बाङ्ग्लादेश सैन्य विमान दुर्घटना: मृतकको सङ्ख्या ३१

बाङ्ग्लादेशमा सोमवार अपराह्ण राजधानी ढाकामा भएको वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुने मानिसको सङ्ख्या ३१ पुगेको अधिकारीहरूले बताएका छन्।

वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उड्नासाथ विमानमा प्राविधिक त्रुटि उत्पन्न भएको सेनाले जनाएको छ।

उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो। दुर्घटनामा परी १७० जनाभन्दा बढी घाइते भएका छन्।

बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सल्लाहकारले मृतकको सङ्ख्या बढेको मङ्गलवार बिहान पुष्टि गरेका हुन्।

अधिकांश घाइतेहरू उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी भएको बताइएको छ। दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ५० जनाभन्दा धेरैलाई अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

मृतकमध्ये विमानचालक पनि छन्।

प्रत्यक्षदर्शी के भन्छन्?

दुर्घटना हुँदा उक्त विद्यालयमा परीक्षा सञ्चालन हुँदै गरेको त्यहाँका एक विद्यार्थीले बीबीसी बाङ्ग्लालाई बताएका छन्।

"जाँच सकिएपछि म बाहिर उभिएको थिएँ। त्यसपछि मेरो आँखैअगाडि जल्दै गरेको विमान भवनमा ठोक्कियो," फरहान हसन समुद्रले भने। उनी १० कक्षाका विद्यार्थी हुन्।

उनका अनुसार परीक्षा हलभित्रै भएका उनका एक साथीको मृत्यु भयो।

अर्का एक विद्यार्थीले "आँखैअघि विमान भवनमा ठोक्किएको" देखेको बताए।

हताहत हुनेमध्ये केही अभिभावकहरू पनि भएको ठानिन्छ।

"विद्यालयको ढोकाबाहिर धेरै अभिभावकहरू उभिएका थिए, विद्यार्थीहरू पनि बाहिर निस्किँदै थिए," समुद्रले भने।

उक्त कलेजमा अध्यापन गर्ने रेजाउल इस्लामले बीबीसीलाई आफूले विमान "सोझै" भवनमा ठोक्किएको देखेको बताए।

अर्का शिक्षक मसुद तारिकले समाचारसंस्था रोएटर्सलाई आफूले विस्फोटनको आवाज सुनेको बताए। "पछाडि फर्केर हेर्दा मैले आगो र धुवाँ मात्र देखेँ। त्यहाँ धेरै अभिभावक र बच्चाहरू थिए।"

सरकार के भन्छ?

सरकारले उक्त दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ।

दिउँसो सरकारका कानुनी सल्लाहकार प्राध्यापक असिफ नजरुलले घाइतेहरूलाई भेट्न अस्पताल गएका थिए। "हामी यो घटनाका कारण निकै दुःखी छौँ। सरकारले मङ्गलवार देशभरि शोक मनाउने घोषणा गरिसकेको छ," उनले भने।

वायुसेनाले एक विज्ञप्तिमार्फत् दुर्घटनामा परेको एफ-७ जेटले जमिन छाडेलगत्तै यान्त्रिक गडबडी उत्पन्न भएको बताएको छ।

अधिकारीहरूका अनुसार विमानका पाइलटले मानिसहरूको घनत्व कम भएको ठाउँमा विमान लैजान खोजे पनि समयमै त्यसो गर्न सकेनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।