कर्णालीका जिल्लाहरूमा जरैदेखि चुत्रोको बोट उधिन्न थालेपछि उठेको विरोध

 जरैबाट निकालेर नेपालगन्ज लैजान सडक छेउमा राखिएका चुत्रोहरू
तस्बिरको क्याप्शन, जरैबाट उखेलेर नेपालगन्ज लैजान सडक छेउमा थुपारिएका चुत्रोको थुप्रो
    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

कर्णाली प्रदेशका जाजरकोट, सल्यान, रुकुम पश्चिम, दैलेख र सुर्खेत जिल्लामा बहुउपयोगी भनेर चिनिने चुत्रो जरैदेखि खनेर बेच्न थालिएको भन्दै चिन्ता व्यक्त भइरहेको छ।

पछिल्लो समय एकाएक चुत्रोको माग र व्यापार बढेपछि यी जिल्लाबाट ठूलो परिमाणमा चुत्रो नेपालगन्ज हुँदै भारत निकासी हुन थालेको बताइएको छ।

अहिले जरैबाट निकालेर चुत्रोलाई विभिन्न ठाउँमा थुप्रो बनाएर राखिएको देखिन्छ।

गाउँगाउँबाट सङ्कलन गरी व्यापारीहरूले ट्रकका ट्रक चुत्रो नेपालगन्ज हुँदै भारत निकासी गरिरहेका बताइएको छ।

आबादी (दर्ता भएको) जग्गामा रहेको चुत्रो काट्ने अनुमति लिएको भन्ने बहाना बनाएर जङ्गलको चुत्रोको झाङ नै तहसनहस हुने गरी जरैदेखि चुत्रोका बोटहरू निकालिएको जाजरकोट शिवालय गाउँपालिकाका कृष्ण शाहीले बताए।

"यदि जथाभाबी काट्न नरोक्ने हो भने चुत्रो विनाश हुने निश्चित छ", उनले भने, "हाँगा र डाँठहरू काट्नुपर्नेमा जरैदेखि चुत्रोका बोटहरू काटेर सखाप पारिएको छ। चुत्रोको एउटै गाँजबाट ५०–६० किलोसम्म निकालिएको छ।"

विनाश हुने गरी चुत्रो निकाल्न थालेपछि अनुगमन गरेर सङ्कलनमा रोक लगाएको प्रदेश वन निर्देशनालय सुर्खेतले जनाएको छ।

कतिपय ठाउँमा वन कार्यालयले सङ्कलनको लागि दिएको अनुमतिभन्दा पनि बढी चुत्रोका बोटहरू काटिएको स्थानीय बासिन्दा बताउँछन्।

चुत्रोको बोटको थुप्रो
तस्बिरको क्याप्शन, जरैबाट उखेलिएका चुत्रो सवारी साधनमा लोड गरेर भारत लग्ने गरिएको बताइएको छ

चुत्रोको बोट नै सखाप हुने गरी जरैबाट निकाल्न थालेपछि आफूहरूले विरोध गरेको नलगाडका स्थानीय बासिन्दा मानबहादुर खड्काले बताए।

व्यापारीले सङ्कलनकर्ताबाट गाउँमै प्रतिकेजी २० देखि २५ रुपैयाँमा चुत्रो किन्ने गरेको स्थानीय बासिन्दाले बताए।

"चुत्रोको डाँठ निकाल्ने हो", प्रदेश वन निर्देशक शेरबहादुर श्रेष्ठले भने, "सङ्कलन अनुमति पाएका ठाउँमा जरैबाट निकाल्न थालेको पाएपछि सङ्कलन रोकिएको छ।"

"बाक्लो ठाउँमा रहेका चुत्रोका बुटालाई जरैबाटै निकाल्दा केही फरक पर्दैन, तर पातलो ठाउँमा जरैबाट निकाल्दा चुत्रो नै मासिने खतरा हुन्छ।"

कतिपय ठाउँमा डोजर नै प्रयोग गरेर चुत्रोलाई जरैबाट खनेर नष्ट गरिएको समेत बताइएको छ।

सामाजिक सञ्जाल फेसबुकमा कतिपयले चुत्रो सखाप हुने क्रममा सरोकारवाला निकाय चुप भएको भन्दै आक्रोश पोखेका पाइन्छ।

आक्रोश पोख्नेहरूले "स्थानीय तह र डिभिजन वन कार्यालयलाई चुत्रो सखाप हुने गरी किन सङ्कलन अनुमति दिएको भनेर प्रश्न पनि गरेका छन् ।

उनीहरूले बहु उपयोगी वनस्पति चुत्रो जोगाउने गरी समाधान निकाल्न आग्रह गरेका छन् ।

जाजरकोट शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले सङ्कलनको नाममा जरैबाट निकालेर चुत्रो विनाश गर्न थालेको पाइएपछि अहिले निकाल्न पूर्ण रूपमा रोकिएको बताए ।

शिवालय गाउँपालिकाको वडा नम्बर ५ र ६ मा जरैबाट खनेर चुत्रो विनाश गरिएको गाउँलेहरू बताउँछन् ।

पचास हजार टन चुत्रो सङ्कलनको अनुमति

 जरैबाट निकालेर चुत्रो सखाप पार्न थालेपछि नलगाड नगरपालिका वडा नम्बर -४ ले चुत्रो सङ्कलनमा रोक लगाउन निकालेको सूचना ।
तस्बिरको क्याप्शन, जरैबाट निकालेर चुत्रो सखाप पार्न थालेपछि नलगाड नगरपालिका वडा नम्बर -४ ले चुत्रो सङ्कलनमा रोक लगाउन निकालेको सूचना

वन कार्यालयहरूले छुटपुर्जी दिएपछि जाजरकोट, सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेखमा चुत्रो सङ्कलन कार्य चलिरहेको छ।

कर्णाली प्रदेश वन निर्देशनालयले यसपालि पाँच वटा जिल्लामा ५० हजार टन चुत्रो सङ्कलन छुटपुर्जी दिएको जनाएको छ।

सल्यान र जाजरकोटबाट मात्रै ४० हजार टन तथा सुर्खेत, रुकुम पश्चिम र दैलेखमा १० हजार टन चुत्रो सङ्कलनका लागि अनुमति दिएको छ।

जाजरकोट सल्यान, रुकुम पशिचम दैलेख र सुर्खेतमा त चुत्रोको जङ्गल नै रहेको प्रदेश वन निर्देशनालयले जनाएको छ।

सङ्कलन अनुमति दिइएकोमध्ये हालसम्म ७० प्रतिशत निकासी भइसकेको र बाँकी निकासी हुने क्रममा रहेको कर्णाली प्रदेश वन निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार सामुदायिक वन र निजी आबादी जग्गामा रहेको चुत्रो सङ्कलन गरिएको छ।

निजी वन भएकाहरूले प्रतिकिलो एक रुपैयाँ ८० पैसा र सामुदायिक वनले प्रतिकिलो १० रुपैयाँ राजश्व लिएका छन् ।

प्रदेश वन निर्देशनालयले कर्णाली प्रदेशमा अझै एक लाख टनभन्दा बढी चुत्रो निकाल्न सकिने दाबी गरेको छ ।

केमा उपयोग हुन्छ?

चुत्रोबाट प्राकृतिक रङ्ग बनाइन्छ। वन निर्देशक शेरबहादुर श्रेष्ठका अनुसार विशेष गरी कपडालाई रङ्गिन बनाउन चुत्रोको रङ्ग प्रयोग हुन्छ ।

भेडाबाख्राले चुत्रो खान मन पराउँछन्।

कतिपयले चुत्रोको पाकेको फल टिपेर जाँडरक्सी पनि बनाउने गर्छन्।

जाजरकोटका पूर्वसांसद कृष्णबहादुर शाहीका अनुसार जुस, जेली, जाम बनाउन सकिने भए पनि गाउँलेलाई थाहा नहुँदा बर्सेनि ठूलो मात्रामा चुत्रोको फलहरू त्यतिकै खेर जाने गरेका छ।

अहिले पर्वत र बाँकेको नेपालगन्जमा प्रशोधन उद्योग खुलेपछि चुत्रोको माग एक्कासि बढेको बताइएको छ।

सङ्कलनकर्ताले पनि रामै कमाइ गरेको बताएका छन् ।

सरकारले व्यवस्थित गर्ने हो भने चुत्रोबाट स्थानीय बासिन्दाले धेरै फाइदा लिन सक्ने उनीहरू बताउँछन्।

"यसपालि चुत्रोको डाँठ मात्र बेचेर शिवालयका धेरैजसो स्थानीय बासिन्दा ले कम्तीमा पनि ७०–८० हजार रुपैयाँसम्म कमाएका छन्", उनले भने, "यदि चुत्रोको महत्त्व र उपायोगिताबारे बुझाउने हो भने चुत्रोबाट बर्सेनि लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्छन्।"

जरैबाट निकालेर नेपालगन्ज लैजान सडक छेउमा राखिएका चुत्रोहरू

सल्यानका किसान मनवीर पुनले बर्सेनि त्यतिकै खेर गइरहेको चुत्रोबाट यसपालि राम्रो कमाइ भएको बताए।

उनले भने, पहिला दाउरा बाल्ने गरिन्थ्यो। त्यतिकै खेर गइरहेको चुत्रो काटेर सदुपयोग गरियो। यसपालि पैसा पनि भयो। जग्गा जमिन पनि काँडा मुक्त भयो । पहिला दाउरा बालेर खेर फालिन्थे। यस पटक चुत्रोको हाँगा बचेर ३५–४० हजार रुपैयाँ कमाए।

चुत्रो बहुउपयोगी वनस्पति भएकोले यसबाट लामो समयसम्म फाइदा लिन सक्ने बनाउनुपर्ने देखिन्छ। जरैबाट निकाल्ने हो भने एक पटकलाई मात्रै हुन्छ।

जरैबाट निकाल्न रोकेर हाँगा तथा डाँठ मात्र निकालेर चुत्रोको प्रयोगलाई दिगो बनाउनुपर्नेमा जोड दिइएको छ।

सल्यानको कुमाख, दार्मा, छत्रेश्वरी गाउँपालिकाका, वनगाडकुपिन्डेन र शारदा नगरपालिकामा अत्यधिक चुत्रो पाइने डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।