झन्डै २ दशकदेखि इरानमा रहेका नेपाली- 'अहिलेको अवस्था वनमा डढेलो लाग्दा आगो उडेर अलिअलि घर जलेजस्तो'

तस्बिर स्रोत, Reuters
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
गएको शुक्रवार बिहान करिब साढे तीन बजे थियो। इरानको तेहरानस्थित यूएईको दूतावासस्थित आवासगृहमा सुतिरहेका अर्घाखाँचीका विष्णुप्रसाद भुसालले 'ड्याङड्याङ र पटटपटट' आवाज सुने।
"त्यस्तो आवाजसँगै होहल्ला पनि भयो अनि मानिसहरू बाहिर निस्किए। म पनि बाहिर निस्किएँ," सोमवार दिउँसो उनले बीबीसीसँग ह्वाट्स्यापमार्फत् गरिएको कुराकानीमा भने।
सोमवार उनीसँग कुराकानी गर्दा पनि कहिले उनको आवाज बीचैमा कटिने र फेरि सुनिने गरिरहेको थियो।
"सुरुमा त मलाई तिहारमा पटाका पड्किएको जस्तो लाग्यो तर पछि इजरेलले यहाँ आक्रमण गरेको रहेछ भन्ने थाहा भयो," भुसालले भने।
'सुरक्षित छौँ'

तस्बिर स्रोत, Bishnu Prasad Bhusal
विगत १७ वर्षदेखि इरानमा रहेका भुसाल एक वर्षअघिसम्म त्यहाँस्थित केन्याको दूतावासमा कार्यरत थिए। उनी पेसाले 'शेफ' हुन्।
यद्यपि उनले हालसम्म अहिलेजस्तो व्यापक मात्रामा आकाशमा पटका पड्केको जस्तो आवाज सुनेका थिएनन्।
त्यसले आफूलाई 'केही अन्योल' पारेको भए पनि अझै स्थिति खासै बिग्रिएको नलागेको उनी बताउँछन्।
"सबै ठिकै थियो। राम्रो चलेको थियो। अहिले तनाव बढेको छ तर छिटै सकिन्छ भन्छन्," उनले भने।
अहिले इरानमा हवाई सेवा बन्द छ। उक्त देश छाड्न चाहनेहरूलाई पनि सहज स्थिति छैन।
यद्यपि उनले अझै पनि असुरक्षा बढ्छ भन्ने ठानेका छैनन्।
आफू ढुक्क भएर तेहरानमा रहेको बताएका उनले भने, "सबै दूतावास गए र विदेशीहरू गए भने हामी पनि निस्कनुपर्ला। अहिले त सुरक्षित छौँ।"
'वनमा डढेलो लाग्दा आगो उडेर अलिअलि घर जलेजस्तो'

तस्बिर स्रोत, Reuters
भुसालका अनुभवमा अहिले पनि इजरेलका तर्फबाट जमिनमै भने सीधै हमला भएको छैन।
यद्यपि उनी बसेको क्षेत्र दूतावासहरू रहेको सुरक्षित क्षेत्र मानिने भएकाले उनको अनुभव कति यथार्थपरक छ भन्ने प्रश्न भने रहेको छ।
उनले भने, "यहाँ माथिमाथि हानेको छ। हावामा हानेको छ। माथि रोकेको छ। अलिअलि कताकता त खस्छ नि! धेरैजसोलाई खस्न दिएको छैन।"
"वनमा डढेलो लाग्दाखेरि आगो उडेर घरहरू पनि जलाउँछन्। त्यस्तै माथि पड्काए पनि खस्छ। अलिअलि क्षति त भएको छ। डुम्मऽऽऽ आवाज आउँछ। भुइँचालो गएजस्तो त भएको छैन।"
परिवारसँग निरन्तर सम्पर्क
भुसालका दुई छोरा, एक छोरी र श्रीमती नेपालमा छन्।
एक छोरा अस्ट्रेलियामा छन् भने एक काठमाण्डूमा अध्ययनरत छन् अनि श्रीमती र छोरी चाहिँ बुटवलमा छन्।
'यस्तो अवस्थामा नेपालमा रहेका परिवारको कत्तिको याद आउँछ त?' भन्ने प्रश्नमा उनी भन्छन्, "याद त भइहाल्छ नि! तर दिनदिनै भिडिओ कल हुन्छ। खासै धेरै चिन्ता हुँदैन।"
"वर्षमा एक पटक नेपाल पनि गइन्छ। त्यस्तो धेरै चिन्ता लिनुपर्ने अवस्था छैन।"

तस्बिर स्रोत, EPA
उनी लडाइँको अवस्थाले मात्र अहिले इरानमा असहज भएको तर पहिले विभिन्न समाचारमा आएजस्तो अवस्था नरहेको बताउँछन्।
भुसालले भने, "अहिले लडाइँले गर्दा डरलाग्दो भएको हो। पहिले शान्त थियो। बहुत राम्रो देश हो। बाहिरबाहिर हल्ला धरै हुन्छ।"
"यहाँ कसैले दु:ख दिँदैन। लडाइँले मात्र अहिले केही डर पैदा गरेको छ।"
इरानमा कति छन् नेपाली?
भुसालको सम्पर्कमा तेहरानमा रहेका ११ जना नेपालीहरू छन् र उनीहरू प्राय: सबै त्यहाँका विभिन्न दूतावासमा 'शेफ' वा 'कुक'को काम गर्छन्।
"तेहरानबाहिर पनि एक जना हुनुहुन्छ भन्ने छ तर मेरो सम्पर्कमा उहाँ हुनुहुन्न," उनले भने।
इरानसमेत हेर्ने कतारस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेलका अनुसार हाल इरानमा १७ जना नेपालीहरू रहेको विवरण आएको छ।
त्यसमध्ये 'अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा' पक्राउ परेका पाँच नेपाली युवाहरू पनि छन्।
उनीहरूलाई युरोप पठाउने बहानामा "मानव तस्कर"ले इराक हुँदै इरानतर्फ पुर्याएपछि त्यहाँ अलपत्र पारेको बुझिएको नेपाली अधिकारीहरू र इराक तथा कतारस्थित गैरआवासीय नेपाली सङ्घका नेताहरूले बीबीसीलाई जानकारी दिएका छन्।
"जेलमा रहेका पाँच जना भाइहरूको पनि अदालती प्रक्रिया सकिएर उहाँहरू छुट्नुभएको हो। तर अब लडाइँले गर्दा ट्राभल डकुमेन्ट बन्ने अवस्था नहुँदा अहिले जेलमै हुनुहुन्छ," भुसालले भने।
राजदूत पौडेलले पनि अहिलेको परिस्थितिका कारण आफूले इरानमा ओहोदाको प्रमाणपत्र बुझाउन जान पनि नपाएको र जेलमा परेका नेपालीलाई तत्काल छुटाएर नेपाल पठाउने अवस्था नभएको बताए।
"हामीले इरानमा रहेका नेपालीहरूलाई सुरक्षित हुन भनेका छौँ र कुनै आपत् परेमा दूतावासमा खबर गर्नका लागि आवश्यक व्यवस्था पनि गरेका छौँ," उनले भने।
"उद्धार गर्नुपर्ने अवस्था आयो भने तत्काल उद्धार गर्नका लागि पनि दूतावास आवश्यक काम गर्छ।"
इराकमा रहेका नेपाली के भन्छन्?
इजरेल र इरानबीचको लडाइँका क्रममा ती दुई देशको बीचमा रहेको इराकमा पनि हजारौँको सङ्ख्यामा नेपालीहरू रहेका छन्।
यद्यपि उक्त देशमा औपचारिक रूपमा नेपालीहरू काम गर्न जान अहिले पनि पाउँदैनन् र वैदेशिक रोजगार विभागका अनुसार इराक "हाल रोक्का गरिएको" देशमा पर्छ।
बीबीसीले त्यहाँस्थित केही नेपालीहरूसँग कुराकानी गरेको छ।
उनीहरूका अनुसार इराकमा अमेरिकी सैन्य शिविरहरू रहेकाले कुनै पनि बेला ती शिविरहरू इरानको निसानामा पर्न सक्ने र त्यसले नेपालीलाई पनि असर पार्न सक्ने चिन्ताले धेरैलाई सताएको छ।
इराकको कुर्दिस्तानस्थित सुलेमानिया सहरमा रहेका गैरआवासीय नेपाली सङ्घ इराकका अध्यक्ष विनोद श्रेष्ठले भने, "अहिलेको अवस्थामा यहाँका स्थानीयवासीहरू पनि त्रसित रहेका छन्। समस्या के छ भने अमेरिकी बेसहरू इराकमा धेरै ठाउँमा छन्। त्यसले गर्दा त्यहाँ हमला हुँदा नेपाली पनि पर्छन् कि भन्ने छ किनभने ती बेसमा नेपालीहरू पनि काम गर्नुहुन्छ नि त!"
उनका अनुसार कुर्दिस्तानसहित इराकका अन्य स्थानमा गरेर करिब १५ हजार नेपालीहरू रहेको अनुमान छ।

तस्बिर स्रोत, Ghambhirman Shrestha
यद्यपि सरकारले प्रतिबन्ध लगाएकाले उक्त देशमा कति नेपाली छन् भन्ने यकिन विवरण कसैसँग छैन।
उनले भने, "अमेरिकी बेसहरूबाट कति सैनिकहरूलाई फिर्ता बोलाएपछि अहिले ती बेसहरूमा काम गर्ने केही नेपालीको जागिर पनि गुम्यो भन्ने सुनिएको छ। कतिलाई नेपाल पनि फर्काइएको भनिएको छ तर मैले यकिन थाहा पाउन सकेको छैन।"
कुर्दिस्तानको राजधानी अर्बिलस्थित अमेरिकी सैन्य शिविरनजिकैको कम्पनीमा सुरक्षागार्डको काम गर्ने गम्भीरमान श्रेष्ठ पनि हालसम्म डरको स्थिति नआएको बताउँछन्।
गोरखाका उनी सन् २०१२ मा त्यहाँ पुगेका उनी इरान र इजरेलबीच हवाई हमला हुँदा इराकमा पनि ड्रोनहरू खसेको खबरहरू आइरहँदा भने आफूलाई केही चिन्ता लागेको बताउँछन्।
उनले भने, "ड्यूटीमा हुँदा हामीलाई खासै केही थाहा पनि हुँदैन। मनमा भित्र डर त हुन्छ तर त्यस्तोमा खासै ध्यान जाँदैन। यो इजरेल र इराको बीचमा पर्ने भएकाले अलि सतर्क हुनुपर्ने अवस्था छ।"
"अहिलेसम्म नेपालीहरू ढुक्क भएर नै काम गरिरहेको देखिन्छ। डराएको त खासै देखिएको छैन। मैले पनि नेपाल फर्किने सोच बनाएको छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








