सन्तोष शाह: यूके मास्टरशेफ रिम्याच २०२१ मा कुन कुराले जित दिलायो

सन्तोष शाह

तस्बिर स्रोत, Santosh Shah/Instagram

नेपालका सन्तोष शाह बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता बनेका छन्।

प्रतिस्पर्धामा आफूले पस्केका तराई, हिमाल र पहाडका विविध नेपाली परिकारलाई निर्णायक मण्डलका सदस्यले निकै मन पराएको शाहले बताए।

"मलाई एकदमै गर्व महसुस भइरहेको छ, नेपाली खानालाई हेला गर्ने र आफैँमाथि विश्वास नहुनेहरूलाई एउटा ठूलो सन्देश दिन पाएकोमा मलाई एकदमै खुशी लागिरहेको छ," उनले बीबीसीसँग भने।

सामाजिक सञ्जालमा अहिले नेपालीदेखि विदेशीसम्मले उनलाई बधाई दिइरहेका छन्।

यसअघि यूके मास्टरशेफमा उपविजेता भएका शाह ठूलो अपेक्षाको भारी बोकेर रिम्याचमा गएको बताउँछन्।

"रिम्याचमा जाँदा नै धेरै ठूलो दबाव थियो। किनभने नेपाली दिदीबहिनी तथा दाजुभाइबाट एक प्रकारको नाम र ख्याति पहिल्यै प्राप्त भइसकेको थियो, अहिले म हारेको भए एकदमै नराम्रो लाग्थ्यो," उनले थपे।

यसपालि के गरे?

यूके मास्टरशेफमा उपविजेता भएको केही समयपछि नेपाल आएर शाहले थप नेपाली परिकारहरूबारे अध्ययन गरे अनि पकाउन पनि सिके।

"नेपालमा धेरै राम्राराम्रा परिकार छन्। तीमध्ये केहीलाई छनौट गरी तराईमा बनाइने अदौरी, तिलौरीदेखि राई-लिम्बु समुदायले कुखुराको पखेटा पोलेर बनाउने तीते लगायतका परिकार यसपालि मैले देखाएँ। यही चिजले मलाई जित दिलाएका छन्।"

प्रतिस्पर्धामा यसपालि आफूले पस्केका हरेक परिकारलाई निर्णायकहरूले निकै मन पराएको उनी बताउँछन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

"जजहरूले यो राम्रो भएन अथवा यो अझ राम्रो हुनसक्थ्यो भनेर कुनै टिप्पणी पनि गरेनन्," शाहले थपे।

यसपालि उनले म्यारिनेटेड चिकेन ब्रेस्ट, तामाको अचार, कुखुराको मासुको झोल, कोदोको पुलाव, मालपुवा र भुइँकटहरको राबडी लगायत परिकार बनाएर खुवाएका थिए।

त्यसैगरी सुपको आइसक्रीमका साथै तरुल, काउली, भन्टा, आलु लगायतका सात प्रकारका तरुवा बनाएर खुवाएको उनले बताए।

अघिल्लोभन्दा कसरी फरक?

अघिल्लो प्रतिस्पर्धाभन्दा रिम्याच झन् चुनौतीपूर्ण भएको शाह बताउँछन्।

"त्यसमा त एउटा राउन्डमा गरेको भुल सुधारेर अर्कोमा अझ राम्रो गर्न सकिन्छ। तर रिम्याचमा जे एक पटक गर्नुहुन्छ त्यो नै अन्तिम मौका हुन्छ," उनले भने।

अघिल्लो प्रतिस्पर्धामा सन्तोष शाहले बनाएको योमरी

तस्बिर स्रोत, Santosh Shah

तस्बिरको क्याप्शन, अघिल्लो प्रतिस्पर्धामा सन्तोष शाहले बनाएको योमरी

अझ रिम्याचमा पहिलाका उपविजेताहरू पनि खारिएर आउनले भएकोले चुनौती थपिएको उनको बुझाइ छ।

"पहिल्यै एउटा उचाइमा पुगिसकेका प्रतिस्पर्धी हुन्छन्। तपाईँमाथि राम्रो गर्नका लागि उच्च दबाव हुन्छ।"

निर्णायकको प्रतिक्रियाबाट उत्साहित

प्रतिस्पर्धामा निर्णायकहरूको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको उनले बीबीसीसँग बताए।

निर्णायकमध्ये एक मोनिका गालेटीले सन्तोष शाहले पाएका हरेक परिकार खाँदा उनीसँगै आफूले नेपालको यात्रा गरिरहेको जस्तो महसुस गरेको बताइन।

शाह नेपाल जाने बेला आफू पनि सँगै जाने इच्छा पनि उनले जाहेर गरेकी थिइन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

"त्यो प्रतिक्रिया सुनेर मेरो जीउभरि नै काँडा उम्रिए जस्तो भयो। उहाँ धेरै ठूलो र सम्मानित शेफ हो," उनले भने।

नेपाल आउन इच्छुक शेफ मोनिकालाई सरकारी अधिकारीहरूले निम्त्याएर नेपाली खानेकुरा तथा पर्यटन प्रवर्द्धनमा फाइदा लिनसक्ने उनी बताउँछन्।

पाककलाका विद्यार्थीका लागि सन्देश

पाककलाका विद्यार्थीहरूलाई सिक्न नछोड्न उनको आग्रह छ।

"हरेक समय तपाईँहरू सिक्ने कोशिश गर्नूस्। राम्रो गर्ने प्रयास गर्नूस्। ढिलो वा चाँडो तपाईँले अवश्य सफलता पाउनुहुनेछ, हार मान्नु हुँदैन," उनको सुझाव छ।

यसअघि प्रतिस्पर्धामा उपविजेता बनेका शाहले आफू निराश नभएको बताएका थिए।

उपाधि नजिते पनि थुप्रै मानिसको मन जित्न सफल भएको उनले त्यति बेला प्रतिक्रिया दिएका थिए।

अब बिहे गर्छन्?

सन्तोष शाहकी आमाले आफ्नो छोराको बिहे हेर्न चाहेको बताउँदै आएकी छन्।

यो वर्ष तपाईँको किताब पनि आयो, रिम्याचमा पनि जित्नुभयो। अब त बिहे गर्ने होला नि भन्ने प्रश्नमा उनले भनेः "आमाको माया भनेको यस्तै हो। आमालाई खुशी पार्नैछ।"

भनेपछि अब बिहे गर्नुहुन्छ भन्ने अर्को प्रश्नमा उनको जबाफ थियोः "अब सोच्नुपर्छ, त्यसबारे विचार गर्नुपर्छ।"

यद्यपि अहिलेसम्म केटी हेरिनसकेको उनले बताए। "तर कुरा मिल्यो भने बिहा गरिन्छ होला।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, सन्तोष शाहकी वृद्ध आमा भन्छिन्, 'छोरोको बिहे हेर्ने रहर छ'