एक होइन चारथरी राजगोमन : नयाँ अन्वेषण

 सरीसृप अनुसन्धानकर्ता डा. गौरी शङ्कर र उनको समूहले राजगोमनबारे नयाँ अन्वेषण गरेको छ

तस्बिर स्रोत, P. Gowri Shankar

    • Author, के. सुबागुनम
    • Role, बीबीसी

प्रभावशाली कद र घातक विषका कारण किङ्ग कोब्रा नामले पनि चिनिने राजगोमन सर्पले लामो समयदेखि मानिसहरूलाई एकसाथ मोहित र भयभीत गर्दै आएको छ।

शताब्दियौँदेखिको आकर्षणबीच एकजना भारतीय सरीसृपविज्ञ डा. गौरी शङ्करको एक अभूतपूर्व खोजीले आश्चर्यजनक तथ्य पत्ता लगाएको छ: यो विशेष सरीसृपको एक होइन चार प्रजाति छन्।

डा. गौरी शङ्करको यो नवीन अन्वेषणको यात्रामा उनको आफ्नै त्रासदीपूर्ण व्यक्तिगत अनुभव पनि जोडिएको छ।

सन् २००५ मा उनलाई राजगोमनले टोकेको थियो र उनले झन्डै ज्यान गुमाएका थिए। तर त्यो घटनाले उनमा यो अद्भूत प्राणीसँग सम्बन्धित रहस्य पत्ता लगाउने हुटहुटी जगाइदियो।

राजगोमन सर्पहरूको एक डरलाग्दो शिकारी प्रजाति हो।

डेनमार्कका अनुसन्धानकर्ता थियोडोर एडवार्ड क्यान्टरले पहिलो पटक सन् १९३६ मा यसको विवरण सार्वजनिक गरेपछि यसबारे वैज्ञानिक जानकारी उपलब्ध हुन थालेको हो।

शताब्दियौँदेखि अध्ययन भइरहे पनि अहिले यो सर्पका बारेमा एउटा नयाँ खुलासा भएको छ: यो आश्चर्यजनक सर्पको एक होइन चार प्रजाति छन्।

सर्प

तस्बिर स्रोत, Getty Images

एक शताब्दीदेखिको रहस्यको खुलासा: राज गोमनको विविधता

डा. गौरी शङ्करको अनुसन्धान टोलीका एक मुख्य सदस्य डा. एस. आर. गणेशले तिनको प्राकृतिक बसोबासको गहन अध्ययनको कमीका कारण यो सरीसृपबारेको हाम्रो जानकारी सीमित मात्र हुन पुगेको बताएका छन्। अहिलेको अन्वेषणले भविष्यमा विस्तृत अध्ययनको बाटो खुलाइदिएको छ।

राजगोमनबारे कैयौँ रहस्य अझै पत्ता लाग्न बाँकी छ तर अहिलेको विशेष अध्ययनको परिणाम नयाँ अन्वेषणको सुरुवात हो।

विभिन्न क्षेत्रका दुई सयभन्दा बढी राजगोमनको 'जीनोम' को विश्लेषण गरेर अनुसन्धान समूहले चार अलग अलग प्रजाति पत्ता लगाएका छन्:

१. ओफिओफ्यागस कालिङ्गा: भारतको 'पश्चिमी घाट' मा बसोबास गर्छन्

२. ओफिओफ्यागस हाना : उत्तर पाकिस्तान, उत्तर भारत र उत्तरपूर्वी भारतमा पाइन्छ

३. ओफिओफ्यागस बङ्गारुस: इन्डो-चाइना क्षेत्रमा पाइन्छ

४. ओफिओफ्यागस साल्भाटाना: इन्डो-मलेसिया र फिलिपिन्सको लुजन टापूहरूको समूहमा फैलिएका छन्

गोमन

तस्बिर स्रोत, P. Gowri Shankar

'एन्टीभेनम' विज्ञ डा मनोज “यो खोजले लामो समयदेखिका अनुमानहरूलाई चुनौती दिँदै गोमनको विविधताबारे विस्तृत विवरण प्रस्तुत गरेको छ” भन्छन् । डा मनोज हाल रसल्स भाइपरका लागि 'एन्टीभेनम' बनाउन आईसीएमआरमा कार्यरत रहेका छन्।

“यसले अनुसन्धानको निरन्तरताको महत्त्वलाई उजागर गरेको छ र यो आश्चर्यजनक प्रजातिको सम्भावित थप रहस्य उजागर हुने सम्भावना पनि देखाइदिएको छ।”

ओफिओफ्यागस राजगोमन हाना पश्चिम पाकिस्तान र उत्तरी भारतमा पाइन्छ

तस्बिर स्रोत, P. Gowri Shankar

तस्बिरको क्याप्शन, ओफिओफ्यागस राजगोमन हाना पश्चिम पाकिस्तान र उत्तरी भारतमा पाइन्छ

नयाँ प्रजाति पत्ता लाग्यो: पश्चिमी घाट प्रजाति

शताब्दीयौँसम्म भारतमा राजगोमनको एउटा मात्र प्रजाति 'ओफिओफ्यागस हाना' पाइन्छ भन्ने विश्वास गरिन्थ्यो।

तर डा गौरी शङ्कर र उनको समूहले एक दशकसम्म गरेको अनुसन्धानले आश्चर्यजनक सत्य उजागर गरिदिएको छ: भारतको पश्चिमी घाट क्षेत्रमा विशेष प्रकारको राजगोमन प्रजातिको वासस्थान छ।

यो नयाँ पत्ता लागेको प्रजाति ‌'ओफिओफ्यागस कालिङ्गा' पश्चिमी घाट क्षेत्रमा मात्र पाइन्छ। कालिङ्गा नाम कर्नाटकको स्थानीय भाषामा राजगोमनको नाम हो र त्यसैबाट यो प्रजातिको नाम राखिएको हो। यो नाम राखेर अनुसन्धानकर्ताहरूले स्थानीय समुदायमा यो सर्पप्रति रहेको सांस्कृतिक महत्त्वलाई स्थान दिएका हुन्।

“उत्तर कन्नड जस्ता आदिवासी समुदाय बसोबास गर्ने स्थानमा राजगोमनलाई त्रासभन्दा श्रद्धाले हेरिन्छ। यी विशालकाय सर्पहरू उनीहरूका आहाराका कारण महत्त्वपूर्ण मानिन्छन्। उनीहरूको मुख्य आहारा विषालुदेखि अन्यखाले सर्प हुन्। अरू सर्पको सङ्ख्या नियन्त्रण गरेर राजगोमनहरूले स्थानीय समुदायलाई सुरक्षित वातावरण बनाउन मद्दत गर्छन्,” डा. गौरी शङ्कर भन्छन्।

गोमन

तस्बिर स्रोत, Getty Images

ओफिओफ्यागस कालिङ्गा पश्चिमी घाट वरपर पाइने राजगोमन हो

तस्बिर स्रोत, P. Gowri Shankar

तस्बिरको क्याप्शन, ओफिओफ्यागस कालिङ्गा पश्चिमी घाट वरपर पाइने राजगोमन हो

'ओफिओफ्यागस कालिङ्गा'को अन्वेषणले राम्रोसँग अध्ययन भएका क्षेत्रमा पनि निरन्तर अध्ययन र खोजको महत्त्व उजागर गरेकोमा उनले जोड दिए। उनले भने, “त्यसले वैज्ञानिक खोज र संरक्षणमा स्थानीय ज्ञानको महत्त्वमाथि पनि प्रकाश पारेको छ।”

त्यसैगरी "सालभाटाना" नाम चाहिँ फिलिपिन्सको लुजन टापुमा त्यहाँको आदिवासी समुदायले राजगोमनलाई प्रयोग गर्ने नामलाई महत्त्व दिन त्यसैबाट लिइएको हो।

उनी भन्छन्, “अब विश्वभरका मानिसले यी सर्पलाई स्थानीय आदिवासी नामले जान्नेछन् र त्यसले सर्प संरक्षणमा विशेष उपायबारे पनि सहयोग गर्नेछ।”

'मृत्यु शय्याबाट निस्केर जीवित रहनु'

भारतमा चारथरी विषालु सर्पहरू - जसलाई “बीग फोर” अर्थात् "ठूला चार" पनि भनिन्छ – ९० % मृत्यु तिनै सर्पको टोकाइबाट हुने गरेको छ। ती चारमा : गोमन, करेत, रसल्स भाइपर र सस्केल्ड भाइपर हुन्।

सर्पले टोक्दा हुने उपचारचाहिँ 'एन्टिभेनम' औषधि उपलब्ध नहुँदा चुनौतीपूर्ण हुने गर्छ। भारतमा सर्पको टोकाइमा एउटै मात्र 'पोलिभेलेन्ट एन्टिभेनममा' भर पर्ने गरिन्छ जुन 'चार ठूला' सर्पको टोकाइपछिको उपचारमा प्रभावकारी छन्। तर जुन सर्पले टोकेको हो त्यसैका लागि प्रभावकारी हुने गरी 'मोनोभेलेन्ट एन्टिभेनम' भने छैन।

राजगोमनको टोकाइको सन्दर्भमा स्थिति अझ जटिल हुने गर्छ। यो प्रजातिका लागि भारतमा 'एन्टिभेनम' उपलब्ध छैन र थाइल्यान्डबाट ल्याइएको औषधी पनि धेरैजसो प्रभावकारी नहुने गरेको डा. गौरी शङ्करले बताए। डा. गौरी शङ्करलाई राजगोमनले टोकेको थियो र उपचारमा उनले धेरै चुनौती बेहोरेका थिए।

"भाग्यवश टोकाइ मलाई मारिहाल्ने किसिमको रहेनछ र मैले स्नायुमा क्षति पुर्‍याउने किसिमको समस्या भोगिनँ तर लक्षणहरू गम्भीर थिए," उनी भन्छन्।

उनको शरीरमा भारतमा उपलब्ध र बाहिरबाट ल्याइएको दुवै औषधीले काम गरेको थिएन।

 इन्डो चिनियाँ क्षेत्रमा ओफिओफ्यागस पाङ्गारुस पाइन्छ

तस्बिर स्रोत, P. Gowri Shankar

तस्बिरको क्याप्शन, इन्डो चिनियाँ क्षेत्रमा ओफिओफ्यागस पाङ्गारुस पाइन्छ

त्यसैले उपचार खासगरी लक्षण व्यवस्थापनतर्फ केन्द्रित भयो न कि विषलाई निस्प्रभावी पार्नेतर्फ। यो चाहिँ कोभिड १९ को प्रारम्भिक दिनहरूमा झैँ उपचार लक्षण व्यवस्थापनमा केन्द्रित थियो त्यसैले डा. गौरी शङ्कर जोड दिँदै भन्छन्, “हरेक सर्प प्रजातिका लागि फरक एन्टिभेनम विकास गर्नुपर्छ।”

राज गोमनको टोकाइ चार ठूला सर्पको भन्दा निकै दुर्लभ हुने भए पनि डा. गौरी शङ्करले यो प्रजातिको 'मोनोभेलेन्ट' औषधी विकास गर्नुपर्नेमा जोड दिन्छन्। यस्तो औषधी विकास गरिएमा राजगोमनबारे रहेको त्रास कम भएर उनीहरूको संरक्षणमा सहयोग पुग्न सक्छ भन्ने उनको धारणा छ।

हालै पत्ता लागे अनुसार चार प्रकारका राजगोमन भएकाले चारै प्रकारका 'मोनोभ्यालेन्ट एन्टिभेनम' बनाउन आवश्यक हुने विज्ञहरूको धारणा छ।

फिलिपिन्सको लुजट टापुहरूको समूहमा ओफिओफ्यागस साल्भाटाना बसोबास गर्छ

तस्बिर स्रोत, P. Gowri Shankar

विशेष किसिमको 'एन्टिभेनम'को आवश्यकता

प्रभावकारी 'एन्टिभेनम' विकास गर्नु जटिल र महँगो प्रक्रिया हो। विश्व स्वास्थ्य सङ्गठनले सबभन्दा खतरनाक सर्पको टोकाइमा प्रयोग गर्ने 'एन्टिभेनम' उत्पादनलाई प्राथमिकतामा राखेको छ।

भारतमा 'ठूला चार' वर्गका सर्पले ठूलो खतरा निम्त्याउँछन् तर राजगोमनको टोकाइका कारण हुने मृत्यु तुलनात्मक रूपमा सानो छ। त्यसैले राजगोमन लक्षित 'एन्टिभेनम' उच्च प्राथमिकतामा नरहेको डा मनोज र डा गणेश दुवैजनाको भनाइ छ।

यद्यपि हालै पत्ता लागेको राजगोमनको विभिन्न प्रजाति खासगरी 'ओफिओफ्यागस कालिङ्गा'ले विशेष 'एन्टिभेनम'को आवश्यकता दर्शाउँछ। भारतमा अहिले उपलब्ध 'पोलिभ्यालेन्ट एन्टिभेनम' र थाइल्यान्डमा उपलब्ध 'मोनोभेलेन्ट एन्टिभेनम'ले यो विशेष प्रजातिको विषविरुद्ध पूर्ण रूपमा काम गर्दैन। यो अन्तरलाई सम्बोधन गर्न 'ओफिओफ्यागस कालिङ्गा' को टोकाइविरुद्ध 'मोनोभ्यालेन्ट एन्टिभेनम' बनाउनुपर्नेमा विज्ञहरू जोड दिन्छन्।

साँप

तस्बिर स्रोत, Getty Images

त्यसबाहेक सर्पसँग जोडिएको डर र गलत सूचनाले उनीहरूलाई देख्ने बित्तिकै मारिहाल्ने स्थिति धेरैजसो रहन्छ। डा. गौरी शङ्कर भन्छन् प्रभावकारी 'मोनोभेलेन्ट एन्टिभेनम' विकास गरेर खासगरी राजगोमन सर्पबारेको त्रास कम गर्न र संरक्षण प्रयासलाई बढावा दिन सक्छौँ।

उनी भन्छन्, “यिनबाट कुनै खतरा नभएको बुझे पछि मानिसहरूले यी प्राणीहरूलाई सम्मान गर्न सुरु गर्न सक्छन् र हामीले मानिस तथा सर्पबीच शान्तिपूर्ण सहअस्तित्वबारे काम गर्न सक्छौँ।”

डा मनोज कम उत्पादन लागतमा सजिलोसँग उत्पादन गर्न सकिने 'एन्टिभेनम' मा जोड दिन्छन्। यसले नयाँ पत्ता लगाइएका राज गोमन प्रजाति सहितका 'मोनोभेलेन्ट एन्टिभेनम' विकासमा पनि मद्दत मिल्छ।

गोमन र राजगोमनबीचको फरक

गोमन र राजगोमनलाई बोलीचालीको भाषामा गोमन भनिए पनि यी दुवै अलग अलग हुन्।

उनीहरूबीच आवास, व्यवहार र आहारमा स्पष्ट फरक छ।

सर्प

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।