तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विद्युतीय सवारी साधनमा आगो लाग्ने घटना बढ्ने अवस्थाका निम्ति आफूलाई तयार पार्दै यूकेका अग्निनियन्त्रकहरू
- Author, लरेन्स कली
- Role, बीबीसी न्यूज,
- Reporting from, एसेक्स
ब्रिटेनको एसेक्सस्थित अग्निनियन्त्रण तथा आपत्कालीन उद्धार सेवाका कर्मचारीहरूले हरेक वर्ष एउटा निश्चित परिस्थितिका बारे अग्निनियन्त्रण प्रयासको विशेष अभ्यास गर्ने गर्छन्।
हालैका वर्षहरूमा त्यस्तो निश्चित परिस्थिति अन्तर्गत उचाइमा हुने आगलागी र आगलागीका बेला सामना गर्न पर्न सक्ने हानिकारक पदार्थको व्यवस्थापन जस्ता विषयहरू पर्ने गर्दथे। तर यो वर्ष तिनीहरूको तालिममा नयाँ विषय थपिएको छः त्यो हो बिजुलीबाट चल्ने सवारी साधनहरूमा हुने आगलागीको नियन्त्रण। किन होला ?
एसेक्सको अग्नि नियन्त्रण कार्यालयका स्टेसन म्यानेजर टेरि मेहर भर्खरै मात्र नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनी हानिकारक पदार्थको व्यवस्थापनका विज्ञ हुन् तर अब अहिले उनी उक्त अग्निनियन्त्रण कार्यालयका लिथिअम आयन ब्याट्रीहरूमा लाग्ने आगो व्यवस्थापन सम्बन्धी अगुवा अधिकारी हुन्।
यूकेका सडकहरूमा विद्युतीय सवारीसाधनहरू, इभी, मा हुने आगलागीका घटनाहरू दश लाखभन्दा बढी पुग्दै गर्दा उनले नयाँ जिम्मेवारी लिएका छन्। र त्यस्ता खाले आगलागीका घटनाहरूमा छिटो छिटो वृद्धि हुँदै छ।
स्टेसन म्यानेजर मेहरले इभीहरूमा हुने आगलागीको घटना विरलै हुने भए पनि त्यस्ता घटनाले परम्परागत रूपमा खनिज इन्धनबाट चल्ने सवारी साधनहरूको दाँजोमा भिन्नै खाले चुनौती खडा गर्ने बताउँछन्।
विद्युतीय सवारी साधनमा हुने आगलागीको स्रोत तिनमा जडान भएका ब्याट्रीहरू रहेछन् भने आगो निभाउन ती सम्म पुग्न धेरै गाह्रो हुन्छ। र इभीमा लागेको आगोले एकै दिशामा आगोको ठूलो ज्वाला फैलाउन सक्छ र विस्फोटन पनि गराउन सक्छ।
इभीमा लागेको आगोले हावामा विभिन्न प्रकारका हानिकारक पदार्थ फैलाउन सक्छन् भने त्यसलाई निभाउन पानीको फोहोराको प्रयोग भएको छ भने त्यस्तो बगेर जाने पानीलाई पनि विषाक्त तुल्याउन सक्छ।
मेहर भन्छन्, “ त्यस्तो अवस्थामा हामीले खोजेको परिणाम भनेको त्यो आफै निभोस् भन्ने नै हुन्छ।”
उनी भन्छन् दुर्घटनामा परेका सवारी साधनहरूलाई तह लगाउन तानेर अन्यत्र लैजाने सेवा दिने कम्पनीहरूमध्ये सबैले आगलागीमा परेका इभीहरूलाई लैजाँदैनन्।
किनकि त्यस्ता इभीको व्यवस्थापन राम्ररी गर्न सकिँदैन कि भन्ने तिनीहरूलाई चिन्ता हुन्छ कि त त्यस्ता इभीलाई तानेर लैजाने उपयुक्त उपकरण तिनीहरूसँग हुँदैन।
परम्परागत इन्धनबाट चल्ने सवारी साधन जस्तो अगाडिको भागलाई उचालेर पछाडिको पाङ्ग्राहरूलाई गुडाउँदै इभीहरूलाई लैजान सकिँदैन। इभीमा पछाडिको पाङ्ग्राहरू गुड्दा ऊर्जा पैदा हुन्छ।
त्यहाँ गत वर्ष दुर्घटनामा परेको टेस्ला कम्पनीको इभी अन्यत्र लैजानका लागि विशेष उद्धार वाहनको प्रतीक्षा गर्न प्रहरी र अग्निनियन्त्रकहरूलाई चार घण्टाभन्दा बढी समय लागेको थियो।
टेरि मेहरका अनुसार आगलागीमा परेका विद्युतीय कारहरू “त्यस्तो दुर्घटनाको दुईदेखि तीन हप्तापछि फेरि आफै“ जल्न थालेका घटनाहरू पनि देखिएको छ। जसको अर्थ त्यस्ता आगलागीमा परेका इभीहरूलाई तिनमा लागेको आगो निभाइसकिएपछि पनि अरू वाहनहरूभन्दा पर अलग्गै विशेष क्वारन्टीन गरेर समेत राख्नु पर्नेछ।
“पेट्रोल वा डिजेलबाट चल्ने कारहरूमा लागेको आगो निभाउन हामीलाई सामान्यतया ३० मिनेट जति लाग्छ” उनी भन्छन्। “तर विद्युतीय सवारी साधनमा लागेको आगो निभाउन चारदेखि पाँच घण्टा वा त्यो पनि बढी लाग्न सक्छ यदि पानीको प्रयोग गरिएको छ भने।”
“अहिले मानिसहरूले धेरै भन्दा धेरै विद्युतीय सवारी साधनहरूको प्रयोग गर्न थालेकोले हामीले पनि इभीहरूमा हुने आगलागीको घटना बढ्न सक्ने अनुमान गर्न सक्छौँ।”
तर यससँग सम्बन्धित तथ्याङ्कहरू थोरै भएकाले गर्दा त्यस्तो अवस्थाले अग्निनियन्त्रण प्रक्रियाहरूमा कस्तो प्रभाव पर्छ भनेर भन्न गाह्रो छ।
सन् २०२२/२३ मा इङ्गल्यान्डभरिका अग्निनियन्त्रण कार्यालयहरूले सवारी साधनमा आगो लागेका १९ हजार वटा घटनाहरू व्यहोरेका थिए। ती मध्ये ११, २५२ घटना दुर्घटनावश हुन पुगेका थिए।
बीबीसीले यूकेका प्रत्येक अग्निनियन्त्रण कार्यालयलाई सम्पर्क गरेर तिनीहरूले गत तीन महिनामा कति वटा इभीसँग सम्बन्धित आगलागीका घटनाको व्यवस्थापन गरेका थिए भनेर सोधेको थियो। ती मध्ये कसैले पनि पक्का विवरण दिन सकेनन् किनभने तिनीहरूले सवारीसाधनमा भएका आगलागीको विवरण सवारीसाधनले प्रयोग गर्ने इन्धनको प्रकारका आधारमा राख्ने गरेका छैनन्।
टेरि मेहरले एसेक्सको अग्निनियन्त्रण कार्यालयले लिथिअम ब्याट्रीमा भएका सबै आगलागीका घटनालाई त्यसको प्रकार अनुसार अभिलेख राख्न सुरु गरेको बताएका छन्। यसो गर्दा त्यस्ता ब्याट्रीका कारण हुन सक्ने चुनौतीलाई बुझेर भविष्यका लागि योजना बनाउन सकिने उनीहरूको विश्वास छ।
गत ग्रीष्म महिनामा शून्य उत्सर्जन सवारीसाधन मामिलाको कार्यालयले कार पार्कजस्ता साँघुरा स्थानहरूमा इभीहरूमा हुनसक्ने आगलागी नियन्त्रण गर्ने विषयमा निर्देशन पत्र तयार पारेको थियो।
उक्त दस्ताबेजका अनुसार बहु इन्धन भएको हाइब्रिड, अनि पेट्रोल वा डिजेलबाट चल्ने सवारीसाधनको दाँजोमा इभीहरूमा “विरलै मात्र आगलागी हुने” भएकाले त्यस्तो अवस्थाको “अझ राम्ररी निगरानी गरिनु आवश्यक” छ। किनभने “इभीहरू बिस्तारै पुरानो हुँदै जाँदा र धेरैभन्दा धेरै मानिसहरूले इभीहरू किन्न सक्ने बन्दै जाँदा त्यस्ता आगलागीका घटनाहरू पनि बढ्ने जोखिममा पनि वृद्धि हुँदै जान्छ।“
उक्त दस्ताबेजले कार पार्कहरूमा दुई विद्युतीय कारहरूबीचको दूरी पनि अलि फराकिलो बनाउनु पर्ने सुझाव दिएको छ। त्यसो गर्दा आगलागीमा परेको एउटा वाहनबाट अर्कोमा सजिलै आगो सर्न सक्ने सम्भावना कम हुन जान्छ।
टेरि मेहर भन्छन् बढीभन्दा बढी मानिसहरूले इभी प्रयोग गर्न थालेपछि कार पार्कहरूमा दुई इभीबीचको दूरी बढाउने विषय झन् जरुरी बन्न जानेछ।
यूकेमा अग्निनियन्त्रकहरूको पेसागत सङ्गठन फाएर ब्रिगेड्स युनियनका राष्ट्रिय अधिकारी रिकार्डो ला टोर्रे भन्छन् ब्याट्रीमा हुने आगलागी नियन्त्रण गर्ने काम “जटिल र गाह्रो” भएको बताउँछन्।
“ब्याट्रीमा लागेको चरम ताप निकाल्ने आगो निभाउने कार्य अग्निनियन्त्रकहरूका लागि निकै गाह्रो काम हो। त्यस्तो प्रत्येक घटनामा उल्लेख्य समय र साधन स्रोत लाग्छ। तर सन् २०१० देखि यता देशमा १२ हजार अग्निनियन्त्रकहरूको रोजगारी कटौती गरिएपछि अहिले हामीले दिने सेवामा गम्भीर रूपमा चाप परेको छ।”
उनी भन्छन्,”ब्याट्रीहरूको अवस्थिति, भण्डारण र तिनमा हुने आगलागीका बारेमा अनुसन्धान हुनुपर्छ र त्यसका लागि विशेष तालिमहरूका साथै उपयुक्त उपकरणहरू पनि चाहिन्छ। र हाम्रो समुदाय तथा अग्निनियन्त्रकहरूलाई सुरक्षित राख्न ब्याट्रीको निर्माण, प्रयोग र भण्डारणको विषय पनि उपयुक्त ढङ्गले नियमन गर्नु पर्छ।”
ब्रिटेनको गृह मन्त्रालयले भनेको छः “अग्निनियन्त्रण सेवाहरूसँग जनतालाई सुरक्षित राख्न आवश्यक पर्ने सबै स्रोतसाधन उपलब्ध भएको यकिन गर्न सरकार प्रतिबद्ध छ। र सन् २०२३/२४ मा तिनीहरूले २.६ अर्ब पाउन्ड प्राप्त गर्नेछन्।”
सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स लिमिटेडका प्रमुख कार्यकारी माइक हाउज भन्छन्: “सवारीसधान उद्योगका लागि सुरक्षा एक नम्बरको प्राथमिकताको विषय हो र यूकेमा बिक्री हुने सबै सवारीसाधनहरू विद्युतीय वा अन्यले देशमा यससँग सम्बन्धित सबै विद्यमान कानुनको पूर्ण पालना गर्नुपर्दछ।
“तिनमा युरोपका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक आयोग अन्तर्गत विकसित गरिएका अन्तर्राष्ट्रिय नियमहरू पनि पर्दछन्। त्यस्तो नियमले लिथिअम ब्याट्रीहरू सहित विद्युतीय सवारी साधनहरूको सुरक्षा सम्बन्धी एकरूपता सहितको प्राविधिक मापदण्ड लागु गरेको छ।”
उनी भन्छन्, “सवारीसाधन निर्माताहरूले पनि त्यस्ता सवारी साधनको आपत्कालीन सुरक्षा उपायहरूको पहिचान गर्न अग्निनियन्त्रकहरूलाई सघाउन प्राविधिक जानकारीहरू प्रदान गर्ने गर्दछन्”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।