चीनको संयम भङ्ग गरेका ७८ वर्षे अर्बपति जसले हङ्‌कङमा २० वर्षको जेल सजाय पाए

जिमी लाई र हङ्‌कङमा सन् २०१९ मा भएको लोकतन्त्र पक्षधर प्रदर्शनको कम्पोजिट तस्बिर, जसमा चिनियाँ झण्डाको पृष्ठभूमि छ
    • Author, ग्रेस सोई
    • Role, बीबीसी वर्ल्ड सर्भिस
    • Author, बीबीसी न्यूज चाइनिज
    • Reporting from, हङ्कङ
  • पढ्ने समय: ११ मिनेट

सन् २०२२ को जाडो महिनाको एक बिहान राफेल वोङ र फिगो चान हङ्‌कङको स्ट्यान्जी कारागारमा मिडिया क्षेत्रका अर्बपति जिमी लाईसँग भेट्न गए। दुई वर्षअघि पक्राउ परेका लाई राष्ट्रिय सुरक्षासम्बन्धी मामिलाको अभियोगमा सुनुवाइको प्रतीक्षा गरिरहेका थिए।

उनीहरू सबै सन् २०१९ मा हङ्‌कङमा भएको विरोध प्रदर्शनको हिस्सा थिए जतिबेला सयौँ हजार मानिसहरूले सडकमा निस्केर लोकतन्त्र र उक्त चिनियाँ क्षेत्रमा थप स्वतन्त्रताको माग गरेका थिए।

उनीहरू प्राय: रात्रीभोजका निम्ति भेट्थे। कहिलेकाँही विलासी भोजनसँगै डिमसम, पिज्जा या क्लेपट राइस खाँदै गफगाफ र ख्यालठट्टा पनि गर्थे।

चानका अनुसार लाई कारागारमा भने "अदुवाको अचारसँग भात खान रुचाउँथे।"

"जिमीले त्यस्तो खालान् भनेर कसैले सोचेको पनि थिएन।"

न त उनीहरूले चर्को सुरक्षासहितको जेलमा आफूहरूको भेट होला, प्रदर्शन दबाइएला, साथीभाइ र सँगैका अभियानकर्मीहरू जेल जानुपर्ला र हङ्‌कङ बदलिएको तर उस्तै कोलाहलपूर्ण होला भन्ने नै कल्पना गरेका थिए। सँगसँगै ठट्टामा "फ्याट्टी लाई" भनिने व्यक्ति काफी दुब्लाइसकेका थिए।

लाई ७० को दशकको उमेरमा चल्दैछन् भने वोङ र चेन उनीभन्दा लगभग ४० वर्षले कान्छा छन्। उमेरमा दशकौँको अन्तरका बावजुद उनीहरूले भिन्न हङ्‌कङको सपना देखे। विरोध प्रदर्शनको प्रमुख व्यक्तित्व रहेका लाईले सहरलाई उदार लोकतन्त्रतर्फ अग्रसर गराउन आफ्नो सबैभन्दा प्रभावशाली सम्पत्तिका रूपमा रहेको अत्यन्त लोकप्रिय अखबार 'एपल डेली'को उपयोग गरे।

उक्त कदम सन् २०२० मा बेइजिङका चिनियाँ कम्युनिष्ट पार्टीका शासकहरूद्वारा लागु गरिएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अनुसार जोखिमयुक्त ठहरियो।

लाई आफू सदैव हङ्‌कङको ऋणी रहेको बताउँथे। यद्यपि उनी यूकेको नागरिक हुन् तर उनले हङ्‌कङछाड्न मानेनन्।

"मैले जे पनि प्राप्त गरेको छु, सबथोक यो ठाउँले गर्दा पाएँको हुँ," गिरफ्तार हुनुअघि सन् २०२० मा उनले बीबीसी आवर्ससँग भनेका थिए।

"यही नै मेरो मुक्ति हो," भावुक हुँदै उनले भनेका थिए।

उनी उक्त सहरले आफूलाई दिएको जस्तो स्वतन्त्रता कायम रहोस् भन्ने चाहन्थे। यसैले नै उनको राजनीतिलाई प्रेरित गर्दथ्यो– कम्युनिस्ट पार्टीको कडा आलोचना गर्नु र हङ्‌कङको लोकतन्त्र पक्षधर आन्दोलनको स्पष्ट समर्थन गर्नु।

तर यसले गर्दा उनले आफ्नै स्वतन्त्रताको मूल्य चुकाउनु पर्‍यो।

उच्च अदालतले गत डिसेम्बर महिनामा आफ्नो निर्णयमा लाईले चिनियाँ कम्युनिस्ट पार्टीप्रति "उग्र घृणा" राखेको र "पार्टीको मूल्यलाई पश्चिमी विश्वका मूल्यमा परिवर्तन गर्ने अभिप्राय" राखेको भनेको छ। साथसाथै उक्त फैसलामा 'लाईले पार्टीलाई नै हटाउन चाहेको वा कम्तीमा पार्टीका नेता सी जिनपिङ हट्ने अपेक्षा गरेको' भनिएको छ।

उनलाई उनले सधैँ अस्वीकार गर्दै आएका सबै आरोपमा दोषी ठहर्‍याइएको छ। विदेशी शक्तिसँग मिलेर गतिविधि गरेको आरोप सबैभन्दा गम्भीर हो जसको अधिकतम सजाय आजीवन कारावास हो।

सोमवार फेब्रुअरी ९ मा अदालतले उनलाई २० वर्षको जेल सजाय हुने फैसला सुनायो। फैसला सुनाउने इजलास ३० मिनेटमै सकिएको थियो। अहिलेसम्म हङ्‍कङमा राष्ट्रिय कानुनको कानुनअन्तर्गत सुनाइएको यो नै सबैभन्दा कठोर सजाय हो। उनको उमेर विचार गर्दा यो सजायलाई "मृत्यदण्डसरह" मानिएको मानवाधिकारवादी समूहरूले बताएका छन्।

"कहिल्यै होइन," मिलेमतोको अभियोगबारे सफाइ दिने क्रममा उनले केवल आफूले विश्वास गरेका हङ्‌कङका मूल्यहरूको पैरवी गरेको बताए : "विधिको शासन, स्वतन्त्रता, लोकतन्त्रको खोज, अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, भेला हुन पाउने स्वतन्त्रता।"

गत वर्षको फैसलालाई हङ्‌कङका मुख्य कार्यकारी जोन लीले स्वागत गरेका थिए। उनले लाईले आफ्नो समाचारपत्र प्रयोग गरेर "जानाजान सामाजिक द्वन्द्व सिर्जना गरेका" र "हिंसालाई बढाइचढाइ गरेका" बताए। कानूनले कहिल्यै कसैलाई "मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको नाममा" देशलाई हानि पुर्‍याउन अनुमति नदिने उनले बताए।

लाईकी पत्नी टेरेसा, छोरा शन-यान र हङ्‌कङका पूर्वविशप कार्डनल जोशेफ जेन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लाईविरुद्को मुद्दाको फैसला आउँदै गर्दा अदालत पुगेका उनकी पत्नी टेरेसा, छोरा शन-यान र हङ्‌कङका पूर्वविशप कार्डनल जोशेफ जेन जसले सन् १९९७ मा लाईलाई बपतिस्मा गरेका थिए

सन् २०२२ मा वोङ र चान जेलबाट निस्किनुअघि लाईले उनीहरूलाई सँगै प्रार्थना गर्न भने। त्यो वोङका निम्ति अचम्मको कुरा थियो।

एकान्त कारावासमा लाईको क्याथोलिक इशाई आस्था अझ गहिरो भएको थियो। अधिकारीहरूका अनुसार उनी स्वयंले त्यस्तो व्यवस्थाका निम्ति अनुरोध गरेका थिए। उनी दिनहुँ ६ घण्टा प्रार्थना गर्थे र क्राइष्टका चित्रहरू कोर्थे र पत्रमार्फत् आफ्ना साथीहरूलाई पठाउँथे। "भलै उनी पीडामा थिए," वोङले भने, "तर उनले कहिल्यै गुनासो गरेनन्, न त डराएका थिए। उनी शान्त थिए।"

लाई जीवनको अधिकांश समय शान्ति खोज्दै हिँडेनन्। चाहे त्यो उनी १२ वर्षको उमेरमा चीनबाट भाग्दा होस्, न कठोर कारखाना श्रमिकको जीवनबाट माथि उठ्दै गर्दा वा हङ्‌कङको प्रसिद्ध उद्योगपति बनिरहँदा होस्। उनको मिडिया साम्राज्यले बेइजिङलाई चुनौती दिन थाल्दा त झनै थिएन।

लाईका निम्ति चिन नभइ हङ्‌कङ सबथोक थियो– गहिरो पूँजीवादी, अवसर र असीमित सम्पत्तिको भूमि र स्वतन्त्र। सन् १९५९ मा उनी हङ्‌कङपुग्दा ब्रिटिश उपनिवेश कायमै थियो। त्यहाँ उनले सफलतासँगै आवाजको निम्ति मञ्च पनि पाए।

सन् १९९५ मा सुरु भएको एपल डेली छिट्टै सबैभन्दा बढी बिक्री हुने पत्रिकामध्येको बन्यो। 'यूएसए टुडे'को ढाँचाको त्यसले अखबारको रुपरङ्ग र लेआउटमा मात्रै क्रान्ति ल्याएन, कडा मूल्य प्रतिस्पर्धा पनि सुरु गर्‍यो।

'एडल्ट सेक्शन' मा यौनकर्मी भाडामा लिने तरिकादेखि लिएर अन्वेषणात्मक रिपोर्ट, अर्थशास्त्री र उपन्यासकारका स्तम्भहरूले गर्दा उक्त पत्रिका सबै किसिमका पाठकका निम्ति 'बुफे' जस्तो बन्न पुगेको चाइनिज युनिभर्सिटी अफ हङ्‌कङका पत्रकारिता विषयका प्राध्यापक फ्रान्सिस ली बताउँछन्।

त्यसका पूर्वसम्पादक र कर्मचारीहरू लाईको हौसला प्रदान गर्ने स्वभावबारे भन्छन्, "तपाईँले केही गर्ने साहस देखाउनुभयो भने उनी तपाईँलाई त्यसो गर्न दिने हिम्मत राख्थे।" उनको स्वभावको चर्चा गर्ने क्रममा एकजनाले उनले प्राय: गाली गर्ने गरेको बताए।

उनीहरूले लाईलाई गैरपरम्परागत र प्रयोगहरू गर्न नडराउने दूरदर्शी व्यक्तिका रूपमा चित्रित गरे। "आईफोन आउनुअगावै उनी मोबाइल फोन नै भविष्य हुने बताइरहन्थे," पत्रिकाका एकजना सम्पादकले स्मरण गरे। उनका अनुसार लाईसँग टन्नै 'आइडिया'हरू थिए। "यस्तो लाग्थ्यो उनी हरेक दिन हामीलाई नयाँ वेबसाइट बनाउन भनिरहेका छन्।"

'क्लोदिङ' ब्र्यान्डको मालिक छँदा पनि लाई यस्तै थिए। "उनी उद्योगलाई बदल्न डराउँदैनथे। शत्रु बनाउने कुराले पनि उनलाई तर्साउँदैनथ्यो," एक प्रतिद्वन्द्वी ब्रान्डका पूर्वमार्केटिङ निर्देशक हर्बर्ट चाउले भने।

त्यो नै उनको सफलता बन्यो र उनको पतन पनि, चाउले भने: "अन्यथा एपल डेली हुने थिएन। पक्कै पनि उनी यो अवस्थामा पुग्ने पनि थिएनन्।"

एपल डेलीको प्रारम्भिक टेलिभिजन विज्ञापनमा त्यतिबेला ४८ वर्षका रहेका लाईलाई पश्चिमा मिथकहरूमा प्रतिबन्धित फल भनिने स्याउँ खाँदै गरेको देखाइएको थियो जसमा दर्जनौँ तीरहरूले उनलाई लक्षित गरिरहेका थिए।

त्यो एक भविष्यवाणी जस्तो हुन पुग्यो।

एपल डेलीको विज्ञापनमा जिमी लाई

तस्बिर स्रोत, Jimmylai.substack.com

तस्बिरको क्याप्शन, सन् १९९५ मा सुरु भएको एपल डेलीको विज्ञापनमा लाई

चीनबाट पलायन

सानो छँदा चकलेटको पहिलो स्वादले उनलाई हङ्‌कङतर्फ तान्यो। चीनको एउटा रेल्वे स्टेशनमा एक यात्रुको सामान बोक्दा उनलाई 'टिप'बापत चकलेटको एउटा टुक्रा दिइयो। उनले त्यो खाए।

"मैले उनलाई तपाईं कहाँबाट आउनुभएको भनेर सोधेँ। उनले हङ्‌कङबाट भने। अनि मैले भनेँ, हङ्‌कङ भनेको स्वर्ग हुनुपर्छ किनकि मैले त्यस्तो स्वाद कहिल्यै चाखेकै थिइनँ," लाईले सन् २००७ मा बनाइएको डक्युमन्ट्री 'द कल अफ द आन्टरप्रन्योर'मा उक्त घटनाबारे चर्चा गर्दै भनेका छन्।

कडा दमनकारी अभियानहरूका कारण माओ जेदोङको चीनमा जीवन धेरै कठिन थियो। सरकार पुँजीवादी "वर्गसत्रु"हरूलाई नास्न चीनलाई रातारात औद्योगिकीकरण गर्न चाहन्थ्यो। त्यस क्रममा कुनैबेला व्यापारमा संलग्न लाईको परिवार कालोसूचीमा पर्‍यो। उनका बुबा उनीहरूलाई छाडेर हङ्‌कङ पलायन भए। लाईकी आमालाई श्रमशिविर पठाइयो।

त्यसको केही दशकपछि लाईले त्यसबारे लेखेका छन् जसमा आफू र बहिनीहरूलाई घरबाट निकालेर आमालाई घुँडा टेकाउँदै अपमान गरिएका दृश्य आफूहरूलाई कसरी हेर्न लगाइन्थ्यो र त्यो सार्वजनिक अपमान कसरी चाँडै सामान्य बन्न पुग्यो भन्ने वर्णन गरिएको छ। पहिलेपटक उनले लेखे, त्यो भयावह थियो: "आँसुले मेरो सर्ट भिज्यो। मैले केही गर्ने हिम्मत जुटाउन सकिनँ। मेरो शरीर अपमानले जलिरहेको थियो।"

तर उनकी हजुरआमा निडर भएर एउटै सन्देशसहित हरेक कथाको अन्त्य गर्ने गर्थिन् : "तिमी व्यापारी बन्नु पर्छ, चाहे तिमीलाई केवल मसालेदार बदाम नै बेच्न किन नपरोस्!"

त्यसपछि उनी १२ वर्षको उमेरमा त्यसरी नै हङ्‌कङतर्फ लागे जसरी अन्य लाखौँ मानिसहरू मुख्य भूमिबाट पलायन हुने गर्थे।

'शी सिकनेश' भएका अन्य झन्डै ८० यात्रुसहित माछा मार्ने डुङ्गाको तल्तिर बसेर हङ्‌कङ पुगेकै दिन उनलाई एउटा पञ्जा बुन्ने कारखानाले काममा लियो। लामो अवधिसम्म काम गर्नु पर्ने उक्त जागिरलाई उनले "अति खुशीको समय र आफूले आफ्नो भविष्य देखेको समय"का रूपमा वर्णन गरेका छन्। त्यहीँ एकजना सहकर्मीले उनलाई अङ्ग्रेजी सिक्न मद्दत गरे। त्यसको वर्षौँपछि, उनी अन्तर्वार्ता दिन र अदालतमा पनि अङ्ग्रेजीमै धाराप्रवाह बयान दिन सक्ने भए।

२० वर्षको सुरुवाततिर उनी एउटा कपडा कारखाना व्यवस्थापन गर्दै थिए। शेयर बजारबाट पैसा कमाएपछि उनले आफ्नै कम्पनी 'कमिटेक्स निटर्स' सुरु गरे। त्यतिखेर उनी २७ वर्षको थिए।

जिमी लाई

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९३ मा आफ्नै घरमा जिमी लाई

व्यवसायले प्रायः उनलाई न्यूयोर्क डोर्‍याइरहन्थ्यो। तिनैमध्ये एउटा यात्रामा उनले नोबेल पुरस्कार विजेता अर्थशास्त्री फ्रेडरिक हाएकको पुस्तक 'द रोड टू सर्फडम' पढे। खुलाबजारमा आधारित पूँजीवादको समर्थन गर्ने लेखकको पुस्तकबाट उनी प्रभावित भए।। "मानिसहरूको स्वस्फुर्त प्रतिक्रिया" र "सूचनाको आदानप्रदान"ले नै संसारमा उत्कृष्टता सिर्जना गरेको उनले महसुस गरे। उनलाई लाग्यो, यही नै हङ्‌कङको शक्ति हो।

उक्त पुस्तकले उनलाई अत्यधिक पढ्ने बानी लगाइदिएको लाईले बताएका छन्। उनी एउटै पुस्तक धेरैपटक पढ्थे र आफूले मन पराएका लेखकका सबै पुस्तक पढ्थे। "म लेखकका विचारलाई मेरो बगैँचामा रूपान्तर गर्न चाहन्छु। म फूल टिप्न होइन, बगैँचा नै खरिद गर्न चाहन्छु," उनले सन् २००९ को एउटा अन्तर्वार्तामा भनेका छन्।

निर्माण व्यवसायमा एक दशक बिताएपछि उनलाई त्यसमा पट्यार लाग्यो। त्यसपछि सन् १९८१ मा उनले कपडाको चेन 'जदानो' सुरु गरे जुन चाँडै लोकप्रिय बन्यो।

त्यसपछि लाईले चीनमा पनि स्टोरहरू खोले। माओको मृत्युपछि त्यहाँ त्यस्तो क्रम सुरु भएको थियो। उनी "उत्साहित" थिए। उनले सन् २००७ को एउटा डक्युमन्ट्रीमा चीन "पश्चिमी देशजस्तो बदलिन लागेको" बताएका थिए।

सन् १९८९ मा बेइजिङले तियानआन्मेन स्क्वायरमा लोकतान्त्रिक प्रदर्शनहरूमाथि दमन गर्‍यो: जुन लाई र हङ्‌कङका निम्ति कठोर झट्का थियो किनकि चीन र यूकेको पछिल्लो सम्झौताअनुसार सन् १९९७ मा हङ्‌कङचीनको शासनमा फर्कँदै थियो।

'जदानो' ले तियानआन्मेन घटनाका नेताहरूका फोटो र बेडजिङविरोधी नारा लेखिएका टिसर्ट बेच्यो र हङ्‌कङभरिका स्टोरमा लोकतन्त्र समर्थित 'ब्यानर'हरू प्रदर्शन गर्‍यो।

एक लाख मानिसहरूले बेइजिङका प्रदर्शनकारी विद्यार्थीप्रति ऐक्यबद्धता जनाउँदै हङ्‌कङमा मार्च गरे। सन् २०२० सम्मै हङ्‌कङमा उक्त हिंसात्मक घटनाको सम्झनामा सबैभन्दा ठूलो कार्यक्रम हुने गर्थ्यो।

लाईले पछि त्यसबेलासम्म "आफूले चीनबारे केही महसुस नगरेको" बताएका छन्। उनी सदैव आफ्नो जीवनको उक्त हिस्सालाई बिर्सन चाहन्थे तर "एक्कासी आमाले रात्रीको अँध्यारोमा बोलाएजस्तो हुन्थ्यो।"

लाई (दायाँ)

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लाई प्राय तियानआन्मेन घटनाको सम्झनामा आयोजना हुने कार्यक्रममा सामेल हुने गर्थे

'छनौट नै स्वतन्त्रता हो'

अर्को वर्ष लाईले 'नेक्स्ट' नामको म्यागजिन सुरु गरे र सन् १९९४ मा तियानआन्मेन घटनामा मुख्य भूमिका खेलेका ली पेङलाई "बेइजिङका कसाई" भन्दै खुला पत्र प्रकाशित गरे। त्यसमा उनले पेङलाई "बिल्कुलै बेवकुफ र मुर्ख" भनेका थिए।

त्यसबाट बेइजिङ निकै आक्रोशित भयो। सन् १९९४ र १९९६ को बीचमा बेइजिङका 'जदानो'का प्रमुख स्टोरहरूसँगै शाङ्घाईका ११ फ्रेन्चाइज बन्द भए। लाईले आफ्ना शेयर बेचे र अध्यक्षको पद पनि त्यागे।

"म केवल पैसा कमाइरहूँ, त्यसले मेरा लागि केही अर्थ राख्दैन। तर म मिडिया व्यवसायमा गएँ भने म सूचना दिन्छु। सूचनाको अर्थ छनौट हो र छनौट भनेको स्वतन्त्रता हो," लाईले सन् २००७ को डक्युमन्ट्रीमा भनेका छन्।

त्यसपछि उनी छिट्टै हङ्‌कङको लोकतान्त्रिक आन्दोलनमा "अत्यन्त सक्रिय रूपमा सामेल" हुनुका साथै नेताहरूसँग रणनीतिक छलफल गर्न थालेका डेमोक्र्याटिक पार्टीका पूर्वसांसद ली विङ टाटले बताए।

उनी चिनियाँ कम्युनिस्ट पार्टीका प्रखर आलोचक बने। सन् १९९४ मा उनले लेखे : "म कम्युनिस्ट पार्टीको पूर्ण विरोध गर्छु किनभने म व्यक्तिगत स्वतन्त्रतालाई सीमित गर्ने सबै कुराप्रति घृणा गर्छु।" उनले सन् १९९७ मा हङ्‌कङ ब्रिटेनबाट चीनलाई हस्तान्तरण हुने विषयमा पनि चिन्ता प्रकट गर्न थाले।

"एक शताब्दीभन्दा लामो उपनिवेशकालपछि आफ्नो मातृभूमिको काखमा फर्कन पाउँदा हङ्‌कङवासीहरू गर्व महसुस गर्छन्," उनले लेखे, "तर के हामीले स्वतन्त्रता नभएको मातृभूमिलाई पनि प्रेम गर्नुपर्छ?"

तथापि हस्तान्तरणको समयमा चीनका त्यसबेलाका नेता जियाङ जेमिनले हङ्‌कङवासीले नै हङ्‌कङको प्रशासन चलाउने र सहरले थप ५० वर्षसम्म उच्च स्वायत्तता प्राप्त गर्ने वाचा गरेका थिए।

सन् २०१४ मा एडमिरल्टीमा भएको "अकुपाई सेन्ट्रल" प्रदर्शनमा लाई

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१४ मा एडमिरल्टीमा भएको "अकुपाई सेन्ट्रल" प्रदर्शनमा लाई

बेइजिङले हङ्‌कङमा पूर्ण स्वतन्त्र चुनाव हुन नदिएपछि सुरु भएको सन् २०१४ को 'अम्ब्रेला मुभमन्ट' लाईको जीवनको अर्को घुम्ती हुन पुग्यो।

प्रदर्शनकारीहरूले सहरका मुख्य व्यावसायिक क्षेत्रहरूमा ७९ दिनसम्म कब्जा जमाए। लाई हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म त्यहीँ हुन्थे। एक व्यक्तिले उनीमाथि जनावरको आन्द्राभुँडी फ्याँक्दा पनि उनी विचलित भएनन्। "प्रहरीले अश्रुग्यास चलाउन थाल्दा म 'फ्याटी'सँगै थिएँ," पूर्वसांसद लीले स्मरण गरे।

अदालतले प्रदर्शनस्थल खाली गर्न आदेश दिएपछि मात्रै आन्दोलन अन्त्य भयो तर सरकार टसमस भएन। त्यसको पाँच वर्षपछि सन् २०१९ मा हङ्‌कङपुन: जुर्मुरायो। यसपटक एउटा विवादित योजना कारक बन्यो जसले मुख्यभूमि चीनलाई सुपुर्दगी गर्नका निम्ति अनुमति दिन सक्थ्यो।

शान्तिपूर्ण 'मार्च'को रूपमा सुरु भएको आन्दोलन क्रमशः हिंसात्मक बन्दै गयो र सहर ६ महिनासम्म भिडन्तस्थलमा परिणत भयो। कालो पहिरनमा उत्रिएका प्रदर्शनकारीहरूले ईँटा र प्रज्ज्वलनशील पदार्थहरू भरिएको सिसीमा आगो सल्काएर प्रहार गर्न थाले, संसद् भवनमा धावा बोले र आगो लगाए; दङ्गा प्रहरीले अश्रुग्यास, रबरका गोली, पानीको फोहोरा र गोली चलायो।

आन्दोलनको अग्रमोर्चामा रहेका लाई चारवटा अवैध भेलामा सहभागी भएको अभियोगमा २० महिना जेल बस्नु पर्‍यो। एक प्रदर्शनकारीले लाईलाई देखेर आफूलाई आश्चर्य लागेको बीबीसीलाई बताए : "मेरो लागि उनी व्यस्त व्यवसायी हुन्, तर उनी उपस्थित थिए।"

सन् २०१९ मा भएको लोकतन्त्र पक्षधर प्रदर्शनमा लाई

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१९ मा भएको लोकतन्त्र पक्षधर प्रदर्शनमा लाई

एपल डेलीले ती घटनाहरूलाई व्यापक स्थान दियो र आलोचकहरूको दाबीअनुसार सरकार विरोधी आवाजलाई मञ्च प्रदान गर्‍यो।

सरकारका सल्लाहकार रोनी टङ्ग लाईले प्रदर्शनहरूमा "सहयोगी"को भूमिका खेलेको बताउँछन्। उनका अनुसार एपल डेलीले चीनमा सुपुर्दगीविरुद्ध "बिल्कुल निराधार" नारालाई प्रबर्द्धन गर्‍यो जसले हङ्‌कङमा समस्या सिर्जना गर्न चाहने मानिसहरूलाई उत्साहित बनायो।

एपल डेलीले षड्यन्त्रकारी भूमिका खेल्यो कि खेलेन र लाईले अखबारको नीतिमाथि कति नियन्त्रण राखे भन्ने विषय उनीमाथि १५६ दिनसम्म चलेको राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दाको केन्द्रमा थियो।

पहिले अभियुक्त र पछि साक्षी बनेका एपल डेलीको मूल कम्पनी 'नेक्स्ट डिजिटल'का पूर्वप्रमुख कार्यकारी चेउङ किम-हुनका अनुसार लाईले सम्पादकीय समूहलाई "मानिसहरूलाई सडकमा आउन उत्प्रेरित गर्न" निर्देशन दिएका थिए। राष्ट्रिय सुरक्षा कानुन लागु भएपछि पत्रिकाको कार्यालयमा दुईपटक छापा मारियो र अन्ततः सन् २०२१ मा त्यो बन्द हुन पुग्यो।

प्रदर्शन उत्कर्षमा पुगेका बेला लाई अमेरिका पुगे जहाँ हङ्‌कङको परिस्थितिबारे छलफल गर्न उनले तात्कालिक उपराष्ट्रपति माइक पेन्सलाई भेटे। राष्ट्रिय सुरक्षा कानु लागु हुनुभन्दा एक महिनाअघि लाईले आन्तरिक विरोधका बाबजुद एउटा विवादास्पद अभियान सुरु गरे जसमा एपल डेलीका पाठकहरूलाई "हङ्‌कङलाई जोगाउन" तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पत्र लेख्न आग्रह गरिएको थियो।

अदालतको फैसलाका अनुसार यी सबै कार्यहरू हङ्‌कङको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको निम्ति सार्वजनिक अपीलबराबर थियो।

"दिमाग ठीक ठाउँमा भएको कसैले पनि हङ्‌कङमा कम्तिमा पनि बेइजिङको परोक्ष स्वीकृतिबिना राजनीतिक सुधार हुन सक्नेबारे सोच्न सक्दैन," तोङले भने। "सन् २०१४ र २०१९ मा भएका प्रदर्शन'सहज बुद्धि' को बिल्कुल विपरीत थिए।"

सन् २०२१ को जुन महिनाको सुरुमा छापिएका एपल डेलीका अन्तिम प्रतिहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२१ को जुन महिनाको सुरुमा छापिएका एपल डेलीका अन्तिम प्रतिहरू

बेइजिङले राष्ट्रिय सुरक्षा कानुन र "केवल देशभक्तहरू" सम्मिलित संसद्‌का कारण हङ्‌कङ अहिले "अराजकताबाट सुशासन" हुँदै "व्यापक समृद्धि" तर्फ अघि बढेको दाबी गरेको छ। तर त्यसयता उक्त स्थान छाडेका सयौँ हजार हङकङवासी सहितका आलोचकहरू हङकङमा असहमतिलाई दबाइएको र स्वतन्त्रताहरू गम्भीर रूपमा सीमित गरिएका बताउँछन्।

विधायकसमेत रहेका ली पनि तीमध्येका हुन्। "पहिलोपटक यूके आउँदा म नराम्रा सपना देख्थेँ। मलाई अपराधबोध हुन्थ्यो। हाम्रा असल मित्रहरू जेलमा हुँदा हामी अर्को ठाउँमा कसरी स्वतन्त्रतापूर्वक रहन सक्छौँ?"

लाईको परिवारले उनी मधुमेहका बिरामी भएकाले उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै वर्षौँदेखि रिहाइको माग गर्दै आएको भए पनि ती मागहरू अहिलेसम्म स्वीकार गरिएका छैनन्। सरकार र हङ्‌कङस्थित लाईको कानुनी समूहले उनका चिकित्सकीय आवश्यकताहरूको ख्याल राखिएको जनाएका छन्।

आफ्नो परिवारसँग हङ्‌कङमै बस्दै लाईकी बुहारी कार्मन साङ उनका छोराछोरीले हजुरबुबा र उनले दुईदुई सातामा आयोजना गर्ने ठूला पारिवारिक भोजहरू सम्झिइराख्छन्। लाईको ठूलो स्वर सुनेर सानी छँदा उनकी छोरी तर्सिन्थिन् तर "उनीहरू हजुरबुबाकहाँ जान रुचाउँथे… केटाकेटीहरू उनलाई रमाइलो मान्छे ठान्छन्।"

आजको हङ्‌कङमा लाईका लागि स्थान भए नभएकोबारे उनी निश्चित छैनन्।

"आँखामा धुलो पर्‍यो भने तपाईँ त्यसलाई निकालिहाल्नुहुन्छ, हैन र?"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।