हङ्‌कङमा ४० वर्ष पुराना कार्टुनिस्ट किन बर्खास्त

कार्टुनिस्ट जुन्सी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'प्रेस स्वतन्त्रता' लेखिएको आफ्नो कार्टुनसहित जुन्सी (फाइल तस्बिर)

चिनियाँ भाषामा प्रकाशित हुने 'मिङ पाओ' दैनिकले हङ्‌कङका एक प्रख्यात राजनीतिक कार्टुनिस्टको व्यङ्ग्यात्मक स्तम्भ हटाएको छ।

जुन्सी उपनामबाट परिचित वोङ केई-क्वानले सन् १९८३ देखि समसामयिक वियषवस्तु र सार्वजनिक नीतिहरूबारे व्यङ्ग्यचित्र प्रकाशित गर्दै आएका थिए।

तर उक्त स्तम्भमा विगत छ महिनामा बारम्बार "सरकारलाई बदनाम" गरिएको आरोप हङ्‌कङका अधिकारीहरूले लगाएका छन्।

वास्तवमा के भएको थियो भन्ने बीबीसीको प्रश्नको सङ्क्षिप्त उत्तर दिँदै वोङ भन्छन्: "मलाई लाग्छ कि प्रकाशन निलम्बन गर्ने निर्णय परामर्शपछि गरिएको हो।"

हङ्‌कङ पत्रकार सङ्घले यो कदमको आलोचना गरेको छ।

सङ्घले जुन्सीको स्तम्भ खारेज गरिनुले "हङ्‌कङमा आलोचनात्मक स्वर सहन नसक्ने कुरा देखाउँछ र अभिव्यक्ति स्वतन्त्रताको स्थान अझ सङ्कुचित बनाइएको जुन समाजका लागि हानिकारक छ, कुनै लाभ छैन" भनेको छ।

कार्टुन

हङ्‌कङका पत्रकारहरू सरकारी निकायहरूको बढ्दो दबावमा परेका बेला उक्त स्तम्भ हटाइएको हो।

रिपोर्टर्स विदाउट बोर्डर्स समूहले तयार पारेको सूचीका अनुसार हङ्‌कङमा यस वर्ष प्रेस स्वतन्त्रताको अवस्था खस्किएर १८० देशमध्ये १४०औँ स्थानमा पुगेको छ। सन् २०१९मा १८० देशमध्ये उक्त सूचीको ७३औँ स्थानमा थियो।

वोङको व्यङ्ग्यात्मक कार्टुनले चार दशकभन्दा लामो समयदेखि हङ्‌कङको समाजको निराशालाई चित्रण गर्दै आएको छ।

तर पछिल्ला महिनाहरूमा उनले कोरेका कैयौँ कार्टुनलाई सुरक्षा ब्यूरो लगायतका विभिन्न सरकारी निकायले आलोचना गरेका छन्।

गत ज्यानुअरीमा उनले कोरेको कार्टुनमा हङ्‌कङका नेताको चित्रण गरिएको थियो।

तिनमा हङ्‌कङका नेतृत्वकर्ताको शक्तिलाई उनले ‘’राष्ट्रिय सुरक्षाको नाममा चाहेको काम गर्न सक्ने’’को रूपमा चित्रण गरेका थिए।

red line
red line

उक्त कार्टुनले लगाएको आरोपलाई ‘’पक्षपाती, भ्रामक अनि असत्य’’को सङ्ज्ञा दिँदै उच्चपदस्थ अधिकारीहरूले आलोचना गरेका थिए।

हालसालै उनले स्थानीय जिल्ला परिषद्हरूमा प्रत्यक्ष निर्वाचित हुने प्रतिनिधिको सङ्ख्या उल्लेख्य रूपमा घटाउने सरकारी योजनाप्रति लक्षित कार्टुन बनाएका थिए।

त्यो कार्टुनमा एक पुरुषले एक महिलालाई हङ्‌कङका स्थानीय प्रतिनिधिहरू सबै परीक्षा वा स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भए पनि ‘’नेतृत्वकर्ताहरूले उपयुक्त ठान्दासम्म’’ छनोट गरिने बताएको देखाइएको छ।

एक वरिष्ठ सरकारी अधिकारीले वोङको कार्टुनको निन्दा गरेका छन्।

उक्त कार्टुनमा "सरकारलाई गलत अर्थमा चित्रण अनि बदनाम गरिएको" भन्दै उक्त ‘‘सामग्रीले तथ्यहरूको बेवास्ता गरेको, जनतालाई अलमलमा पारेको अनि भेदभावपूर्ण तत्त्वहरू समावेश गरिएको’’ उनले बताए।

कार्टुन

तस्बिर स्रोत, Getty Images

मिङ पाओले बिहीवारको पत्रिकामा ‘‘सम्पादकीय नोट’’ लेख्दै आगामी आइतवार (मे १४ तारिख)बाट कार्टुन प्रकाशन नहुने घोषणा गरेको छ।

उक्त पत्रिकाले त्यस्तो गर्नुको कुनै कारण खुलाएको छैन तर "हामीसँग ४० वर्षसम्म समयको परिवर्तन देखेको" उल्लेख गर्दै वोङलाई धन्यवाद दिएको छ।

वोङले "प्रकाशन निलम्बन गरिने सम्भावना सधैँ रहेको" आफूलाई लाग्ने गरेको बताउँदै बीबीसीसँग भने: " तिनको अर्थ नबिग्रिएसम्म र तिनलाई विकृत नपारिएसम्म व्यङ्ग्यचित्रलाई परिस्थिति र लक्षित दर्शकहरू हेरेर अनुकूल बनाउनु सामान्य कुरा हो।"

मिङ पाओ स्टाफ असोसिएशनले ‘‘विविधता भएको समाजले विभिन्न आवाजलाई स्थान दिनुपर्ने’’ जनाएको छ।

को हुन् वोङ?

वोङको जन्म सन् १९५५ मा हङ्‌कङमा भएको थियो।

हङ्‌कङस्थित चाइनिज यूनिभर्सिटीको कला विभागबाट अध्ययन पूरा गरेपछि उनले शिक्षकका रूपमा काम गरेका थिए।

सन् १९७० को दशकमा उनले राजनीतिक विषयवस्तुमा कार्टुन कोर्न सुरु गरे।

चीन सरकारप्रति सकारात्मक रहेको 'ता कुङ पाओ' मा पनि उनका व्यङ्ग्यचित्रहरू प्रकाशित भएका छन्।

red line
red line

सन् २०२१ मा हङ्‌कङमा सरकारी निकायहरूले राष्ट्रिय सुरक्षा कानुन तोडेको भन्दै एपल दैनिकको कार्यालयमा छापा मार्दै उसको खाता रोक्का गरेको थियो। त्यसपछि पत्रिका बन्द भयो र वोङका कार्टुनहरू मिङ पाओमा मात्रै प्रकाशित हुन थाले।

प्रजातन्त्र पक्षधरहरूले व्यापक प्रदर्शन गरेसँगै बेइजिङले सन् २०२०मा लागु गरेको विवादास्पद राष्ट्रिय सुरक्षा नीति अनि औपनिवेशिक कालमा रहेको राजद्रोहको अपराधलाई अधिकारीहरूले पुनः कार्यान्वयनमा ल्याएसँगै हङ्‌कङमा राजनीतिक व्यङ्ग्य हालैका वर्षहरूमा कानुनी जोखिमको चपेटामा परेका छन्।

कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्न सक्ने सम्भावनाले चिन्तित हुनुहुन्छ कि भनेर बीबीसीले इमेलमार्फत् सोधेको प्रश्नमा उनले भने : "बुझ्न गाह्रो छ"।

आफ्नो कार्टुन स्तम्भ बन्द हुँदा अन्य पत्रकारहरूले काम छोड्ने छन् भन्ने उनलाई लाग्दैन।

तर "उनीहरूले आफ्नो काम कसरी जारी राख्न सकिन्छ भनेर गहिरो रूपमा सोचविचार गर्नुपर्ने’’ वोङ ठान्छन्।

"अनि यो सबै पत्रकारहरू आफैँमा निर्भर हुन्छ भन्ने मलाई लाग्छ। यदि उनीहरूसँग मुटु छ भने उनीहरूले समाचार देख्ने छन्। यदि उनीहरूले वास्ता गरेनन् भने समाचार आउने छैन।"