बाङ्ग्लादेशविरुद्ध खेल्नुअघि दक्षिण अफ्रिकासँग एक रनले हारेको 'पीडा'बाट नेपाल कति मुक्त

- Author, निरञ्जन राजवंशी
- Role, सेन्ट भिन्सेन्ट, वेस्ट इन्डिज
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजय भुल्न सकेका छैनन्। तर त्यो पीडामा रुमल्लिइरहने समय भने खेलाडीहरूसँग छैन।
नेपाली समयअनुसार सोमवार बिहान सवा पाँच बजे बाङ्ग्लादेशसँग अर्को खेलको लागि नेपाली टोली तयार हुनुछ।
अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रबाट पाइरहेको प्रशंसा र हारको पीडाबीचमा रहेका खेलाडीहरू मानसिक रूपमा थकित देखिएका छन्। जसकै कारण उनीहरू आइतबारको नियमित अभ्यासमा सहभागी भएनन्।
आईसीसीको तालिका अनुसार नेपालको अभ्यास आर्नोस भाले रङ्गशालामा दिउँसो एक बजे देखि चार बजेसम्म थियो।
तर बाङ्ग्लादेशसँगको खेलमा नेपाललाई गुमाउनु केही छैन।
नेपाली क्रिकेट कप्तान रोहित पौडेलले भनेजस्तै सो खेल 'प्रतिष्ठा'का लागि हुनेछ। घर फर्किनु अगाडि अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा एउटा छाप छाड्नेगरी 'स्मरणीय' खेल पस्किनु हुनेछ।
प्रशिक्षक मोन्टी देशाईले पनि नेपालको विश्वकप यात्रा सुखद तरिकाले अन्त्य गर्न चाहेको धारणा खेल अगाडिको पत्रकार सम्मेलनमा व्यक्त गरेका छन्।
भावुक देशाई

तस्बिर स्रोत, ICC T20 World Cup/Facebook
पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देशाई भावुक देखिएका थिए। उनले भने, “म अझै पनि हिजोको हारबाट बाहिर निस्किन सकेको छैन।”
दक्षिण अफ्रिकासँगको खेलबाट खेलाडीहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा छाप छोड्न सकेकोमा आफू गौरवान्वित रहेको बताउँदै उनले थपे, “नेपाली खेलाडीहरूले साबित गरिदिएका छन् कि उनीहरू उच्च तहको क्रिकेट खेल्न सक्षम छन्।”
पत्रकार सम्मेलनमा एकजना पत्रकारले नेपालले अबको १० वर्षमा उच्च तहमा पुग्न सक्छ भन्ने भनाइबारे प्रश्न गरेका थिए।
त्यसमा मोन्टीको उत्तर थियो, “हामीले धेरै योजना बनाएका छौँ। र त्यो सबै योजना प्रयोगमा आयो भने दश वर्षसम्म किन पर्खिनु? नेपालले चार-पाँच वर्षमै माथिल्लो तहको क्रिकेट खेल्नेछ।”
बाङ्ग्लादेशलाई कस्तो दबाब
समूह चरणबाट नै बाहिरिइसकेको हुनाले नेपाललाई बाङ्ग्लादेशसँगको खेलमा यसअघिको जस्तो दबाब छैन।
तर त्यसको ठिक विपरीत समूह ‘डी’ बाट दोस्रो चरणमा पुग्नका लागि बाङ्ग्लादेश दबाबमा रहनेछ।
यदि बाङ्ग्लादेशले नेपाललाई पराजित गरेमा उक्त टोली सोझै सुपर आठमा प्रवेश गर्नेछ।
तर पराजित भएमा भने समूहको अर्को अर्थात् नेदरल्यान्ड्स र श्रीलङ्का बीचको खेलको नतिजा पर्खिनुपर्ने छ।
नेदरल्यान्ड्सले निकै ठूलो रन रेटमा पराजित गर्न सके डच टोली दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ।
तर बाङ्ग्लादेशको प्रयास नेपालमाथि विजय पाउँदै सीधै दोस्रो चरणमा पुग्नु हुनेछ।

तस्बिर स्रोत, @BCBtigers/X
पत्रकार सम्मेलनमा उपस्थित बाङ्ग्लादेशका बलर तन्गिम सकिबले टोलीले आक्रामक खेल प्रदर्शन गर्ने बताए।
उनले भने, “बाङ्ग्लादेश स्वाभाविक लयमा खेल्नेछ। विपक्षी टोलीको भन्दा आफ्नै खेलाडीकाबारे राम्रो सोचेमा अगाडि बढ्न सजिलो हुनेछ।”
दश वर्ष अगाडि बाङ्ग्लादेशमा पहिलो पटक विश्वकप खेल्दा पनि नेपाल बाङ्ग्लादेशकै समूहमा परेको थियो।
त्यहाँ नेपालले हङकङ र अफगानिस्तानलाई हराए पनि बाङ्ग्लादेशसँग भने सहजै पराजित हुन पुगेको थियो।
नेपालको 'प्लेइङ ११' मा कोको हुने छन्?
नेपाली टोलीको ‘प्लेइङ ११’ मा वेस्ट इन्डिज आएपछि एक परिवर्तन भएको थियो।
स्पिनर सन्दीप लामिछाने टोलीमा समावेश भएपछि अर्का स्पिनर सागर ढकाल दक्षिण अफ्रिकाविरुद्धको खेलमा बेन्चमा परे।
नियमित खेलाडीहरूमा अहिले ललित नारायण राजवंशी र सन्दीप जोराले खेल्न पाएका छैनन्।
अन्तिम खेल भएकोले के अब नयाँ खेलाडीले अन्तिम खेलमा मौका पाउला त?
प्रशिक्षक मोन्टी देशाई भन्छन्, “केही परिवर्तन हुन पनि सक्छ। तर नखेलेकालाई मौका दिने भन्नका लागि मात्र टोलीमा परिवर्तन हुने छैन। विपक्षी टोलीको स्वरूप र पिचअनुसार हामी बाङ्ग्लादेशविरुद्ध उत्कृष्ट टोली नै उतार्नेछौँ।”

तस्बिर स्रोत, BBC
दक्षिण अफ्रिकाविरुद्ध राम्रो खेलेको नेपाललाई लिएर बाङ्ग्लादेश क्याम्पमा पनि गहिरो विमर्श भइरहेको बुझ्न सकिन्छ।
नेदरल्यान्ड्सलाई आर्नोस भालेको यही मैदानमा हराएर ‘सुपर ८’ का लागि बाटो खोलेको बाङ्ग्लादेशलाई यो पिचको बारेमा थाहा छ।
प्रशिक्षक देशाई भन्छन्, “यो विश्वकप हो। यहाँ जितको लागि ठूलै मेहनत गर्नपर्छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









