नेपाली नागरिकहरूलाई देशनिकाला गर्दा अमेरिकाले कस्तो कारण देखाउँछ

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

संयुक्त राज्य अमेरिकाले देशनिकालामा परेका ३७ नेपाली नागरिकलाई लिएर उडेको एउटा चार्टर्ड विमान बिहीवार साँझ काठमाण्डूमा अवतरण गर्ने प्रारम्भिक जानकारी नेपालको अध्यागमन र प्रहरीलाई दिएको अधिकारीहरूले बताएका छन्।

डोनल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा पद सम्हालेयता यसअघि निष्काशित २१५ जना नेपाली स्वदेश फर्किएको अध्यागमन विभागले जनाएको छ। उनीहरूलाई निकाला गर्दा अमेरिकाले विभिन्न कारण देखाएको छ।

"देशनिकालाका क्रममा धेरैजसोको हकमा त्यहाँको अध्यागमन कानुन उल्लङ्घन गरिएको कारण उल्लेख छ," विभागका प्रवक्ता टीकाराम ढकालले बीबीसीसँग भने। "त्यसबाहेक अन्य कतिपय हककोमा त्यहाँको सवारी नियम उल्लङ्घन, यौन दुर्व्यवहार, बन्दुक बोकेर हिँडेका जस्ता अपराधका घटनामा जोडिएको पाइएको छ।"

तर प्रायजसो अध्यागमन कानुन उल्लङ्घन गरेको भनिएकाले खास कारण खुट्ट्याउन सजिलो नभएको अध्यागमन अधिकारीहरू बताउँछन्।

नेपाल ल्याइपुर्‍याइएपछि उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सामान्य सोधपुछ गरेर छाड्ने गरिएको अधिकारीहरूले बताउँछन्।

"अमेरिकाले आफ्नो नियमानुसार जति वर्षको लागि भनेर देशनिकाला गरेको भए पनि नेपालको कानुनअनुसार ती व्यक्तिले अन्य देशहरू जान, स्वतन्त्र आवागमन गर्न पाउँछन्," ढकाल भन्छन्।

निकालाको क्रम

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार सोधपुछका क्रममा नेपाल फिर्ता पठाइएका धेरैजसो मानिसहरू गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र केही ठूला फौजदारी कसुर आकर्षित नहुने आपराधिक घटनामा संलग्न भएको पाइएको छ।

"हाम्रो कानुनका भरमा प्रहरीले उनीहरूलाई हामीले पीडितको दृष्टिकोणबाट कसैले झुक्क्याएर, प्रलोभनमा पारेर, नक्कली कागजात खडा गरेर लगेका हुन् कि भन्ने रूपमा सोधपुछ गरेर छाड्छ," ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवर भन्छन्।

"हामीले उनीहरू पीडित हुन् कि भन्ने दृष्टिले सोधपुछ गर्ने गरे तापनि कसुरदार कायम गर्दा नजिककै आफन्तबाट सुरु गर्नुपर्ने भएकाले धेरैजसोले त्यसो गरेको पाइँदैन।"

नयाँ आर्थिक वर्ष सुरु भएपछि त्यस विषयमा आधा दर्जनजति मुद्दा मात्र परेको ब्यूरोले जनाएको छ।

अमेरिकाले चार्टर्ड र व्यावसायिक दुवै खालका उडानमार्फत् निष्काशित नेपालीहरूलाई काठमाण्डू पठाउने गरेको छ।

ब्यूरोका प्रवक्ता कुँवरले अमेरिकाले नेपालीहरूको एउटा समूहलाई अमेरिका नपुग्दै मध्यअमेरिकी देश पानमामै पक्राउ गरेर त्यहीँबाटै समेत नेपाल फिर्ता पठाइएको थियो।

अमेरिका र पानमाबीच रहेको समझदारीका आधारमा पानमाबाटै चार्टर्ड उडानबाट ती नेपालीलाई स्वदेश फर्काइएको त्यहाँस्थित अमेरिकी दूतावासले आफ्नो वेबसाइटमा जनाएको छ।

अमेरिकाको सरकारी तथ्याङ्कले आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म कुल ३८९ नेपाली नागरिक देशनिकालामा परेको देखाउँछ।

देशनिकालामा पर्नुका कारण

नेपाल प्रहरीले देशनिकाला भनेपछि कम्तीमा सोही देशको फौजदारी कानुनअन्तर्गत कारावासको सजाय हुनुपर्ने खालको कसुर नगरेको भन्ने रूपमा आफूहरूले बुझ्ने गरेको जनाएको छ।

"त्यो यतिखेर अमेरिकी सरकारको नीतिको विषय पनि हुन सक्छ। अमेरिकी दूतावासले हामीलाई गर्ने पत्राचारमा चाहिँ डिपोर्ट गर्नुपर्दाका कारण उल्लेख गरेको हुँदैन," ब्यूरोका प्रवक्ता कुँवर भन्छन्।

"पर्यटक भिसामा गएर विभिन्न अस्थायी बसोबासका हैसियत पाउँदै धेरै वर्ष अमेरिकामा बसेकादेखि केही न्यून सङ्ख्या डीभी परेर गएकाहरू समेत फिर्ता पठाइनेमध्येमा छन्। पीआर पाएकाहरूलाई फर्काइएको भने हाम्रो जानकारीमा छैन।"

कसुर कायम भएका घटनाका हकमा इन्टरपोलमार्फत् सुपुर्दगी गरेर नेपालमै समेत सजाय भुक्तान हुन सक्ने छ। तर घटना हालसम्म नरहेको प्रहरीले जनाएको छ।

अध्यागमन विभागले बीबीसीलाई उपलब्ध गराएका विवरणमा अमेरिकाबाट निष्काशनमा पर्नुका कारणको सूचीमा अधिकांश गैरकानुनी रूपबाट अमेरिका प्रवेश र त्यहाँ भिसाले दिएभन्दा अधिक समय बसेको उल्लेख छ।

निष्काशनमा पर्नेहरूमा अमेरिका प्रवेश गर्न अयोग्य व्यक्ति, कोही निष्कासनको आदेश पाएका व्यक्ति र गैरकानुनी आप्रवासी ठहरिएका व्यक्तिहरू पनि छन्। स्वैच्छिक रूपमा बहिर्गमन हुन खोज्ने केही नेपालीलाई समेतलाई नेपाल पठाइएको अध्यागमन विभागको विवरणमा देखिन्छ।

अमेरिकी नागरिक पनि नेपालबाट निकालामा पर्छन्

अध्यागमन विभागका अनुसार नेपालले सन् २०२५ को अगस्टसम्मको विवरणमा १६९ विदेशीलाई निष्काशन गरेको थियो। तीमध्ये नौ जना अमेरिकी नागरिक थिए।

उक्त अवधिमा सबैभन्दा धेरै १३८ जनालाई भिसा अवधिभन्दा बढ्ता बसेकामा देशनिकाला गरिएको थियो। त्यसबाहेकका कारणमा जाली राहदानी, अभद्र व्यवहार, विदेशी विनिमय छन्।

सबैभन्दा धेरै चीनका ३९ जना नागरिक निष्कासनमा परेका थिए भने त्यसपछि बाङ्ग्लादेशका ३७ र पाकिस्तानका १० जना थिए।

त्यसअघि सन् २०२४ मा कुल ५०४ जना नेपालबाट देशनिकाला गरिएकामा सबैभन्दा धेरै ४५१ जना भिसाले तोकेभन्दा अधिक समय बसेकामा त्यस्तो कारबाही भोग्नुपरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।