प्यारिसले ओलिम्पिक्स र प्यारालिम्पिक्सका लागि कसरी तयारी गरिरहेको छ?

जुलाई २६ तारिखमा प्यारिस ओलिम्पिक्स खेलको सुरूवात हुनुअघि मङ्गलवार ग्रीसमा ओलिम्पिक टर्च बालिँदैछ।

फ्रान्स सरकारका लागि सुरक्षा मुख्य चिन्ताको विषय बनेको छ र उद्घाटन समारोहका लागि योजनाहरूबारे पुनर्विचार गरिँदैछ।

प्यारिस ओलिम्पिक र प्यारालिम्पिक खेल कहिले हुँदैछ?

ग्रीष्मकालीन ओलिम्पिक्स २६ जुलाईदेखि ११ अगस्टसम्म हुँदैछ जसमा ३२९ वटा खेल प्रतिस्पर्धामा १०,५०० खेलाडीहरूले भाग लिँदैछन्।

प्यारालिम्पिक्स २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म हुँदैछ र यसमा ५४९ खेलमा ४,४०० खेलाडीले खेल्नेछन्।

ओलिम्पिक्समा २०६ वटा देशले र १८४ देशले प्यारालिम्पिक्समा प्रतिनिधित्व गर्दैछन्।

खेलका क्रममा प्यारिसमा डेढ करोडभन्दा बढी पर्यटक आउने ठानिएको छ।

ओलिम्पिक र प्यारालिम्पिकका खेल कहाँ हुँदैछन्?

मुख्य खेलहरू प्यारिसको बाहिरी भेगमा पर्ने स्टाड ड फ्रान्समा हुनेछन्।

यद्यपि, मध्य प्यारिसमा १५ ओलिम्पिक र ११ प्यारालिम्पिक खेल हुने स्थानहरू तय गरिएका छन्। उदाहरणका लागि पोँ डियनामा साइक्लिङ खेलहरू हुनेछन् भने म्याराथनको सुरु र अन्तिम बिन्दु होटल ड भिल र लेज एँभ्यालिड हुनेछन्।

ओलिम्पिक्सको लागि फ्रान्सको सुरक्षा फौजले कसरी तयारी गरिरहेको छ?

ड्रोन हमलाको खतराजस्ता चिन्ताले सरकारले ओलिम्पिकको उद्घाटन समारोहमा दर्शकको सङ्ख्या कटौती गरेको छ।

उक्त समारोहमा राष्ट्रिय टोलीहरूलाई मध्य प्यारिसस्थित रिभर शेयनमा ६ किलोमिटर क्रुजमा परिक्रमा गराउने ठानिएको छ।

सुरुमा नदी किनारबाट करिब ६,००,००० सदस्यले अवलोकन गर्ने अनुमान गरिएको थियो।

यद्यपि अहिले भने सरकारले जम्मा ३,००,००० आमन्त्रित अतिथिहरूलाई मात्रै अनुमति हुने जनाएको छ।

राष्ट्रपति एम्यानुअल माक्रोँले यदि सुरक्षा खतरा धेरै भए उद्घाटन समारोहलाई शेयनबाट सार्न सकिने बताए।

त्यसो भए सबै खेल ल तोकादियो अथवा स्टाड ड फ्रान्समा हुनेछ।

"यहाँ प्लान बी र प्लान सी छ," राष्ट्रपति माक्रोँले भने: "हामी सँगसँगै यसको तयारी गरिरहेका छौँ र त्यस बेलाको अवस्था हेरेर निर्णय गर्छौँ।"

फ्रान्स सरकारले सुरक्षाका लागि करिब २०,००० सेना र ४०,००० प्रहरी अधिकारी खटाउँदै छ। उसलाई अन्य देशबाट पनि करिब २,००० फौज र प्रहरी अधिकारीहरूको साथ हुनेछ।

खेलमा संलग्न खेलाडी, ओलिम्पिक खेल हुने स्थान वरपर बस्ने मानिसहरू, स्वास्थ्यकर्मी र स्वयंसेवकहरू गरी १० लाख मानिसहरूको जाँच सुरक्षाकर्मीहरूले गर्नेछन्।

फ्रान्सका प्रधानमन्त्री ग्याब्रिएल आटलले सन् २०२४ को सुरुमा सन्दिग्ध इस्लामिक स्टेटका लडाकुहरूबाट दुईवटा षडयन्त्र गरिएको गुप्तचर निकायहरूले पत्ता लगाएको बताएका छन्।

"आतङ्कवादको खतरा वास्तविक छ र यो बलियो छ," उनले भने।

प्यारिस २०२४ मा रुसमाथि प्रतिबन्ध लगाइएको छ?

युक्रेनमाथि रुसले आक्रमण गरेको र त्यसमा रुसलाई बेलारूसले समर्थन गरेको भन्दै यी दुवै देशले आफ्ना टोलीहरू पठाउन पाउने छैनन्।

यी देशका प्रतिस्पर्धीहरूले केवल स्वतन्त्र खेलाडीका रूपमा मात्रै भाग लिन पाउनेछन्।

उनीहरूले उद्घाटन समारोहमा हुने परेडमा भाग लिन पाउने छैनन्। खेल जितेमा उनीहरूले आफ्नो राष्ट्रगान पनि गाउन वा राष्ट्रिय झण्डा फहराउन पाउने छैनन्।

रुसले यसलाई आफ्ना खेलाडीप्रति गरिएको व्यवहारले "आक्रोशित" पारेको बताउँदै सेप्टेम्बरमा मस्को र एकाटेरिनबर्गमा "वर्ल्ड फ्रेन्डशिप गेम्स" घोषणा गरेको छ।

गृष्मकालीन ओलिम्पिक्स बहिस्कार गरेर सोभियत सङ्घले सन् १९८४ मा त्यस्तै खेल आयोजना गरेको थियो।

राष्ट्रपति एम्यानुअल माक्रोँले प्यारिस गेम्सलाई कम देखाउन रुसले विभिन्न प्रोपोगाण्डा अभियानहरू गर्दै आएको बताएका छन्।

खेल नराम्ररी आयोजना गरिएको दाबी गर्दै त्यस्ता समाचारहरू राखेको उनले बताएका हुन्।

इजरेलमाथि प्रतिबन्ध लगाइएको छ?

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले इन्टरन्याशनल ओलिम्पिक कमिटी (आइओसी) ले इजरेललाई भने उसले गाजामा गरेको सैन्य कारबाहीका कारण उसलाई रोक नलगाएको भन्दै आलोचना गरेका छन्।

यद्यपि आइओसीका अध्यक्ष टोमस बाखले भने त्यस्तो माग अस्वीकार गर्दै इजरेलको सहभागिता रहने पुष्टि गरेका छन्।

फ्रान्समा ओलिम्पिक र प्यारालिम्पिक चर्चित छन्?

एउटा मत सर्वेक्षणले ४४ प्रतिशत प्यारिसका मानिसहरूले ओलिम्पिक्स आयोजना गर्नु "खराब भएको" र धेरैले सहर छोड्ने योजना गरेको देखाएको छ।

ओलिम्पिक्स खेलहरू हुँदा प्यारिसमा बस र मेट्रोको भाडा दोबर हुनेछ।

ओलिम्पिक र प्यारालिम्पिक भिलेज र नयाँ जलविज्ञान केन्द्र प्यारिसको उत्तरमा पर्ने शेन साँ डनीमा छ जुन फ्रान्सको गरिब क्षेत्रमध्येको एक हो।

खेल हुने नयाँ स्थान नजिकैका भवनहरूबाट सयौँ सुकुम्बासीलाई निष्कासित गरिएको भन्दै परोपकारी संस्थाहरूले उजुरी दिएका छन्।

प्यारिसमा रहेका खेल हुने ठाउँहरूमा आम मानिसलाई रोक लगाइन्छ र त्यहाँ व्यापक ट्राफिक प्रतिबन्धहरू लगाइनेछ।

खेल अवधिभर त्यतिबेला थुप्रै मेट्रो स्टेशनहरू र रेलवे स्टेशनहरू बन्द हुन्छ।

"प्यारिसको स्थिति असैह्य हुनेछ," बीबीसीसँग बोल्दै एक स्थानीय बासिन्दाले भने। "पार्क गर्न, वरपर हिँड्न र जेसुकै पनि गर्न असम्भव हुनेछ।‍"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।