आईसीसी टी२० विश्वकपमा नेपाल बाङ्ग्लादेशसँग पराजित

नेपाल क्रिकेट
    • Author, निरञ्जन राजवंशी
    • Role, सेन्ट भिन्सेन्ट, वेस्ट इन्डिज

टी-२० विश्वकप अन्तर्गत लीगको अन्तिम खेलमा नेपालले निकै राम्रो बलिङ गरे पनि खेल भने जित्न सकेन।

बाङ्ग्लादेशलाई पराजित गरी टेस्ट राष्ट्रलाई हराउने अर्को मौकाको रूपमा रहेको खेलमा १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा सीमित हुन पुग्यो।

योसँगै नेपालको अमेरिका/वेस्ट इन्डिज विश्वकप यात्रा १ अङ्क लिएर टुङ्गिएको छ।

द नेदरल्यान्डस्, दक्षिण अफ्रिका र बाङ्ग्लादेशसँग पराजित भएको नेपालले वर्षाले रद्द भएको श्रीलङ्काविरुद्धको खेलबाट १ अङ्क पाएको थियो।

विश्वकपको सुरुआतदेखि नै नेपाली कप्तान रोहित पौडेलले टेस्ट राष्ट्रलाई पराजित गर्ने लक्ष्य रहेको बताउँदै आएका थिए।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल जितको नजिक पुगेर पनि एक रनले पराजित हुँदा त्यो सपना अधुरो हुन पुगेको थियो।

बाङ्ग्लादेशसँगको खेलमा पनि नेपालको त्यो सपना अधुरो नै भयो।

जारी विश्वकपमा टेस्ट राष्ट्रलाई हराउने अमेरिका र क्यानडा मात्रै भए। अमेरिकाले पाकिस्तानलाई र क्यानडाले आयरल्यान्डलाई पराजित गरेका थिए।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै बाङ्ग्लादेशलाई १९.३ ओभरमा १०६ रनमा अलआउट गरेको थियो।

त्यसको जबाफमा टोली १९.२ ओभरमा अल आउट हुँदै ८५ रनमा सीमित हुन पुग्यो।

सङ्घर्षपूर्ण ब्याटिङ

क्रिकेट

लक्ष्य पछ्याउन आएको नेपालले निकै सङ्घर्ष चुनौतीको सामना गर्नुपर्‍यो। ६ ओभरभित्र चार विकेट गुमाएपछि नेपाल निकै दबाबमा आएको थियो।

तेस्रो ओभरमा तीन बलको बीचमा नेपालले दुई विकेट गुमाउन पुगेको थियो।

त्यतिबेला तेस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेल (४ रन) र चौथो बलमा अनिल शाह (० रन)मा आउट भएका थिए।

पाँचौँ ओभरमा रोहित पौडेल एक रन बनाएर आउट हुन पुगे भने छैटौँ ओभरमा आशिफ शेख पनि १७ रन बनाएर बाहिरिए।

लगत्तै सन्दीप जोरा पनि एक रन बनाएर आउट भएपछि नेपालको स्थिति खराब भएको थियो।

अर्ध शतकको साझेदारी

तर दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले छैटौँ विकेटको लागि ५२ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालको खेलमा केही सुधार भएको थियो।

कुशलले ४० बलमा २७ रन बनाएर आउट हुँदा नेपालको स्कोर ७८ पुगेको थियो।

उनले १६औँ ओभरमा मोहम्मदुल्लाबाट १२ रन लिएका थिए। सो ओभरमा उनले एक छक्का र एक चौका प्रहार गरेका थिए। अर्को एन्डमा रहेका दीपेन्द्र ऐरीले त्यसपछि इनिङ्स सम्हालेका थिए।

तर तीन बलमा तीन विकेट गएपछि नेपालको इनिङ्स धरासायी भयो।

उन्नाइसौँ ओभरको अन्तिम बलमा दीपेन्द्र २५ रन र अर्को ओभरको पहिलो बलमा सोमपाल कामी तथा दोस्रो बलमा अविनाश बोहरा आउट भएपछि नेपालको इनिङ्स समाप्त भयो।

क्रिकेट

बलिङ कस्तो थियो?

पहिलो फिल्डिङ गर्ने निर्णयलाई सही साबित गर्दै नेपालले बाङ्ग्लादेशको एकपछि अर्को विकेट लिएको थियो।

सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए।

बाङ्ग्लादेशका ओपनर तन्जिम हसनले गरेको प्रहार सोमपाल आफैँले समातेपछि आर्नोस भेल रङ्गशालामा उपस्थित नेपाली समर्थकहरूले सुरुदेखि रोमाञ्चित हुने अवसर पाए।

उक्त ओभरको अन्तिम बलमा सोमपालले लिट्टन दासलाई एलबीडब्लूको धरापमा पारेका थिए। तर बाङ्ग्लादेशले ‘रिभ्यू’ लिएपछि लिट्टन जोगिन पुगे।

तर दोस्रो ओभरमा दीपेन्द्र सिंह ऐरीले कप्तान नजमिल हुसैन सान्टोलाई बोल्ड गर्दै विकेट लिने क्रम जारी राखे।

चौथो ओभरमा सोमपालले नै लिट्टनलाई आउट गरे। स्विप शट् खेल्ने धुनमा बलमाथि उठेपछि विकेट किपर आशिफ शेखले सहजै त्यो बल समातेका थिए।

लगातार विकेट गएपछि बाङ्ग्लादेशका खेलाडिहरू दबावमा परेका थिए।

कप्तान रोहित पौडेलको प्रदर्शन कस्तो रह्‍यो?

नेपाल क्रिकेट

नेपालले सोमवार पनि स्पीनरहरूलाई नै प्रयोगमा ल्याएको थियो।

त्यस क्रममा बलिङ गर्न आएका कामचलाउ अफ स्पीनर कप्तान रोहित पौडेलले छैटौँ ओभरमा विकेट लिन सफल भए।

तोहिद हरिदोयले रोहितलाई स्विप शट् खेल्न खोज्दा ‘टप एज’लागेर बल माथि उडेको थियो। त्यसलाई सन्दीप लामिछानेले क्याच लिए।

लामिछानेले अर्का खेलाडी मोहम्मदुल्लाहलाई रन आउट गर्ने काम पनि गरे।

नवौँ ओभरको अन्तिम बलमा सन्दीपले फ्यालेको बलमा गुलशन झा र सन्दीपले सानदार फिल्डिङ गर्दै रन आउट बनाएका थिए।

त्यस बेला बाङ्ग्लादेश ५७-५ को खराब स्थितिमा पुगिसकेको थियो।

कप्तान रोहित पौडेलले ११.४ ओभरमा बाङ्ग्लादेशका मुख्य खेलाडी सकिव अल हसनलाई एलबीडब्लूको सिकार बनाउन सफल भए। सत्र रन बनाएर इनिङ्स सम्हालिरहेका सकिवले पनि ‘रिभ्यू’ लिएका थिए। तर सफल हुन सकेनन्। नेपाल ६४ -६ को बलियो स्थितिमा पुग्यो।

रोमाञ्चक मोड

नेपाल क्रिकेट

चौध ओभरको पहिलो दुई बलको खेल निकै रोमाञ्चक रह्यो।

पहिलो बलमा सन्दीप लामिछानेले तन्जिम हसन सकिवलाई एलबीडब्लू आउट गरेका थिए। तर रिभ्यूले फेरि एकपटक निर्णय बदल्दै नट आउट भयो।

तर त्यो जीवनदान सकिवलाई फाइदा भएन। त्यसको दोस्रो बलमा सन्दीप लामिछानेले उनलाई बोल्ड गरिदिए। योसँगै उनले टी-२०आईमा १०० विकेटको कीर्तिमान पनि बनाए।

खेलको अन्तिम ओभरको तेस्रो बलमा सन्दीपले मुस्तफिर रहमानलाई रन आउट गरेपछि बाङ्ग्लादेश १०६ रनमा समेटिन पुग्यो।

नेपाली टोलीमा परिवर्तन

बाङ्ग्लादेशसँगको खेलमा करण केसीलाई बेञ्चमा राख्दै उनको स्थानमा सन्दीप जोरालाई पहिलो ११ मा राखिएको छ। जारी विश्वकपमा जोराको यो पहिलो खेल हो।

योसँगै विश्वकपमा ललित नारायण राजवंशी र कमल सिंह ऐरीले खेल्ने मौका पाएनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।