हङ्‌कङ प्रदर्शन: सुपुर्दगी विधेयकको विरोध रोकिएन, नेत्री क्यारी लामको राजीनामा माग

विरोध प्रदर्शन

तस्बिर स्रोत, Getty Images

अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरूले हङ्‌कङमा सडक कब्जा गरिरहेका छन्।

विधेयकको विरोधमा आइतवार झन्डै २० लाख मानिसहरू प्रदर्शनमा सहभागी भएको आयोजकहरूले दाबी गरेका छन्।

पुष्टि भएमा त्यो हङ्‌कङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ।

तर प्रहरीका अनुसार आइतवारको प्रदर्शनमा झन्डै साढे तीन लाख प्रदर्शनकारी मात्र थिए।

किन चर्कियो विरोध?

प्रदर्शनकारी

तस्बिर स्रोत, Helier Cheung/BBC

हङ्‌कङका अभियुक्तलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा सुपुर्दगी गर्न सकिने व्यवस्था गरिएको विधेयकका कारण तनाव बढेको हो।

आइतवार ठूलो प्रदर्शन भएपछि थुप्रै प्रदर्शनकारीहरूले सडकमै रात बिताएका थिए। उनीहरूले सडकमा छेकबार पनि लगाएको विवरण प्राप्त भएको छ।

तर त्यहाँको वातावरण शान्त रहेका र प्रहरीको सङ्ख्या पनि पातलो रहेको बताइएको छ।

प्रदर्शन चर्किएपछि हङ्‌कङका अधिकारीहरूले सुपुर्दगी विधेयकलाई स्थगन गरिदिएका छन्। तर त्यो पूरै फिर्ता लिइनु पर्ने प्रदर्शनकारीहरूको अडान छ।

"आइतवारको प्रदर्शनमा झन्डै २० लाख मानिस सहभागी भएका छन्," सिभिल ह्युमन राइट्स् फ्रन्टका नेता जिमी शामले संवाददाताहरूलाई बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आइतवार यसरी भयो प्रदर्शन

आइतवारको प्रदर्शन केही दिनअघिको भन्दा शान्त थियो। बुधवार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा केही मानिस घाइते भएका थिए।

शनिवार लडेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो। उनको सम्मानमा धेरै प्रदर्शनकारीहरूले सेतो फूल बोकेका थिए।

क्यारी लामको राजीनामा माग

रात परेपछि प्रदर्शनकारीहरूले विधायन परिषद् जाने सडकहरूमा अवरोध तेर्स्याउन थालेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

हङ्‌कङकी नेत्री क्यारी लामले आइतवार विधेयक प्रस्ताव गरिएकोमा क्षमायाचना गरेकी थिइन्।

तर हङ्‌कङमा चिनियाँ प्रभाव बढ्ने चिन्ता व्यक्त गरिरहेका प्रदर्शनकारीहरू उनले राजीनामा दिनुपर्ने बताउँछन्।

जोशुवा वोङ

एक ६७ वर्षीय प्रदर्शनकारी माले भने, "क्यारी लामले हङ्‌कङवासीका इच्छा आकाङ्क्षालाई बेवास्ता गरिरहेकी छन्।"

यसैबीच पाँच वर्षअघि आयोजित 'छाता आन्दोलन'का अगुवा विद्यार्थी नेता जोशुवा वोङ सोमवार थुनामुक्त भएका छन्।

उनले पनि क्यारी नामको राजीनामा माग गरेका छन्।

हङ्‌कङमा दशौँ लाखलाई चिढ्याउने विवाद

हत्याका सन्दिग्धलाई पक्राउपुर्जी

तस्बिर सर्वाधिकार BBC

ताइवानमा एक अभियोजनकर्ताले हङ्‌कङका चान तोङ-काईलाई भ्रमणमा रहेका बेला आफ्नी प्रेमिका पून हिउ-विङ को हत्या गरेको आरोपमा पक्राउपुर्जी जारी गरे।

चान पछि हङ्‌कङ फर्किए तर हङ्‌कङ र ताइवानबीच सुपुर्दगीसन्धि नभएकोले मुद्दा चलाउनका लागि उनलाई ताइवान पठाउन सकिएन।

सुपुर्दगीसम्बन्धी कानुनमा परिवर्तन गर्ने घोषणा

तस्बिर सर्वाधिकार BBC

मुख्यभूमि चीन, ताइवान र मकाउमा सुपुर्दगी रोक्ने अहिलेको व्यवस्था खारेज गर्ने प्रस्ताव गरिएको छ।

पहिलो प्रदर्शन

तस्बिर सर्वाधिकार Reuters

र्‍यालीमा कजवे बे पुस्तक भण्डारका पूर्वमालिक लाम विङ-कीसहित करिब १२ हजार मानिस सहभागी भए। लामले चिनियाँ सरकारको आलोचना गर्ने पुस्तक बिक्री गर्ने प्रकाशकका लागि काम गरेका थिए। उनलाई सन् २०१५ मा दक्षिणी चिनियाँ सहर शेन्जेनमा पक्राउ गरिएको थियो र गैरकानुनी रूपमा व्यापार गरेको आरोप लगाइएको थियो।

मुद्दा चलाउन चिनियाँ सरकारले आफूलाई सुपुर्दगी गराउन सक्छ र त्यस्ताे प्रस्ताव पारित हुनुअघि आफूले हङ्‌कङ छाडिसक्ने उनी बताउँछन्।

सरकारी प्रस्तावविरुद्ध दोस्रो प्रदर्शन

तस्बिर सर्वाधिकार Getty Images

आयोजकहरूका अनुसार र्‍यालीमा एक लाख ३० हजारले सहभागिता जनाए।

हङ्‌कङ‌का वकिलहरूको मौन प्रदर्शन

तस्बिर सर्वाधिकार Anthony Kwan

झन्डै तीन हजार वकिल, अभियोजनकर्ता, कानुनका विद्यार्थी र प्राज्ञले मौन जुलुस निकाले र प्रस्ताव फिर्ता लिन माग गरे।

लाखौँ सहभागी जुलुस

तस्बिर सर्वाधिकार Getty Images

आयोजकका अनुसार हङ्‌कङ सरकारको प्रस्तावविरुद्ध झन्डै १० लाख मानिस प्रदर्शनमा सहभागी भए जुन २२ वर्षयताकै ठूलो थियो। प्रहरी र प्रदर्शनकारीबीच झडप भयो र १९ जना पक्राउ परे। लन्डन, प्यारिस, सिड्नी, भ्यानकुभर र न्यूयोर्कजस्ता सहरमा पनि त्यस्तै प्रदर्शन भए।

हङ्‌कङ सरकारले एउटा वक्तव्यमार्फत्‌ आफूले फरक विचारको सम्मान गर्ने गरेको तर प्रस्तावलाई जुन १२ मा विधायिकामा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाउने भनेको थियाे। बेइजिङ समर्थक सांसदहरूले प्रस्तावको पक्षमा सात लाख अनलाइन हस्ताक्षर सङ्कलन गरिएको जनाएका छन्।

झडप

तस्बिर सर्वाधिकार Getty Images

सन् २०१४ मा जस्तै हङ्‌कङको मुख्य चौबाटोमा धर्ना दिएका हजारौँ प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गर्‍यो। प्रहरी, प्रदर्शनकारी र पत्रकार गरी कैयौँ घाइते भए।

हङ्‌कङकी नेत्री क्यारी लामले हिंसा समस्याको समाधान नभएको भन्दै निन्दा गरेकी छन्।