कालो पानी: केही चर्चित भारतीय कलाकारहरूले सेवन गर्ने यो पेय पदार्थ के हो ?

कालो पानी
    • Author, राजेश पेडागडि
    • Role, बीबीसी तेलुगु संवाददाता

भारतीय चलचित्र अभिनेत्री काजल अग्रवाल हालै मुम्बई विमानस्थलमा 'कालो रङ्गको पानी' भएको एउटा बोतलको साथमा देखा परिन्। 

पत्रकारहरूले उक्त बोतलमा रहेको पानीमा खास के विशेष छ भनेर सोधे।

उनले मुस्कुराउँदै जवाफ दिइन्, "यो पनि पिउने पानी नै हो। तपाईँ पनि एक पटक पिएर हेर्नुस्। तपाईँलाई समेत राम्रो लाग्नेछ।" 

उनले कैयौँ दिनदेखि त्यस्तो 'कालो पानी' पिइरहेको बताइन्। 

केही दिन पहिले श्रुति हासनले समेत सामाजिक सञ्जालमा आफूले 'कालो पानी' पिइरहेको देखाएकी थिइन्। 

उनको एउटा भिडिओमा एउटा गिलासमा 'कालो पानी' देखिएको थियो। 

श्रुतिले उक्त भिडिओमा भनेकी थिइन्, "मैले पहिलोपटक 'कालो पानी' को बारेमा सुन्दा त्यो नयाँ कुरा लाग्यो। खासमा यो कुनै 'कालो पानी' होइन। यो क्षारिय (अल्कलाइन) पानी हो। स्वादमा यो सामान्य पानीझैँ नै लाग्छ।"

यसअघि समेत मलाइका अरोडा, उर्वशी रौतेला र अन्य कैयौँ कलाकारहरूले यस्तो पानीको प्रयोग गरिरहेको खबर सार्वजनिक भएको थियो। 

'कालो पानी'मा के हुन्छ?

हाम्रो शरीरको ७० प्रतिशत पानीले बनेको हुन्छ। जसले गर्दा शरीरको सबै हिस्सामा पानी पुग्दै तिनले राम्ररी काम गरून् भन्नका लागि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ। 

हाम्रो शरीरबाट खराब कुराहरू बाहिर निकाल्नका लागि समेत पानी सहयोगी हुन्छ। 

त्यसैगरी यसले शरीरमा उचित तापमान कायम गर्दै शरीरको विभिन्न भागमा खनिज-नूनको मात्रा पुर्‍याउन सघाउँछ। 

पाचन प्रणाली प्रभावकारी बनाउनमा समेत पानीको भूमिका अहम् छ। 

कालो पानी

तस्बिर स्रोत, Evocus

'कालो पानी' बेच्ने कम्पनीहरूका अनुसार उनीहरूका उत्पादनमा ७० प्रतिशतभन्दा धेरै खनिज तत्त्व मिसाइएको हुन्छ।

'कालो पानी' मा म्याग्नेसियम र क्याल्सियमजस्ता तत्त्व हुनेगर्छन्। 

उत्पादनकर्ता कम्पनीहरूका अनुसार त्यसको मात्राको अनुपात भने फरक-फरक हुनसक्छ। 

कम्पनीहरूको दाबी अनुसार 'कालो पानी' ले पाचन प्रक्रियालाई तीव्र पार्छ, अम्लीय तत्त्वको उत्पादन कम गर्छ र प्रतिरक्षा प्रणाली बढाउँछ। 

साधारण पानी र कालो पानीमा के फरक छ?

पोषणसम्बन्धी विज्ञ डा रुथ जयशीला भन्छिन्, "हामीले सामान्य रूपमा पिउने पानीमा केही खनिज तत्त्वहरू केही कम मात्रामा हुन्छन्। ती खनिज पदार्थ हाम्रो शरीरका लागि अत्यावश्यक छन्। केही अवस्थामा तिनको कमी हुने अवस्थाले गर्दा मानिसहरू बिरामी पर्न सक्छन्।" 

"आरओ फिल्टरको पानीमा पीएचको स्तर कम हुन्छ। त्यसैगरी यसमा अम्लीयपन धेरै हुन्छ। जसले गर्दा कहिलेकाहीँ शरीरलाई आरओ पानीले गर्दा असहजता सिर्जना हुनसक्छ। फलस्वरूप हामीले कहिलेकाहीँ भिटामिन र अतिरिक्त रूपमा पोषणतत्त्व लिनुपर्ने हुन्छ। यस्ता व्यक्तिहरूका लागि 'कालो पानी' केही हदसम्म सहयोगी हुन सक्छ। तर हामीले बुझ्नुपर्ने कुरा के पनि हो भने यी कुराहरूको तुलनामा प्राकृतिक विकल्प सधैँ धेरै फलदायी हुन्छ।"

तरल रूपमा हुने खाद्य पदार्थहरूमा अम्लीयपन र क्षारिय तत्त्वलाई पीएचले मापन गरिन्छ। जसलाई शून्यदेखि १४ अङ्कको स्केलमा मापन गरिन्छ। 

यदि कुनै पानीको पीएच तह १ छ भने त्यो निकै अम्लीय भएको ठानिन्छ। त्यसैगरी पीएच तह १३ छ भने त्यसको क्षारिय तत्त्व धेरै भएको ठानिन्छ। 

कालो पानी

तस्बिर स्रोत, Getty Images

सामान्य रूपमा हामीले जस्तो पानी पिउँछौँ त्यसको पीएच तह ६ देखि ७ को बिचमा रहनेगर्छ। 

यद्यपि अल्कलाइन पानीको पीएच तह ७ भन्दा अधिक हुन्छ। 

जसको अर्थ सामान्य रूपमा पिइने पानीको तुलनामा 'कालो पानी' अधिक क्षारिय हुन्छ। 

डा रुथ जयशीला थप्छिन्, "यद्यपि हामीले अल्कलाइन पानीमा पीएचको स्तर धेरै भएकाले मात्र त्यो फाइदाजनक हुने भन्न सक्दैनौँ। त्यो पानीमा रहेको खनिजमा निर्भर रहन्छ। त्यसैगरी ती खनिजहरू शरीरको विभिन्न हिस्सामा कसरी पुगिरहेका छन् भन्नेले समेत अर्थ राख्छ।"

'कालो पानी' ले कसलाई फाइदा गर्छ?

अध्ययनहरूका अनुसार कुनै खास प्रकारका स्वास्थ्य समस्याहरू हुनेका लागि अल्कलाइन पानीले फाइदा गर्छ। 

उदाहरणका लागि पेप्सिन नामको एक इन्जाइमले गर्दा पेटमा अम्लीयपन महसुस हुन्छ। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिटामिन डीको कमी: लक्षण के-के हुन् र कसरी बच्ने

अमेरिकी न्याश्नल लाइब्रेरी अफ मेडिसिनको एक अध्ययनका अनुसार अल्कलाइन मिनरल पानीको पीएच यदि ८.८ भएमा त्यसले उक्त इन्जाइमको प्रभावलाई कम गर्न सकिन्छ। 

त्यसैगरी जापानको ओसाका युनिभर्सिटीको ग्रेजुएट स्कुल अफ मेडिसिनका विशेषज्ञहरूको सन् २०१८ मा एक अध्ययनले थाहा पाए अनुसार अल्कलाइन इलेक्ट्रोलाइज्ड पानीले पाचन क्षमता सुधार गर्न र कब्जियतबाट पर रहन मद्दत गर्ने जनाएको छ। 

अमेरिकाको टमस जेफरसन युनिभर्सिटीका विशेषज्ञहरूका अनुसार साधारण पानीको तुलनामा अधिक पीएच तह हुने अल्कलाइन पानीले रक्त प्रवाहलाई राम्रो बनाउँछ। 

मेडिकल न्यूज वेबसाइट 'द हेल्थलाइन' का अनुसार माथि उल्लेख गरिएका तीनवटा अध्ययनमा तिनको तह निकै सीमित रहेको र त्यस्ता दाबी पुष्टिको लागि व्यापक सोधको आवश्यकता पर्ने बताइएको छ। 

'कालो पानी' के हो?

'ब्ल्याक वाटर'लाई अल्कलाइन पानी वा अल्कलाइन आयोनाइज्ड वाटर समेत भनिन्छ। 

कालो पानी

तस्बिर स्रोत, CHOKSAWATDIKORN / SCIENCE PHOTO LIBRARY

एभिडेन्स बेस्ड कम्प्लिमेन्ट्री एण्ड अल्टर्नेटिभ मेडिसिन ईबीसीएएम नामक मेडिकल जर्नलका अनुसार जीम र शारीरिक अभ्यासपछि शरीरबाट धेरै पसिना बगेमा 'कालो पानी' को प्रयोगले केही सहायता दिन सक्छ।

खासमा त्यसले इलेक्ट्रोलाइट्सको आपुर्ति बढाउँछ।

ईबीसीएएमका अनुसार प्रयोगशालामा मुसाहरूमाथि गरिएका परीक्षणपछि थाहा भए अनुसार अल्कलाइन पानीले शरीरको उपयुक्त तौल कायम राख्न सघाउँछ। यसले शरीरमा मेटाबोलिजम्‌को प्रक्रियालाई समेत तीव्रता दिन्छ। 

त्यसैगरी केही कम्पनीहरूले आफ्ना विज्ञापनमा दाबी गरे अनुसार पीएचको तह ७ भन्दा माथि हुने अल्कलाइन पानीले शरीरमा बढ्दो उमेरका सङ्केतलाई कम देखाउँछ। 

यद्यपि ईबीसीएएमको रिपोर्टमा शोधकर्ताहरूले ती दाबीको पछाडि कुनै वैज्ञानिक प्रमाणहरू नरहेको जनाएका छन्। 

खराब असर समेत

फिनल्यान्डको युनिभर्सिटी अफ तुर्कुका एकजना प्राध्यापक मरिना मर्नले गरेको एक अध्ययनका अनुसार 'कालो पानी'को अत्यधिक प्रयोगले बान्ता हुने समस्या सिर्जना हुन सक्छ। 

त्यसैगरी शरीरभित्र रहने तरल पदार्थको पीएच स्तरमा समेत त्यसले बदलाव ल्याउन सक्ने जोखिम रहन्छ। 

एकजना पोषणविज्ञ नीता दिलीपले खनिज तत्त्वहरूको अधिक प्रयोग स्वास्थ्यको लागि ठिक नहुने बताउँछिन्। 

उनी भन्छिन्, "खनिज तत्त्व स्वास्थ्यका लागि राम्रो मानिन्छ तर यसको अत्यधिक प्रयोग शरीरका लागि विषाक्त बन्न सक्छ। यसको कमीले समेत रोगहरू निम्तन सक्छ।"

"क्याल्सियमको अधिक मात्रा लिँदा हाइपरक्याल्सियम हुनसक्छ। त्यसैगरी खनिज तत्त्व धेरै हुँदा हेमोक्रोमेटोसिस हुनसक्छ। जसले गर्दा कुनै पनि खनिज तत्त्व हामीले आवश्यक मात्रामा मात्र लिनु जरुरी छ। मात्रा धेरै हुँदा त्यो घातक हुनसक्छ।"

नीता दिलीप भन्छिन्, "सेलिब्रिटीहरूले यसको प्रयोग गरिरहेको कुरा सत्य हो। उनीहरूसँग स्वास्थ्य विज्ञ तथा पोषण विज्ञको टोली समेत हुन्छ। त्यसैले कसैले त्यो प्रयोग गरिरहेको छ भन्दैमा हामीले समेत त्यसै गर्नुपर्छ भन्ने छैन। हरेक व्यक्तिको शरीर भिन्न हुने कुरा हामीले हेक्का राख्नुपर्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, योगको महत्त्व के छ र किन हामीले योग गर्नुपर्छ ?