पानीको अभावसँग जुझ्न 'स्टार वार्स' चलचित्रमा देखिने जस्तो प्रविधिको प्रयोग

उरभुका संस्थापकहरू गोविन्द बालाजी, स्वप्निल श्रीवास्तव र बेङ्कटेश राजा

तस्बिर स्रोत, Uravu

तस्बिरको क्याप्शन, उरभुका संस्थापकहरू गोविन्द बालाजी, स्वप्निल श्रीवास्तव र बेङ्कटेश राजा
    • Author, सुजी बेर्न
    • Role, प्रविधि संवाददाता

सन् २०१६ मा जब क्यालिकट पनि भनिने भारतीय सहर कोजिकोडमा गम्भीर खडेरी देखा पर्‍यो, परिणाम स्वरूप त्यस ठाउँका बासिन्दालाई दैनिक सीमित पानी मात्र उपलब्ध हुन्थ्यो।

जसमध्येका एक विद्यार्थी स्वप्निल श्रीवास्तवले सुनाए: “हामीसँग दैनिक दुई बाल्टिन पानी हुन्थ्यो जुन हामीले पानी ट्याङ्कीबाट सङ्कलन गर्थ्यौँ।”

भारतमा केही भागमा पानी आपूर्तिको समस्या हुनु कुनै नौलो कुरा होइन। तर त्यस भेगका श्रीवास्तव र अन्यलाई एक महिना निकै कठिन बन्यो।

“त्यस क्षेत्रमा आर्द्रता निकै थियो; त्यो असह्य थियो।”

जल सङ्कटका विषयमा श्रीवास्तवको रुचि पहिल्यैदेखि थियो।

तर आफैले अनुभव गरेपछि उनी समाधान खोज्न अग्रसर बने।

“म प्रेरित हुने एउटा तत्त्व 'स्टार वार्स'मा थियो। त्यस चलचित्रमा देखिने एउटा हावाबाट पानी बनाउने उपकरण थियो। मैले सोचेँ किन त्यसलाई वास्तविकतामा परिणत गर्न प्रयास नगर्ने? त्यो उत्सुकतासहितको परियोजना थियो।”

कैयौँ वर्षपछि सन् २०१९ मा ब्याङ्लोरमा उनी, गोविन्द बालाजी र बेङ्कटेश राजा मिलेर उरभु ल्याब्स नामको 'स्टार्टअप' निर्माण गरे।

उनीहरूको प्रणालीले वायुमण्डलमा रहेका पानीको मात्रालाई जेनरेटरहरू प्रयोग गरेर हावाबाट पानी प्राप्त गर्दछ। त्यसमा हुने तरल डेसिकेन्ट (आर्द्रता सोस्ने तत्त्व) ले हावामा हुने पानीको मात्रा सोस्छ।

सौर्यको प्रकाश वा नवीकरणीय विद्युत् प्रयोग गरेर उनीहरूले डेसिकेन्टलाई ६५ डिग्री सेल्सिअससम्म तताएर आर्द्रता निकास गर्ने काम गरे। जसलाई त्यसपछि पिउने पानीमा परिणत गर्न सकिन्छ।

श्रीवास्तव उक्त पूरा प्रक्रियाका लागि झण्डै १२ घण्टा लाग्ने बताउँछन्।

हाल त्यस्तो प्रत्येक एक उपकरणले २ हजार लिटर पिउने पानी उत्पादन गर्छ।

यद्यपि खानेपानी अभावमा परेका समुदायलाई पिउने पानी आपूर्ति गर्ने उनको सोच भए पनि त्यो आर्थिक रूपमा सम्भव नभएको उनको भनाइ छ।

“हामीले के बुझ्यौँ भने प्रविधि परिष्कृत हुन र कम खर्चिलो हुन थप समय चाहिन्छ,” श्रीवास्तवले भने।

"अथवा कसैले यसलाई आर्थिक सहायता गर्नुपर्छ, तर हामीले भारतमा त्यस्तो साथ पाएका छैनौँ।"

बरु अहिले उनीहरूले आतिथ्य सम्बन्धी उद्योगका ४० ठाउँमा पानी बेच्छन्।

“हामीले गैरनाफामुलक स्वरूपमा र व्यावसायिक सामाजिक जिम्मेवारीका रूपमा प्रयास गर्‍यौँ... तर धेरै कम्पनी प्रविधिबाट तर्किए। उनीहरूले यसले काम गर्दैनझैँ ठाने। हामीले व्यावसायिक उपभोग क्षेत्रतर्फ सार्नुपर्‍यो किनकि उनीहरू हामीलाई पैसा दिन तयार थिए र यो उनीहरूको लागि दिगोपनतर्फको उपाय थियो।”

स्थानीय रूपमा पानीको जोहो गर्न सक्दा त्यसको ओसारपसारको झन्झट हुँदैन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्थानीय रूपमा पानीको जोहो गर्न सक्दा त्यसको ओसारपसारको झन्झट हुँदैन

जल सङ्कट कुनै नयाँ कुरा होइन।

तर मुख्य रूपमा 'ग्लोबल साउथ' का देशहरूमा जलवायु परिवर्तनसँग सम्बन्धित चरम खडेरी र पानीका स्रोत प्रदूषित हुने बाढीहरू देखा परिरहेका छन्।

विश्वको आधा भन्दा बढ्ता जनसङ्ख्या अर्थात् चार अर्ब मानिसहरूले कम्तीमा एक महिना पानीको सङ्कट बेहोर्ने गर्छन्।

जबकि सन् २०२५ भित्रमा १.८ अर्ब मानिसहरू “निरपेक्ष” जल सङ्कटमा पर्ने अपेक्षा गरिएको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले जनाएको छ।

के वायुमण्डलबाट पानी निकाल्ने प्रविधि समाधान हो?

परम्परागत जल पूर्वाधारको आवश्यकता बिना पानीको ताजा स्रोत सिर्जना गर्ने यो एउटा तरिका हो। यो दुर्गम स्थानहरूका एक आकर्षक विकल्प बन्न सक्छ।।

यस प्रविधिको प्रयोगका लागि बजार बनिरहेको देखिन्छ।

सन् २०२२ मा ३.४ अर्ब अमेरिकी डलरको मूल्यमा रहेको यस प्रविधिको बजार सन् २०३२ मा १३.५ अर्ब अमेरिकी डलर बराबरको हुने ग्लोबल मार्केट इन्साइट्सको एक प्रतिवेदनले जनाएको छ।

वायुमण्डलबाट पानी निकाल्ने दुई मुख्य तरिका छन्।

पहिलो, चिसो र वास्पिकरण प्रकृयाको प्रयोग गर्न सकिन्छ जस्मा आर्द्रता भएको हावालाई चिस्याएर शीत बन्ने विन्दूसम्म पुर्याइन्छ र त्यसपछि त्यस्तो हावामा रहेको पानी वास्पीकरण प्रकृयाबाट तरल पानीमा परिणत हुन्छ।

दोस्रो, डेसिकेन्टमा आधारित प्रणाली हो जसले हाइग्रोस्कोपिक पदार्थलाई प्रयोग गरेर हावाबाट आर्द्रता सोस्छ र तातो बनाउने प्रक्रियाबाट त्यसलाई पानीमा परिणत गर्छ।

बेथ कोइगीले केन्याका सुख्खा क्षेत्रमा ४० वटा पानीका जेनेरेटर व्यवस्थापन गर्छिन्

तस्बिर स्रोत, Majik Water

तस्बिरको क्याप्शन, बेथ कोइगीले केन्याका सुख्खा क्षेत्रमा ४० वटा पानीका जेनेरेटर व्यवस्थापन गर्छिन्

आफ्नो सामाजिक उद्यम 'म्याजिक वाटर' को माध्यमबाट सहसंस्थापक र प्रमुख कार्यकारी बेथ कोइगीले केन्याका निकै कम पानी पर्ने क्षेत्रमा झण्डै ४० वटा वायुमण्डलीय जल 'जेनेरेटर' व्यवस्थापन गर्छिन्।

उनले त्यहाँ हावाबाट आर्द्रता सोस्दै 'कुलिङ एण्ड कन्डेन्सिङ' को प्रकृया अपनाउँदै त्यसो गर्छिन्।

सन् २०१७ मा कोइगीले खडेरीका बेला पानीको सङ्कट बेहोरेपछि 'म्याजिक वाटर' सुरु गर्ने प्रेरणा मिलेको बताउँछिन्।

धेरै जना नजिकैको नदीबाट पानी ल्याएर खाना पकाउने, पिउने र लुगा धुने काम गरिरहँदा कोइगीले आफूले प्रदूषित पानी पिउन नसकेको बताउँछिन्।

"त्यसले मलाई पानीलाई सधैँ उपलब्ध हुने भएकोले खासै महत्त्व नदिने गरिएको हो भन्ने लाग्यो।"

उनले पानीका अन्य स्रोतहरू खोज्न थालिन् र हावा-बाट-पानी प्रणाली विकास गर्नु अघि पानी 'फिल्टर' गर्ने कम्पनी स्थापना गरिन्।

'म्याजिक वाटर' ले गैरसरकारी संस्था र मानवीय सहायता संस्थाहरूसँग काम गर्छ र यसलाई ठूला पसलहरूमा समेत बेचिन्छ।

'म्याजिक वाटर' को सबैभन्दा ठूलो एकाइले २४ घण्टामा ५०० लिटर पानी उत्पादन गर्छ। ती विद्यालय र स-साना समुदायहरूमा जडान गरिएका छन्।

आफ्नो कम्पनीको प्रणालीको माग भए तापनि कोइगीले यसलाई स्थायी समाधानको रूपमा हेर्दिनन्।

"साँच्चिकै भन्दा मलाई यो पानीको अभावको समाधान होइन भन्ने लाग्छ," कोइगी भन्छिन्।

"यो एक अस्थायी समाधान हो ...त्यसो किन भने यो सस्तो छैन।"

ग्लोबल मार्केट इन्साइट्समा अनुसन्धान र परामर्श सम्बन्धी निर्देशक अविनाश सिंहका अनुसार यस प्रणालीका निर्माताहरू हावा-बाट-पानी उत्पादन प्रणालीहरूलाई ऊर्जाका दृष्टिले थप उपयोगी बनाउनमा केन्द्रित छन्।

"उदाहरणका लागि कम्प्रेसरहरू, ताप एक्सचेन्जरहरू र डेसिकेन्टहरूमा आविष्कारहरूमा हुने नवीनताले त्यस्ता प्रणालीहरूको ऊर्जा किफायत गर्ने क्षमतामा सुधार गरेको छ।"

सरकारी समर्थन, अनुदान, वा वातावरणीय नियमहरूले यो प्रविधिलाई थप अपनाउन सजिलो बनाउन सघाउने उनी ठान्छन्।

यस्तो पानी प्रणाली अपनाउन सघाएको एउटा अवस्था भनेको डिजिटल भुक्तानीतर्फ सरिरहेको विकास हो।

इटालीमा मुख्यालय रहेको भेरागनसँग मध्यपूर्व, एशिया, अफ्रिका र दक्षिण अमेरिकामा पानी उत्पादन एकाइहरू छन्।

"सुरुमा हामीले अफ-ग्रीड समुदायहरूसँग काम सुरु गर्‍यौँ। यो नगदमा कारोबार गर्ने समाज थियो जुन वास्तवमा व्यवहारिक थिएन ...आजकल यसलाई डिजिटलाइज्ड गरिएको छ," भेरागन ग्लोबल बिजनेस निर्देशक स्टीफन ह्वाइट भन्छन्।

"उदाहरणका लागि कम्बोडियामा धेरैतिर फोरजीको कभरेज छ र कोभिडका कारण व्यापक रूपमा ई-वालेटहरू देखा परे। त्यहाँ धेरै राम्रो निजी पूर्वाधार र साझेदारी छ - सरकार संलग्न हुनु पर्दैन र हामी निकै सस्तोमा पानी बेच्छौँ।"

उनले अबको केही महिनामा सबै एकाइ डिजिटलमा सर्ने बताउँछन्।

यद्यपि एकाइहरूको मूल्य सस्तो छैन। भेरागनका अनुसार'कुलिङ र कन्डेन्सिङ' प्रणाली प्रयोग हुने एकाइको लागत ६० हजार देखि ७० हजार अमेरिकी डलरको बीचमा पर्छ।

जबकि कोइगीका अनुसार उनीहरूको ठूलो एकाइको मूल्य १८ हजार अमेरिकी डलर पर्छ।

तर श्रीवास्तवका अनुसार सोही ठाउँको प्राकृतिक परिवेशमा पानी तयार पार्नु आर्थिक रूपमा लाभदायी छ।

किनकि पानी निकै गह्रुङ्गो हुन्छ र त्यसलाई यताउता लैजाने काम सहज हुँदैन।

भविष्यतर्फ हेर्दा उरभु ल्याब्सले भौतिक विज्ञानमा भएको प्रगतिले कसरी डेसिकेन्टको दक्षतामा सुधार गर्न सक्छ वा कसरी अतिरिक्त विभिन्न सामग्रीको प्रयोगले हावाबाट आर्द्रतालाई सोस्ने प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छ भनेर खोजिरहेको छ।

श्रीवास्तवका भनाइमा यी प्रगतिहरूले आवश्यक तापलाई ६० डिग्री सेल्सिअसबाट ४० डिग्री सेल्सिअसमा घटाउनेछ।

उनीहरूले भारत र सिङ्गापुरका डेटा सेन्टरहरूमा यस्ता एकाइहरू स्थापना गर्ने सोचेका छन्।

डेटा सेन्टरहरूले धेरै ताप निकाल्छन् जुन सामान्यतः त्यत्तिकै हराउँछ तर उरभुले यसबाट ताजा पानी निकाल्ने योजना बनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।