तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गाजामा सहायता बढाउने प्रस्ताव पारित, युद्धविरामको आह्वान भने गरिएन
राष्ट्रसङ्घीय सुरक्षा परिषदले गाजामा थप मानवीय सहायता पुर्याउने सम्बन्धी एक प्रस्ताव पारित गरेको छ तर त्यसमा इजरेल र हमासबीच तत्काल युद्धविरामको आह्वान गरिएको छैन।
उक्त मस्यौदाको सुरुवाती संस्करणमा शत्रुताको दिगो अन्त्यको लागि आह्वान गरिएको थियो।
इजरेलको एक मुख्य साझेदार र सुरक्षा परिषद्को एक स्थायी सदस्य अमेरिकाको भीटो अर्थात् विशेषाधिकार छल्नका कैयौँ दिनको वार्तापछि शुक्रवार उक्त मतदान गरिएको हो।
उक्त प्रस्ताव यूएईले अघि सारेको थियो।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सहायता आपुर्तिको लागि "खास समस्या" इजरेलको जारी हमला भएको बताएका छन्।
विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले गाजामा द्वन्द्व अन्त्य नभए त्यहाँ छ महिनामा अनिकाल देखा पर्ने भनिरहँदा पछिल्लो घटनाक्रम देखा परेको हो।
शुक्रवार के भयो?
मतदानअघि परिषद्को अर्को स्थायी सदस्य रुसले तत्काल युद्ध विरामको आह्वान गरिएको सुरुवाती मस्यौदा बिउँताउने गरी एक संशोधन पेस गरेको थियो।
उसले पछिल्लो मस्यौदाका शब्दावलीले गाजा स्ट्रिपलाई थप खाली गर्नका लागि इजरेललाई आउजाउको स्वतन्त्रता प्रदान गरेको जनाएको थियो।
सो प्रस्ताव असफल भयो र अमेरिका र रुस दुवै मतदान प्रक्रियामा सहभागी भएनन्।
र परिषद्का अन्य १३ सदस्यहरूले उक्त मस्यौदालाई साथ दिए जसमा "शत्रुताको दिगो अन्त्यका लागि" सर्तहरू तय गर्ने सम्बन्धी आह्वानहरू गरेको छ।
उक्त प्रस्तावले "गाजास्ट्रिभर विस्तारित मानवीय सङ्घर्षविराम र मार्गहरू"को लक्ष्य राखेको जनाएको छ।
त्यसमा पक्षधरहरूलाई "गाजास्ट्रिपभर रहेका प्यालेस्टिनी नागरिकहरूलाई आवश्यक मात्रामा अवरोधरहित ढङ्गले मानवीय सहायता पुर्याउन दिन, सहजीकरण गर्न र सक्षम बनाउन" माग गरिएको छ।
मतदानको अर्थ
वासिङ्टनले सुरुमा यस प्रस्तावले इजरेलको कारबाही प्रक्रियामा नियन्त्रण कमजोर बनाउने चिन्ता व्यक्त गरेको थियो। तर यस प्रस्तावले त्यस काम सम्बद्ध सबै पक्षको परामर्शमा हुने स्पष्ट पारेको छ।
अमेरिकी भिटो छल्नका लागि यस राष्ट्रसङ्घीय प्रस्तावमा भाषा नरम पारिएको थियो।
सुरक्षा परिषद्को प्रस्तावमा भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्न सक्ने पाँच स्थायी सदस्यसहित कुल १५ सदस्य राष्ट्रहरूले मतदान गर्ने व्यवस्था छ।
सुरक्षा परिषद्को निर्णय कानुनी रूपमा बाध्यकारी मानिन्छ।
तर हमास गैरराज्यपक्ष भएकाले र ऊ राष्ट्रसङ्घको सदस्य नभएकाले परिषद्ले निर्णय गर्दैमा युद्धविराम भइहाल्छ भन्ने हुँदैन।
यसअघि बुधवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले हमासलाई ध्वस्त नपारेसम्म लडाइँ नरोक्ने आफ्नो उद्देश्यलाई पुनः दोहोर्याएका थिए।
प्यालेस्टिनी समूहहरूले थप बन्धक मुक्त हुने सम्भावनालाई इजरेलले गाजामा युद्ध अन्त्य नगर्दासम्मका लागि अस्वीकार गरेको हमासले जनाएको छ।
अक्टोबर ७ मा हमासले कडा इजरेली अवरोध तोडेर गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो जसमध्ये १०० जनाभन्दा धेरै गत महिनाको अस्थायी युद्धविरामका क्रममा छाडिएका थिए।
त्यसयता इजरेलले गरेको हमलामा बुधवारसम्ममा २०,००० जना मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
के गाजामा परिस्थिति सहज होला?
जेरुसेलममा रहेकी बीबीसी संवाददाता लुसी विलियमसनले मतदान हुनुअघि राष्ट्रसङ्घीय प्रस्तावले गाजामा रहेका मानिसहरूको स्थिति सहज बनाउला भन्ने आशा द्रुत गतिमा हराइरहेको बताउँछिन्।
"दुवै पक्षका लागि शत्रुता अन्त्य गर्न र सहायताको आपूर्ति गर्न अमेरिकीहरूले सहमति जनाएको भाषा अमूर्त छ," उनी भन्छिन्।
इजरेल र हमासबीच नयाँ सङ्घर्ष विराम सुनिश्चित गर्नका लागि इजिप्टमा भइरहेका वार्ताले समेत अहिलेसम्म नतिजा दिन सकिरहेका छैनन्।
इजरेलले थप बन्धकहरू मुक्त गर्नका अस्थायी युद् विराम आफू खुला रहेको जनाएको छ।
तर हमास सखाप नहुँदासम्म युद्ध जारी रहने उसले जनाएको छ।
बिहीवार हमासले पूर्ण र स्थायी रूपमा युद्ध अन्त्य नहुँदासम्म कुनै पनि बन्धकहरू मुक्त नगरिने कुरा दोहोर्याएको थियो।
भोकमरीको चेतावनी
राष्ट्रसङ्घीय खाद्य सुरक्षासम्बन्धी निकायका अनुसार प्यालेस्टिनीहरूको एक चौथाइ परिवार अर्थात् झण्डै पाँच लाख मानिसहरू त्यहाँ "भयावह अवस्थामा" छन्।
डब्ल्यूएफपीले युद्ध जारी रहेमा त्यहाँ भोकमरीको अवस्था देखिने भन्दै चेतावनी दिएको छ।
उक्त निकायले उक्त भूभागमा बस्ने पूरै अर्थात् झण्डै २२ लाख मानिसहरूले खाद्यान्नको विकराल सङ्कट सामना गरिरहेको जनाएको छ।
"गाजामा भोकमरीआाट कोही पनि सुरक्षित छैनन्," डब्ल्युएफपीकी सिन्डी म्याककेइनले भनिन्।
"अहिले गाजाभरि आपूर्ति सञ्चालन हुनका लागि र नागरिकहरूले जीवनदायी सहायता सुरक्षित रूपले पाउन मानवीय पहुँच आवश्यक छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।