प्रयोगशाला छोडेर वैज्ञानिकहरू किन सडकमा आइरहेका छन्

    • Author, नवीन सिंह खड्का
    • Role, पर्यावरण संवाददाता, बीबीसी विश्व सेवा

जलवायु परिवर्तनले निम्त्याउने सङ्कटसँग जुध्न कुनै कदम नचालिएको भन्दै विभिन्न तरिकाबाट प्रदर्शन गर्ने वैज्ञानिकहरूको सङ्ख्या विश्वभरि नै बढ्दै छ।

त्यस्ता प्रदर्शनमा सार्वजनिक भवनमा आफैँलाई सिक्रीले बाँधेर राख्नेदेखि सडकमा अवरोध पुर्‍याउने, सरकारी भवनका भित्तामा आफ्ना प्रतिवेदन टाँस्नेसम्मका कार्य वैज्ञानिकहरूले गरेका छन्।

उनीहरूले जलवायु सङ्कटको सन्देश अब वैज्ञानिक प्रकाशनहरूमा मात्रै सीमित हुन नसक्ने बताएका छन्।

तर केही वैज्ञानिकहरू भने जलवायु सङ्कटसँग जुध्न प्रदर्शनमार्फत् भन्दा थप वैज्ञानिक समाधान खोज्न काम गर्नुपर्ने बताउँछन्।

वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जाल 'साइन्टिस्ट रिबेलियन'ले एक वर्षभन्दा लामो समयदेखि विभिन्न देशहरूमा प्रदर्शन आयोजना गर्दै र केही देशमा प्रत्यक्ष रूपमा कदमहरू चाल्दै आएको छ। उसका अनुसार विरोधप्रदर्शनमा भाग लिनेहरूको सङ्ख्या २,००० नाघिसकेको छ।

'अन्याय भएकोमा लज्जित छु'

जर्मनीकी कोर्नेलिया हुथ २० वर्षभन्दा बढी समयदेखि सङ्क्रामक रोगको क्षेत्रमा काम गरेकी वैज्ञानिक हुन्।

उनले थुप्रै यस्ता प्रदर्शनहरूमा भाग लिइसकेकी छन्।

गत वर्ष अक्टोबरमा म्युनिखमा सडकमा प्रदर्शन गरेर सवारी आवागमनमा बाधा पुर्‍याएको भन्दै उनलाई पक्राउ गरिएको थियो। 

उनीविरुद्ध अदालतमा मुद्दा जारी छ। तर ह्युथ आफू विरोध विरोध गर्न नछोड्ने पक्षमा छिन्।

"जलवायुको सङ्कटसँग जुध्न विज्ञानले समाधान दिएको छ। तर हाम्रा सरकारहरू त्यसलाई अवलम्बन गरिरहेका छैनन्। त्यसैले हामीले सडकबाट कदम चाल्नुपरेको छ।" 

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अर्को सम्मेलन कोप-२८ यूएईमा हुँदैछ।

त्यहाँ सबै देशहरूले सन् २०१५ मा प्यारिसमा गरेको एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनमा निर्धारित जलवायु लक्ष्यबारे आफूले गरेको प्रगतिको विषयमा बोल्ने छन्।

विश्वव्यापी तापक्रम वृद्धिको औसत औद्योगिक युगपूर्वभन्दा २ डिग्री सेल्सिअस कम बनाउने र सकेसम्म १.५ डिग्रीमा ल्याउने प्रयास गर्ने उक्त सहमतिको लक्ष्य छ। वैज्ञानिकहरूले १.५ डिग्रीको औसत वृद्धिलाई सुरक्षित मानेका छन्।

त्यो लक्ष्य हासिल गर्नका लागि विश्वले सन् २०१९ बाट सन् २०३० सम्ममा ४३ प्रतिशत कार्बन उत्सर्जनलाई घटाउनुपर्छ।

तर संयुक्त राष्ट्रसङ्घले गत वर्ष गरेको मूल्याङ्कनअनुसार कार्बन उत्सर्जन घट्नुको सट्टा सन् २०१० मा भन्दा ११ प्रतिशतले बढेको देखिन्छ।

ग्लोबल साउथ (अमेरिका, एसिया र अफ्रिकाका कम विकसित देश) का लागि थप खतरा रहेको हुथ बताउँछिन्।

"त्यहाँ बस्ने मानिसहरूले हरितगृह ग्यास उत्सर्जनमा थोरै योगदान गरेका छन् तर त्यसको असर हामी जर्मनीमा बस्नेलाई भन्दा उनीहरूलाई धेरै नै बढी छ। यस्तो अन्यायका लागि म लज्जा महसुस गर्छु।"

सार्वजनिक कदम कि प्रकाशन?

केही वैज्ञानिकहरू मानिसहरू जलवायु सङ्कटबारे सचेत रहेको र यो मुद्दाको गम्भीरता बुझ्न वैज्ञानिकहरूले प्रदर्शन गर्न आवश्यक नरहेको ठान्छन्।

जेसिका जूवल प्रदर्शनमा सहभागी हुँदा वैज्ञानिकहरूको विश्वसनीयतामा प्रश्न उठ्ने ठान्छिन्।

"वैज्ञानिकहरूको भूमिका भनेको खतरा र विकल्पहरूको स्वतन्त्र रूपमा मूल्याङ्कन गर्नु हो। जलवायुसम्बन्धी कुनै कदम नचाल्ने सहितका सबै विकल्पमा जित र हार हुने भएकाले यो महत्त्वपूर्ण छ। आफ्नो विश्वसनीयता प्रत्याभूत गर्न वैज्ञानिकहरूले यो विवादमा कुनै खास राजनीतिक नेताहरूलाई सहयोग गर्नबाट जोगिनुपर्छ," उनले भनिन्।

"सङ्कटकालको सामना गर्नुपर्ने तथ्यका कारण हामीलाई यो समाधान गर्न थप विज्ञान चाहिएको कुराले पनि यसलाई अझ महत्त्वपूर्ण बनाएको छ।" 

जलवायुसम्बन्धी अर्का वैज्ञानिक जेक हाउस्फादरले गत वर्ष ट्वीट गर्दै लेखेका थिएः "जलवायु परिवर्तनसँग जुध्न समाजले प्रभावकारी रूपमा काम नगरेको भन्दै म जलवायुसम्बन्धी वैज्ञानिकहरूलाई आरोप लगाउने मूर्खतापूर्ण काम गर्थेँ। 

"तर जलवायुसम्बन्धी वैज्ञानिकहरूलाई यसको समाधानका लागि आन्दोलन गर्न र वैज्ञानिक अनुसन्धानबाट रोक्नु भनेको मूर्खताको हद हो।"

सन् २०२१ मा बीबीसीले ३१ देशमा गरेको सर्वेक्षणमा औसतमा ५६ प्रतिशत मानिसहरूले आफ्नो सरकारले जलवायु परिवर्तनलाई सम्बोधन गर्न चाँडोभन्दा चाँडो बलिया लक्ष्यहरू बनाऊन् भन्ने चाहेका थिए। 

अन्य ३४ प्रतिशतले भने आफ्नो सरकारले मध्यम दृष्टिकोण राखोस् र बिस्तारै क्रमिक रूपमा कदम चाल्दै जाओस् भन्ने चाहेका थिए।

यो पनि पढ्नुहोस्

'अति भयो'

प्रदर्शनको सहायता लिने वैज्ञानिकहरू भने विगत चार दशकमा पर्याप्त अनुसन्धानहरू भइसकेको दाबी गर्छन्। उनीहरूले छवटा आईपीसीसीका प्रतिवेदनहरूमा समाधानहरू देखाइएको भए पनि सरकारहरूले पर्याप्त कदम नचालेको बताए।

गत वर्ष प्रकाशित भएको आईपीसीसी प्रतिवेदनकी प्रमुख लेखक प्राध्यापक जुलिया स्टेन्बेर्गर हुन्। उनी प्रदर्शन गरेकै कारण पक्राउ परिन् र अहिले मुद्दा खेपिरहेकी छन्।

"त्यो प्रकाशित भएपछि मैले केही दिनभित्र थुप्रै सञ्चारमाध्यममा प्रतिक्रिया दिएँ र ४२ वटामा समाचार प्रकाशित भयो।"

"त्यसको छ महिनापछि एउटा प्रदर्शनमा म स्विट्जरल्यान्डको सडकमा २० मिनेटका लागि बसेँ अनि त्यही एउटा कदमका कारण मलाई अझै पनि सञ्चारमाध्यमहरूले प्रतिक्रिया दिन अनुरोध गरिरहन्छन्।"

"त्यसैले जलवायु सङ्कटको आवश्यकता कायम राख्न आईपीसीसीको प्रतिवेदनका लागि मैले गरेको वर्षौँको कामभन्दा सडकमा केही बेर बस्नु धेरै प्रभावकारी देखियो।"

'वैज्ञानिकहरूले कदम चाल्दा मानिसहरूले सुन्छन्'

आईपीसीसीका वैज्ञानिकहरूले आफ्नो प्रतिवेदन बाहिर ल्याउनुअघि संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनबारे काम गर्ने प्रक्रियासँग जोडिएका सरकारका प्रतिनिधि र नीतिनिर्माताहरूसँग बन्द कोठामा धेरै दिन बैठक गरे।

आफ्नो प्रतिवेदनमा भएको विषयवस्तुबारे सहमति जुटाउन उनीहरूलाई निकै समय लाग्यो।

अमेरिकामा कार्यरत पृथ्वीसम्बन्धी वैज्ञानिक रोज एब्रमोफ जतिसुकै वैज्ञानिक प्रयास गरिए पनि सरकारले आफ्नो ठाउँबाट नीति परिवर्तन खासै केही नगर्ने धारणा राख्छिन्।

पेट्रोलियम पदार्थ र कृषिव्यापारका लागि सरकारमा रहेकालाई प्रभाव पार्न खोज्ने समूहका कारण सरकारले पर्याप्त काम गर्न सकेको छैन।

दुई वर्षअघिसम्म एब्रमोफ अलास्कास्थित 'पर्माफ्रस्ट' (वर्षौँदेखि जमेर बसेको कडा खालको हिउँ) पग्लिन थालेको क्षेत्रमा शान्त रूपमा कुरा उठाउँदै आएकी थिइन्।

उनले त्यहाँ वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन कति भइरहेको छ र तापक्रम वृद्धि हुँदा माटोबाट कसरी कार्बन उत्सर्जन हुन्छ भनेर मापन गर्थिन्।

"मैले जुन दरमा नीतिमा परिवर्तन गर्न आवश्यक छ त्यसका लागि मेरो अनुसन्धानमा यथार्थपरक बाटो नै देखिनँ," उनले भनिन्।

"मलाई लाग्यो अब केही भिन्न खालको प्रयास गर्ने समय आयो।"

विगत १२ महिनामा उनी छ पटक पक्राउमा परिन्। पछिल्लो पटक मे १० तारिखमा उनी अमेरिकाको म्यासचूसिट्समा पक्राउमा परेकी थिइन्। 

त्यहाँ उनी र अन्य वैज्ञानिकहरू पेट्रोलियम पदार्थका लागि भौतिक संरचना बनाउन लगानी नगर्न माग गर्दै घण्टौँ राज्यको विधायिकी चेम्बर अगाडि प्रदर्शनमा बसेका थिए। 

गत वर्ष डिसेम्बरमा अमेरिकन जिओफिजिकल यूनियन (एजीयू) को बैठकमा वक्ताहरू मञ्चमा जानुअघि उनी र नासामा कार्यरत जलवायु परिवर्तनका वैज्ञानिक पिटर क्याल्मसले "प्रयोगशालाबाट बाहिर र सडकमा" लेखिएको ब्यानर देखाएका थिए।

"उक्त एजीयूले हामीलाई सम्मेलनबाट निष्कासन गरिदियो," उनले भनिन्।

तर त्यसबाट केही उपलब्धिहरू पनि भएको उनले बताइन्।

उनी र अन्य प्रदर्शनकारीहरूले गत वर्ष नोभेम्बरमा विलासी हवाईयात्राको विरोधमा गर्न दर्जनभन्दा बढी निजी विमानस्थलका टर्मिनलहरूमा आफूलाई सिक्रीले बाँधे।

द नेदरल्यान्ड्सस्थित स्किपोल विमानस्थलमा पनि त्यसो गरिएको थियो। सन् २०२३ को एप्रिल ४ मा उक्त विमानस्थलले निजी विमानलाई प्रतिबन्ध लगाउँदै केही योजनाहरू घोषणा गर्‍यो।

"स्किपोलले ध्वनि प्रदूषण र कार्बन डाइअक्साइड उत्सर्जन गर्ने निजी विमान र साना व्यापारिक विमानमाथि प्रतिबन्ध लगाएको छ," विमानस्थलले भनेको छ।

"वैज्ञानिकहरूले कदम चाल्दा मानिसहरूले सुन्छन्," एब्रमोफले भनिन्।

एक्वडोरमा कार्यरत कार्बनसम्बन्धी वैज्ञानिक जोर्डन एन्ड्रेस क्रुज यसमा सहमत छन्।

"हाम्रा कदमहरूले सरकारलाई दबाव दिने मात्रै होइन, तिनले सर्वसाधारण मानिसलाई जिज्ञासु पनि बनाउँछ र जलवायु सङ्कट कति गम्भीर हो भनेर बुझ्न सहयोग पुग्छ," सहर र दुर्गम पहाडहरूमा प्रदर्शन गर्ने उनले भने।

त्यस्ता कदममा एक्वडोरको राजधानी क्विटोमा पर्यावरण मन्त्रालयको भित्ता र झ्यालहरूमा जलवायु परिवर्तनसँग सम्बन्धित अनुसन्धानात्मक प्रतिवेदनहरू टाँस्नु पनि हो।

"सरकारको दोहोरो मापदण्डलाई उजागर गर्नु यसको उद्देश्य थियो: एकातिर सरकारले विश्वव्यापी मञ्चमा आफूलाई पर्यावरणमैत्रीजस्तो देखाइरहेको छ भने अर्कातिर एक्वडोरको एमजन क्षेत्रमा तेल उत्पादन वृद्धि गर्ने उद्देश्य पनि राखिरहेको छ।

"जलवायुका लागि चाल्नुपर्ने कदमका लागि हामीसँग एकदमै कम समय छ र यदि यसको ज्ञान भएका वैज्ञानिकहरूले सामान्य मानिसलाई सचेत गराएनन् र अधिकारीहरूलाई दबाव दिएनन् भने कसले गर्न सक्छ त्यो मलाई थाहा छैन।"