आईपीएलमा मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई दर्शकहरूले किन गिज्याइरहेका छन्

तस्बिर स्रोत, AFP
- Author, सौरभ सोमानी
- Role, खेलकुद लेखक
विगत दुई सातादेखि एक भारतीय क्रिकेट स्टारलाई क्रिकेट हेर्न आएका हजारौँ दर्शकले रङ्गशालामा गिज्याइरहेका छन्।
हार्दिक पान्ड्या इन्डियन प्रिमिअर लीग (आईपीएल)मा मुम्बई इन्डियन्स टोलीका कप्तान हुन्।
विश्वको सर्वाधिक धनी उक्त क्रिकेट प्रतियोगिता फेरि यो वर्ष आरम्भ भएपछि उनले अहमदाबाद, हैदराबाद र घरेलु मैदान मुम्बईमा पनि 'छिःछिः र दुरदुर' खेप्नुपरेको छ।
गुजरात टाइटन्सबाट सन् २०२४ का लागि मुम्बई इन्डियन्स भित्रिँदा उनले भारतका क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई विस्थापित गरेका थिए।
यो वर्ष आईपीएएल मार्च २३ बाट सुरु भएको हो।
किन यस्तो व्यवहार
तीस वर्षीय पान्ड्या तीव्र गतिमा बलिङ गर्छन् र अलराउन्डर पनि हुन्। उनी विगतमा चार पटक शर्माको नेतृत्वमा मुम्बई इन्डियन्सबाट उपाधि जित्ने टोलीका सदस्य थिए। उनले सन् २०२१ सम्म खेलेका आफ्ना सात सीजन मुम्बई इन्डियन्समा बिताएका थिए।
मुम्बईको कदमले धेरै जनालाई आश्चर्यमा पारेको छ। उक्त टोलीले पहिला विश्वविख्यात कप्तानहरू राखेको थियो। सचिन तेन्दुलकर, रिकी पोन्टिङ र रोहित शर्माजस्ता कप्तानको उत्तराधिकारी बन्दै टोलीको नेतृत्व गर्ने जिम्मा पाएका पान्ड्या सन् २००८ यता मुम्बईको पाँचौँ कप्तान हुन्।
तर मुम्बईका समर्थकहरूले त्यसलाई सहज रूपमा लिएका छैनन्। शर्मा र महेन्द्र सिंह धोनी आईपीएलका सर्वाधिक सफल कप्तान हुन्। तर उनका समर्थकहरू शर्माले आफैँ कप्तानी नछाडेको र उनलाई हटाइएको ठानेका छन्। उनीहरू आफूलाई लागेको कुरा खुलेरै भनिरहेका छन्।
मुम्बईका कप्तान पान्ड्याले गत साता अहमदाबादमा आफ्नो पुराना टोली गुजरात टाइटन्ससँगको खेलमा निक्कै नराम्रो गिज्याइ खेप्नुपर्यो।
उनले गुजरात टाइटन्सलाई लगातार दुई पटक आईपीएलको फाइनलमा पुर्याएका थिए भने सन् २०२२ मा विजेता बनाएका थिए। हैदराबाद सहरमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच खेल हुँदा पनि उनीविरुद्ध असन्तुष्टि व्यक्त भएको देखियो।

तस्बिर स्रोत, AFP
मुम्बईले राजस्थान रोयल्ससँग वाङ्खडे रङ्गशालामा सोमवार राति खेल्दा पनि टसका क्रममा समर्थकहरूले पान्ड्यालाई गिज्याएका थिए। त्यस बेला उद्घोषक सञ्जय मन्जरेकरले दर्शकहरूलाई "राम्रो व्यवहार गर्न" आग्रह गरेका थिए।
तर भिड शान्त भएन। पान्ड्याले एउटा अप्ठ्यारो क्याच गर्न नसकेपछि उनीसँग फेरि त्यस्तै व्यवहार भयो। यद्यपि उनले केही चौका र छक्का गरेपछि भने दर्शकहरूले ताली बजाएका थिए। तर पान्ड्याको उक्त योगदानले टोलीलाई जिताउन सकेन र उनको टोली लगातार तेस्रो खेलमा पराजित हुन पुग्यो।
राजस्थान रोयल्सबाट खेल्ने चर्चित स्पिनर रविचन्द्र आश्विनले समर्थकहरूको व्यवहारको आलोचना गरेका छन्। ‘फ्यानयुद्ध’ का कारण पान्ड्या त्यस्तो व्यवहारको सिकार हुनुपरेको उनको ठम्याइ छ।
“मानिसहरूले यी खेलाडीले कुन देशलाई प्रतिनिधित्व गर्छन् त्यो सम्झनुपर्छ। यो हाम्रो देश हो। समर्थकहरूले कहिल्यै पनि यस्तो कुरूप बाटो अँगाल्नुहुँदैन,” आफ्नो यूट्यूब च्यानलमा उनले भनेका छन्।
हार्दिक पान्ड्याको समर्थनमा कसले के भने?
आश्विनले सचिन तेन्दुलकर, सौरभ गाङ्गुली र राहुल द्रविडजस्ता भारतीय क्रिकेटका हस्तीहरूले एकअर्काको कप्तानीमा खेलेको र त्यस बेला विरोध नभएको टिप्पणी गरे।
“सौरभ गाङ्गुली र सचिन तेन्दुलकरले एकअर्काको कप्तानीमा खेले। उनीहरू दुवैले राहुल द्रविडको मातहतमा पनि खेले। उनीहरू तीनै जनाले अनिल कुम्बलेको नेतृत्वमा पनि खेले र यी सबैले एमएस धोनीको मुनि पनि खेले। धोनीको कप्तानीमा खेल्दा उनीहरू क्रिकेटका महारथी थिए। धोनी स्वयंले विराट कोहलीको कप्तानीमा खेलेका छन्।”

तस्बिर स्रोत, AFP
आश्विनले समर्थकहरूबीचको यस्तो भिडन्त अन्य कुनै क्रिकेट खेल्ने देशमा देख्नुभएको छ भनेर पनि प्रश्न गरेका छन्।
“उदाहरणका लागि, तपाईँहरूले जो रुट र ज्याक क्रलीका समर्थकहरूको लडाइँ देख्नुभएको छ? वा जो रुट र जस बटलरका समर्थकबीचको भिडन्त हेर्नुभएको छ? यो पागलपन हो। के तपाईँले अस्ट्रेलियामा स्टीभन स्मिथका समर्थक र प्याट कमिङ्सका समर्थकहरू भिडिरहेको देख्नुभएको छ?”
राजस्थान रोयल्सका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले पनि पान्ड्याप्रति समर्थन व्यक्त गरेका छन् र उनलाई "निरर्थक आवाजलाई बेवास्ता" गर्न सुझाव दिएका छन्।
“यो त्यस्तो कुरा हो जुन तपाईँको नियन्त्रणमा छैन। व्यावसायिक खेलाडीको रूपमा तपाईँले कुनै तरिकाले यो खेप्नैपर्छ। बिथोल्ने खालका आवाजहरूलाई तपाईँले बेवास्ता गर्नुपर्छ र हाम्रो काममा केन्द्रित हुनुपर्छ। यो भन्न सजिलो छ तर गर्न गाह्रो,” उनले भने।
रेडिट र एक्सजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा समर्थकहरूले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको कुरा गरिरहेका छन् र खेलाडीहरू चाहिनेभन्दा बढी संवेदनशील भएका टिप्पणी गरेका छन्। उनीहरूले यदि खेलाडीहरूले प्रंशसालाई स्वीकार गर्छन् भने उनीहरूले आलोचना पनि सहनुपर्ने जनाएका छन्।
अब के हुन सक्छ?
खेलसम्बन्धी लेखिका शारदा उग्रा पान्ड्याको यस किसिमको आलोचनालाई अभूतपूर्व ठान्छिन्।
सन् १९८९ यता निरन्तर क्रिकेटबारे लेखिरहेकी उनी भन्छिन्, “कैयौँ मैदानहरूमा भिडले खेलाडीहरूलाई गिज्याउँछन्। तर यस्तो तरिकाले.... एउटा मैदानबाट अर्को मैदानसम्म र त्यसपछि तेस्रो घरेलु मैदानमा… यो अस्वाभाविक हो।”
“मलाई धेरै कुरा सामाजिक सञ्जालबाट सिर्जना हुन्छ भन्ने लाग्छ। यो प्रत्येक मुम्बई इन्डियन्सको खेलमा देखा परेको प्रवृत्तिजस्तो बनेको छ।”

तस्बिर स्रोत, AFP
मुम्बई र पान्ड्या दुवैले कप्तान परिवर्तन गर्नुको कारण नखुलाएर परिस्थितिलाई अझ बिगारेको देखिन्छ।
यो वर्षको आईपीएल सीजन सुरु हुनुअगाडिको पत्रकार सम्मेलनमा पान्ड्यालाई गुजरातबाट मुम्बई आएर ‘कप्तान’ बन्दाका सर्तबारे सोधिएको थियो। उनी त्यसबारे मौन बस्दा उक्त सम्मेलनका मोडरेटरले अर्को प्रश्न सोध्नुपर्ने अवस्था उत्पन्न भएको थियो।
प्रमुख प्रशिक्षक मार्क बाउचरलाई पनि शर्माको सट्टा पान्ड्यालाई कप्तान बनाउने निर्णयबारे प्रश्न सोधिएको थियो। तर उनले पनि कुनै उत्तर दिएनन्।
पान्ड्यालाई समर्थकहरूले पूर्ण रूपमा स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा समयले देखाउला। तर यदि उनले राम्रो प्रदर्शन गर्न थाले र टोलीलाई जिताए भने अहिले भइरहेको खिसीटिउरी प्रशंसामा बदलिने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








