हङ्कङ तनाव: चीनलाई हङ्कङ हस्तान्तरण भएको २२ पूरा, वार्षिकोत्सव मनाइरहँदा प्रहरीसँग झडप

तस्बिर स्रोत, Reuters
चीनलाई हङ्कङ हस्तान्तरण गरिएको २२औँ वार्षिकोत्सव मनाइँदै गर्दा हङ्कङमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको छ।
वर्षगाँठका समारोह त्यहाँ भएका हिंसात्मक विरोध प्रदर्शनहरूका कारण प्रभावित भएका छन्।
प्रदर्शनकारीहरूले त्यहाँको विधायिकी परिषदको भवनमा जबरजस्ती पस्ने प्रयास गरेका थिए।
नाली सफा गर्ने ठानिएको तरल पदार्थले छ्यापिदिएपछि १३ जना प्रहरी अस्पताल भर्ना भएका छन्।
हजारौँ प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास तथा लाठी प्रयोग गरेको थियो।
परिचालन
हङ्कङकी प्रमुख कार्यकारी क्यारी लाम झण्डोत्तोलन समारोहमा सहभागी भइरहँदा उक्त क्षेत्रमा दङ्गा प्रहरी परिचालन गरिएको छ।

तस्बिर स्रोत, AFP
उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयासस्वरूप पीपर स्प्रे अर्थात् आँखा पिरो पार्ने रसायन प्रयोग गरेका छन्।
यसअघि हङ्कङमा दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा र्यालीमा उत्रेका छन्।
सेतो र नीलो रङ्गका लुगा लगाएका प्रदर्शनकारीहरूले चिनियाँ झण्डा बोकेका थिए।
त्यहाँ एक महिनायता सुपुर्दगीसम्बन्धी एउटा विधेयकको विरोधमा प्रदर्शनकारीहरूले सहरमा प्रदर्शन गरेका छन्।
सन्दिग्धहरूलाई अभियोजनका लागि मुख्यभूमि चीन पठाउने सकिने प्रस्तावित व्यवस्थाको विरोधमा त्यहाँ अहिलेसम्मकै दुई ठूला र्यालीहरू आयोजना भएका थिए।
जुलाई १२ मा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गर्दै भिडलाई तितरबितर पार्दा त्यहाँ थुप्रै दशकपछि हिंसक प्रदर्शनहरू भएका थिए।

तस्बिर स्रोत, Getty Images
हङ्कङकी न्यायमन्त्री टेरेजा चेङ्गले प्रहरी दमनमाथि अनुसन्धान हुने कुरालाई अस्वीकार गरेकी छन्।
यद्यपि प्रदर्शनकारीहरूले सरकारलाई माफी माग्न र प्रस्तावित विधेयक निलम्बन गर्न बाध्य पारेका थिए।
समर्थकको र्याली कति ठूलो?
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आइतवार झण्डै एक लाख पैँसट्टी हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू तमार पार्कमा भेला भएका थिए।
तर विधेयकका विरुद्धमा उभिएकाभन्दा ती निकै कम मानिस हुन्। अभियानकर्मी समूहहरूले आफ्नो पछिल्लो र्यालीमा २० लाख मानिसहरू सहभागी भएको बताएका छन्।
यद्यपि हङ्कङमा बेइजिङ पक्षधरहरू जुटेको यो एउटा उल्लेख्य सङ्केत भने हो।
"प्रहरीमाथि भएको व्यवहारलाई मैले सहेर बस्न सकिनँ," ७० वर्षीया फ्रान्सिस यूले समाचार संस्था एएफपीसँग भनिन्।
वङ् नामले मात्र चिनिन चाहने एक ५४ वर्षीय कर्मचारीले एएफपीलाई बताएअनुसार प्रहरीले 'नियमकानुन पालना' गराउने प्रयास गरेकोमा विधेयकविरोधी प्रदर्शनकारीले 'अभद्र' व्यवहार देखाए।

तस्बिर स्रोत, EPA
किन हुँदैछ प्रदर्शन?
विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो।
हङ्कङ सन् १९९७ यता 'एक देश, दुई प्रणाली' अन्तर्गत चीनको अङ्ग रहिआएको छ।
त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।
तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्।
विधेयक निलम्बन गरिएपछि प्रदर्शनकारीका चारवटा खास माग छन्:
- विधेयक पूर्ण रूपमा फिर्ता लिइनुपर्ने
- जुन १२ को प्रदर्शनलाई व्याख्या गर्दा प्रयोग गरिएको 'दङ्गा' शब्द फिर्ता लिनुपर्ने
- पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरू मुक्त गरिनुपर्ने
- प्रहरी दमनको अनुसन्धान गरिनुपर्ने
जोस्अ वाङ्क सन् २०१४ को प्रजातन्त्र पक्षधर प्रदर्शनका एकजना नेता हुन् जो १७ जुनमा जेलबाट छिट्टै छुटेका थिए।
जेलबाट छुटेपछि उनले सञ्चारमाध्यम र समर्थकहरूलाई सम्बोधन गर्दै बेइजिङपक्षधर प्रमुख कार्यकारी क्यारी लामले पद छाड्नुपर्ने बताएका थिए।

तस्बिर स्रोत, Getty Images
के थप सुपुर्दगीविरोधी र्यालीहरू होलान्?
हङ्कङ चीनलाई हस्तान्तरण गरिएको २२औँ वार्षिकोत्सवसँग जुध्नेगरी सोमबार समेत अर्को ठूलो र्यालीको आयोजना गरिएको छ।
हङ्कङका चीफ सेक्रेटरी म्याथ्यू चुङले शान्त रहन आग्रह गरेका छन्।
प्रदर्शनकारीहरूलाई सम्बोधन गरिएको एउटा ब्लगमा उनले लेखेका छन्, "हङ्कङको व्यापारिक माहोललाई स्थिर पार्दै पुरानै स्वरूपमा ल्याउन सक्दो छिटो सामाजिक व्यवस्था र शान्तिपूर्ण माहोल कायम गर्नु निकै आवश्यक छ।"
"हङ्कङ मेरो घर हो, त्यहाँ तपाईं र ममा केही भिन्नता छैन।"














