चन्द्रमामा चन्द्रयान-३ अवतरण गराएर नयाँ इतिहास बनाउने प्रयासमा भारत

    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयान अवतरण गराएर नयाँ इतिहास रच्ने प्रयासमा छ। यो भारतको तेस्रो चन्द्र अभियान हो।

यदि चन्द्रयान-३ सफल भयो भने भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बन्ने छ। उक्त ध्रुव चन्द्रमामा कम अन्वेषण गरिएको भाग हो।

चन्द्रयान-३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नुहुने छ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्।

चन्द्रमाको उक्त सतहमा पुग्नै लाग्दा रुसको लून- २५ अन्तरिक्षयान गत साता दुर्घटनाग्रस्त भएको थियो।

भारतीय अन्तरिक्ष अभियानको महत्त्व

यसअघि अमेरिकी, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखावरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए।

सन् २०१९ मा पनि भारतले चन्द्रयान-२ मिशनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो। तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो।

त्यही भएर अहिले सबैको ध्यान चन्द्रयान-३ मा छ। एउटा अर्बिटर, ल्यान्डर र रोभर रहेको उक्त अन्तरिक्षयानलाई दक्षिण भारतको श्रीहरिकोटास्थित अन्तरिक्ष केन्द्रबाट गत जुलाई १४ मा प्रक्षेपण गरिएको थियो।

ल्यान्डरको नाम 'विक्रम' इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) का संस्थापक विक्रम साराभाईप्रति सम्मान व्यक्त गर्न हो। ल्यान्डरमा २६ किलोग्रामको 'प्रज्ञान' नामक रोभर छ।

प्रज्ञान संस्कृत शब्द हो र त्यसको अर्थ 'विवेक वा बुद्धि' हो।

उक्त अन्तरिक्षयानको चन्द्रमातर्फको यात्राले भारतमा ठूलो उत्साह उत्पन्न भएको छ। अभियानको सफलताका लागि देशभरिबाट शुभकामना व्यक्त गरिएको छ।

इसरोले अवतरणको प्रत्यक्ष प्रसारण गराउने जनाएको छ र विद्यालयका बालबालिकासहित दशौँ लाख मानिसले अवतरणको दृश्य हेर्ने अपेक्षा गरिएको छ।

इसरोका प्रमुख श्रीधर पनिकर सोमनाथले चन्द्रयान-३ ले सफलतापूर्वक नियन्त्रित अवतरण गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

उनले आफूहरूले चन्द्रयान-२ को दुर्घटनाका तथ्याङ्कहरू सूक्ष्म रूपमा अध्ययन गरेको र कुनै त्रुटि हुन दिन त्यस्तै परिस्थिति परिकल्पना गरेर पूर्वभ्यास गरिएको बताए।

पछिल्ला केही दिनहरूमा विक्रमको ल्यान्डर क्यामराले चन्द्रमाको सतहको तस्बिरहरू व्यापक रूपमा लिने क्रममा सुरक्षित अवतरणस्थलको खोजी गरिरहेको छ।

मङ्गलवारको आफ्नो सूचनामा इसरोले आफ्नो अभियान “समयानुसार चलिरहेको, प्रणालीहरूको नियमित जाँच गरिएको र सहज रूपमा अघि बढिरहेको” जनाएको थियो।

इसरो प्रमुख सोमनाथले चन्द्रयान-३ ले भारतका पुराना चन्द्र अभियानहरूको उद्देश्यलाई सफल पार्न र केही ‘विशेष उल्लेखनीय’ वैज्ञानिक खोजलाई सघाउन काम गर्ने बताए।

सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिशन चन्द्रयान-१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।

त्यसले दिउँसोको समयमा चन्द्रमामा वायुमण्डल पनि हुने जनाएको थियो।

नियन्त्रित अवतरणमा विफल भए पनि चन्द्रयान-२ पनि पूर्ण रूपमा असफल भएको होइन।

त्यसको अर्बिटरले अहिले पनि चन्द्रमालाई परिक्रमा गरिरहेको छ र त्यसले विक्रम ल्यान्डरलाई तस्बिर र तथ्याङ्कहरू विश्लेषणका लागि पृथ्वीमा पठाउन सहयोग गर्ने छ।

अवतरणको प्रतीक्षा

ल्यान्डर र रोभरमा पाँचवटा वैज्ञानिक उपकरण छन्। ती उपकरणले चन्द्रमाको सतहको भौतिक विशेषता, सतह नजिकैको वायुमण्डलको अवस्था र सतहमुनिको भौगर्भिक गतिविधिको अध्ययन गर्ने छन्।

बुधवार वैज्ञानिकहरूले जटिल खालको विधि प्रयोग गरेर ल्यान्डरको गति कम गराउने छन् र त्यसलाई अन्ततः उनीहरूकै शब्दमा “एकदमै नमिलेको, धेरै गहिरा खाडल र चट्टानहरू" रहेको क्षेत्रमा नियन्त्रित अवतरण गराउने छन्।

अवतरण गरेपछि विक्रम ल्यान्डरबाट छवटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्ने छ।

त्यसले सङ्कलन गर्ने महत्त्वपूर्ण डेटा र तस्बिर ल्यान्डरले अर्बिटर हुँदै पृथ्वीमा पठाउने छ।

रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छन्। पाङ्ग्राहरू गुड्दा तिनले चन्द्रमाको माटोमा इसरोको छाप बस्ने एक अधिकारीले बीबीसीलाई बताए।

अवतरणको दिन सावधानीपूर्वक तय गरिएको छ। यो दिन चन्द्रमाले आफ्नो कक्षमा परिक्रमा गर्दा लगाउने समय ‘लूनर डे’ को आरम्भसँग मिल्छ।

चन्द्रमाको एक दिन पृथ्वीमा १४ दिन हुन्छ।

ल्यान्डर र रोभरका ब्याट्रीहरूलाई चार्ज हुन र काम गर्न सूर्यको प्रकाशको आवश्यकता पर्छ।

रात परेपछि तिनले काम गर्न छाड्छन्।

चन्द्रमामा अर्को दिन हुँदा त्यसले फेरि काम गर्छ वा गर्दैन स्पष्ट छैन।

साङ्केतिक अर्थ

चन्द्रमाको अन्वेषणमा दक्षिणी ध्रुवको विशिष्ट महत्त्व छ।

त्यहाँ स्थायी रूपमा छायामा पर्ने सतहको क्षेत्रफल ठूलो रहेको छ। त्यसको अर्थ त्यहाँ पानीको सम्भावना रहेको वैज्ञानिकहरू बताउँछन्।

चन्द्रमालाई ध्यान केन्द्रित गर्ने देशमा भारत एक्लो छैन।

अहिले चन्द्र अभियानमा विश्वव्यापी चासो व्यक्त भइरहेको छ। निकट भविष्यमा नै अरू देशहरूले पनि आफ्ना अन्तरिक्षयान चन्द्रमामा पुर्‍याउने उद्देश्य राखेका छन्।

वैज्ञानिकहरूले भित्री अन्तरिक्षको प्रवेशद्वारका रूपमा लिने गरेका चन्द्रमाको बारेमा बुझ्न अझै धेरै बाँकी रहेको बताउने गरेका छन्।

चन्द्रयान-३ को सफलताले हामीलाई त्यो दिशामा एक कदम अघि बढाउने उनीहरूको विश्लेषण पाइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।