तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफिम, अग्नि मन्दिर र साडी अनि लगातार जनसङ्ख्या घटिरहेको भारतको पारसी समुदायबीच यस्तो साइनो
- Author, चेरीलन मोलन
- Role, बीबीसी मुम्बई
भारतको आर्थिक राजधानी मुम्बईको दक्षिणी छेउमा रहेको एउटा गल्लीमा संसारको सबैभन्दा पुरानोमध्येको एउटा जोरोआस्ट्रियन धर्मका अनुयायीप्रति समर्पित एउटा सङ्ग्रहालय छ।
फ्रामजी दादाभोय अल्पाइवाला सङ्ग्रहालयले प्राचीन पारसी समुदायको इतिहास र विरासतको दस्तावेजीकरण गरेको छ।
पारसी एउटा सानो जातीय समूह हो त्यो द्रुत गतिमा घट्दै गइरहेको छ र उनीहरू धेरै हदसम्म भारतमा बसोबास गर्छन्।
पारसीको जनसङ्ख्या कति छ?
अहिले केवल ५० देखि ६० हजारको हाराहारीमा रहेको अनुमान गरिएका पारसीहरू इस्लामिक शासकद्वारा भएको धार्मिक उत्पीडनबाट भागेका पर्सिअनहरूका सन्तान हुन् भन्ने ठानिन्छ।
भारतको आर्थिक र सांस्कृतिक संरचनामा उनीहरूको महत्त्वपूर्ण योगदानको हुँदाहुँदै पारसी समुदायबारेका धेरै कुरा मूलधारको जनसङ्ख्या र व्यापक विश्वलाई खासै थाहा छैन।
"हालै पुनर्निर्मित सङ्ग्रहालयले प्रदर्शनमा रहेका दुर्लभ ऐतिहासिक कलाकृतिमार्फत् पारसी समुदायको इतिहास, संस्कृति र परम्पराबारे खोजी गर्न मानिसहरूलाई आमन्त्रित गरेर अस्पष्टतालाई केही हदसम्म स्पष्ट पार्ने आशा राखेको छ," सङ्ग्रहालयका क्युरेटर केर्मन फटकिया भन्छन्।
यीमध्ये केही बेबिलोन, मेसोपोटामिया, सुसा र इरान जस्ता ठाउँहरूबाट ल्याइएका क्यूनिफर्म इँटा, टेराकोटाका भाँडाकुँडा, सिक्का र अन्य वस्तुहरू पनि छन्। ती सामानहरू चार हजारदेखि पाँच हजार ईसापूर्वका हुन्।
सङ्ग्रहालय कस्ता सामान छन्?
यी सामानहरू ल्याइएका ती ठाउँहरूमा कुनै बेला जोरोआस्ट्रियन इरानी राजाहरूले शासन गर्थे।
उदाहणरका लागि त्यस्ता शासकहरूमा अकेमेनिअन, पार्थिअन र ससानिअन राजवंशहरू पर्छन्।
त्यहाँ मध्य इरानको सहर याज्दबाट ल्याइएका कलाकृतिहरू छन्।
उक्त बाँझो मरुभूमिमा सातौँ शताब्दीमा अरब आक्रमणपछि इरानका अन्य क्षेत्रहरूबाट भागेर आएका जोरोआस्ट्रियनहरू ठूलो सङ्ख्यामा बसोबास गरेका थिए।
प्रदर्शनमा राखिएको उल्लेखनीय कलाकृतिमध्ये एक अकेमेनिड साम्राज्यका संस्थापक पर्सिअन राजा साइरस द ग्रेटको माटोको सिलिन्डरको प्रतिआकृति हो।
उक्त माटोको सिलिन्डरलाई "इडिक्ट अफ साइरस" वा "साइरस सिलिन्डर" पनि भनिन्छ। फटकियाका अनुसार त्यो प्राचीन संसारको सबैभन्दा महत्त्वपूर्ण खोजमध्ये एक हो।
बसाइँसराइको कथा
क्युनिफोर्म लिपिमा कुँदिएको त्यसले बेबिलोनमा साइरसले आफ्ना प्रजाहरूलाई दिएको अधिकारको रूपरेखा प्रस्तुत गर्छ।
त्यसलाई मानव अधिकारसम्बन्धी पहिलो बडापत्रको रूपमा पनि हेरिन्छ र संयुक्त राष्ट्रसङ्घमा समेत त्यसको प्रतिआकृति प्रदर्शनमा राखिएको छ।
त्यहाँ हजारौँ इरानी जोरोआस्ट्रिअनहरूको बसाइँसराइका मार्गहरू पत्ता लगाउने नक्साहरू पनि छन्।
ती नक्साहरूले उत्पीडनको डरले आफ्नो देशबाट भागेर आठौँदेखि दशौँ शताब्दीमा र पछि उन्नाइसौँ शताब्दीमा उनीहरूले कहाँबाट कसरी भारतसम्मको यात्रा तय गरेका थिए भन्ने देखाउँछन्।
उक्त सङ्ग्रहमा फर्निचर, पाण्डुलिपि, चित्रहरू र पारसी समुदायका प्रमुख व्यक्तित्वहरूका व्यक्तिचित्रहरू पनि छन्।
पारसीको अन्तिम संस्कार कसरी हुन्छ?
त्यस्ता चित्रमध्ये जगुअर ल्यान्ड रोभर र टेटली चिया जस्ता ब्रान्डहरूको स्वामित्व भएको प्रतिष्ठित टाटा समूहका संस्थापक जमशेदजी नुसेरवानजी टाटाको पनि रहेको छ।
अर्को आकर्षक खण्डमा पारसीहरूले सङ्कलन गरेका कलाकृतिहरू प्रदर्शन गरिएको छ।
ती कलाकृतिहरू १९औँ शताब्दीको प्रारम्भमा चीनसँग चिया, रेशम, कपास र विशेषगरी अफिम व्यापार गरेर पारसीहरू धनी भएपछि सङ्कलन गरिएका थिए।
त्यहाँ चीन, फ्रान्स र विश्वव्यापी व्यापारको सम्बन्धलाई झल्काउने अन्य क्षेत्रहरूका डिजाइनबाट प्रभावित परम्परागत पारसी सारीहरू पनि प्रदर्शनीमा राखिएका छन्।
सङ्ग्रहालयका दुईवटा सबैभन्दा आकर्षक प्रदर्शनीहरूमा टावर अफ साइलेन्स र पारसी अग्नि मन्दिरका प्रतिआकृतिहरू हुन्।
टावर अफ साइलेन्स वा दख्मा भनेको पारसीहरूले आफ्ना मृतक आफन्तलाई प्रकृतिमा विलिन गराउन छाड्ने स्थान हो। पारसी संस्कृतिमा मृतकलाई न गाडिन्छ न त दाहसंस्कार नै गरिन्छ।
"शरीरलाई त्यहाँ राखेपछि के हुन्छ भनेर यसले ठ्याक्कै देखाउँछ," फटाकिया भन्छन्।
वास्तविक त्यस्ता टावरहरूमा प्रवेश गर्न भने केही व्यक्तिहरूले मात्र पाउँछन्।
अग्नि मन्दिरको जीवन्त आकारको प्रतिकृति पनि उत्तिकै आकर्षक छ।
त्यसले सामान्यतया गैरपारसीहरूका लागि खासै पहुँच नभएको पवित्र स्थानको दुर्लभ झलक दिन्छ।
यसलाई मुम्बईको एउटा प्रमुख मन्दिरको झल्को दिने गरी इरानको प्राचीन पर्सिअन वास्तुकलाबाट प्रेरित भएर बनाइएको छ।
अल्पाइवाला सङ्ग्रहालय सुरुमा सन् १९५२ मा तत्कालीन बम्बईमा स्थापना भएको थियो र त्यो उक्त सहर पुरानो संस्थामध्ये एकमा पर्छ।
हालै पुनर्निर्मित उक्त संस्थामा अहिले सिसाका केसहरूमा बुझिनेगरी क्याप्सनहरूसहित विभिन्न वस्तुहरू प्रदर्शनीमा राखिएका छन्। प्रत्येक आगन्तुकलाई जानकारी दिने व्यक्तिहरूसहित अवलोकन गर्ने प्रस्ताव गरिन्छ।
"यो एउटा सानो सङ्ग्रहालय भए पनि इतिहासले भरिएको छ," फकिया भन्छन्।
"अनि, यो मुम्बई वा भारतका बासिन्दाहरूका लागि मात्र नभई विश्वभरिका पारसी समुदायबारे थप बुझ्नका लागि एउटा उत्कृष्ट स्थल हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।