तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आमिर खानले किन नजानिँदो तरिकाले फिल्म छाडे र अहिले उनी के सोच्छन्?
- Author, नूर नान्जी र सादिया खान
- Role, बीबीसी न्यूज
बलीवूड सुपरस्टार आमिर खान लगान र थ्री इडिअट्सजस्ता भारतका केही सबैभन्दा लोकप्रिय बनेका फिल्मका कारण चर्चित छन्।
खानको ख्याति यति राम्रो छ की उनी बिरलै सडकमा प्रशंसकबाट उम्केर हिँड्न सक्छन्।
उनीबारे कमै थाहा भएको कुरा कोभिड महामारीका बेला उनले अनायासै फिल्महरू खेल्न छाड्नु थियो।
प्रियजनहरूसँग बढ्ता समय बिताउन भनेर त्यसो गरेको उनी बताउँछन्।
"मैले परिवारलाई आफूलाई अभिनय र फिल्म खेल्न पुगेको बताएँ," उनले बीबीसी न्यूजसँग भने।
"मलाई चलचित्र निर्माण वा निर्देशन वा अभिनय गर्नु थिएन। म मात्र मेरो परिवारसँग रहन चाहन्छु।"
फिल्मसँग गहिरो लगाव भएको देशमा खानजस्ता मुख्य स्टारले अचानक फिल्म क्षेत्र छाड्दा भारतभरि धेरैलाई झड्का लाग्यो होला भन्ने तपाईँलाई लाग्न सक्छ।
तर उनले आफ्नो उक्त निर्णयबारे कसैले भेउ नै पाउन नसकेको बताए। त्यसबेला महामारीका कारण चलचित्र नै पनि निकै कम बनिरहेका थिए।
"यसबारे कसैले थाहै पाएनन्," उनले भने।
तर नआत्तिनुस्
तर प्रशंसकहरूलाई राहत महसुस हुने कुरा पनि छ।
खानले लामो समयका लागि चलचित्र क्षेत्र छाडेका थिएनन् र अहिले उनी आफूले निर्माण गरेको चलचित्र 'लापता लेडिज'को प्रवर्द्धन गर्दैछन्।
विश्वकै प्रतिष्ठित ओस्कर अवार्डका लागि 'बेस्ट इन्टरन्याश्नल फिचर फिल्म' श्रेणीमा उक्त चलचित्र भारतको तर्फबाट औपचारिक मनोनयनमा परेको छ।
खानले आफ्ना सन्तानका कारण आफू फिल्ममा फर्किन मानेको बताउँछन्।
"उनीहरूले 'तर हामी चौबिसै घण्टा तपाईँसँग बिताउन सक्दैनौँ। त्यसैले यथार्थपरक हुनुस् र जीवन जिउनुस्' भन्दै राम्रैसँग मलाई फिल्मै धकेले," उनले भने।
अभिनेता, निर्देशक र निर्माताका रूपमा ५९ वर्षीय खानले तीन दशक काम गरेका छन्।
उनी बलीवूडका तीनमध्ये एक चर्चित खानका रूपमा चिनिन्छन्। अन्य चर्चित खानहरू साहरुख र सलमान छन्।
सामाजिक विषयवस्तुमा चलचित्र बनाउने भएकाले आमिरका कामको व्यापक रूपमा प्रशंसा मात्र हुँदैन त्यसले बक्स अफिसका कीर्तिमान समेत तोडिरहेको हुन्छ।
ओस्करमै पनि उनी कुनै नयाँ अनुहार होइनन्। १९औँ शताब्दीको ब्रिटिश राजको समयको परिस्थितिमा बनाइएको क्रिकेट खेलबारेको चलचित्र सन् २००२ मा उत्कृष्ट विदेशी भाषाको चलचित्रका रूपमा मनोनयनमा परेको थियो।
यतिखेर उनी 'लापता लेडिज'मार्फत इतिहास बनाउने प्रयासमा छन्। यदि सफल भएमा उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार पाउने त्यो पहिलो भारतीय चलचित्र बन्नेछ।
त्यो सर्टलिस्ट हुन्छ-हुँदैन भन्ने मङ्गलवार टुङ्गो लाग्नेछ।
अवार्डहरूलाई "कति गम्भीर रूपमा हेर्ने भन्ने आफूलाई थाहा नभएको" उनी बताउँछन्।
"सिनेमा निकै आत्मपरक हुन्छ," उनी भन्छन्। तर अवार्ड पाए त्यो भारतका लागि निकै ठूलो कुरा हुने उनी बताउँछन्।
'देशले अवार्ड जिते साँच्चिकै खुसी हुने थिएँ'
"मलाई भारतीयहरू अति नै चलचित्रप्रेमी लाग्छ। अहिलेसम्म भारतीय चलचित्रले नजितेको 'एकेडेमी अवार्ड' जित्नका लागि हामी मरिहत्ते गरिरहेका छौँ। जसरी देश उत्साहित छ हामीले जित्यो भने त्यसै गरी उनीहरू खुसीले पागल हुन्छन्," उनी भन्छन्।
"त्यसकारण हाम्रो देश र जनताका लागि हाम्रो देशले अवार्ड जित्यो भने म साँच्चिकै खुसी हुने थिएँ।"
ग्रामीण भारतको कथा बोकेको 'लापता लेडिज्'मा एक जना युवाले गलत दुलही भित्र्याएको विषय चित्रण गरिएको छ। आफ्नो प्रतिरक्षा गरिरहेकी उनकी श्रीमती बीचैमा हराउँछिन्। यो चलचित्रले ग्रामीण भारतमा महिलाहरूमाथि गरिने व्यवहारप्रति व्यङ्ग्य गरेको छ। साथै घरेलु हिंसाको संवेदनशील विषय पनि समेटेको छ।
खान हास्यरसमा केन्द्रित र गलत पहिचानका कारण सिर्जित समस्याको पटकथाका कारण यो चलचित्र लोकप्रिय साहित्यकार विलिअम सेक्सपिअरबाट प्रभावित भएको ठान्छन्।
तर उनी थप्छन्, "यसले महिलाको मुद्दा, उनीहरूको स्वतन्त्रता, आफूले चाहेको काम गर्ने विषयमा आफ्नो निर्णय आफैँ लिनसक्ने अधिकार लगायतका बारेमा महत्त्वपूर्ण कुराहरू पनि बोलेको छ।"
उनी यही विषयले आफूलाई उक्त चलचित्रतर्फ आकर्षित गरेको बताउँछन्।
"सृजनात्मक हुँदै गर्दा तपाइँले समाजमा हामीले सामना गर्ने निश्चित समस्याहरूको बारेमा मानिसहरूलाई सचेत गराउने अवसर पनि बेला मौकामा पाउनु हुन्छ," उनी भन्छन्।
"विश्वभरि नै महिलाहरू कैयौँ समस्याहरूबाट गुज्रिरहेका हुन्छन्। महिलाहरूले जीवनमा राम्रो व्यवहार पाउँदैनन्। त्यसकारण मैले यो कथालाई राम्रोसँग बाहिर ल्याउन सकिन्छ भन्ने महसुस गरेँ। वास्तवमा मैले पनि यही कथा उत्पादन गर्न चाहेको थिएँ।"
सम्बन्ध विच्छेदपछि श्रीमतीसँग सहकार्य
यो चलचित्रको निर्देशक आफ्नी पूर्व श्रीमती किरण राव बनुन् भन्ने खानकै चाहना थियो।
सन् २००५ मा विवाह गरेको यो जोडीको सन् २०२१ मा सम्बन्ध विच्छेद भएको थियो। तर उनीहरू व्यवसायीक र व्यक्तिगत रूपमा पनि नजिकको सम्बन्धमा छन्।
"मैले यसको निर्देशकको रूपमा किरणलाई रोज्नुको कारण छ। किनभने यसमा उनी धेरै इमानदार हुन सक्छिन् भन्ने मलाई थाहा थियो," खान भन्छन्।
"हामी राम्रोसँग सहकार्य गर्न सक्छौँ। हामी एक अर्कालाई राम्रोसँग प्रेम पनि गर्छौँ र एक अर्काप्रति आदर पनि।
"हाम्रो सम्बन्धान केही परिवर्तन आएको हुन सक्छ तर त्यसको अर्थ हामी एक अर्काप्रति असहज छौँ वा त्यस्तो केही होइन।"
त्यसो भन्दै गर्दा सबै कुरा सहज छ भन्ने पनि होइन।
खानले छायाङ्कनको क्रममा कतिपय विषयमा आफूहरूबीच वादविवाद पनि भएको स्वीकार गरे।
"हामी बावदिवाद नगरी चलचित्र बनाउन सक्दैनौँ। त्यसकारण हामी हरेक विन्दुमा वादविवाद गर्छौँ र बलियोसँग आफ्नो तर्क राख्छौँ," उनी भन्छन्।
"तर हाम्रो संवेदनशीलता समान किसिमको छ। हामी आधारभूत विषयमा छलफल गर्दैनौँ। हामी अरू व्यक्तिहरूसामु राम्रो तरिकाले प्रस्तुत गर्ने प्रयास गर्छौँ।"
विश्वमञ्चमा बलिवूड
बलिवूडले हरेक वर्ष हजारौँ चलचित्र निर्माण गर्छ र विश्वभरि छरिएका भारतीयहरू यसका ठूला प्रशंसक छन्।
चलचित्र र यसका स्टार कलाकारहरूले आफ्ना प्रशंसकहरूको परिकल्पनामा पारेको प्रभावलाई कम आकलन गर्न सकिँदैन।
बलिवूडले हालै मात्र एकेडेमी अवार्डमा सफलता हासिल गरेको छ। 'आरआरआर' चलचित्रको गीत 'नाटु नाटु'ले उत्कृष्ट मौलिक गीत र 'द एलिफन्ट विस्पर्स'ले उत्कृष्ट छोटो वृत्तचित्रको पुरस्कार पाएका छन्।
तर अन्तर्राष्ट्रिय चलचित्रको विधामा अहिलेसम्म बलिवूडले सफलता हासिल गर्न सकेको छैन।
"वर्षौँ यता भारतले वास्तवमै राम्रा चलचित्रहरू बनाएको छ। कहिलेकाहीँ सही चलचित्र नपठाएको र कहिलेकाहीँ पठाउनुपर्ने उत्कृष्ट चलचित्र (अवार्डका लागि) नपठाइएको पनि हुनसक्छ," उनी भन्छन्।
"तर्को कुरा के पनि बुझ्नपर्छ भने हामीले पाँच वा छ वटा चलचित्रसँग मात्रै प्रतिस्पर्धा गर्दै छैनौँ, हामीले विश्वभरिका उत्कृष्ट ८० वा ९० वटा चलचित्रसँग प्रतिस्पर्धा गर्दै छौँ।"
कुनै दिन बलिवूड चलचित्रले विश्वकै उत्कृष्ट चलचित्रको विधामा पनि अवार्ड जित्ने सम्भावना रहेको खान बताउँछन्।
अवार्डका लागि भारतीय चलचित्र निर्माताहरूले सबैभन्दा पहिला विश्व बजारका लागि चलचित्र बनाउनुपर्ने उनी बताउँछन्।
"मैले वास्तवमा अन्तर्राष्ट्रिय दर्शकबारे सोचेकै छैन," उनी भन्छन्। "हाम्रो आफ्नै दर्शकको सङ्ख्या यति ठूलो छ कि त्यस बाहिरको कुरा हाम्रो सोचाइमै आउँदैन।
"त्यो कुरा भारतीयहरूले विश्वभरिका दर्शकका लागि चलचित्र बनाउन सुरु गरेपछि पूरा हुन्छ। तर हामीसँग अहिले त्यसो गर्ने जोस छ जस्तो मलाई लाग्दैन।"
'साँझ छ बजेपछि काम गर्दिनँ'
अहिले खानले लापता लेडिजसँगै कैयौँ परियोजनाहरूमा काम गरिरहेका छन्। जसमध्ये एक सन् २०२५मा प्रदर्शनमा आउने 'सितारे जमीन पर' पनि एक हो।
उनी वर्षमा एउटा मात्रै चलचित्र बनाउने योजनामा छन्। प्राचीन महाकाव्य महाभारतमा आधारित चलचित्र बनाउने उनको सपना छ।
तर चलचित्रबाट सन्यास लिएपछि अहिले गरिरहेको कामलाई फरक तरिकाले गर्ने उनको धोको छ। यो कुरको प्रेरणा पनि उनलाई आफ्ना बच्चाहरूबाट मिलेको हो।
"मेरो छोरा भन्छन्, 'तपाईँ अति भइसक्नु भयो'," खान सुनाउँछन्।
"उनी भन्छन्, 'तपाईँ एकै ठाउँ हल्लिइरहने 'पेन्डुलम' जस्तो हुनुहुन्छ। तपाईँले चलचित्र मात्रै गर्नुभयो। अब तपाईँ चाहनुहुन्छ भने अर्को पाटोपट्टि फर्किएर परिवारसँग बिताउन सक्नुहुन्छ। बीचमा उभिएर तपाईँले सोच्न सक्नुहुन्छ',"
खानका अनुसार उनका छोराले आफ्नो जीवनमा केही सन्तुलन ल्याउन सुझाव दिइरहेका छन्।
"मलाई पनि उनी ठिकै छन् कि जस्तो लाग्यो। त्यसकारण त्यही बेला देखि मैले त्यो अभ्यास गर्ने प्रयास गरिरहेको छु। म वास्तवमै कडा मेहनतका साथ काम गरिरहेको छु। मैले यसअघि गरेको भन्दा पनि धेरै काम गरिरहेको छु तर म साँझ छ बजेपछि केही काम गर्दिनँ।"
खान हालैका वर्षहरूमा आफूले थेरापी पनि सुरु गरेको बताउँछन्। त्यसको प्रेरक चाहिँ मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने उनकी छोरी इरा हुन्।
"मलाई त्यसले वास्तवमै राम्रो गरिरहेको जस्तो लागेको छ। आफैँलाई राम्रोसँग बुझ्न पनि सहयोग गरिरहेको छ।
"काम र व्यक्तिगत जीवनबीचको सन्तुलन मैले भेट्टाउने प्रयास गरिरहेको छु। मलाई म त्यो विन्दुमा पुगेँ की भन्ने महसुस हुन थालेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।