बलीवुड चलचित्र अझै 'लिङ्गभेदी र पश्चगामी' सूत्रमा बन्छन्

    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज, दिल्ली

भारतको अत्यधिक लोकप्रिय हिन्दी फिल्म उद्योग बलीवुडलाई प्रायः पुरुषहरूको संसारका रूपमा लिइने गर्छ।

यो विषय लामो समयदेखि चर्चामा रहेको छ।

तर अहिले एउटा नयाँ अध्ययनले पर्दाभित्र र बाहिर दुवैमा लैङ्गिक समानता कति कम छ भन्ने देखाएको छ।

अमेरिकी डलर २.१ अर्ब बराबरको यो उद्योगले बर्सेनि सयौँ चलचित्र निर्माण गर्छ। संसारभरि रहेका भारतीयहरूले बलीवुडमा बनेका चलचित्र हेर्छन्।

बलीवुड चलचित्र र हस्तीहरूले दर्शकहरूको कल्पनामा पार्ने प्रभावबारे धेरै भन्न सकिँदैन। यद्यपि वर्षौँदेखि धेरै चलचित्रहरूलाई प्रतिगामी भएको, कुरूपता र लैङ्गिक पूर्वाग्रहलाई प्रोत्साहन गरेको भन्दै आलोचित हुने गरेका छन्।

यस प्रकारको पहिलो उक्त अध्ययनमा मुम्बईस्थित 'टीआईएसएस' भनिने टाटा इन्स्टिट्यूट अफ सोशल साइन्सेसका अनुसन्धानकर्ताहरूले हिन्दी सिनेमामा पितृसत्ताको वर्चस्व कत्ति गम्भीर छ भनेर जाँच्न खोजेका छन्।

उनीहरूले कोभिड महामारीअघिको वर्ष अर्थात् सन् २०१९ का बक्स-अफिसका २५ वटा सबैभन्दा सफल चलचित्र छाने।

त्यसैगरी सन् २०१२ र २०१९ बीचमा बनेका १० वटा महिलाकेन्द्रित चलचित्रहरू समेत उनीहरूले चयन गरे। सन् २०१२ मा दिल्लीको बसमा एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनापछि त्यसबारे धारणा परिवर्तन भएको छ कि छैन भनेर हेर्नका लागि उक्त अवधि छनोट गरिएको थियो।

उक्त घटनाले त्यस्ता अपराध र महिलाविरुद्ध हुने अपराधलाई सम्बोधन गर्न कडा नयाँ कानुनहरू बनायो।

उक्त सूचीमा 'वार', 'कबिर सिंह', 'मिशन मङ्गल', 'दबङ्ग३', 'हाउसफुल४' र 'आर्टिकल १५' समेटिएको छ र महिलाकेन्द्रित चलचित्रमा 'राजी', 'क्वीन', 'लिपस्टिक अन्डर माई बुर्का' र 'मार्गरिटा विथ अ स्ट्र' लगायतका चलचित्र छन्।

अध्ययनकर्ताहरूले सिनेमाका पर्दामा देखा परेका झन्डै २,००० पात्रको अध्ययन गरी कलाकारहरूले अभिनय गरेका पेसाका प्रकारलाई हेर्नुका साथै र यौनसम्बन्धी परम्परागत मान्यता, सहमति र घनिष्ठता र उत्पीडनजस्ता धेरै मापदण्डमा फिल्मका विश्लेषण गरेका छन्।

उनीहरूले एलजीबीटीआईक्यू+ (LGBTQ+) र अपाङ्गता भएका पात्रहरूको सङ्ख्या गणना गरे। उनीहरूलाई कसरी चित्रित गरियो र यी चलचित्रमा कति महिलाले पर्दाबाहिर रहेर काम गरे भन्ने अध्ययन गरे।

त्यसरी निकालिएको निष्कर्षअनुसार महिलाकेन्द्रित चलचित्रहरूले आशा देखाउने केही काम गरे पनि बक्स-अफिसमा सफल बनेका चलचित्रहरू लैङ्गिक रूपमा विभेदकारी र प्रतिगामी छन् र तिनमा महिला र तेस्रोलिङ्गीको प्रतिनिधित्व निकै कम छ।

उदाहरणका लागि, विश्लेषण गरिएका ती चलचित्रमा ७२ प्रतिशत पात्र पुरुष, २६ प्रतिशत महिला र २ प्रतिशत तेस्रोलिङ्गी कलाकारले अभिनय गरेका थिए।

उक्त अध्ययनकी नेतृत्वकर्ता प्राध्यापक लक्ष्मी लिङ्गम "बलीवुडमा धेरै पैसा सबै ठूला पुरुषमा लगाइने" बताउँछिन् र निर्माताहरूका अनुसार "कुनै एक निकै प्रभावशाली महिला पात्र दर्शकहरूका लागि काम गर्दैनन्"।

उनले बीबीसीसँग भनिन्, "त्यहाँ त्यसलाई परिवर्तन गर्न निकै कम प्रयास गरिएको छ। किनभने पितृसत्तात्मक मान्यताहरूले मानिसहरूको कथा वा धारणा बनाउँछ र उनीहरूले त्यसैले पैसा कमाउँछ भन्ने विश्वास गर्छन्।"

त्यसैले मानिसहरू उक्त "सूत्र"मा टाँसिएको उनी बताउँछिन्।

"नायक उच्च जातको पुरुष हुनुपर्छ, मुख्य नायिका पातली र सुन्दर हुनुपर्छ। उनी लज्जालु हुनुपर्छ जसले शब्दको सट्टा हाउभाउमार्फत् सहमति दिनुपर्छ र उनीहरूले कामोत्तेजक वस्त्र लगाएको हुनुपर्छ। तर अपराधको रूपमा रहने विवाहपूर्वको सम्बन्धमा हुनका लागि उनी केही हदसम्म आधुनिक हुनुपर्छ।"

पर्दामा देखाइने जागिरहरू समेत साँघुरो लैङ्गिक आँखामार्फत्‌ कल्पना गरिने प्राध्यापक लिङ्गम बताउँछिन्।

"यद्यपि ती चलचित्रहरूमा ४२ प्रतिशत महिला पात्र रोजगारीमा थिए - [भारतको वास्तविक रोजगारी रहेको २५.१ प्रतिशत सङ्ख्याभन्दा धेरै बढी] - उनीहरू निकै रूढिवादी मानिने पेसामा थिए।"

"दशमध्ये नौजना पुरुष निर्णायक भूमिकामा सैनिक तथा प्रहरी अधिकृत, राजनीतिज्ञ, गुन्डानाइकेजस्ता भूमिकामा थिए। महिलाहरूले भने धेरैजसो चिकित्सक र नर्स, शिक्षक र पत्रकारका भूमिका निर्वाह गरेका पाइयो र १० जनामध्ये एकमात्र निर्णायक भूमिकामा थिइन्," उनी भन्छिन्।

एलजीबीटीआईक्यू+ पात्रहरूलाई निकै समस्याग्रस्त रूपमा देखाइएको उक्त अध्ययनले पाएको छ।

उनीहरू कहिल्यै निर्णायक भूमिकामा देखिएनन्। बरु उनीहरूलाई प्राय: लैङ्गिक विभेद झल्किने उपहास्य पात्रका रूपमा प्रस्तुत गरियो।

अपाङ्गता भएका व्यक्तिहरूलाई पनि निकै कमजोर रूपमा प्रस्तुत गरियो। सम्पूर्ण पात्रमध्ये केवल ०.५ प्रतिशतमा अपाङ्गता भएको देखाइयो। उनीहरूलाई प्रायशः सान्त्वना देखाउन वा उपहासको पात्र बनाउन मात्र प्रस्तुत गरियो।

प्राध्यापक लिङ्गम भन्छिन्, "निर्माताले आफूहरूले वास्तविकता प्रस्तुत गरिरहेको बताउँछन्। तर त्यहाँ अन्य धेरै वास्तविकता छन् जुन उनीहरूले देखाउँदैनन्। उनीहरू वास्तविकता र कल्पनाबीच भएका कुरालाई औचित्यपूर्ण ठहराउँछन्।"

उनले चलचित्र उद्योगमा महिला र समलिङ्गीको चित्रण परिवर्तन गर्न आवश्यक रहेको बताउँछिन्। "किनकि वास्तविक जीवन पनि हामीले चलचित्रमा देखेको कुराले निर्धारण गर्छ," उनले भनिन्।

"परिवार र विद्यालयले यौनशिक्षा र सहमतिबारे विरलै सिकाउने भारतमा हाम्रा सबै प्रतिक्रिया पुस्तक र चलचित्रबाट प्रभावित हुन्छन्," उनी भन्छिन्।

'कबिर सिंह' जस्ता चलचित्रमा मुख्य अभिनेताले अभिनेत्रीको भूमिका निर्वाह गरेको पात्रको मन जित्नका लागि पछि लाग्ने र दुर्व्यवहार गर्ने कुरालाई सामान्य रूपमा देखाइएकोमा उनी आपत्ति व्यक्त गर्छिन्।

"यसले विषाक्त पुरुषत्वलाई सामान्य बनाउँछ। त्यसकारण जब कुनै महिलालाई सडकमा पिछा गर्दै वा उत्पीडन गरिन्छ, सबैले त्यही हुन्छ भन्छन् र त्यहाँ कुनै प्रतिक्रिया जनाइँदैन।"

यद्यपि उनका अनुसार केही चलचित्रहरू त्यस्तो शैलीभन्दा बाहिर गएर बनेका छन्। उदाहरणका लागि, 'मिशन मङ्गल' मा विद्या बालनले रकेट वैज्ञानिकको भूमिका निर्वाह गरेकी छन्।

उक्त चलचित्रमा ती पात्रका पतिले उनलाई काममा धेरै समय बिताएको र बालबच्चाको हेरचाह नगरेकामा आलोचना गर्छन्। उनी पतितिर फर्कँदै बच्चाहरू के उनको जिम्मेवारी होइनन् भनेर प्रतिप्रश्न गर्छिन्।

'क्वीन' र 'लिपस्टिक अन्डर माई बुर्का' महिलाले मुख्य र प्रभावशाली भूमिका निर्वाह गरेका थोरैमध्येका चलचित्र हुन्। तर त्यस्ता चलचित्रको सङ्ख्या निकै न्यून छ।

प्राध्यापक लिङ्गमका अनुसार दृश्यको माध्यमले "नयाँ धारणालाई छलफलमा ल्याउन सक्छ र परिवर्तन रातारात हुँदैन, तर त्यो समयसँगै भएर छाड्छ।"

उनका अनुसार कोभिड-१९ को महामारी र लकडाउनले अगाडिको बाटो देखाइसकेको छ।

"समाजमा कैयौँ बिलौना छन् र मानिसहरूले त्यसको प्रतिविम्ब झल्किनेगरी भिन्न सामग्री तयार पारिरहेका छन्। ओटीटी (ओभर-द-टप) प्ल्याट्फर्महरूमा राखिएका कैयौँ रोचक सामग्रीले राम्रो गरिरहेका छन्।"

अर्कोतर्फ बलीवुडको सूत्रले अब काम गरिरहेको छैन।

"सलमान खान र अक्षय कुमारजस्ता ठूला स्टारद्वारा अभिनीत पुरुषहरूका हिंसक चलचित्र चलेनन्। एउटा अपवाद चाहिँ शाहरुख खानको 'पठान' रह्यो।"

त्यसैले बलीवुडले यी शैलीमा पुनर्विचार गर्नुपर्ने उनको धारणा छ।

"अधिकांश दर्शक पुरुष भएकाले उनीहरूका लागि चलचित्र बनाइन्छ भन्ने सोचाइ पाइन्छ। हामीले त्यस्ता चलचित्र नबनाउन भनेका होइनौँ, तर फरकफरक किसिमको फिल्म बनाउनुहोस्।"

त्यसको एउटा कारण बलीवुडमा पर्दाबाहिर रहेर काम गर्ने महिलाहरू धेरै कम रहनु पनि भएको उनी बताउँछिन्।

फिल्म निर्माणका मुख्य विभागहरूमा पनि महिलाहरू थोरै छन्। टीआईएसएसले अध्ययन गरेका चलचित्रहरूमा २६,३०० भन्दा बढी पुरुष थिए भने ४,१०० जति महिला थिए।

“पर्दापछाडि रहेका विविधतायुक्त मानिसहरूले विविध दर्शकका लागि चलचित्र बनाए भने कथाहरू पनि विविधतापूर्ण हुन्छन्,” प्राध्यापक लिङ्गम भन्छिन्।