तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पूर्वविश्वकप विजेता वेस्ट इन्डीजसँग नेपाल पराजित
टस जितेर फिल्डिङ रोजेपछि नेपाली बलरहरूले केही बेर वेस्ट इन्डीजका ब्याटरहरूलाई आच्छु आच्छु पारे।
करण केसी र गुलशन झाको कसिलो बलिङका कारण वेस्ट इन्डीजले चार ओभर चलिरहँदा दुई विकेट गुमायो।
सन्दीप लामिछानेले १५ औँ ओभरमा अर्को विकेट लिँदा विपक्षी टोलीको स्कोर ५५ रन मात्र थियो।
त्यसपछि भने टेस्ट टोली वेस्ट इन्डीजले आफ्नो असली अनुहार देखायो र खेलमा पूर्ण रुपमा हाबी हुन थाल्यो।
फलस्वरूप जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेटअन्तर्गत ३ सय ३९ रनको ठूलो पारी खेलेको उक्त टोलीले नेपाललाई १०१ रनले सहजै पराजित गर्यो। नेपालले ४९.४ ओभरमा २३८ रन बनायो।
जितसँगै वेस्ट इन्डीजको सुपर सिक्सको यात्रा सहज बनेको छ। नेपालको सम्भावना कायमै छ, तर त्यसका लागि चुनौतीहरू थपिएका छन्।
नेपालको गज्जबको सुरुवात
नेपालले टेस्ट राष्ट्रविरुद्ध राम्रो सुरुवात गर्यो। पहिलो १० ओभर अर्थात् 'पावर प्ले' मा नेपालले विपक्षी ब्याटरहरूलाई दबाबमा राख्दै २ विकेट लिएको थियो।
प्रतियोगिताको पहिलो विकेट उच्च लयमा रहेका करण केसीले लिएका थिए। उनले १.३ ओभरमा कायल मेयर्सको विकेट लिए। भुर्तेलले मिडविकेटमा लामो दौडिएर बल समाएको प्रदर्शन निक्कै प्रशंसनीय थियो।
दोस्रो विकेट युवा बलर गुलशन झाले लिए। उनले आफ्नो ओभरको पहिलो बलमा नै जोन्सन चार्ल्सलाई आउट गरेका थिए।
त्यसपछि विपक्षी खेलाडीहरू लगातार दबाबमा परेको थिए। उनीहरूले ५ ओभरभित्र २ विकेट गुमाउँदै ९ रन मात्र जोड्न सके।
दबाबको यही वातावरणमा स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेटका रूपमा १५.३ ओभरमा ३२ रन बनाएर खेलिरहेका ओपनर ब्रेन्डन किङलाई आउट गरिदिए।
यो जिम्बाब्वेमा जारी छनौट प्रतियोगितामा उनको पहिलो विकेट थियो। किङ आउट भएपछि वेस्ट इन्डीज ५५-३ को अवस्थामा पुगेको थियो।
नेपालका गल्ती
वेस्ट इन्डीजका अनुभवी विकेटकिपर ब्याटर निकोलस पुरनको क्याच छोड्नु भने नेपालको लागि महँगो साबित हुन पुग्यो।
सत्रौँ ओभरमा स्पिनर ललितनारायण राजवंशीको बल पुरनको ब्याटमा छोएर विकेटकिपरतर्फ गएको थियो। तर नेपाली विकेटकिपर आशिफ शेखले उक्त बल समाउन सकेनन्। त्यस बेला पुरन जम्मा ३ रन बनाएर खेलिरहेका थिए।
पुरनले त्यसपछि १० चौका र ४ छक्काको मद्दतले ११५ रन जोडेर सानदार शतकीय पारी खेले। सन् २०१९ पछि उनले बनाएको यो दोस्रो उच्च एकदिवसीय शतक थियो।
त्यसपछि वेस्ट इन्डीज खेलमा पूर्ण रूपमा हाबी हुन पुग्यो र ५५-३ को खेललाई पुरन र शाइ होपको जोडीले २७१ रनसम्म बढाए। उनीहरूले तेस्रो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए।
यो जोडीलाई दीपेन्द्रसिंह ऐरीले ४४ औँ ओभरमा आएर तोडेका थिए। ऐरीले पुरनलाई उत्कृष्ट ढङ्गले 'कट एन्ड बोल्ड’ गरे।
तर कप्तान होपले रन जोड्ने क्रम जारी राखे। उनी अन्तिम ओभरसम्म क्रीजमा रहे र १३२ रनको सानदार पारी खेले। यो होपको करिअरको १५औँ एकदिवसीय शतक थियो।
साथै उनले बनाएको १३२ रन जारी प्रतियोगिताको हालसम्मको सर्वाधिक स्कोर हो।
वेस्ट इन्डिजका रोभमान पावेलले २९ रन बनाएर आउट भए। र जेसन होल्डरले अविजित १६ रन बनाएका थिए।
अन्तिम ओभरमा २ विकेट लिएका ललितनारायण राजवंशीले कुल ३ विकेट लिए भने ऐरी, लामिछाने र केसीको नाममा १/१ विकेट रह्यो।
नेपालको जबाफी ब्याटिङ
वेस्ट इन्डीजले दिएको ३४० रनको लक्ष्य नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म पाएको सर्वाधिक थियो, जसमा नेपाली खेलाडीहरूले केही उत्कृष्ट इनिङ्स खेल्दै ब्याटिङ प्रभाव देखाउन सफल भए।
विशेष गरी सातौँ विकेटका लागि आरिफ शेख र गुलशन झाको जोडीले बनाएको साझेदारी लोभलाग्दो थियो।
पाँचौँ खेलाडीका रूपमा मैदान आएका आरिफले धैर्यपूर्ण ब्याटिङ गरे र ९३ बलको सामना गर्दा ६३ रन बनाए। उनलाई साथ दिएका गुलशन झा ४२ रन बनाएर आउट भए।
सातौँ विकेटका लागि यो जोडीले ६८ रनको साझेदारी गरेका थिए।
यसअघि सुरुवातमा ओपनर कुशल भुर्तेलले अल्जारी जोसेफको तेजिलो आक्रमण रोक्न नसक्दा ५ रनमा तेस्रो ओभरमा बोल्ड भएका थिए।
त्यसपछि भीम सार्की अनावश्यक रुपमा आक्रामक खेल्न खोज्दा २ रनमै क्याच आउट हुनपुगे।
आशिफ शेखले त दुई पटक जीवनदान पाएका थिए। १२ ओभरसम्म खेलेका उनी २८ रन बनाएपछि आउट भए।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्म बनाएको उच्च स्कोर ३१० रन हो र त्यो काठमान्डूको कीर्तिपुर मैदानमा बनेको थियो।
विशाल रन पछ्याउन आएको नेपाली खेलाडीहरूले संयमित भएर खेल्दै लामो इनिङ्ग खेल्न जरुरी थियो। सोही रणनीतिअनुरूप कप्तान रोहित पौडेल खेलिरहेका थिए।
तर उनी २० औँ ओभरमा ४३ बल खेलेर ३० रनमा आउट हुन पुगे।
युवा खेलाडी कुशल मल्ल पनि धेरै बेर टिक्न सकेनन्। छक्का हान्ने धुनमा रहेका उनलाई बाउन्ड्री लाइनमा केयु कार्तीले उत्कृष्ट ढंगले क्याच लिए र उनी २ रनमै आउट भए।
अर्का खेलाडी दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भए। उनले नेपालको लागि खेलमा पहिलो छक्का प्रहार गरेका थिए।