने सिरियाली पत्रकार डिमा शुलरले बीबीसीसँग बोल्दै धेरैजसो भिडिओहरू हानीरहित भएको र "केवल जोक" भएको बताइन्।
तर उनले त्यसमध्ये केही भने "हानीकारक र अप्रिय" भएको बताइन्। टर्कीमा केही कडा कानुनहरू छन् जसले देश, देशको झण्डा र राष्ट्रपतिको अपमान गर्ने अभिव्यक्तिमाथि प्रतिबन्ध लगाएको छ।
शुलरले त्यस्ता भिडिओ बनाउनेलाई यिनै कानुन अन्तर्गत मुद्दाको अभियोजन गर्न सकिने बताइन्।
उनका अनुसार धेरै सिरियालीहरू आफ्नो देशमै फिर्ता गरिने हो कि भन्ने त्रासमा छन्। दशक लामो गृहयुद्धबाट सिरिया प्रताडित छ।
"अपराधको व्याख्या बृहत् रुपमा गरिएको छ," शुलरले भनिन्। उनका अनुसार "कुनै एउटा तरिकाबाट विश्लेषण गरेर फेसबुकमा लेखेको पोष्टकै कारण" ले पनि सिरियालीलाई देश निकाला गर्न सकिन्छ।
उनले देश निकाला वा देश फिर्तालाई टर्की सरकारको "तर्साउने कदम" भनेकी छन्।
उनले केरासम्बन्धी भिडिओले टर्कीको आर्थिक कठिनाइ र शरणार्थी सङ्कटका मुद्दाबाट ध्यान अन्यत्रै मोडेको बताइन्। त्यसको सट्टा सबैजना "टिकटक भिडिओमा केन्द्रित भएका छन्।"










