तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वरिष्ठ जेनरल बर्खास्त भएपछि चिनियाँ राष्ट्रपति सीको दुर्लभ टिप्पणी
- Author, इभेट टान
- Author, स्टीभन मक्डोनल
- Role, चीन संवाददाता
- पढ्ने समय: ४ मिनेट
चीनका राष्ट्रपति सी जिन्पिङले चिनियाँ सेनाका वरिष्ठतम जेनरललाई पदबाट हटाउने गरी भएको कारबाहीबारे पहिलो पटक एउटा दुर्लभ सार्वजनिक टिप्पणी गरेका छन्।
गत महिना चीनको जनमुक्ति सेना पीएलएका वरिष्ठतम जेनरल जाङ योशिया बर्खास्त भए। उनलाई सीसँग निकट मानिन्थ्यो। उनीमाथि "अनुशासन र कानुनको गम्भीर उल्लङ्घन" गरेको आरोप लागेको थियो। चीनमा उक्त पदावलीलाई प्रायजसो भ्रष्टाचारको आरोप लगाउँदा पर्यायका रूपमा प्रयोग गरिन्छ।
मङ्गलवार एउटा भर्चूअल भाषणमा सीले गत वर्ष "अस्वाभाविक र असाधारण" रहेको भन्दै सेनाले "भ्रष्टाचारविरुद्धको सङ्घर्षमा क्रान्तिकारी परिष्कार" गरेको बताए।
राष्ट्रपति बनेदेखि नै सी जिन्पिङले भ्रष्टाचारविरुद्ध विभिन्न अभियान सञ्चालन गरेका छन्।
यद्यपि केही विश्लेषकहरूले सीको त्यस्तो अभियान आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई निस्तेज पार्ने अस्त्र भएको बताउने गरेका छन्।
मङ्गलवारको भाषणमा सीले पीएलएले "कैयौँ जोखिम र चुनौतीहरू" प्रभावकारी तरिकाले सम्बोधन गरेको अनि सेनामा भएका धेरै जनाको "गहिरो राजनीतिक शुद्धीकरण" भएको बताए।
उनले पीएलएका सैनिकहरू "पार्टीप्रति निष्ठावान्" रहेको र तिनले आफूलाई "सक्षम र विश्वसनीय" प्रमाणित गरेको बताए।
आसन्न चिनियाँ नववर्षका अवसरमा पीएलएलाई दिएको शुभकामना सन्देशमा सीले सेनाभित्र गरिएको कारबाहीबारे अर्थपूर्ण टिप्पणी गरेका हुन्। वार्षिक शुभकामना सन्देशमा सीले सन् २०२२ पछि पहिलो पटक भ्रष्टाचारबारे बोलेका हुन्।
कारबाहीमा परेका ७५ वर्षीय जाङ योशिया चिनियाँ सेनामा निकै शक्तिशाली मानिने केन्द्रीय सैन्य आयोग सीएमसीका उपाध्यक्ष थिए। सीएमसीको अध्यक्षता सी आफैँ गर्छन्।
जाङ योशियासँगै अर्का वरिष्ठ सैन्य अधिकारी जेनरल लिउ जेन्लीलाई पदबाट हटाइएको थियो।
त्यसअघि अक्टोबर २०२५ मा सीएमसीका केही सदस्यहरूसहित नौ वरिष्ठ जेनरलहरू बर्खास्त भएका थिए। त्यतिबेला सरकारी अधिकारीहरूले उनीहरूलाई भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत कारबाही गरिएको बताएका थिए।
विगत तीन वर्षमा १४ चिनियाँ जेनरलहरू या त पदमुक्त भएका वा अनुसन्धानमा परेको अभिलेखले देखाउँछ।
अहिलेका कारबाहीपछि सातसदस्यीय सीएमसीमा अब सीसहित दुई जना मात्र बाँकी छन्।
सीको टिप्पणी किन असामान्य
सीले अहिले गरेको टिप्पणी निकै असामान्य हो।
उनी कहिल्यै पत्रकार सम्मेलन गर्दैनन्। पूर्ण नियन्त्रणमा भएका चिनियाँ सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता पनि दिँदैनन्।
तर उनले बेलाबेलामा चिनियाँ जनता र विशेषतः चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूलाई आफूले गरेको काम सार्थक छ भनेर आश्वस्त पार्नुपर्छ।
वरिष्ठ सैन्य पदाधिकारीहरूमाथि भएको कारबाहीबारे बोलेर उनले सम्भवतः चिनियाँ जनता र सीपीसीका कार्यकर्ताहरूलाई अहिले सेनाको लडाइँ गर्ने र जित्ने क्षमतामा केही प्रभाव परेको हुन सक्ने भए पनि आफूसँग त्यसलाई समाधान गर्ने योजना भएको सन्देश दिन खोजेका छन्।
सीले भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई आफ्नो शासनको स्तम्भजस्तै बनाएका छन्। उनले भ्रष्टाचार चिनियाँ कम्युनिस्ट पार्टीका लागि "सबैभन्दा ठूलो जोखिम" भएको र त्यसविरुद्धको लडाइँ "निकै गम्भीर र जटिल" भएको बताउने गरेका छन्।
"पदबाट हटाउने कारबाहीसँग सम्बन्धित भाषाले आन्तरिक रूपमा के हुँदै छ भन्ने विषयमा धेरै जानकारी दिँदैन। साँच्चै भ्रष्टाचार हो कि राजनीतिक अन्तर्सङ्घर्ष, नितान्त बर्खास्ती वा अरू केही कुरा हो भन्ने स्पष्ट हुँदैन," न्याश्नल यूनिभर्सिटी अफ सिङ्गापुरका प्राध्यापक चोङ जा इअन भन्छन्।
"पदबाट बर्खास्त गर्ने कारबाहीको चर्चा प्रायजसो चिनियाँ कम्युनिस्ट पार्टीभित्रको विषयको सङ्केत हो। त्यसले भ्रष्ट बने वा सीले चाहेको कुरा, त्यो जेसुकै भए पनि, पूर्णतः पालना नगरे गम्भीर परिणाम भोग्नुपर्छ भन्ने सङ्केत गर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।