धेरै भारतीयहरू किन अस्ट्रेलियातिर आकर्षित भएका हुन्

    • Author, शर्लिन मुलान
    • Role, बीबीसी न्यूज, मुम्बई

रोहित सिंहको लबज उनकी आमाको भन्दा भिन्न छ।

उनी मेल्बर्नबाट सवारीसाधनमा झन्डै एक घण्टाको दूरीमा रहेको मर्निङ्टन पेनिन्स्यला नामको सामुद्रिक किनारमा बसोबास गर्ने दोस्रो पुस्ताका भारतीय आप्रवासी हुन्।

सन् १९९० मा अस्ट्रेलियामा बसाइँ सरेपछि उनका आमाबुवाले खोलेको 'अवनी' नामको एउटा 'बूटिक वाइनरी' अर्थात् मदिरा उद्योगमा विगत दुई वर्षदेखि उनले पनि सघाउँदै आएका छन्।

पछिल्लो दशकमा मेल्बर्नमा दक्षिण एशियाली समुदायको जनसङ्ख्या तीव्र गतिमा अकासिएको सिंहको भनाइ छ। त्यसैले उनले 'मीन पोलिचदु' नामक माछाको दक्षिण भारतीय परिकारलाई 'पिनो ग्री' नामक मदिरासँग र 'दाल मखनी' परिकारलाई 'पिनो नोआ' नामक मदिरासँग चखाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन्।

हाल संसारको सबैभन्दा ठूलो “आप्रवासी राष्ट्र”का रूपमा उदाएको अस्ट्रेलियाका सात लाख १० हजार भारतीयहरूमध्येका शेफ र रेस्टुराँ मालिकहरू यस्ता परीक्षणहरूमा सहभागी हुन्छन्।

अस्ट्रेलियाको नयाँ जनगणनाअनुसार त्यहाँ भारतीयहरूको सङ्ख्या तीव्र गतिमा बढ्दो छ। चिनियाँभन्दा भारतीयको सङ्ख्या बढेको छ र अस्ट्रेलियाका प्रवासी समुदायमध्ये जनसङ्ख्याका हिसाबले उनीहरूभन्दा अगाडि इङ्लिशहरू मात्र छन्।

भारतीय आप्रवासीको नयाँ लहरका पछाडि प्रविधि क्षेत्रमा दक्ष कामदारको उच्च माग रहेको छ।

अस्ट्रेलियामा हुर्किएका भारतीयहरूको अनुभव समेटिएको एक पुस्तकको सम्पादन गरिरहेकी पत्रकार आरती बेटीगेरीका अनुसार सन् १९६० को दशकमा आफ्ना आमाबुवा अस्ट्रेलिया सर्दा भारतीयहरू विरलै यहाँको सार्वजनिक जीवनका अङ्ग हुन्थे।

“सडकमा अर्को भारतीय भेट्नै मुस्किल हुन्थ्यो,” उनी भन्छिन्।

राजनीति गर्ने भारतीय पनि बढ्दै

आज अवस्था फेरिएको छ।

“उनीहरू रोजगारीका सबै क्षेत्रमा छन्। आफैँ व्यवसाय पनि चलाएका छन्। कोही त राजनीतिमा पनि छिरिसके।”

भर्खरै चुनिएको न्यूसाउथ वेल्स सरकारमा चार भारतीय मूलका राजनीतिकर्मी छन्।

तीमध्येका एक ड्यान्यल मूखे गत मार्चमा अस्ट्रेलियाको एउटा राज्यमा अर्थमन्त्री बन्ने पहिलो भारतीय मूलका व्यक्ति बने। विशेषत: सङ्घीय तहमा गैरयुरोपेली मूलका राजनीतिकर्मीसँगै भारतीय-अस्ट्रेलियालीहरूको प्रतिनिधित्व कम भएकाले अझै लामो यात्रा तय गर्नुपर्ने छ।

दुई देशलाई एक ठाउँमा ल्याउन 'सफ्ट पावर' (सौम्य शक्ति)को निर्यातले शक्तिशाली भूमिका निर्वाह गरेको बेटीगेरीको भनाइ छ। भारतीय मूलक हजारौँ मानिस सहभागी एउटा र्‍यालीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'मास्टरशेफ अस्ट्रेलिया', क्रिकेट र चलचित्रले दुई देशका जनतालाई जोडेको बताए।

मोदीको भ्रमणको उपलब्धि

विशेषज्ञहरूका अनुसार सन् २०१४ देखि सत्तामा रहेको मोदीको भारतीय जनता पार्टी (भाजपा) सरकारले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। सन् २०१४ को नोभेम्बरमा मोदीले गरेको अस्ट्रेलिया भ्रमण विगत तीन दशकमा कुनै भारतीय प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थियो।

यस वर्षको मे महिनामा मोदीले सिड्नी भ्रमण गर्दा दुई देशले विद्यार्थी, शिक्षाकर्मी र अन्य पेसाकर्मीका लागि भारत र अस्ट्रेलियामा भ्रमण तथा काम गर्न सहज बनाउनेगरी एक सम्झौताको घोषणा गरे।

यसै गरी गत एप्रिल महिनामा भएको अर्को सहमतिका उपलब्धिलाई अगाडि बढाउँदै एक बृहत् आर्थिक सहकार्य सम्झौता टुङ्ग्याउने प्रतिबद्धता पनि उनीहरूले दोहोर्‍याए।

“प्रधानमन्त्री र मन्त्रीहरूका बारम्बारका भेटघाटले द्विपक्षीय सम्बन्धलाई थप गहन बनाएको छ, पहिला त्यस्तो देखिएको थिएन,” कट्स इन्टरन्याश्‍नल नामक एक विश्‍वव्यापी सार्वजनिक नीति अनुसन्धान र पैरवी समूहका लागि काम गर्ने प्रदीप एस मेहता भन्छन्।

विश्‍लेषकहरूका अनुसार यो साझेदारी दुवै राष्ट्रहरूका लागि लाभदायक देखिएको छ। यी दुबै देश इन्डो-पसिफिक क्षेत्रमा चीनको प्रभुत्व नियन्त्रण गर्ने उद्देश्य रहेको चार-सदस्यीय 'क्वाड' समूहमा पनि संलग्न छन्।

उतारचढावपूर्ण विगत

भारत र अस्ट्रेलियाबीचको सम्बन्ध लाखौँ वर्ष पुरानो भएको र गोन्द्वाना नामक द्वीपले कुनै कालखण्डमा हालका यी दुई देशहरूलाई भौगोलिक रूपमै जोडेका भए पनि अस्ट्रेलियामा भारतीयको बसाइको इतिहास धेरै नै उतारचढावपूर्ण छ।

उन्नाइसौँ शताब्दीमा नै भारतबाट आएका ब्रिटिशहरूका लागि काम गर्ने श्रमिक र सेवक बनेर प्रारम्भिक चरणका भारतीय आप्रवासीहरू भित्रिएका थिए।

बीसौँ शताब्दीमा भारतीयहरूको अझ बृहत् हिस्सा अस्ट्रेलिया सर्न थाल्यो। सन् १९७३ मा गैरश्‍वेत समुदायको आप्रवसन रोक्ने वर्णभेदी कानुन खारेज भएपछि यो क्रम अझ बढ्यो।

“त्यति बेला पनि कस्तो खालका आप्रवासीहरूलाई स्वागत गर्ने भन्ने विषयमा अस्ट्रेलियाले छनोट गर्थ्यो। प्राविधिक, चिकित्सक, नर्स र शिक्षाकर्मीजस्ता दक्ष जनशक्तिले स्वागत पाउँथे, त्यो पनि अत्यन्त सानो मात्रामा,” अस्ट्रेलियाका भारतीय समुदायबारे पुस्तक लेखेका एक अनुसन्धाता जयन्त बापट भन्छन्।

सन् २००६ मा जन हावर्ड नेतृत्वको सरकारले भारतीय विद्यार्थीहरूलाई अस्ट्रेलियाको ढोका खोल्ने मात्र नभई उनीहरूलाई स्थायी बसोबासको अनुमति लिन सजिलो बनाउने नीति लिएपछि वास्तविक परिवर्तन देखियो।

“यहाँका अस्थायी आप्रवासीको ठूलो हिस्सा अझै पनि भारतीय विद्यार्थीले ‌ओगट्छन्। अध्ययन सकेपछि उनीहरूमध्ये धेरैलाई अस्ट्रेलियामै बस्न दिइन्छ,” बापट भन्छन्।

तर त्यसमा केही समस्या पनि छ। सन् २००० को दशकको अन्त्यतिर सिड्नी र मेल्बर्नका भारतीय विद्यार्थीमाथि कैयौँ घातक आक्रमण भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि प्रकाशित भएको थियो।

सयौँ भारतीय आप्रवासी सडकमा आएर प्रदर्शन गरे भने भारतीय सरकारले पनि कडा विरोध गर्‍यो। स्थितिलाई सम्बोधन गर्ने गरी अस्ट्रेलियाली सरकारले विभिन्न कदम चाल्यो। हिंसाका आक्कलझुक्कल घटना अझै पनि समाचारमा आइरहेका छन्।

आप्रवासन नीतिका समर्थकहरूका अनुसार एशियाली र विशेषत: दक्षिण एशियाली देशका प्रवासीले अस्ट्रेलियाली समाजमा अत्यावश्यक सांस्कृतिक विविधता ल्याएका छन् र अर्थतन्त्रलाई थप सबल बनाएका छन्। तर कम ज्यालामा काम गर्ने आप्रवासीले स्थानीयको जागिर खोसेको र स्रोतसाधनलाई छरेको भन्दै केही प्रतिपक्षी राजनीतिकर्मीहरूले यसको विरोध गरेका छन्।

भारतीय परम्परालाई मूलप्रवाहमा ल्याउने चाहना

भारतीय समुदायका केही मानिसहरू आफूले अस्ट्रेलियाली जनतालाई आफ्नो संस्कृति र सम्पदाबारे सिकाएर सिङ्गो अस्ट्रेलियालाई नै थप समावेशी बनाउन चाहेको बताउँछन्।

सिड्नीमा हुर्किएकी २४ वर्षकी दिव्या सक्सेना भरतनाट्यम्‌ र कत्थकजस्ता शास्त्रीय भारतीय नृत्यलाई अस्ट्रेलियामा मूलप्रवाहमा ल्याउन चाहन्छिन्।

सिड्नीमा आफूजस्ता सिर्जनात्मक सीप भएका भारतीय मूलका अस्ट्रेलियालीको सङ्ख्या बढ्दो रहेको बताउँदै उनी आफूहरू दक्षिण एशियाली समुदायबारे विद्यमान “रूढि धारणा तोड्न” र एकअर्काका व्यवसायमा सघाउन सङ्घर्षरत रहेको बताउँछिन्।

सक्सेनाले हालै भारतीय-अस्ट्रेलियाली शृङ्गार इन्फ्लुअन्सर रोवी सिंहका लागि नृत्य निर्देशन गरिन्। सिंहले आफ्नो दक्षिण एशियाली इतिहासबाट प्रभावित भई आकर्षक कला प्रस्तुत गर्ने गरेकी छन्।

“हाम्रा आमाबुवाले यहाँ शून्यबाट आफ्नो जीवन सुरु गर्नुभो। उहाँहरू स्थिर रोजगारीमा जोड दिनुहुन्थ्यो ता कि उनीहरू आफ्ना सन्तानलाई अझ राम्रो जीवन दिन सकून्। आफ्नो टाउको झुकाएर काम गर्थे र अरूजस्तै देखिन चाहान्थे। मेरो पुस्ताले यो भारी बोक्नुपरेको छैन,” सक्सेना भन्छिन्।

“हामी आफ्नो रुचिलाई पछ्याउन स्वतन्त्र छौँ र हामीमध्ये धेरै अस्ट्रेलियालाई भोलिको पुस्ताका लागि अझ स्वागतोन्मुख बनाउन चाहन्छौँ।”