हराउने क्रममा रहेका हङ्कङका न्यूज स्ट्यान्डहरूले परिवर्तनको कथा भन्छन्

पत्रपत्रिका बिक्री गर्ने स्टल दशकौँ देखि हङ्कङका प्रिय स्थानमध्ये पर्छन् जसले गर्वसाथ स्वतन्त्र सञ्चार माध्यमको सम्झना गराउँछन्।
यी स्टलहरूले द साउथ चाइना मर्नीङ पोस्ट जस्तो स्थापित पत्रिकादेखि चिनियाँ भाषामा छापिने ट्याबलोइड सहित विभिन्न किसिमका सामग्री प्रकाशन गर्ने पत्रपत्रिका सबै बेचेका छन्।
पछिल्ला केही वर्षहरूमा ती स्टलहरूको अवस्था के छ भन्ने कुरा त्यहाँको बदलिँदो सञ्चार माध्यमको कथा पनि हो - खासगरि यति बेला, जब स्वतन्त्र प्रेस माथि चीनको कडा रवैयाका कारण पत्रकारहरूले थप चुनौतीको सामना गरिरहेका छन्।
बजारीकरणको रणनीति
सुरुवाती दिनहरूमा पत्रपत्रिका खुला रूपमा बेचिँदैन थियो। यसलाई ग्राहकहरूको घर घरमा पुर्याइन्थ्यो।
हङ्कङमा पहिलो पटक पत्रिका बिक्री गर्ने 'स्ट्यान्ड' सन् १९०४ मा खुलेको थियो जुन त्यस बेला प्रकाशन हुन सुरु भएको साउथ चाइना मर्नीङ पोस्टको बजार फराकिलो बनाउने रणनीति थियो।

तस्बिर स्रोत, CHONG YUK SIK
हङ्कङका न्यूज स्ट्यान्डबारे किताब लेखेका हङ्कङस्थित चाइनिज युनिभर्सिटीका डाक्टर चोङ्ग युक सीकका अनुसार त्यस्तो गरेर उक्त पत्रिका हङ्कङमा बस्ने विदेसी अनि पर्यटकहरूसम्म पहुँच स्थापित गर्न चाहन्थ्यो।
उक्त न्यूज स्ट्यान्ड एउटा ट्राम स्टेसन नजिकै राखिएको थियो जहाँ औपनिवेशिक कालमा चिनियाँहरूलाई बस्न प्रतिबन्ध लगाइएको थियो।
चाखलाग्दो कुरा के छ भने साउथ चाइना मर्नीङ पोस्टका सह-संस्थापक त्से सान-ताई एक क्रान्तिकारी थिए जो चीङ्ग राजवंशलाई हटाउन चाहन्थे र त्यो अखबार त्यही उद्देश्य प्राप्तिका लागि स्थापना गरिएको थियो।
चीङ्ग राजवंश सन् १९११ मा ढलेको थियो।
अद्वितीय स्वतन्त्र सञ्चार माध्यम
मुख्यभूमि चीनमा सन् १९४९मा कम्युनिस्ट पार्टीले सत्ता कब्जामा लिए पछि हङ्कङका सञ्चार माध्यम राजनीतिक रूपमा झन् महत्त्वपूर्ण भए।

त्यसबेला हङ्कङको सरकार तुलनात्मक रूपमा सञ्चार माध्यम प्रति उदार थियो जसकारण सबै किसिमका राजनीतिक विचारधारा समेटिएका पत्रपत्रिका उपलब्ध थिए।
चिनियाँ भाषा बोलिने स्थान मध्य हङ्कङ सबैभन्दा खुला बन्न पुग्यो र त्यहाँका न्यूज स्ट्यान्डले यस कुराको प्रतिनिधित्व गर्छन्।
अचम्म लाग्दो उदय
सन् ८० र ९० को दशक हङ्कङका पत्रिका व्यवसायका लागि सुनौलो युग थियो, जब रिपोर्टिङ मुख्य भूमि चीनबाट स्थानीय मामिलामा केन्द्रित भयो।
सन् १९९७ पछि चीन र यूकेबीच हङ्कङको सार्वभौमिकता बारे छलफल हुन थालेसँगै हङ्कङका बासिन्दाहरू सहरको भविष्य बारे चिन्तित थिए।
सन् १९९०को दशकमा हङ्कङमा करिब २५०० वटा न्यूज स्ट्यान्ड थिए।

तस्बिर स्रोत, REUTERS
हङ्कङ न्युज पेपर हकर एसोसिएसनका उपाध्यक्ष लाम चेउङ्ग फुका अनुसार ती स्थानमा १९ वटा चिनियाँ भाषामा प्रकाशन हुने पत्रिका, दुई वटा अङ्ग्रेजीमा प्रकाशन हुने पत्रिका बिक्री हुन्थ्यो र सबैभन्दा व्यस्त स्ट्यान्डले दैनिक हजार प्रति भन्दा बढी पत्रिका बेच्थे।
"सबै पत्रिकाको आफ्नै शैली थियो। बजार ठूलो थियो जस्ले गर्दा साना ठूला पत्रिकाहरूको आफ्नै किसिमका फाइदाहरू थिए र उनीहरू टिक्न सक्थे," लामले भने।
पत्रिका बाहेक ती स्ट्यान्डहरूले विभिन्न किसिमका म्यागजिन, स्थानीय कमिक लगायतका सामाग्री बेच्थे।
यसैबीच सन् १९९५ मा व्यवसायी जिमी लाईले एप्पल दैनिक सुरु गरे। "एप्पल दैनिक नयाँ तरिकाले सञ्चालन गरिएको थियो," लामले भने।
"यसको लेआउट पनि परम्परागत पत्रिकाहरू भन्दा फरक थियो किनभने यसले ट्याबलोइडको शैली अपनाएको थियो। समाचारमा प्रयोग गरिएका भाषा पनि रोचक थिए यसैकारण पाठकहरूले यसलाई रमाइलो मान्थे।"

तस्बिर स्रोत, Getty Images
यो पत्रिकाले न्यूज स्ट्यान्डहरूलाई व्यापक बल दियो। सुरुको दिनमै २२०,००० प्रति पत्रिका बिक्री भयो र यसले पत्रिका व्यवसायमा ठूलो परिवर्तन ल्याएको मानिन्छ।
तर एप्पल दैनिक विवादमा पर्ने गर्थ्यो र उसले छाप्ने सनसनीपूर्ण समाचार अनि पापराजी (स्वतन्त्र रूपमा प्रख्यात व्यक्तिहरूको तस्बिर खिचेर सञ्चारमाध्यमहरूलाई बेच्ने व्यक्ति) को प्रयोग का कारण यसको आलोचना हुने गर्थ्यो।
जब अवस्था परिवर्तन भयो
र त्यसपछि न्यूज स्ट्यान्डहरूको भाग्य फेरिन थाल्यो।
सन् २००० को सुरुवातमा निःशुल्क बाँडिने पत्रिकाहरू सार्वजनिक हुन थाले र सन् २०१० तिर निकै प्रख्यात बने जसले तिनको कमाइमा प्रभाव पार्यो। समय बढ्दै जाँदा डिजिटल मिडियाले न्यूज स्ट्यान्डहरूको ख्यातिमा झन् प्रभाव पार्न थाले।
सन् २०२० सम्ममा हङ्कङका ७० प्रतिशत भन्दा बढी मानिसहरूले आफ्नो स्मार्टफोन प्रयोग गर्दै एपहरूबाट समाचार पढ्न थालेको चाइनिज युनिभर्सिटी अफ हङ्कङले गरेको एउटा अध्ययनमा उल्लेख गरिएको छ।

पुराना पत्रिकाहरूले सङ्घर्ष गरिरहँदा नयाँ स्ट्यान्ड न्यूज र हङ्कङ फ्री प्रेसले अनलाइन संस्करण मात्रै चलाउने निर्णय गरे।
तर हङ्कङ जर्नलिस्ट्स एसोसिएसनका अध्यक्ष क्रीस एउङ् अनलाईन माध्यम प्रविधिका कारण मात्रै नभई लगानीकर्ताहरूको मुख्य भूमि चीनमा व्यावसायिक स्वार्थ गाँसिएको हुँदा मिडिया सेल्फ सेन्सरसिपको सिधा प्रतिक्रियाका कारण समेत फस्टाएको बताउँछन्।
'प्रतिबन्धित' व्यावसायिक नमुना
एउटा पर्यटकीय क्षेत्रमा किताब बेच्ने प्रथम केही स्ट्यान्ड मध्य एक चेउङ्ग ताक-विङको परिवारले सञ्चालने गरेको न्यूज स्ट्यान्ड पनि हो।
ती किताबहरूमा भ्रष्ट अधिकारी, कम्युनिस्ट पार्टी भित्रको द्वन्द अनि चिनियाँ नेताहरूको निजी जीवन बारे खुलासा गरिएको हुन्थ्यो।
ती पुस्तक खरिद गर्ने प्राय: मानिस मुख्यभूमि चीनका मानिस हुन्थे जहाँ त्यस्तो किताब किन्न पाइँदैन थियो।

सन् २००३ मा समूहमा नभई एक्ला एक्लै हङ्कङ घुम्ने अनुमति मुख्य भूमि चीनका मानिसहरूलाई दिइयो। चेउङ्ग मासिक रूपमा २,००० सम्म किताब बेचेको सम्झन्छन्।
"चीनबाट हङ्कङ आउनेहरूले धेरै किताब खरिद गर्थे। हामीले २०-३० वटा किताबसम्म कागजको बाकसमा हालेर उनीहरू बस्ने होटलसम्म पुर्याउँथ्यौँ। हामीले किताब सेन्जेन पनि पठाउँथ्यौँ।"
यस्ता किताबको निर्यात बारे चिनियाँ अधिकारीहरूले थाहा पाएपछि भने अवस्था फेरियो।
सन् २०१५ को अन्त तिर किताब प्रकाशन गर्ने कम्पनीका केही कर्मचारीहरू एकाएक हराए जसले बेइजिङको प्रभाव महसुस गरायो।
त्यसपछि "न्याशनल सेक्युरिटी ल" भनिने राष्ट्रिय सुरक्षा सम्बन्धी कानुन ल्याइयो।
"राजनीतिक किताबहरू त्यस पछि प्रकाशन भएनन्। प्रकाशन भएका किताबहरू समेत प्रकाशकले फिर्ता लिए," चेउङ्गले भने। "हामी फेरि यस्तो सामग्री बेच्ने बारे सोच्न समेत सक्दैनौँ किनकि हामी जेल पर्न सक्छौँ।"
अस्तित्वका लागि सङ्घर्ष
सन् २०१८ मा हड्कङमा करिब ४०० न्यूज स्ट्यान्ड मात्रै बाँकी थिए।

तस्बिर स्रोत, EPA
एप्पल दैनिकको कार्यालयमा छापा अनि अगस्ट महिनामा प्रकाशक जिमीको पक्राउ पछि न्यूज स्ट्यान्डमा केही चहलपहल देखिए पनि त्यो क्रम लामो समय जारी रहन सकेन, न त्यसले न्यूज स्ट्यान्डको घट्दो आकर्षणको गतिलाई घटाउन नै सक्यो।
लामका अनुसार हाल व्यवसायको ७० प्रतिशत हिस्सा चुरोट बिक्रीबाट उठ्छ। पत्रिकाको बिक्री १० प्रतिशत भन्दा कममा झरेको छ।










