तीनवटा अमेरिकी सञ्चारगृहका पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

तस्बिर स्रोत, Getty Images
अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएपछि प्रत्युत्तरमा चीनले तीन वटा अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकबाट निष्कासन गरेको छ।
चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ।
मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ।
उक्त कदम अमेरिकामा "चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको" प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ।
चीनका अर्धस्वायत्त क्षेत्र हङ्कङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ।
चीनमा भन्दा ती स्थानमा बढी प्रेस स्वतन्त्रता छ।
यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनले अमेरिकामा काम गर्ने चिनियाँ पत्रकारको सङ्ख्यामा सीमा तोकिदिएको थियो।

तस्बिर स्रोत, Reuters
"अमेरिकाले जे गरेको छ त्यो चिनियाँ सञ्चारमाध्यमप्रति लक्षित छ र यो शीतयुद्धको मानसिकता अनि वैचारिक पूर्वाग्रहमा आधारित छ," मङ्गलवार चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको निर्णयलाई "दुर्भाग्यपूर्ण" भन्दै बेइजिङलाई त्यसबारे पुन: विचार गर्न आग्रह गरेका छन्।
मार्च महिनाको आरम्भमा अमेरिकाको विदेश मन्त्रालयले चिनियाँ समाचारसंस्था सिन्ह्वासहित पाँचवटा सञ्चारगृहलाई कर्मचारीको कुल सङ्ख्या १६० बाट घटाएर १०० मा पुर्याउन भनेको थियो।
गत महिना कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो। त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले चिनियाँ पत्रकारको सङ्ख्या तोकिदिएको ठानिएको थियो।
केही समययता व्यापार, बौद्धिक सम्पत्तिको अधिकार र फाईभजी नेटवर्कजस्ता विषयमा चीन र अमेरिकाबीच विमति रहेको छ। त्यसबाट उनीहरूको सम्बन्ध चिसिएको छ।
दुवै देशले एकअर्कालाई गलत सूचना फैलाएको आरोप लगाइरहेको अवस्थामा कोरोनाभाइरस सङ्क्रमणको महामारीले पनि तनाव थपेको छ।
मङ्गलवार ट्रम्पले कोरोनाभाइरसलाई "चिनियाँ भाइरस" भनेपछि चिनियाँ पक्ष आक्रोशित भएको छ।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्









