हङकङ: पूर्व सुरक्षा प्रमुख जोन ली चुनिए नयाँ नेता, चीनको ‘पकड थप मजबुत पार्ने कदम’

जन ली

तस्बिर स्रोत, Getty Images

आफूमात्र एकल उम्मेदवार रहेको एउटा बन्द निर्वाचन प्रक्रियामार्फत पूर्व सुरक्षा प्रमुख जोन ली हङकङ नयाँ नेता चुनिएका छन्।

उनको नियुक्तिलाई उक्त शहरमा आफ्नो पकड मजबुत गर्ने चिनियाँ कदमका रूपमा हेरिएको छ।

बेइजिङका प्रखर समर्थक ली खासै लोकप्रिय थिएनन् र हालैको हालैको एउटा सर्वेक्षणमा १०० अङ्कमध्ये ३४ दशमलव ८ अङ्कमात्रै उनले ल्याएका थिए।

तर सर्वसाधारणसँग प्रत्यक्ष मताधिकार नरहेको हङकङमा त्यसको विशेष अर्थ छैन किनभने लीलाई मूलभूत रूपमा बेइजिङले चयन गरेको हो।

हङकङको नेता चयन गर्ने जिम्मेवारी एउटा १५ सय सदस्यीय समितिको रहेको छ जसमा लगभग सबै बेइजिङका समर्थकहरू छन्।

तर यसपालि उनीहरूले एक मात्रै उम्मेदवारलाई छान्नुपर्ने अवस्था रहेको थियो।

उनले सन् २०१७ देखि हङकङको प्रमुख कार्यकारी रहेकी क्यारी लामलाई विस्थापित गर्नेछन्।

अमेरिकी प्रतिबन्धमा परेका अधिकारी

पूर्व मूख्य सचिव रहेका ली शहरका दोस्रो वरिष्ठ उच्च अधिकारी रहका थिए र क्यारी लामले दोस्रो कार्यकालका लागि नलड्ने बताएपछि उनी नै उनको उत्तराधिकारी बन्ने ठानिएको थियो।

उनले बेला बेलामा हिंसात्मक समेत बनेका सन् २०१९ को लोकतन्त्र समर्थकहरूको प्रदर्शन नियन्त्रणको जिम्मेवारी सम्हालेका थिए।

बेइजिङको प्रिय भएपनि सन् २०१९ मा विवादास्पद सुपुर्दगी विधेयकलाई लिएर भएका प्रदर्शन दमन गरेकोमा उनी ज्यादै अलोकप्रिय रहँदै आएका छन्।

प्रदर्शनहरू चर्किए पनि उक्त विधेयकलाई उनले समर्थन गरेका थिए।

प्रदर्शनकारीहरूमाथि पानीको फोहरा, रबरको गोली, अश्रु ग्यास र बेला बेला भीड तितरबितर गर्न गोली चलाउन आदेश दिएकोमा उनको आलोचना भएको थियो।

सन् २०२० मा उनले एउटा विवादास्पद राष्ट्रिय सुरक्षा कानुन लागु गर्न समर्थन गरेका थिए जसले अधिकांश प्रकृतिका राजनीतिक प्रदर्शन र असहमतिलाई अपराधीकरण गरेको थियो र शहरको स्वायत्ततालाई घटाएको थियो।

सानो प्रदर्शन

तस्बिर स्रोत, AFP VIA GETTY IMAGES

लीलाई उक्त कानुनले 'अराजकताबाट स्थिरता' कायम गर्न सघाएको थियो।

अघिल्लो वर्ष उनलाई नेतृत्व तहमा बढुवा गरिएको थियो र विश्लेषकहरूले त्यसलाई हङकङको सुरक्षामा केन्द्रित हुने चिनियाँ अभिप्रायका रूपमा लिएका थिए।

उक्त कानुनको कार्यान्वयनमा खेलेको भूमिकाका कारण उनी र अन्य एक दर्जन अधिकारीहरूलाई संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाएको थियो।

सन् २०२२ को उनको चुनावी अभियानलाई यूट्यूबले ब्लक गरिदिएको थियो।

नियुक्तिको असर के पर्नसक्छ?

उनका पूर्ववर्तीहरूको व्यापारिक समुदाय वा प्रशासन संयन्त्रसँग सम्बन्ध रहने गरेको थियो।

तर लीको पृष्ठभूमि कानुन कार्यान्वयन हो।

उनी सन् १९७७ मा २० वर्षको उमेरमा हङकङको प्रहरी बलमा आबद्ध भएका थिए। उनको प्रारम्भिक कार्यकाल आपराधिक गतिविधि नियन्त्रणमा केन्द्रित रहेको थियो।

दुई सन्तानका पिता उनी हङहङका बासिन्दा र ब्रिटिश नागरिक दुवै थिए। सन् २०१२ मा सुरक्षा सम्बन्धी उपसचिवमा नियुक्त हुनुभन्दा केही अघि मात्रै उनले यूकेको नागरिकता त्यागेका थिए।

हङकङ

तस्बिर स्रोत, SOPA IMAGES

हङकङमा बाँकी रहेको एक मात्र लोकतन्त्र पक्षधर समूह लीग अफ सोसल डेमोक्र्याट्यसले मतदान अघि तीन जना मानिस सहभागी प्रदर्शनहरू आयोजना गरेका थिए।

त्यसमा 'मानिसहरूलाई अधिकार दिन र विश्वव्यापी मताधिकार तत्काल लागु गर्न' माग गरिएको थियो।

आफूलाई प्रहरीले हेरिरहेको अवस्थामा एक जना प्रदर्शनकारी भेनेसा चानले भनिन्, "जन लीको नयाँ अध्याय यस्तै हुन्छ, हाम्रो नागरिक स्वतन्त्रता सङ्कुचित हुन्छ।"

उनले थपे, "हामीलाई थाहा छ यो कदमको कुनै प्रभाव पर्ने छैन् तर हामी हङकङ पूर्ण रूपमा मौन भएको चाहँदैनौँ।"

हङकङलाई ब्रिटेनबाट सन् १९९७ मा चीनमा हस्तान्तरण गरिएको थियो। त्यसक्रममा भएको सम्झौतामा उक्त भूभागमा शान्तिपूर्ण भेला हुने स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने भनिएको थियो।

तर असहमत पक्षलाई शहरमा निरन्तर दमन गरिएकाले ती अधिकारीहरू निरन्तर खस्किएको आलोचकहरू बताउँछन्।

बेइजिङका नीतिहरूप्रति दह्रो समर्थनका कारण उनको नेतृत्वले उक्त अर्ध स्वायत्त क्षेत्रमा अझ कठोर चिनियाँ नियन्त्रण सुरु गर्न सक्ने भयहरू उब्जाइदिएको छ।