तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीनले साँच्चै बनाउला 'नक्कली चन्द्रमा'?
एक चिनियाँ कम्पनीले रातको आकाश उज्ज्यालो पार्न चीनको आकाशमा एउटा 'फेक मुन' अर्थात् नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ।
चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार छेन्दु शहरमा रहेको एउटा नीजि एरोस्पेस इन्स्टिच्युटका अधिकारीहरूले यस्तो प्रकाशद्वार उपग्रहलाई आफ्नो परिक्रमा पथमा सन् २०२० सम्ममा राख्न चाहेको र त्यसले सडकका बत्तीहरूलाई विस्थापित गर्न सक्ने गरी प्रशस्त उज्यालो बनाउन सक्ने बताएका छन्।
यसले थुप्रै वैज्ञानिकहरूलाई समेत आकर्षित र अचम्मित पारेको छ।
त्यो किनभने यस महत्त्वाकांक्षी परियोजनाको प्रारूपबारे अहिलेसम्म थोरै मात्र जानकारी बाहिर ल्याइएको छ र ती समेत परस्पर विरोधी देखिन्छन्।
सम्भव छ?
पिपुल्स डेलीले पहिलोपटक उक्त समाचार गत साता एउटा नविन काम सम्बन्धी सम्मेलनमा छेन्दु एरोस्पेश साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्चिच्युटका अध्यक्ष वु चुनफेङ्ले व्यक्त गरेका प्रतिक्रियाहरूलाई समेटेर प्रकाशित गरेको थियो।
वुका अनुसार यस अवधारणामा केही वर्षदेखि प्रयोगहरू भइरहेका थिए जसका कारण उक्त प्रविधि सन् २०२० सम्ममा व्यवहारिक रूपमै सम्भव देखिने अवस्थामा आइपुगेको हो।
चाइना डेलीले वु लाई उद्धत गर्दै उसकै शब्दमा सन् २०२२ भित्रमा तीनवटा ठूला ऐना प्रक्षेपण गर्न सकिने लेखेको थियो। उक्त कृत्रिम चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउनेछ।
तर ती कुनै पनि समाचारहरूले उक्त परियोजनामा सरकारी सहायता छ/छैन चाहिँ खुलाइएका छैनन्।
कस्तो हुनेछ 'नक्कली चन्द्रमा'?
त्यो चन्द्रमा कस्तो देखिन्छ भनेर नबताइएता पनि त्यसले फ्याक्ने प्रकाशले भने १० देखि ८० किलोमिटरसम्म समेट्नेछ जुन वास्तविक चन्द्रमाको भन्दा आठ गुणा चमकदार हुनेछ।
त्यसको चमकता र शुद्धतालाई नियन्त्रण गर्न समेत सकिने इन्स्चिच्युटका अध्यक्ष वुले बताएका छन्।
यस्तो कृत्रिम चन्द्रमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेकै उचाई अर्थात् पृथ्वीभन्दा झण्डै ५०० किलोमिटर पर रहेर परिक्रमा गर्नेछ।
जबकि वास्तविक चन्द्रमा पृथ्वीभन्दा औसत ३ लाख ८० हजार किलोमिटर पर रहेर परिक्रमा गर्छ।
धेरैले अचम्म मानिराखेको कुरा के पनि छ भने यस्तो चन्द्रमा प्रयोगमा आउँदा सडक बत्तीमा भन्दा कम खर्च हुनेछ। सडकबत्ती विग्रन सक्ने भुकम्पजस्ता अवस्थाका बेला यो झनै बढि काममा आउनेछ।