तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोमाञ्चक खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
नामिबियासँग हारेको भोलिपल्ट बुधवार किर्तिपुर क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल नेदरल्यान्ड्ससँग पनि पराजित भएको छ।
पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सले चार विकेट गुमाएर १८४ रन बनाएको थियो।
अन्तिम ओभरसम्म डटेर खेलेको नेपालले आठ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो।
रोमाञ्चक अन्तिम ओभर
नेपाललाई जितको लागि अन्तिम ६ बलमा १५ रनको आवश्यकता थियो।
यस्तो दबावपूर्ण स्थितिमा दीपेन्द्रसिँह ऐरीले पहिलो दुई बलमा चौका र छक्का प्रहार गरेपछि खेल रोमाञ्चक उत्कर्षमा पुग्यो।
तर तेस्रो बलमा करन केसी रन आउट हुन पुगे भने अर्को बलमा दीपेन्द्र पनि आउट हुन पुगे।
खेलमा नेपाल फेरि अचानक दबावमा आयो।
नेपाललाई जितका लागि २ बलमा ४ रनको आवश्यकता थियो।
क्रिजमा प्रतिश जिसी थिए। उनले एक बल डट खाए।
अब अन्तिम बलमा नेपाललाई जितको लागि प्रतिशले चौका हान्नै पर्थ्यो।
तर उनले १ रन मात्र जोड्न सके र नेपाल २ रनले पराजित भयो।
जित्दा जित्दैको खेल नेपालको हातबाट गुमेको जस्तो देखियो।
कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरु निराश भए।
रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक
बुधवारको खेलमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए।
पौडेलले ३६ बलमा ५० रन बनाउन सकेका थिए।
ऐरीले द्रुत गतिमा रन बनाउँदै ३४ बलमा ६३ रन बनाएका थिए।
तर अन्तिममा दुई रनले नेपालले खेल हारेको थियो।
अघिल्लो दिनकै जस्तो कथा
अघिल्लो दिनको दृश्य पनि उस्तै थियो।
नामिबियासँग नेपाल २० रनले पराजित भएको थियो ।
त्रिकोणात्मक टि-२० आई शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो।
जसलाई अन्तिम समयसम्म पछ्याएको नेपालले १८२ रन मात्र बनायो।
नेपालको बलिङ्
यसअघि नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।
नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो।
नेदरल्यान्ड्सका प्रारम्भिक ब्याटर माइकल लेभिटले राम्रो शुरुआत गर्दै अर्धशतक प्रहार गरे ।
आक्रामक ब्याटिङ गरेका उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडेपछि अरू साथीहरूले खेल अघि बढाएका थिए।
साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा अविजित ४९ रन जोडे। त्यस्तै तेजा निदमनुरुले ३१ रन बनाए।
कीर्तिपुर मैदानमा नेपाली बलरहरूमाथि हावी हुने क्रममा यी खेलाडीहरूले एकपछि अर्को बाउन्ड्री प्रहार गरेका थिए।
नेपाली कप्तान रोहित पौडेलले ७ बलरहरू नेदरल्यान्ड्स विरुद्ध प्रयोग गरेका थिए। जसमा कुशल मल्ल र करन केसीले १/१ विकेट लिनु बाहेक अन्यले विकेट लिन सकेनन्।
अघिल्लो दिन खेलेका विवेक यादव र अभिनाश बोहोरालाई बेञ्चमा राखेर प्रशिक्षक मोन्टी देशाईले ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा राखेका थिए।
त्रिदेशीय टि ट्वेन्टी खेलको लगातार दुई वटा खेल नेपालले हारेको छ।
यस सिरिजमा प्रत्येक टोलीले प्रत्येक अर्को टोलीसँग दुई पटक खेल्नुपर्नेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।