नामिबियालाई जितेपछि नेपाल फाइनल पुग्ने आशा कायमै

त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खलामा लगातार बेहोरिरहेको हार पन्छाउँदै नेपालले शुक्रवार कीर्तिपुरमा भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ।

यो जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायमै रहेको छ।

अन्तिम ओभरमा करण केसीले उत्कृष्ट बलिङ गरेपछि नेपालको जित सम्भव भएको थियो।

नेपालले आठ विकेट गुमाएर नामिबियालाई १८१ रनको लक्ष्य दिएको थियो।

दोस्रो इनिङ्समा सात विकेट लिँदै नेपालले नामिबिया १७७ रनमा सीमित पारिदिएर खेल आफ्नो पक्षमा पार्‍यो।

नेपालले टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो।

ओपनर कुशल भुर्तेल, स्पिनर ललित नारायण राजवंशी र सन्दीप जोरालाई बेन्चमा राख्दै अनिल शाह, अविनाश बोहोरा र प्रतिश जिसीलाई खेल्न पठाइएको थियो।

नेपालको ब्याटिङ

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले २० ओभरमा १८० रन बनाएको थियो।

कुशल मल्लले सर्वाधिक ५५ रन बनाएका थिए। उनले ३७ बलमा त्यति रन बनाएका हुन्।

शुक्रवारको खेलमा प्रारम्भिक ब्याटरका रूपमा पठाइएका अनिल साहले २३ रन बनाए। उनका साथी आशिफ शेख चाहिँ एक रनमै आउट भएका थिए।

आरिफ शेखले २४ बल खेलेर ३१ रन बनाउन सके भने कप्तान रोहित पौडेलले १० रन मात्र बनाए।

गुलशन झाले २६ र दीपेन्द्रसिँह ऐरीले १६ रन बनाएका थिए।

नामिबियाका बलरहरुले खेलको अन्त्यतिर नेपाली ब्याटरहरूलाई रोक्न सफल भएका थिए।

अत्यन्त रोचक अन्त्य

दोस्रो इनिङ्सको १५ औँ ओभरमा पुग्दा खेल नामिबियाको पक्षमा गएको जस्तो देखिएको थियो। सो ओभरमा करण केसीले २३ रन दिएपछि नेपाल अप्ठ्यारोमा परेको थियो।

तर अर्को ओभरमा दीपेन्द्र सिंह ऐरीले दुई विकेट झारेपछि नेपाल पुनः खेलमा फर्कियो।

उनले ५० रन बनाएर खेलिरहेका कप्तान जेजे स्मिथ र जोन निकोल इटोनलाई आउट गरेका थिए।अर्को ओभरमा अविनाश बोहोराले जान फ्राइलिन्कलाई बोल्ड गरे।

तर १८ औँ ओभरमा ऐरीले १८ रन दिए भने १९ औँ ओभरमा बोहोराले ११ रन दिन पुगे। 

अन्तिम ओभरमा नामिबियालाई छ बलमा १२ रन बनाउनुपर्ने स्थिति बनेको थियो।

यस्तोमा बलिङ गर्न आएका करण केसीले आठ रन मात्र दिएपछि खेल नाटकीय रूपमा नेपालको पक्षमा आएको थियो।

त्रिदेशीय भीडन्त

शुक्रवारको जितसँगै नेपालको फाइनलमा पुग्ने आशा कायम रहेको छ। शनिवार नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ।

त्रिदेशीय टी-ट्वेन्टी शृङ्खलामा नेपालले सुरुका दुई खेलमा आगन्तुक टोलीहरूसँग हार बेहोरेको थियो।

यस शृङ्खलामा प्रत्येक टोलीले अरू दुई टोलीसँग दुई पटक खेल्नुपर्छ।

शुक्रवारको खेलअगाडि तीन देशमध्ये नेदरल्यान्ड्स दुवै खेल जितेर शीर्ष स्थानमा थियो भने नामिबियाले एक खेलमा जित र एक खेलमा हारसहित दोस्रो स्थानमा थियो।

नेपाल चाहिँ दुवै खेल हारेर पुछारमा थियो।

शुक्रवारको जितसँगै नेपालले एक खेलमा जित र दुईमा हार बेहोरेको छ भने नामिबियाले पनि एक खेलमा जित र दुईमा हार बेहोरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।