युट्युब: डेस्पासितो, अरू म्युजिक भिडिओ ह्याक

तस्बिर स्रोत, YouTube
बहुचर्चित गीत 'डेस्पासितो' को युट्युबमा राखिएको म्युजिक भिडिओ ह्याक भएको छ।
पोएर्तो रिकोका गायक लुइस फोन्सीले गाएको गीतको यो म्युजिक भिडिओ युट्युबमा पाँच अर्बभन्दा बढी पटक हेरिएको छ।
ह्याकिङबाट शकिरा, सलिना गोमेज, ड्रेक तथा टेलर स्विफ्टसहित अन्य एक दर्जनभन्दा बढी कलाकारहरू प्रभावित भएका छन्।
म्युजिक भिडिओ होस्ट गर्ने भेभोले युट्युबमा उनीहरूका सामग्री पोस्ट गरेको थियो।
परिवर्तन
डेस्पासितोकोको कभर इमेज अर्थात् अगाडि प्रयोग गरिको तस्बिरको साटो मुखुन्डो लगाएका र बन्दुक ताकेका मानिसहरूको तस्बिर राखिएको थियो।
आफूलाई प्रोजक्स र कुरोइश भनेर चिनाउने ह्याकरहरूले ती भिडिओमुनि "फ्री प्यालेस्टाइन" अर्थात् "स्वतन्त्र प्यालेस्टाइन" लेखिदिएका थिए।
यो सामग्री तयार पार्दासम्म कतिपय भिडिओहरू युट्युबमा उपलब्ध छन्। तिनका मूल भिडिओमा भने परिवर्तन गरिएको छैन।

तस्बिर स्रोत, YouTube
तर कतिपय शीर्षकहरूमा ह्याकरहरूले आफ्नो नाम थपिदिएका छन्।
केही भिडिओमा मात्र कभर इमेज फेरिएको छ।
सम्भावना
यस विषयमा प्रतिक्रिया लिन युट्युब तथा भिडिओहरू राखेको भेभोसँग सम्पर्क गरिएको छ।
ह्याकरहरूमध्ये एकजनाको भएको भन्ठानिएको ट्विटरमा लेखिएको छ, "यो रमाइलोका लागि मात्र गरिएको हो। म खालि 'युट्युब-चेन्ज-टाइटल-भिडिओ' भन्ने स्क्रिप्ट प्रयोग गर्छु र 'ह्याक भएको' भनेर लेख्छु।"
"मेरा बारे टीकाटिप्पणी नगर्नुहोस्, म युट्युबलाई मन पराउँछु।"
साइबरसुरक्षा विज्ञ प्रा एलन ऊडवार्डका अनुसार ह्याकरले त्यति सजिलै त्यस्ता सामग्रीमा पहुँच पाउने सम्भावना हुँदैन।
"भिडिओ राख्न र कोडसहित सामग्रीमा परिवर्तन गर्न अथोराइजेशन टोकन (आधिकारिकता पुष्टि गर्ने सङ्केत) चाहिन्छ," उनले भने।
त्यसैले उनका अनुसार या त ह्याकरहरूले आधिकारिकता पुष्टि गर्ने कुनै उपाय भेटेको या सत्य कुरा नगरेको या अरू कुनै तरिकाले अनुमति पाएर त्यसो गर्न सकेको हुनुपर्छ।









